श्रावण २८ २०७७   |  2020 Aug 12    


पीसीआर परीक्षण गर्न शिक्षक महासंघको माग


news

कपिलवस्तु शिवराज नगरक्षेत्रका विभिन्न पेशागत शिक्षक संघ संगठनले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको पीसीआर परीक्षण गरिनुपर्ने मागसहित नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल शिक्षक महासंघ शिवराज नगर कार्यसमिति संयोजक मुक्तिनाथ पोख्रेल नेतृत्वको टोलीले नगरप्रमुख नेत्रराज अधिकारीलाई मागपत्र बुझाएका हुन् । नगरभित्रका विभिन्न पेशागत शिक्षक संघ संगठनहरुको बैठकले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको शिक्षक महासंघ नगरसंयोजक मुक्तिनाथ पोख्रेलले जानकारी दिए । बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठनका नगरअध्यक्ष गिरीप्रसाद गैरे, एकीकृत शिक्षक संगठनका नगरअध्यक्ष चिरन्जीवि घिमिरे, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव यादव चन्द र नेपाल शिक्षक संघका जिल्ला कोषाध्यक्ष बलदेव लामिछानेको सहभागिता थियो ।

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव समुदायमा परेको साथै नगरभित्रका शिक्षक तथा कर्मचारीहरु बैकल्पिक सिकाइ सहजीकरणका लागि समुदायमा गइरहेका र केही शिक्षकहरुमा पोजेटिभ देखिएका कारण नगरक्षेत्रका शिक्षक, कर्मचारीहरुको पीसीआर परीक्षण गर्नुपर्ने ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

ज्ञापन पत्र लिंदै नगरप्रमुख नेत्रराज अधिकारीले शिक्षकहरुको मागलाई प्राथमिकता आधारमा सम्बोधन गरिने आश्वासन दिए । साथै नगरप्रमुख अधिकारीले विद्यालय प्रशासनले समेत पठन पाठनको समयमा विशेष सुरक्षा संयन्त्र अपाउनुपर्ने सुझाव दिए । शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थीले सबैलाई भन्दा पनि कोरोना पोजेटिभ देखिएका शिक्षकहरु कार्यरत विद्यालय तथा सम्पर्कमा रहेकालाई पहिलो प्राथमिकता दिइने बताए ।

अपडेट : 2020-07-30 14:36:48




your-image

Leave a Comment