श्रावण २८ २०७७   |  2020 Aug 12    


बाघ संरक्षणमा हाम्रो प्रतिबद्धता


news

प्रसङ्ग
जुलाई २९ अर्थात् दशौँ अन्तर्राष्ट्रिय बाघ दिवस । बीसौं शताव्दीको शुरुतिर विश्वमा बाघ प्रशस्त पाइन्थ्यो । तर व्यापक वन विनास, चोरी शिकारी, जलवायु परिवर्तन जस्ता कारण विश्वबाट बाघको संख्या दिनप्रतिदिन घट्दै जान थाल्यो । यसपछि बाघ विशेषज्ञ तथा वन्यजन्तुविद्हरुले अवस्था यस्तै रहेमा आगामी १० वर्ष भित्रमा विश्वबाट बाघ लोप भएर जाने चेतावनी दिए । सो चेतावनी पश्चात सन् २०१०मा रुसको सेन्ट पिटर्सबर्गमा अन्तर्राष्ट्रिय बाघ सम्मेलन भयो । सो सम्मेलनले विश्वव्यापी रूपमा घट्दो बाघको जनसंख्याको बारेमा चेतना जगाउने, बाघहरूको प्राकृतिक वासस्थानको संरक्षण र प्रबर्द्धन गर्ने तथा बाघको संख्या वृद्धि गर्ने आर्थिक कारणलाई समर्थन गर्ने सम्झौता सहित हरेक वर्ष जुलाई २९ तारिखमा अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय भए बमोजिम जुलाई २९ मा अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । यस दिवसले बाघको लागि प्राकृतिक आवासको संरक्षणलाई पनि बढावा दिन्छ । यस दिवसको मुख्य उदेश्य घट्दो बाघहरुको जनसंख्या र विश्वव्यापी रुपमा बाघहरुको संरक्षण गर्ने बारे चेतना जगाउनु, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै विश्वभर बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गर्नु हो । हरेक वर्ष “तिनीहरूको अस्तित्व हाम्रो हातमा छ” भन्ने मूल नाराका साथ यो दिवस मनाइन्छ ।


बाघको चिनारी
‘जंगलको राजा’को नामले परिचित बाघ बिरालो परिवारको सबै भन्दा ठुलो, शक्तिशाली एवं हिंस्रक स्तनधारी तथा मांसाहारी प्रजाति हो । यसको करिब ३.३ मिटर लामो शरीर, ३०० किलोग्राम तौल र ४ इन्च सम्मका लामा तीखा कुकुरदाँत हुन्छ । यसको लामो नंग्रासहितको पन्जा पनि ठुलो र बलियो हुन्छ । सेतो वा गाढा सुन्तला रंगको भुत्लाले ढाकेको शरीरमा हुने काला पाटाहरूले यसलाई थप आकर्षक बनाउँदछ । प्रत्येक बाघको शरीरमा हुने पाटाहरु र पन्जाका डोबहरु फरक फरक हुने गर्दछन् जसको माध्यमबाट बाघहरु विचको फरक छुट्टाइन्छ र बाघको गणना पनि गरिन्छ । लजालु र भलादमी स्वभावको बाघ प्रायः आफ्नै क्षेत्रमा एक्लो जीवन व्यतित गर्छ र रात्रिको समयमामात्र आहाराको खोजीमा निस्कन्छ । ठूलो र गह्रौं शरीर भएपनि चुस्त र लचकदार हुने हुँदा यो लामो दुरीसम्म सजिलै उफ्रन सक्छ । वन्यजन्तुविदहरुका अनुसार जङ्गली अवस्थामा रहेका बाघहरू १० देखि १५ बर्षसम्म बाँच्ने गर्दछन् भने खोरमा थुनेर पालिएका बाघहरू २० बर्षसम्म पनि जीवित रहने गर्दछन् । बाघले आफ्नो आहाराका रूपमा बँदेल, बाह्रसिङ्गा, मृग, अर्ना लगायतका जङ्गली जनावरलाई प्रमुख रूपमा लिने गर्छ । बाघले समुहमा शिकार गर्दैन । बाघ बस्नको लागि ठूलो क्षेत्र आवश्यक पर्दछ । त्यसैले चिडिया घर र अन्य वन्यजन्तु आरक्षणमा बाघको लागि खुला क्षेत्रको व्यवस्था गरिएको हुन्छ । बाघका डमरुहरु करिव दुई वर्षसम्म आमासंगै रहन्छन् । एक पटक तिनीहरू स्वतन्त्र भएपछि उनीहरूले आफ्नै वासस्थानको निर्माण गर्दछन् । विश्वमा पाइने ९ प्रजातिका बाघहरु मध्ये बाली, क्यास्पेली, जाभाली र दक्षिण चिनियाँ प्रजातिका बाघहरु लोप भैसकेका छन् भने हाल हिन्दी चिनियाँ बाघ, सुमात्रेली बाघ, साइबेरियाली बाघ, बंगाली बाघ र मलायन बाघ गरी पाँच प्रजातिका बाघ मात्र अस्तित्वमा रहेका छन् । नेपालमा पाइने बाघलाई पाटे बाघ अर्थात बंगाली बाघ भनिन्छ । वन तथा वातावरण मन्त्रालयकाअनुसार सन् २००९मा नेपालमा बाघको संख्या १२१ रहेकोमा हाल २३५ रहेको छ । तथ्याङ्कअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा रहेको छ । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेको छ ।


बाघको संरक्षण किन गर्ने ?
बाघले मानिस तथा घरपालुवा जन्तुलाई भेटाए आक्रमण गरी खाइदिन्छ । यस्तो नरभक्षी जनवारलाई किन संरक्षण गर्नपर्यो? बाघ नभए जंगल वरिपरी बसोबास गर्ने समुदायको जीवन सुरक्षित हुन्थ्यो होला ! यस्ता तर्कहरु हाम्रा मनमा आउन सक्छ । तर वास्तविकता अर्कै छ । बाघको महत्वको बारेमा हाम्रो पात्रो डिजिटल पत्रिकामा सुयोग ढकाल लेख्नुहुन्छ– बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रुपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य श्रृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले शाकाहारी जनावरलाई नियन्त्रणमा राखी वातावरण संतुलनमा यसको उल्लेखनीय योगदान हुन्छ । वातावरणीय सन्तुलन जंगली जनावरको लागि मात्र नभएर स्थानीय देखि विश्वभरका मानिसहरुका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो÷मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षकशिक्षिकाले यी जीवहरुको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला । बाघलाई वातावरणीय सन्तुलनलाई कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरुलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रुपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरु चिन्दछन् । यसलाई अंग्रेजीमा “अम्ब्रेला स्पेसिज” अर्थात् छाता प्रजाति भनेर पनि भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठूलै जंगल संरक्षित गरिनपर्छ । यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपन्छीहरुले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिको रुपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वनजंगलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।


यसबाट के पुष्टि हुन्छ भने बाघ संरक्षण गर्दा वनजंगल संरक्षण हुन्छ । वनजंगल मानिसलाई चाहिने ‘अक्सिजन’ अर्थात प्राणवायुको निर्विकल्प श्रोत हो । वनजंगलको संरक्षणबाट सम्पूर्ण प्रकृतिको संरक्षण हुन्छ । वनजंगलको संरक्षण गर्दा अन्य वन्यजन्तु तथा पंक्षीको बासस्थानको पनि संरक्षण हुन्छ । यसले विश्व मानव समुदायका साथै सम्पुर्ण प्राणी जगत कै संरक्षण गर्छ । त्यसैले बाघलाई “छाता प्रजाति“ भनिएको हो । किनकि तिनीहरूको संरक्षणले उही निवासमा अन्य धेरै प्रजातिहरूको संरक्षण गर्न मद्दत गर्दछ । छाताले मानिसलाई घाम पानीबाट बचाए जस्तै बाघको संरक्षणले सबैको संरक्षण हुन्छ । बाघ संरक्षणबाट वनजंगल र अन्य पशुपन्छीका साथै मानव जीवनको संरक्षण हुन्छ भने भावी पुस्ताको भविष्य समुज्वल हुनुका साथै पृथ्वीको आयु समेत बढ्नेछ ।


बाघ संरक्षणका अफ्ठ्याराहरु
संसारबाटै लोप हुने अवस्थामा पुगेको बाघका लागि नेपाली भूमि पछिल्लो समयमा सुरक्षित र उर्वरभूमि हुँदै गर्दा आहाराको खोजीमा बाघ संरक्षित क्षेत्रबाट मानव वस्तीमा प्रवेश गर्दा स्थानीय समुदायमा भने त्रासको वातावरण सिर्जना भएको छ । बाघको संख्यामा भएको बृदिले एकातिर खुसियाली ल्याएको छ भने अर्कोतिर निकुन्ज, मध्यवर्ती तथा संरक्षित क्षेत्र आसपास बसोवास गर्ने स्थानीयलाई प्रतिकूल प्रभाव पारेको तथ्यलाई पनि नकार्न सकिँदैन । सामुदायिक वनमा घाँस दाउरा गर्न जाँदा समेत स्थानीयहरु बाघको शिकार बन्न पुगेका छन् । भाले बाघलाई विचरण गर्न कम्तीमा ४० वर्गकिलोमिटर क्षेत्रफल तथा पोथी बाघलाई कम्तीमा १५ वर्ग किलोमिटर क्षेत्रफल आवश्यक पर्ने, बाघलाई विशेष खालको आहारा तथा विचरण गर्ने क्षेत्र बढी चाहिने भएकाले सीमित संरक्षित क्षेत्रमा बाघको संख्या धेरै भएकोले आहाराको खोजीमा मानववस्तीतर्फ बाघ प्रवेश गरेको वन्यजन्तुविदहरु बताउँछन् ।


अवैध शिकार र अवैध व्यापार, वनजंगल अतिक्रमण तथा मौसम परिवर्तन बाघ संरक्षणका मुख्य अफ्ठ्याराहरु हुन् । बाघको जुँगा, छाला, पुच्छर , दांत लगायत हरेक अंग विश्व बजारमा उच्च मुल्यमा ब्रिकी हुन्छ र यसको माग पनि उच्च नै छ । बाघका शरीरका अंगहरू परम्परागत चिनियाँ औषधिको लागि ठूलो माग होस तसर्थ उनीहरू अवैध वन्यजन्तु व्यापार मा ठूलो पैसा लगानी गर्छन । बाघको आवासको अतिक्रमण गरिएको छ । कृषि जग्गा, काठ, विकास जस्ता उद्देश्यका लागि वनका क्षेत्रहरू दिनप्रतिदिन फडानी भैरहेको छ । वनजंगल अतिक्रमणले मानव र बाघहरूको बीचमा द्वन्द्व निम्त्याएको छ जसले गर्दा बाघ मानववस्तीमा प्रवेश गरेको छ भने मानिस आफु सुरक्षित हुन बाघलाई आक्रमण गरिरहेको छ । जलबायु परिवर्तनले हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भई बाघका बासस्थानहरु डुवान परेको छ । यसबाट पनि बाघको अस्तित्व खतरामा परेको  बताइएको छ ।


हाम्रो प्रतिबद्धता
बाघको प्राकृतिक वासस्थानको संरक्षण गरौँ । हामी हाम्रा आवश्यकताहरूको लागि जंगल नकाटौं । वन जोगाउन मद्दत गरौँ । बाघहरूको प्राकृतिक वासस्थान संरक्षण गर्दा बाघहरूको साथसाथै यसले सम्पूर्ण मानिसलागायत सम्पुर्ण वन्यजन्तुहरूलाई बचाउन पनि मद्दत गर्दछ । मौसम परिवर्तनहरू नियन्त्रण गरौँ । जलवायु परिवर्तनहरू नियन्त्रण गर्न सहयोगी बनौ । यसलाई नराम्रोबाट झन् खराब बनाउनु हाम्रो लागि बुद्धिमानी हुनेछैन । गर्मीमा भएको तापक्रम वृद्धिले बरफ पग्लिरहेको छ, अन्ततः समुद्री सतह बढेको छ । समुद्रको सतहमा भएको वृद्धिले सुन्दरवनलाई नष्ट गरिरहेको छ । मौसम परिवर्तनले नियन्त्रण गर्नाले रोयल बंगाल बाघहरूका लागि सबैभन्दा ठूलो वासस्थान, सुन्दरवनलाई बचाउन मद्दत गर्दछ । बाघलाई अवैध व्यापारबाट बचाऔं । बाघलाई अवैध व्यापारबाट बचाउन प्रयास गरौं । यदि हाम्रो वरिपरि भइरहेको गतिविधि बारे हामीलाई केहि जानकारी छ भने प्रहरीलाई जानकारी वा सूचना दिऔं । यसले बाघको अवैध व्यापार रोक्न मद्दत गर्दछ । चिडियाखाना भन्दा आरक्षण क्षेत्रमा जोड दिऔं । आरक्षण क्षेत्र ठुला ठाउँहरु हुन् जहाँ बाघको संरक्षण राम्रोसंग हुनसक्छ । त्यसैले अधिक आरक्षण क्षेत्र र प्राकृतिक बासस्थानलाई प्रोत्साहित गरौँ । मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्दै स्थानीयहरूमा बाघ संरक्षणप्रति सकारात्मक धारणाको विकास गराउने अभियान संचालन गरौँ । बाघको संरक्षण गर्दा अन्ततः हाम्रै संरक्षण हुन्छ भन्ने संदेश जनस्तरमा फैलाउन आजैबाट जुटौं ।

अपडेट : 2020-07-30 00:17:08




your-image

Leave a Comment