श्रावण २८ २०७७   |  2020 Aug 12    


स्वस्थ जीवनको लागि भोजन क्रान्ति


news

भनिन्छ, विश्वका अधिकांश मानिसहरु खान नपाएर भन्दा पनि खान नजानेर मर्दछन् । यो भनाई हामी नेपालीहरुमा पनि लागू हुन्छ । नेपालीहरुको पछिल्लो जीवनशैली तथा खानपानको शैलीलाई नियाल्दा यो भनाईमा दम देखिन्छ । आधुनिक जीवनशैलीका कारण हाम्रो दैनिकी र आनीबानीमा व्यापक परिवर्तन आएको छ । हाम्रो परम्परागत खाना र जीवनशैलीलाई पाश्चात्य खाना र जीवनशैलीले प्रतिस्थापन गरेको छ । वास्तवमा हामीले खानाको रुपमा मन्दविष खाइरहेका छौंं । जीवन रक्षाको लागि खाइने भोजन हामी आफैले चिन्न सकेका छैनौँ । हामी त्यस्तो खाना खाइरहेका छौं जसले हाम्रो स्वास्थ्य बर्बाद गरेको छ । हाम्रो सुख, शान्ति र आनन्द छिनेको छ । दुःख गरेर कमाएको धन सम्पतिको नाश गरेको छ । भोजन औषधी हुन पर्नेमा विष भएको छ । भोजनले शरीरलाई उर्जा र फुर्ति दिन पर्नेमा आलस्य र छटपटी दिएको छ । यसै सन्दर्भमा यस आलेखमार्फत‘स्वस्थ जीवनको लागि भोजन क्रान्ति’ भन्ने विषयलाई उठान गर्ने प्रयास गरिएको छ ।


हाम्रो भोजन कस्तो हुनुपर्छ ?
हामीले खाने भोजन यस्तो हुनुपर्छ जसले शरीरलाई उर्जा देओस्, शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति प्रदान गरोस् तथा दिर्घ जीवन प्रदान गरोस् । स्वस्थ शरीरको लागि हाम्रो भोजन हितकारी, उचित मात्रा र मौसम अनुकुल हुनुपर्छ । भोजन विशेषगरी राजसी, तामसी र सात्विक गरी तीन किसिमका हुन्छन् । धेरै चिल्लो, पिरो, अमिलो, नुनिलो र रुखो–सुख्खा भोजनलाई राजसी भोजन भनिन्छ । यस्तो भोजनले हामीलाई तत्काल उर्जा दिए जस्तो भान हुन्छ तर कालान्तरमा यसले स्वास्थ्यमा ठुलो क्षति गर्दछ । मासुजन्य भोजन राजसी भोजन हो । यस्तो खाना ढिलो पच्ने, जठराग्नीलाई मन्द पार्ने, क्षणिक उर्जा दिए जस्तो हुने तथा अस्थिरता पैदा गराउने खालको हुन्छ । बढी तातो वा बढी चिसो, बासी सडेगलेको, दुर्गन्ध आउने भोजनलाई तामसी भोजन भनिन्छ । जाडरक्सी, लागूपदार्थ, गाडेको तारेको अचार, काचों टर्रो खाने कुरा तामसी भोजन हुन् । यस्ता खानाले रोग निम्त्याउँछ भने मस्तिष्कको संवेदनालाई नष्ट गरिदिन्छ । यस्तो भोजन सेवन गर्ने मानिस घमण्डी, रिसाहा, क्रोधी, निर्दयी, क्रुर, अपराधिक स्वभावको हुन्छ । ताजा, सुपाच्य तथा हल्का प्रकृतिको खाना सात्विक आहार हो । यस्ता खानाहरु रसयुक्त, मधुर, स्वस्थकर तथा रुचिकर हुन्छ ।

चामल, मकै, गहुँ, मुंगी, मसुरो, रायो चम्सुर, पालुंगो, काउली, बन्द, सिस्नो आदि सागसब्जी, आलु, पिडालु, मुला, गाजर, तरुल, सख्खरखण्ड लगायतका कन्दमूल, भट्टमास, बोडी, केराउ, चना आदि गेडागुडी सात्विक आहार हुन् । सात्विक भोजनलाई शुद्ध भोजन पनि भनिन्छ । सात्विक भोजनले मानिसलाई शान्त, स्थिर तथा सहयोगी बन्न अभिप्रेरित गर्दछ । यस्तो भोजनले मानिसमा दया, करुणा, सहानुभूति, प्रेम, आफ्नोपना एवं श्रद्धाभक्ति जस्ता मानवीय गुणहरुको वृद्धि गर्दछ । हामीले खान पर्ने भोजन नै सात्विक भोजन हो ।
के हामीले सात्विक भोजन लिएका छौं त ? पक्कै छैनौं । हामीमा सात्विक भोजन सेवन गर्ने बानी बसेको भए आज हामी विभिन्न रोगको शिकार हुने थिएनौ, हाम्रो मन अशान्त र अस्थिर हुने थिएन तथा समाजमा नानाथरीका विकृति पनि आउने थिएन ।


भोजनको रुपमा पाँच सेता मन्द विष
अहिले मानिस उच्चरक्तचाप, मधुमेह, क्यान्सर, अलजाइमर, मानसिक रोग जस्ता विभिन्न नसर्ने रोगबाट ग्रसित छ । विश्व स्वाथ्य संगठनको एक प्रतिवेदनले सन् २०३० सम्ममा सबैभन्दा बढी मानिसहरुको मृत्यु ‘डिप्रेसन’ अर्थात् मानसिक तनावबाट हुने तथ्य सार्वजनिक गरेको छ । यो सबै हाम्रो अव्यवस्थित खानपान र जीवनशैलीको कारणले गर्दा हो । हामीले दैनिकरुपमा सेतो चामल. सेतो नुन, मैदा, सेतो चिनी तथा वनस्पति घ्यु गरी पाँच किसिमका सेता मन्द विष अधिक प्रयोग गरिरहेका छौं । यी पांच मन्द विष हाम्रो भोजनमा नियमित उपस्थित हुने गर्दछ । जसको अधिक र नियमित सेवनले हामी विभिन्न रोगबाट ग्रसित छौं ।


१.चामल
प्रायः हामी विहान बेलुका पोलिस गरेको सेतो चामलको भात नै खान्छौं । पहिला धान ढिकी, खल, पानीघट्ट वा साधारण ’मिल’मा कुटिन्थ्यो । धानको बोक्रा मात्र फालिथ्यो । चामल निकै स्वस्थकर हुन्थ्यो र चामलको कारण रोग पनि लाग्दैनथ्यो । तर अहिले ‘राइस मिल’को प्रचलन आएको छ । धानको बोक्रा फालिसकेपछि चामललाई ‘पोलिस’ गरी सेतो बनाइन्छ । यस्तो पोलिस गरेको चामलमा सम्पूर्ण खाद्द्यतत्व नै नष्ट हुन्छ । जसको नियमित सेवनले हामीलाई फाइदा भन्दा हानी धेरै हुन्छ । पोलिस गरेको सेतो चामलले शरीरमा गुल्कोजको मात्रा अधिक बनाइदिने हुँदा हामीलाई मधुमेह रोग लाग्ने निश्चित छ । सेतो चामलको भातले तुरुन्तै आलस्य लाग्छ र मोटोपन बढाईदिन्छ । यसको विकल्पमा ‘ब्राउन राइस’ अर्थात् पोलिस नगरेको खैरो चामलका साथ चोकरयुक्त तथा रेसादार खाना स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ ।

२.नुन
भोजनको प्रकारको वृद्धिसंगै नुनको मात्रा पनि बढ्दै जान्छ । नुनको अधिक प्रयोगले उच्चरक्तचाप, हृदयरोग, स्ट्रोकका साथै क्यान्सर हुने सम्भावना उच्च हुन्छ । बढी सेतो नुनको सेवनले मृगौलामा असर पुग्ने, बाथ रोग लाग्ने पनि हुन्छ । तसर्थ दैनिक ३ देखि ५ ग्राम भन्दा बढी नुन हानिकारक छ ।

३. मैदा
खाजाको रुपमा हामीले खाने चाउमिन, मःमः, चाउचाउ, विस्कुट, समोसा, नमकिन पाउरोटी, पिज्जा, पास्ता, मिठाई आदि सबै मैदाले बनेको हुन्छ । सेतो चामलले जस्तो हानी गर्छ, सेतो मैदाले पनि शरीरलाई उस्तै हानी गर्छ । यस्ता चिज खानु भनेको ‘पैसा पनि गुमाउनु, उल्लु पनि बन्नु’ जस्तै हो । मैदाबाट बनेको खाजाको सट्टामा गहुँको रोटी, सुजीको हलुवा, खीर, पुलाउ, फलफूल आदि खाने बानी बसाल्नु पर्छ ।

३.चिनी
वैज्ञानिकहरुको अनुसन्धानअनुसार अधिक चिनी वा गुलियोको प्रयोगले मानिसको एकाग्रता नाश हुन्छ, मस्तिष्क असन्तुलन तथा आपराधिक मनोवृत्ति बढाईदिन्छ । सेतो चिनीको सट्टा शुद्ध मह वा सख्खरको धुलो प्रयोग गर्न सकिन्छ ।

४.वनस्पति घ्यु
वनस्पति घ्यु विभिन्न वनस्पतिको तेलबाट बन्छ । हामीले प्रयोग गर्ने तेलमा पनि वनस्पति घ्यु मिसाइएको हुन्छ । वनस्पति घ्यु उत्पादन गर्दा ७ सय भन्दा बढी तापक्रममा तेललाई उमालिन्छ । यसमा कुनै पौष्टिक तत्व नै हुँदैन । यस्तो घ्यू वा तेल प्रयोग गर्दा पेट दुख्ने, अपच हुने, शारीरिक र मानसिक रुपमा कमजोर हुने, पाचन शक्तिलाई कमजोर पार्ने आदि हुन्छ । यसको सट्टा शुद्ध तोरीको तेल, जैतुनको लेल वा नरिवलको तेल प्रयोग गर्दा लाभदायी हुन्छ ।


यी पाँच सेता मन्द विषहरु बाहेक मोनो सोडियम ग्लुटामेट(एम.एस.जी) अर्थात् अजिनोमोटो मिसाइएका खानेकुरा खान हुँदैन । एमएसजी मिसाएर बनाइएका खानेकुरा स्वादिलो हुन्छ तर यो निकै हानिकारक हुन्छ । एमएसजी विशेषगरी तयारी चाउचाउमा मिसाएको हुन्छ । यस बाहेक होटलहरुले तरकारी, मासु, चाउमिन, मोमो आदिमा एमएसजी मिसाउने गर्छन्। कुनै समय एमएसजी जापानमा निकै लोकप्रिय थियो तर अहिले यो एमएसजी जापानीहरुले प्रयोग नै गर्दैनन् । तयारी खानेकुरामा एमएसजीसहित अप्राकृतिक रंग, प्रिजर्भेटिभ गन्ध, किटनाशक औषधि तथा अन्य रसायनहरु मिसाइएको हुन्छ जसको सेवनबाट टाउको दुख्ने, पेट दुख्ने, अपच हुने, कब्जियत,पखाला, दम, चिन्ता, अनिद्रा, थकान जस्ता समस्याहरु देखा पर्छन्। स्वस्थ जीवनका लागि चिया कफी पनि निकै हानिकारक मानिन्छ । चिया कफिमा हुने क्याफिन रसायनले भोक नलाग्ने, पेट पोल्ने, अमिलचुकी पानी आउने, छाती पोल्ने, अनिद्रा हुने, छटपटी, जिब्रोका सेलहरुलाई मारिदिने आदि समस्या सिर्जना गरिदिन्छ । चिल्लो परिकारले अपच हुनुका साथै रगतमा कोलेस्ट्रोल बढ्ने, मुटुलाई असर गर्ने मष्तिस्कमा असर पर्ने जस्ता समस्या निम्त्याउने हुनाले चिल्लोबाट पनि बच्न जरुरी छ ।

निचोड
हामीले नियमित खाने भोजनले शरीरलाई सबै किसिमको पोषण नदिन सक्छ । नियमित भोजनको अलावा जौ, गहुँ, फापर, कोदो, मकै आदिको परिकार, भटमास, पनिर, दुध, मह, काजु, बदाम, पास्ता, मौसमी फलफूल आदि खान जरुरी हुन्छ । सात्विक भोजन सेवन नै स्वास्थ्यको लागि उत्कृष्ट भोजन हो । यदि मासु माछा खानुहुन्छ भने दैनिक ५० देखि १०० ग्रामसम्म खान सकिन्छ । त्योभन्दा बढी मासु हानिकारक हुन्छ । फेरी रातो मासु भन्दा सेतो मासु राम्रो मानिन्छ । माछामा ओमेघा ३ नामक ’मिनरल’ पाइने हुनाले माछा उपयुक्त मानिन्छ । जैतुनको तेल, आलसको तेल, नरिवलको तेलमा पनि ओमेघा ३ पाइन्छ । मादकपदार्थ, शक्तिबर्धक पेय पदार्थ, सुर्तीजन्य पदार्थ जस्ता अम्मलबाट टाढै रहनुहोला । त्यसैले हाम्रो खाना कस्तो हुनुपर्छ ? कति खानुपर्छ ? कसरी खानुपर्छ ? तथा कुन समयमा खानुपर्छ ? भन्ने कुरामा ख्याल गरी सोहीअनुसार हामीले जीवनशैलीलाई परिवर्तन गर्न सक्यौं भने हाम्रो जीवन आनन्दमयी, निरोगी र दिर्घजिवी हुने कुरामा दुई मत हुन्न । अहिले मिठो मानि खाएका भोजनले हामी भविस्यमा रोगी हुने निश्चित छ । रोग लागेपछि जिन्दगीभर कमाएको धन केही दिन मै समाप्त हुन्छ भने परिवारमा बोझ भइन्छ । आफ्नै असावधानीपूर्ण जीवनशैलीले आफैलाई पिडा दिन्छ । रोग लागेर जागिरबाट विदा लिएर वा व्यवसाय बन्द गरेर अस्पतालमा बस्नुभन्दा, कमाएको श्रीसम्पति उपचारमा सक्नुभन्दा, अरुको साहारामा बस्नुभन्दा, सडकमा आउनुभन्दा वा तनावग्रस्त जीवन विताउनुभन्दा बेलैमा होस् पुर्याएर आफ्नो भोजनमा क्रान्ति गरी स्वस्थ जीवनयापन गर्नु नै बुद्धिमत्ता ठहरिन्छ ।

 

अपडेट : 2020-07-28 14:25:10




your-image

Leave a Comment