श्रावण २८ २०७७   |  2020 Aug 12    


जलाशयमा लगानी बढाउँदै घोराही उपमहानगर


news

घोराही उप महानगरपालीकाको १७ मा रहेको आरोग्य तालको पानीले ५० देखी ६० विगाह जमिनमा सिंचाई भैरहेको स्थानीय प्रकाश ज्ञवाली बताउँछन् । आरोग्य ताल घोराही नगरपालिकाले २०६८ सालमा निर्माण गरेको हो । नगर क्षेत्र भित्र पहिलो पटक निर्माण गरीएको तालले ५० विगाह जमिन सिंचाई पुगेर स्थानीयको आय आर्जनको वाटो खुलेको थियो । आजभन्दा ९ वर्ष पहिले निर्माण गरीएको ताल पुर्ण रुपमा सफल भएपछि घोराही उपमहानगरपालिकाले ताल निर्माण गर्नसक्ने स्थानहरुको खोजीगरी अहिले जलासय निर्माण गरिरहेकोे छ ।


कुनै बेला सुख्खा हुने खेतबारीमा अहिले सजिलै सिचाइ हुन थालेपछि घोराही उपमहानगरपालिका १८ सालघारी टोलकी ७३ वर्षिया हिमा सुवेदी अहिले खुशी छिन् । आकासे पानीको भरमा खेतीपाती हुने उनको खेतवारीमा अहिले कृतिम तालमा जम्मा भएको पानीले तीन पटक सम्म खेतीहुने गरेको छ । घर नजीकै रहेको सालघारी सोतामा उपमहानगरपालिकाले ड्याम बनाएर पानी संकलन गरीदिएपछि अहिले उनको खेतवारीमा सिंचाई सुविधा पुगेको हो ।

सोतामा ड्याम बाँधेर बनाएको कृतिम जलासयले अहिले स्थानीयहरुको जीवनशैली समेत फेरीएको छ । सींचाईको सुविधा पुगेकोले तरकारी उत्पादन गरी घोराही वजारमा विक्रि गर्दै आईरहेको सालघारीकै कुन्ता सुवेदीले बताईन् । “कृतिम जलासयको छेवैमा पम्पसेट राखेर सिंचाईगरी उत्पादन गरीरहेका छौ” कुन्ताले भनिन् । अहिले सालघारी टोलका ५० घर परीवारले जलासयको सुविधा लिईरहेको सुवेदीले बताईन् ।

पानीको स्रोत सुक्दै जादा सिंचाई र खानेपानीको संकटलाई व्यवस्थापन गर्न घोराही उपमहानगरपालिकाले जलाशय निर्माण गर्दै आईरहेको छ । कृषि उत्पादनवाट आर्थिक समृद्धि ल्याउन सकिने भन्दै उपमहानगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ मा ७ वटा जलाशय निर्माण गरेको जनाएको छ । घोराही ४ मा ४ वटा जलाशय निर्माण भएका छन् ।


जसमध्ये अमारे सोतामा प्रदेश सरकारको २५ लाख, स्थानीय सरकारको २२ लाख ५० हजार र २ लाख ५० हजार स्थानीयको लागत सहभागीतामा निर्माण भएको छ । रोहिणी सोतामा प्रदेश सरकारको ४५ लाख घोराहीको ५० लाख र स्थानीयको ५ लाखगरी १ करोडको लागतमा उक्त जलाशय निर्माण भएको उपमहानगरपालिकाले जनाएको छ । अमारे सोतामा तुलसीपुरमा रहेको जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले लगानी गरी जलाशय निर्माण गरेको छ भने सरे खोलामा बृहत सिंचाई आयोजनाले जलाशय निर्माण गरेको छ ।

वडा नं १७ को कर्जाहीमा एक करोडको लागतमा जलाशय बनाईएको छ । त्यसमा प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको ५ लाख लागत रहेको छ । वडा नं १२ को बनवाटिका राजीकोट जलाशय निर्माण भएको छ । प्रदेश सरकारको २२ लाख ५० हजार, स्थानीयको २ लाख ५० हजार र स्थानीय सरकारको २५ लाखको लागतमा उक्त जलाशय निर्माण भएको हो । वडा नं १२ कै कात्तिकेमा जलस्रोत तथा सिंचाई विकाश डिभिजन कार्यालय तुलसीपुरले ७० लाखको लागतमा निर्माण गरेको हो ।

यसअघि घोराही उपमहानगरपालिकाले विभिन्न वडामा १८ वटा जलाशय निर्माण गरिसकेको छ । ती जलाशयहरु बहुउपयोगी भएका कारण उपमहानगरपालिकाले जलाशयमा लगानी गर्दै आईरहेको नगर प्रमुख नरुलाल चौधरीले बताए । “एक वडा एक जलाशयको नीति लिएको उपमहानगरपालिकाले अहिले सम्म २५ वटा जलाशय निर्माण गरिसकेको छ” नगरप्रमुख चौधरीले भने । घोराही उपमहानगरपालिकाको नीतिमा अहिले प्रदेश सरकार, सिंचाई डिभिजन कार्यालय लगाएतले समेत लगानी गर्न थालेको उनले जानकारी दिए । “निर्माण भएका जलाशय उपयोगी भएका कारण अन्य निकायको लगानी भित्रिएको हो” उनले भने । जलाशयको पानीले सिंचाई सुविधा पुग्नुका साथै माछापालन र पर्यटकिय केन्द्रको रुपमा विकास हुदै गैरहेका छन् ।

अपडेट : 2020-07-19 13:44:49




your-image

Leave a Comment