श्रावण २८ २०७७   |  2020 Aug 12    


मन्दीको अर्थबेरोजगारी र समाधानका पक्ष


news

जसरी संसार चक्र गतिशील छ, त्यसैगरी आर्थिक विकासको क्रममा पनि अर्थव्यवस्थामा लगानी, उत्पादन र रोजगारमा निरन्तर घटबढ भइरहन्छन् । यसलाई उतारचढाव वा घटबढलाई व्यापार चक्र भनिन्छ । व्यापार चक्र त्यो अवस्था हो जब अर्थव्यवस्था आय, उत्पादन र रोजगारको सन्तुलनबाट विचलित भएको हुन्छ । यदि सामान्य अर्थव्यवस्थालाई सन्तुलन मान्ने हो भने यसको विचलनका दुई पक्ष हुन्छन्, समृद्धि र संकुचन । समृद्धिको शीर्ष तेजी वा बूम हो भने संकुचनको न्यूतनम बिन्दु मन्दी वा स्लम्प हो ।


आर्थिक र व्यापारिक क्षेत्रको एक जटिल विषय हो व्यापार चक्र । व्यापार चक्र किन चल्छ यसबारेमा अर्थशास्त्रीहरुले विस्तृत अध्ययन र विश्लेषण गरेका छन् । यस सम्बन्धमा कैयौं सिद्धान्तहरु समय समयमा निर्माण पनि गरिएका छन् । कतिपय सिद्धान्तहरु ऐतिहासिक बनेका छन् । उनीहरुलाई कसैले दोहोराएर विश्लेषण गर्ने गरेका छैनन् । भविष्यमा पनि केही नयां सिद्धान्त निर्माण होलान् ।


सामान्यतया कारण र प्रभाव दुवै दृष्टिले व्यापार चक्र मुद्रासंग घनिष्ठरुपमा सम्बन्धित हुन्छ । त्यसैले अर्थशास्त्रीले यसलाई मुद्रासंग सम्बधिन्त गरेका छन् । जुन सिद्धान्तले व्यापार चक्रलाई मुद्रासंग सम्बन्धित गर्छन् यस्ता सिद्धान्तलाई मौद्रिक सिद्धान्त भनिन्छ । मौद्रिक सिद्धान्तले बैंकहरुले ब्याजदरमा गरेका घटबढ तेजी र मन्दीको कारक हुन्छ भन्ने मान्दछ । निश्चित रुपमा कम ब्याजदरमा ऋण पाएमा उद्यमीहरुले अर्थव्यवस्थामा लगानी गर्छन् । जसले उत्पादन र रोजगारी बढ्न जान्छ । मन्दीबाट मुक्त हुने एउटा तरिका यो हुनसक्छ । व्यापार चक्रका लगानी सिद्धान्त पनि अप्रत्यक्ष रुपमा बैंकको ऋणनीतिमा भर पर्छन् । लगानीलाई प्रोत्साहित हुनु रोजगारी बढाउने एउटा उपाय हो । नवप्रवर्तनको सिद्धान्तले भने उद्यमीको सीपलाई ध्यानमा राख्छ । नवप्रवर्तकहरुले अरुभन्दा बढी नाफा आर्जन गर्नेहुंदा नवप्रवर्तक उद्यमीहरुले रोजगार वृद्धिमा योगदान गर्छन् भन्न सकिन्छ ।


सन् १९३० मा अर्थव्यवस्थामा डरलाग्दो संकुचन देखिएको थियो जसलाई महामन्दी नाम दिइएको छ । त्यस महामन्दीले अर्थव्यवस्थामा व्यापक बेरोजगारी फैलिन गयो । उत्पादकहरुले अत्यन्त घाटा बेहोर्नुपर्यो । उद्यमव्यवस्थाहरु धराशायी बने । यसको समाधानका लागि जुन सिद्धान्त बने त्यसमा केन्सको सिद्धान्त विश्वव्यापी बन्यो । अहिले विश्वव्यापीरुपमा आर्थिक महामन्दी फैलिन सक्ने देखिएको छ । त्यसैले आउन सक्ने मन्दी र बेरोजगारीलाई वर्तमान महाव्याधिका सन्दर्भमा मात्र विश्लेषणको प्रयास गरिएको छ ।


अर्थशास्त्रीहरुले आर्थिक स्फीति र आर्थिक संकुचन दुबैलाई असामान्य ठान्दछन् । तथापि संकुचनको अवस्थालाई बढी जटिल मानिन्छ । किनभने मुद्रास्फीतिमा केही मानिसहरुले कठिन परिस्थिति बेहोर्नु परेपनि केही मानिसहरुलाई त्यस अवस्थामा फाइदा प्राप्त हुन्छ । विशेष गरी उद्यमीहरुलाई स्फीतिकालमा जुन आर्थिक फाइदा प्राप्त हुन्छ, यसलाई उनीहरुले लगानीका लागि प्रयोग गर्छन्, त्यसैले वस्तु र सेवाहरु महंगो भए पनि उनीहरुले रोजगार प्रदान गरिरहन्छन् । तर आर्थिक संकुचनको आवस्थामा अर्थव्यवस्थाका सबै क्षेत्र लथालिङ्ग हुन पुग्छन् । रोजगाराता उद्यमीहरु टाट पल्टिन जान्छन् । यसले एकातिर श्रमिकहरु बेरोजगार हुन जान्छन् भने अर्कातिर बैंक र वित्तीय संस्थाको लगानी डुब्न सक्छ । बैंकको लगानी फिर्ता भएन भने यसको प्रत्यक्ष असर बचतकर्तालाई पर्छ । यदि बैंकले बचतकर्ताको रकम मागेको बखत फिर्ता गर्न सकेन भने बैंक व्यवस्थामाथि अविश्वास उत्पन्न भई आर्थिक अवस्था र मौद्रिक व्यवस्था दुवै जटिल हुन जान्छन् ।


व्यापार चक्रका मनोबैज्ञानिक सिद्धान्तहरु पनि छन् । यद्यपि व्यापार चक्रलाई पूंजीवादी अर्थव्यवस्थाको विशेषता मानिन्छ, तथापि अठारौं शताब्दीमा जुन व्यापार चक्र चलेका थिए त्यसबेला अनेक देशमा केन्द्रीकृत अर्थव्यवस्था पनि थिए । मुद्राको प्रचलन अत्यन्त कम भएको अवस्थामा वा आर्थिक कोषलाई सरकारले अत्याधिक नियन्त्रण गरिराखेको केमरालिज्म अर्र्थव्यवस्थामा पनि व्यापार चक्र भएका थिए । तथापि एडम स्मिथ र उनका अनुयायीहरुको के विश्वास थियो भने स्वतन्त्र अर्थव्यवस्था नै त्यो सांचो हो जसबाट रोजगारी बढाउन सकिन्छ । यसको आधार फ्रेन्च अर्थशासत्री जे बी सेको बजार नियम थियो । हुनत, त्यसबेला पनि प्रसिद्ध अर्थशशास्त्री माल्थसले अतिउत्पादन र यसका खराबीसंग बच्न सुझाव दिएका थिए । तर त्यसबेला कसैले माल्थसका सुझावमा ध्यान दिएनन् । यो कुरा पछि जेएम केन्सले सम्मानपूर्वक उल्लेख गरेका छन् ।


सन् १९३० मा जब व्यापक बेरोजगारी फैलियो अनि त्यस समस्याको विश्लेषण गरी समाधानका केन्सीयन उपायहरुले बेरोजगारी र मन्दीको समस्या समाधान दिएको हो । केन्सले व्यापार चक्रका बारेमा निकै वैज्ञानिक लेखन कार्य गरेका छन् र उनले दिएका सिद्धान्तले पछिल्लो समयमा उत्पादन र रोजगारी बढाउन अर्थ व्यवस्थामा निकै महत्वपूर्ण कार्य गरेको हो तर अहिलेको विश्वव्यापी महामारीले संसारमा व्यापक बेरोजगारी फैलिएको छ, उत्पादनका क्रियाकलाप समाप्त प्रायः छन् । वर्तमान आर्थिक मन्दीलाई मौद्रिक घटना भन्न सकिदैन । मौद्रिक मात्र होइन यसलाई आर्थिक पनि भन्न सकिंदैन । यसको मुख्य कारण प्राकृतिक हो भने आंशिक कारण मनोबैज्ञानिक हो ।


अर्थशास्त्रीहरुले विगतमा पनि व्यापार चक्रका गैर आर्थिक तत्वहरु बारे अध्ययन नगरेका होइनन् तथापि अर्थशास्त्रमा केवल आर्थिक क्रियाकलापको मात्र अध्ययन गरिने भएकोले गैर आर्थिक तत्त्व बेवास्ता हुन गएको हो । विगतमा बेवरिज, पिगु, लेसक्योर, केन्स आदि अर्थशास्त्रीहरुले व्यापार चक्रका मनौवैज्ञानिक कारणहरूको अध्ययन र चर्चा गरेका छन् । यतिमात्र होइन, व्यापार चक्रको सूर्य सिद्धान्त पनि छ । जसको अचेल प्रायः चर्चा हुंदैन । कतिपय अर्थशास्त्रीले सूर्यमा देखिने कालो दागी र आर्थिक मन्दी सम्बन्धित छन् भन्ने कुरा उल्लेख गर्दै जब जब सूर्यमा यस्तो कालो दागी देखिन्छ, व्यापार चक्र हुने गर्छन् भन्ने विश्वास गरेका छन् ।


अर्थव्यवस्थालाई प्रभावित गर्ने प्राकृतिक कारणबारे विगत शताब्दीमा अर्थशास्त्रमा चिन्तन गरिएको भेटिदैन । जुनबेला मानव समुदायको स्वास्थ्य नै जोखिममा परेको हुन्छ, त्यस्तो समयमा आर्थिक चिन्तन कसैले पनि गर्दैन, तथापि के कुरा पनि सत्य हो भने जुन दिन संक्रामक व्याधि बाट मुक्ति पाइने छ त्यसदिन सबैको ध्यान आर्थिक क्रियाकलापमा अवश्य नै जानेछ ।


विश्वको वर्तमान महामन्दीको कारण एउटा यस्तो रोग हो जसले गर्दा सबै मानिसहरूले आफ्ना आर्थिक क्रियाकलापहरू बन्द गर्न विवश छन् । सबै मानिसहरु बन्दाबन्दी लकडाउनको अवस्थामा छन् । प्रत्येक देशका सरकारले आफ्ना नागरिकहरुलाई यही निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन आफैले पनि सबैलाई सतर्क रहन आह्वान गरिरहेको छ । त्यसैले यस्तो अवस्थामा आर्थिक क्रियाकलाप हुन सकेका छैनन् यसको प्रत्यक्ष प्रभाव श्रमिकहरुलाई परेको छ भने यसको दीर्घकालीन प्रभाव उद्यमीहरुलाई पर्नेछ । वर्तमान समय आर्थिक क्रियाकलाप एकदमै कम भएको समय हो किनभने सबै उद्यमीहरु निष्क्रिय भएर बस्न बिबस छन् । उद्यमीहरूकासाथै श्रमिकहरु काममा जानसक्ने अवस्थामा छैनन् त्यसैले वर्तमान आर्थिक मन्दीको अवस्थालाई आंशिकरुपमा मनोवैज्ञानिक पनि भन्न भनिन्छ । उद्यमी र श्रमिकको मनोविज्ञानमा प्रभाव पार्ने मुख्य कारण प्राकृतिक हो । व्यापार चक्रको सूर्यसिद्धान्त र मनोविज्ञान सिद्धान्तको सीमा के हो भने यसको समाधान आर्थिक दृष्टिकोणले प्रस्तुत गर्न सकिंदैन । त्यसैले अर्थशास्त्रीहरुको भूमिका यी सिद्धान्तमा गौण हुनजान्छ । अर्थशास्त्रलाई स्वास्थ्यसंग पनि सम्बन्धित गर्दै अर्थशास्त्रीहरुले सुझाव दिनु उनीहरुको नैतिक कर्तव्य हो । वर्तमान बेरोजगारी र आर्थिक मन्दीकाकारण तीव्रगतिमा सर्ने सरुवा रोग हो । त्यसलाई नियन्त्रण गर्नु नै आर्थिक क्रियाकलापमा सुधार आउनु हो भन्न सकिन्छ । यस घटनाको प्रभाव अनिवार्य रुपमा आर्थिक भएतापनि यसको कारण आर्थिक होइन । त्यसैले आर्थिक दुष्परिणामबाट मुक्त हुनकालागि अर्थशास्त्रीहरुले समेत अर्थशास्त्रको क्षेत्रबाहिर गएर भए पनि सुझाव दिनुपर्ने आवश्यकता छ ।


सरुवा रोगबाट समस्या उत्पन्न भएकोले अर्थशास्त्रहिरुले रोग नियन्त्रणका किफायती उपायबारे योगदान गर्न निजी क्षेत्र, स्वास्थ्य क्षेत्र र अनुसन्धातालाई अनुरोध गर्न सक्छन् । अब रोजगारमा जानका लागि सरुवा रोगरहितताको प्रमाणपत्र आवश्यक हुन जानेछ । त्यस अवस्थामा न्यून आयवर्गले त्यसलाई कसरी प्राप्त गर्ने एउटा अर्को आर्थिक समस्या देखिने छ । किनभने वर्तमानमा प्रमाण पत्र प्राप्त गर्ने प्रक्रिया र लागत निकै महंगो मानिएको छ । त्यसले रोग नियन्त्रणमात्र होइन, परीक्षणका पनि आर्थिक उपायहरु किफायती हुनुपर्दछ भन्ने सुझाव दिन सक्छन् ।


रोग निदान र रोकथामका उपायहरूको सकभर निःशुल्क अन्यथा किफायती उपायहरुलाई प्राथमिकता दिनु पनि अर्थशास्त्रीहरुको कर्तव्य हो । वर्तमान समय बढी खर्चिलो उपायबाट उपभोक्तालाई बचाउने नीति निर्माता र आर्थिक क्षेत्रमा लागेका सबैको कर्तव्य हो । यसका लागि रोग रोकथामका घरेलु उपायहरूलाई प्राथमिकता दिने र कम खर्चका उपायलाई जनउपयोगमा ल्याउनु पर्छ भन्ने सुझाव दिन सकिन्छ । कमभन्दा कम खर्चले जीवनलाई सहज कसरी बनाउन सकिन्छ त्यसबारे सोच्नु आवश्यक छ । यदि स्वास्थ्य रहने केही किफायती उपायहरु पनि छन् भनी त्यसको सिफारिस गर्न पनि अर्थशास्त्रीहरु पछि पर्नुहुंदैन । वर्तमान सरुवा रोग एक विश्वव्यापी आर्थिक सङ्कटमा रुपान्तर हुंदै गएको छ । आर्थिक क्रियाकलाप चौपट भएका छन् । श्रमिकहरु बेरोजगार छन् । उद्यमीहरु हानी बेहोरिरहेका छन् । बैंकहरुले गरेको लगानी कसरी फिर्ता गर्ने यो एक थप समस्या हुनसक्छ, किनभने यसबाट वित्तीय संकट आउन सक्छ । सरकार कर संकलनमा लागेको छ । करदाताहरु कर तिर्न नसक्ने बनेका छन्, त्यसैले अहिलेको समाधान भनेको कमभन्दा कम खर्चका आधारमा सामुदायिक स्वास्थ्य र आर्थिक स्वास्थ्य दुवैको पुनरुत्थान गरेर व्यक्ति, परिवार र समाज सबैलाई स्वस्थ र सम्पन्न हुन सक्ने मनोबैज्ञानिक आधार प्रदान गर्नु हो । व्यक्ति र समाजको ममनोविज्ञान नै वर्तमान आर्थिक मन्दीबाट मुक्त हुने एउटा सांचो हुनसक्छ ।

अपडेट : 2020-07-14 00:28:09




your-image

Leave a Comment