आश्विन ६ २०७७   |  2020 Sep 22    


जनसंख्यामा कोरोना प्रभाव


news

सन् २०१९ को अन्त्यताका शुरु भएको कोभिड १९ को चपेटामा अहिले विश्वका सबै देशहरु परिसकेका छन् । मानव जातिको ईतिहासमै मानिसलाई यति भयभित बनाएको शायद यो पहिलो महामारी हो । सुचनाको प्रवाह छिटोछिटो भएकोले संक्रमित र मृत्यु हुनेहरुको संख्याको सुचना समुदायमा छिटो फैलिने गरेसंगै मानिसहरु भयभित हुने दर पनि बढिरहेको छ । कोरोना फैलिने माध्यम र नियन्त्रण हुने तरिकाको बारेमा अनेकौं अनुमान र अफवाहहरू फैलिएकोले यसले बढी डर उत्पन्न गरिरहेको छ । कोरोनाको कारणले मानव जातिको अस्तित्व नै संकटमा पर्ने अफवाहहरू आउने क्रम रोकिएको छैन. अहिले कोरोना मानिसको एउटा स्वास्थ्य समस्या मात्र नभएर आर्थिक, राजनैतिक र सामाजिक समस्या बनीसकेको छ । अन्य रोगहरुले जस्तै यसले प्रत्यक्ष मृत्यु मात्र नगराएर मानव जनसंख्या र यसको गतिशीलतामा दिर्घकालिन असर पार्ने निस्श्ति छ ।


मृत्युदरमा परिवर्तन
विश्वको जनसंख्या अहिले ७ अर्ब ८० करोड पुगिसकेको छ । अहिले विस्वमा प्रतिदिन एक लाख ५७ हजार जनाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आज ( असार २७ ) बिहान सम्म विश्वभारी कोरोना संक्रमितको संख्या करिब एक करोड २३ लाख पुगेको छ । भने कोरोना संक्रमणको कारणले मृत्यु हुनेहरुको संख्या करिब ५ लाख ५९ हजार रहेको छ । तथ्यांकहरुलाई विश्लेषण गर्दा विस्वमा नियमित मृतकको संख्याको तुलनामा कोरोना संक्रमणबाट मर्ने मानिसहरुको संख्या अत्यन्त कम हो । कोरोनाकै कारणले मृत्युदरमा ठुलो परिवर्तन आइनसकेको भएपनि लकडाउनको कारणले उपचार नपाएर मर्नेहरुको संख्या समाजमा धेरै नै भएको हुनसक्छ । कोरोना कहिले नियन्त्रणमा आउँछ भन्ने अनमान गर्न नसकिने भएकोले भविस्यमा काेिभड १९ नियन्त्रण भन्दा बाहिर गएमा यसले मृत्युदरमा अस्वाभाविक परिवर्तन भने ल्याउने निश्चित छ ।

 प्रजनन् मा प्रभाव
गरिव र विकासशील देशहरुमा प्रजनन् दरमा कमि आउनुको कारण चेतनास्तरमा परिवर्तन र प्रजनन स्वास्थ्य सुविधामा पहुँच मात्र मुख्य कारण नभएर युवा जनशक्तिको विदश पलायन पनि कारण हो । अहिले करिब ७० लाख जति नेपाली युवाहरु कामको खोजिमा घर बाहिर रहेको अनुमान छ र यसरी घर बाहिर हुनेमा प्रजननशिल उमेरका युवा युवतीहरु नै बढी छन् । कोरोना कहरले गर्दा युवाहरु आफ्नो घर फर्कने क्रम बढिरहेको छ । यसले लामो अमय टाढा बस्नुपर्ने बाध्यतामा रहेका दम्पत्तिहरुलाई संगै बस्ने अवसर प्रदान गरेको छ । बाह्य आवतजावत कम हुने र लामो समयसम्म दम्पत्तिहरु संगै बस्दा समागनको दर बढी हुनु अस्वाभाविक हुदैन. लक डाउनले गर्दा परिवार नियोजनको सेवा र सुविधामा कम पहुँच हुने भएकोले अनिच्छित गर्भ रहने सम्भावना बढी हुन्छ । यसले गर्दा प्रजनन दर स्वाभाविक रुपमा बढ्नेछ । अहिले अनुमति प्राप्त गर्भपतन क्लिनिकहरुमा पुग्न समेत महिलाहरुलाई कठिन हुने भएकोले महिलाहरुले असुरक्षित गर्भपतन गराउने सम्भावना पनि बढी हुन्छ । यसले महिलाहरुको प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुग्नेछ । यो अवस्थाको अनुमान गर्दै परिवार नियोजन सेवालाई पनि कोरोना विरुद्धको अभियान अन्तर्गत राख्नु जरुरि देखिएको छ ।

बसाईसराई र शहरिकरणमा प्रभाव
नेपालमा कोरोनाको प्रभाव देखिन शुरु गरेसंगै शहर छोडेर गाउँ जानेहरुको ताँती लागेको थियो । सहरमा संक्रमण छिटो फैलिने डरले गर्दा मानिसहरु शहर छोडिरहेका छन् । गाउँ फर्कनेहरुले गर्दा शहरका घरहरु खाली हुन थालेका, घरभाडा सस्तो हुदै गरेका जस्ता खबरहरु समेत आइरहेका छन् । कोरोनाले गर्दा रोजगार गुमाउने क्रम बढिरहेको हुदा शहरमा डेरा गरेर बस्नेहरुमध्ये धेरैजना अबका दिनमा गाउँमै बस्नेछन् । यसले शहरी जनसंख्याको आकार र संरचनामा प्रत्यक्ष असर पार्नेछ । नेपालमा शहरिकरणलाई सघाउने महत्वपूर्ण तत्व रेमिट्यान्स हो । कोरोनाको प्रभावले गर्दा रेमिट्यान्स आउने क्रम धेरै घटेको हुनाले शहरी बसाइ र वस्ती विस्तारमा पक्कैपनि कमी आउनेछ । कोरोनाको सन्त्रास बढ्दै गएमा गाउँबाट शहर जाने क्रममा कमि हुनेछ नै विदेश र शहरबाट देश र गाउमा फर्कने क्रम बढ्नेछ । यसबाट शहरीकरण र बसाइसराईको वर्तमान प्रवृतिमा नै परिवर्तन आइ ग्रामिण क्षेत्रमा नै नयाँ बजार केन्द्रहरुको विकास हुने सम्भावना देखिएको छ ।

श्रम शक्ति र सहभागिता दरमा परिवर्तन
कोभिड १९ को सबैभन्दा नराम्रो प्रभाव श्रम क्षेत्रमा परिरहेको छ । महामारीबाट जोगिन लक डाउन शुरु भएपछि नै श्रमिकहरुले रोजगारी गुमाउन थालेका छन् । यो अवस्था औद्योगिकरण भएका मुलुकहरुमा बढी छ । नेपालमै पनि अनौपचारिक क्षेत्रमा यसको असर बढी देखिएको छ । अदक्ष कामदारहरु मात्र नभई स्थापित भैसकेका निजि विद्यालय, मिडिया हाउस र बैंकिंग क्षेत्रमा काम गरिरहेका जनशक्तिहरुले समेत अचेल रोजगार गुमाईरहेका छन् । रोजगार गुमाएकाहरुलाई कसरि श्रमबजारमा पुर्नस्थापित गर्ने भन्ने कुरा अहिले बहसमा आएकै छैन । बैदेशिक रोजगारी र निजि क्षेत्रमा कार्यरतलाई रोजगार दिन नसकेमा ठुलो जनशक्ति बेकामे भएर बस्नुपर्ने, न्यून ज्यालामा अन्य क्षेत्रमा काम गर्नुपर्ने अवस्था आउनेछ । रोजगारी क्षेत्रको तुलनामा रोजगार कम हुदा सामाजिक समस्या पनि बढ्नेछ । अहिले परिवारका एक दुई जनाले काम गरेको भरमा पुरै परिवारको पालन पोषण भैरहेको अवस्थामा रोजगारी गुमिसकेपछि आम्दानि घट्ने भएकोले परिवारका सबै सदस्यहरुले श्रम गर्नुपर्ने अवस्था आउनेछ, जसबाट बढी मात्रामा बालबालिकाहरु प्रभावित हुनेछन् ।

जनसंख्या संरचनामा परिवर्तन
विकसित मुलुकहरुमा कोरोनाको कारणले प्रौढहरुको मृत्युदर बढी भएकोले प्रौढ जनसंख्याको अनुपात कम हुने अनुमान गरिएको छ । नेपालमा यस्तो समस्या अहिलेसम्म देखीएको छैन । नेपालमा कोरोनाको कारणले लैंगिक अनुपातमा भने पक्कैपनि परिवर्तन ल्याउनेछ । अहिले रोजगारीमा जानेहरुमा पुरुष धेरै भएकोले नेपालमा लैंगिक अनुपात कम छ । यदि २० प्रतिशत पुरुषहरु मात्र फर्किए भनेपनि जनसंख्याको संरचना अर्कै हुनेछ । यसले सामाजिक व्यवहारमै पनि प्रभाव पर्नेछ । खासगरी विवाह र सम्बन्ध विच्छेदको प्रवृतिमा वृद्धि हुनेछ । यसैगरी प्रजनन दर बढ्दा बालबालिकाहरुको आउदो एक दुई वर्षसम्म बालबालिकाहरुको संख्या बढ्ने भएकोले जनसंख्या वृद्धिदर बढी हुने, बालबालिकाहरुको लागि राज्यले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा बढी लगानी गर्नुपर्ने अवस्था उत्पन्न हुने देखिन्छ ।

बढ्दो अपराध
कोरोना कहर बढेसँग नेपालमा आत्महत्याको दरमा वृद्धि भएको छ । अहिलेसम्म आत्महत्या गर्नेहरुमा महिलाहरुको संख्या बढी भएपनि कहर लम्बिदै जादा पुरुषहरुको संख्या पनि बढ्ने अनुमान गर्न सकिन्छ । मानसिक तनाव, बेरोजगारी, पारिवारिक खटपट, अभाव जस्ता व्यक्तिगत कारणले आत्महत्या गर्ने क्रम चलिरहेको छ भने व्यवसाय संचालनमा समस्या, ऋणको बोझ जस्ता कारणले आउदा दिनहरुमा आत्महत्याको दर बढ्ने कुरालाई नकार्न सकिदैन । लकडाउन लम्बिदै जादा लैंगिक हिंसाका घटनाहरु वृद्धि भैरहेका छन् । यसबाट महिला र बालिकाहरु बढी प्रभावित भैरहेका छन् । बेरोजगारी, आर्थिक अभाव, अस्वाभाविक सामाजिक घुलन जस्ता कारणले गर्दा कुटपिट, हत्या, चोरी, डकैतीका घटनाहरु बढिरहेका छन् । यस्ता घटनाहरुले जनसंख्याको सामाजिक पक्षलाई नराम्ररी प्रभाव पार्ने निश्चित छ ।

बिभिन्न समयमा विस्वमा कोरोना भन्दा ठुला महामारी र विपत्तिहरु आएका थिए तर त्यसबेला संकुचित र आत्मनिर्भर आर्थिक व्यवस्था, सामाजिक प्रसारको न्यूनता, बसाइसराइमा कमि र चेतनास्तरमा कमि जस्ता कारणले अहिलेको कोरोनाले जस्तो ति महामारीले मानिसहरुलाई आतंकित र प्रभावित पार्न सकेका थिएनन । अहिले कोरोना स्वास्थ्य समस्या मात्र आर्थिक र जनसांख्यिक समस्या बनेको छ । अहिले कोरोना विरुद्धको लडाई चलिरहदा जनसांख्यिक पाटोमा कम ध्यान दिइएको छ । यसले आउदा दिनमा नेपालजस्तो विकासोन्मुख राष्ट्रमा गम्भीर समस्या सिर्जना गर्ने संकेतहरु देखा परिसकेका छन् । त्यसैले अब कोरोना विरुद्धका कार्यक्रमहरु संचालन गर्दा यौन तथा प्रजनन स्वास्थ्य, श्रम व्यवस्थापन र सामाजिक मनोपरामर्श सम्बन्धि कार्यलाई पनि एकीकृत रुपमा संचालन गर्नुपर्छ । जनसंख्या सुरक्षित र सन्तुलित भए यस्ता कोरोना कहरलाई सहजै परास्त गर्न सकिनेछ ।

अपडेट : 2020-07-11 17:38:59




your-image

Leave a Comment