आषाढ ७ २०७८   |  2021 Jun 21    


डरलाग्दो कलंक (सम्पादकीय)


news

रूपन्देहीको देवदहमा सुन्न नै नसकिने बलात्कारको घटना घट्यो । गौतम बुद्धको मावली स्थान रहेको तपोभूमि क्षेत्रमा पाँच वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ भन्दा झट्ट पत्याउन गाह्रो हुन्छ । तर, ती बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले छ जना स्थानीय युवालाई पक्राउ गरेको छ । जसमध्ये २ जना बलात्कारी भएको पुष्टि भइसकेको छ भने पक्राउ परेका अन्यमाथि थप अनुसन्धान शुरु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर ऋषिराम घर्ती मगरले बताएका छन् । पक्राउ परेकाहरूमा देवदह वडा नम्बर ६ का २२ बर्षीय लक्ष्मण बिक र ७ का १८ बर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेको प्रहरीले बताएको छ । त्यस्तै अनुसन्धानका लागि स्थानीय राजु परियार, बोधे विक, दिनेश विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । खैरेनीमा रहेको बालिकाकै घर नजिकै बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा कोही पनि नभएको अवस्थामा सो घटना भएको हो । घर नजिकै ब्लक रहेको टहरोमा लगेर बालिकामाथि बलात्कार गरिएको र सो स्थान रक्ताम्य अबस्थामा भेटिएको प्रहरीले बताएको छ ।
पाँच बर्षको उमेर भनेको भरखरै विद्यालयमा पढ्नका लागि भर्ना हुन जाने उमेर हो । त्यो उमेरमा कुनै पनि बालिकाको यौनांग विकसित भएको हुँदैन । त्यस्तो उमेरकी बालिकामाथि सामूहिक बलात्कार हुँदा कति पीडा भयो होला अनुमान गर्न पनि सकिँदैन । तर, लक्का जवान भएका ती युवाहरूले बलात्कार गरे । बालिका बाँच्न सफल भइन् यहि नै महŒवपूर्ण कुरा हो । कतिपय मानिसहरू कतिसम्म निर्मम र राक्षसी प्रबृत्तिका हुन्छन् भन्ने कुरा यो घटनाले पुष्टि गर्दछ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि गरिएको हत्या हुनु र बलात्कारी तथा हत्याराहरूमाथि अनुसन्धान र पक्राउ हुन नसकेको घटना सेलाउन नपाउँदै रूपन्देहीमा यस्तो जघन्य घटना घट्यो कि जसले सबैको मन मस्तिष्कलाई हल्लाइदिएको छ । बलात्कारका घटना यत्तिमामात्र सीमित छैनन् । दिनहुँजसो कहिँ न कतै घटिरहेका छन् । पोखरामा बालिकामाथि बलात्कार भयो । त्यसरी नै बलात्कारीहरू बलात्कार गर्न असफल भएपछि एकजना बालिकालाई ढुंगाले हानेर पाोखरामै मारिएको समाचार पनि आएको हो । किन यस्ता ज्यानलेवा घटना समाजमा घटिरहेका छन् यसको जिम्मेवार पक्ष के हो अब सरकार, नागरिक समाजले गम्भीरताकासाथ खोजबिन गरेर यस्ता घटना निर्मूल पार्न अघि बढ्नु पर्ने भएको छ ।
अहिले भरखरै लैंगिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम देशमा मनाइएको छ । लैंगिक हिंसा रोक्ने लक्ष्यकासाथ अघि बढिरहेको अवस्थामा देवदहमा यस्तो जघन्य घटना घट्नुले अभियानलाई नै चुनौती दिएको छ । यो भनेको सरकारलाई पनि चुनौती हो । मानवअधिकारवादी संघ संस्थामाथि चुनौती हो । पाँच बर्षका बालिकाहरू पनि सामुहिक यौनमा पर्नु भनेको मानव समाजको लागि नै डरलाग्दो कलंक हो । यो कलंकलाई सरकारले कञ्चनपुरको घटनालाई जस्तो आश्वासनको शब्दले निस्कृय पार्न मिल्दैन । यद्यपि यस घटनाका अपराधीहरू पक्राउ परिसकेका छन् । कानुनी कारबाही निश्चितै होला । र, कतिपय नेताहरू अपराधीलाई छुटाउन चलखेल पनि गर्लान् । तर, सरकारले यस्ता बलात्कारीलाई सामान्य थुनामा राखेर छाड्न मिल्दैन । केही महिना वा बर्षपछि उनी छाडिन्छन् र फेरि अर्को घटना घटाउन सक्छन् । त्यसैले बलात्कारको प्रकृति हेरेर उनीहरूलाई भौतिक कारबाही गर्ने कानुन निर्माण गर्नु आवश्यक भई सकेको छ । पौराणिक कानुनमा चोरका हात काट्ने, बलात्कारीका लिंग काट्नेजस्ता प्रकृतिका कानुन अब देशमा लागू गर्न अपराधका घटनाक्रमले माग गरेको देखिन आएको छ । पाँच बर्षका बालिका पनि सामूहिक यौन हिंसामा परी रगताम्मे हुनुपर्छ भने के अहिलेकोजस्तै लचिलो कानुनले महिलाले आफ्नो अस्तित्व जोगाएर राख्न सक्लान् ? प्रश्न उठेको छ ।

अपडेट : 2018-12-09 01:08:38




your-image

Leave a Comment