आषाढ ७ २०७८   |  2021 Jun 21    


नागरिक उड्डयनका कुरा (सम्पादकीय)


पैसा हुने मानिसहरू अहिले विभिन्न देशमा आवागमन गर्नको लागि वा आफ्नै देशमा एक ठाउँबाट अर्को ठाउँमा छिटोछरितो रूपमा जानको लागि जहाजको प्रयोग गर्छन् । जहाजको यात्रा सडक यात्राभन्दा महँगो हुन्छ । तर, छिटै गन्तब्यमा जान सकिन्छ । यसमा गरिने यात्रालाई अन्य खालका यात्राभन्दा सुरक्षित पनि मानिन्छ । विदेशका विभिन्न मुलुकमा अहिले नेपालबाट थुप्रै मानिस कामको खोजीमा जाने गर्दछन् । फर्केर आउने गर्दछन् । उनीहरूलाई बस वा रेलबाट जान लामो समय लाग्छ, अनेक प्रकारका झञ्झटहरू ब्यहोर्नु पर्छ । तर, विमानबाट गरिने यात्रा छिटो हुन्छ । यसरी नै कतिपय दुर्घटनाहरू हुँदा उद्वारको लागि जहाजकै प्रयोग हुन्छ । कतिपय ठाउँ जहाँ सडक यातायात चल्दैन, ती ठाउँमा अत्यावश्यक बस्तुहरू जहाजबाटै पुराउने गरिन्छ । नेपालका जुम्ला, हुम्ला जस्ता सडक यातायात नगएका ठाउँमा हवाइजहाजद्वारा अत्यावश्यक बस्तुहरू जस्तै औषधि, नुन, खाद्यान्न आदि ओसार्ने गरिएको छ । सडक यातायात नगएका ठाउँका नागरिकहरू आवागमन गर्नको लागि एकमात्र बैकल्पिक साधनको रूपमा विमान नै रहेको छ । नेपालमा राणाकालसम्म विमान सञ्चालनमा थिएन । तर, केही विमानहरू विदेशबाट आउने गर्थे । पञ्चायतकालमा शाही नेपाल बायु सेवा निगम खोलेपछि सरकारी ध्वजाबाहक विमान पचिालनमा ल्याइएको हो । अहिले निजी क्षेत्रबाट पनि विमानहरू आयात गरी सञ्चालनमा ल्याइएको छ । यो सबै हेर्नको लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै खडा गरिएको छ ।
मानिसले जब आकाशमा चराहरू उडेको देख्यो तब उसलाई पनि उड्ने रहर जाग्यो । तर, मानिसको शारीरिक संरचना चराको भन्दा भिन्न थियो । आफै उड्न सक्ने अवस्था नभएपछि उसले इन्धनबाट चल्ने जहाजको परिकल्पना ग¥यो । पुष्पक विमानहरूको कल्पना गरियो । शुरुमा छोँटो समयसम्म मात्र उड्न सक्ने जहाजहरू निर्माण ग¥यो । पछिल्ला दिनहरूमा त्यसलाई परिमार्जित गरी शक्तिशाली, निकै ठूला आकारका बढी क्षमता भएका जहाजहरू बनायो । अहिले एउटै विमानमा सयौँ मानिसले यात्रा गर्न सक्छन् । जहाजको क्षमता कतिसम्म विकसित गरियो भने एउटै जहाजले एकैचोटी दुईओटा जहाजसम्म बोकेर नयाँ ठाउँमा लैजान सक्छ । यो त ठूला विमानको कुरा भयो । सानाखालका उड्ने कारहरू पनि बनाइएका छन् । जसमा तीन चारजना मानिसहरू बसेर टाढा रहेको कार्यालयमा काम गर्न जाने र साँझ घरमा फर्कन सक्छन् । यसमा इन्धन पनि चाहिँदैन । सौर्य उर्जाले इन्धनको काम गरेको हुन्छ । धनी मानिसहरूले आफ्नो निजी प्रयोजनको लागि यस्ता एयर कारहरू प्रयोगमा ल्याइरहेका छन् ।
नेपालमा नागरिक उड्डयन निकै आवश्यक छ । यसकारण कि दुर्गम पहाडी स्थानमा सजिलोसँग छिटै पुग्नको लागि जहाजले सजिलो बनाइदिन्छ । दुर्गम क्षेत्रका सरकारी कार्यालयहरूमा काम गर्नको लागि अधिकांश मानिसहरू शहरी क्षेत्रबाट जाने गरेका हुन्छन् । सरकारले खटाउने गर्छ । तर, नियमित विमान नचल्दा कहिले जाने, कहिले फर्कने भन्ने अन्यौलता उत्पन्न हुन्छ । त्यसैले निश्चित ठाउँमा विमानस्थलहरू बनाएर नियमित उडान भर्ने ब्यवस्था मिलाउनु जरुरी छ । यसरी नै सबै ठाउँमा स्वास्थ्यसेवा नभएको अवस्थामा बिरामीलाई छिटोछरितो रूपमा ल्याउन लैजान पनि विमान नै आवश्यकता हुन्छ । यसको लागि फराकिलो जमीनको बाटो पनि चाहिँदैन । सौर्य उर्जाबाट चल्ने विमानहरूबाट उडान भर्न सकियो भने वातावरणमा पनि कुनै असर पर्दैन । इन्धन खरिद गर्नको लागि राष्ट्रको ढुकुटी रित्ताउनु पर्दैन । नागरिक उड्डयन दिवस मनाइरहँदा यो कुरातर्फ सम्बन्धित विज्ञहरूले ध्यान पुराउँदा राम्रो हुनेछ ।

अपडेट : 2018-12-07 00:52:58




your-image

Leave a Comment