आषाढ ७ २०७८   |  2021 Jun 21    


बालाचतुर्दशी र कृषिको सम्बन्ध (सम्पादकीय)


आज बाला चतुर्दशी हो । यसलाई सप्तबिज छर्ने चतुर्दशी पनि भनिन्छ । विभिन्न शिवालय मन्दिरमा गई सात प्रकारका अनाजहरू मिलाएर छर्दा छर्ने मानिसका पितृहरूले मोक्ष प्राप्त गर्छन्, उनीहरूको आत्मा तृप्त हुन्छ, जहाँ छन् यसरी छरिएका अनाजहरू त्यहाँ गएर उम्रन्छन् र ती उम्रेका अनाज फलहरू पितृहरूले खान पाउँछन् भन्ने मान्यता रहेको छ । यसरी छरिने सप्तबिजमा धान, गहुँ, जौ, काबुन, मास, मुगी र सामालाई मानिएको छ । काठमाडौँको पशुपतिनाथ, श्लेषमान्तक, अन्य विभिन्न स्थानमा रहेका शिवालय मन्दिरहरूमा छर्ने गरिन्छ । यसरी सप्तबिज छर्दा जान अनजानमा गरेका पापहरू नष्ट हुन्छन्, पितृहरूले आशिष दिन्छन् भन्ने मान्यता पनि रहेको छ । यसमा एउटा पौराणिक कथा यस्तो छः बाला नाम गरेको एउटा राक्षस थियो । तर, उ त्यहाँको राजा बृसको निकै मिल्ने साथी थियो । राजा र बालाकाबीचमा निकै घनिष्ठता थियो । तर, बालाले बेलाबेलामा आतंक मच्चाउने गर्दथ्यो । राजालाई यो कुराले दुःखित तुल्याएको थियो । बालालाई मार्नुपर्छ भन्ने सुझाव राजालाई पुगेपछि उनले बालासँग अरू मित्रता बढाइ नजिक पारेर तपस्याको वलबाट मार्न सफलता पाएको दिनको रूपमा बाला चतुर्दशीलाई मान्दै मित्रताको दिवस पनि भन्ने गरिन्छ । सप्तबिज छर्ने काम कहिलेबाट शुरु भयो यसको यकिन गर्न नसकिए पनि यो निकै पुरानो परम्परा हो ।
यो पनि हो कि हाम्रा पुस्ताहरूले विभिन्न जनाबर, चराचुरुंगीहरूलाई माया गर्दै आएका थिए । मन्दिर परिसरमा चराचुरुंगीहरूको बासस्थान रहन्छ । तिनीहरूको पालन पोषणको लागि बेलाबेलामा खाद्यान्न दिनुपर्छ । त्यस्ता बिज बिष्टाबाट झरेर नयाँ बिरुवा उम्रन्छ । यसरी थुप्रै प्रजातिका बिरुवाहरू उम्रने गरेको देखिएकै छ । यसको लागि पनि पुस्ताहरूले सप्तबिज छर्ने परम्परा बसालेका हुन सक्छन् । मंसिरको महिना रवि खेती गर्ने महिना पनि हो । किसानले विभिन्न प्रकारका रवि फसलका बीउहरू आफै सुरक्षित राखेका हुन्छन् । बीउ राम्रोसँग उम्रोस्, पर्याप्त फल लागोस् भनेर मन्दिरमा चढाएरमात्र खेत बारीमा छर्ने परम्पराको रूपमा पनि विकास गरिएको हुनुपर्छ । माथि उल्लेखित बिउहरूमा स्थान विशेषको आधारमा अन्य विउहरू पनि सप्तबिजमा मानिन्छ । कतै मकैलाई मिसाइएको छ । कतै चना, केराउ पनि थपिएको छ । यो दिन कृषिसँग जोडिएको छ । किसानहरूले कति प्रजातिका अनाजहरू उत्पादन गर्नुपर्छ, तिनको के महŒव छ आदि कुराहरू यो दिनसँग जोडिएर आाउँछन् ।
वास्तवमा मानिसलाई वा अन्य जीबजन्तुको लागि पनि अनाज नभई बाँच्न गाह्रो हुन्छ । हरेक अनाजमा अनेकखाले पौष्टिक तत्व अन्तरनिहीत हुन्छ । जसले शरीरलाई आवश्यक पर्ने क्यालोरी प्रदान गर्छ । अनाज उत्पादन गर्नको लागि जमीन, सिचाइँ, कृषि औजार र मानिसको श्रम, सिप आवश्यक हुन्छ । नेपालको भुबनोटअनुसार हामी कृषिमा आश्रित छौँ । हाम्रा पुस्ताहरू अधिकांश किसान थिए । कृषि कार्यमा अहिले पनि ठूलो संख्यामा नेपालीहरू संलग्न छन् । तर, कृषिको यथोचित ब्यवस्थापन हुन नसक्दा अनाज निर्यात गर्ने मुलुकमा बाहिरबाट आयात गरेर खानुपर्ने बाध्यता छ । जमीन छ सिंचाई छैन । कतै श्रम गर्ने मानिसहरू छैनन् । कतै औजार पुग्दैनन् । अहिले मानिसले गाई गोरु पाल्न नै छाडिसकेका छन् । गाई गोरु नपालेपछि मल हुँदैन । जोत्नको लागि गोरु हुँदैनन् । दुध खानको लागि समस्या छ । सबै आयात गरेर खानुपर्ने बाध्यता बढ्दै गएको छ । हामीले अर्गानिक खाद्यान्न खान खोजेका हुन्छौँ । तर, आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्नको लागि रासायनिक मल र किटनासक औषधिहरू प्रयोगमा ल्याउँछौँ । पुराना घरेलु प्रबिधिहरू नष्ट गर्दै गइरहेका छौँ । कृषिमा हाम्रो लगन हराउँदै छ । बाला चतुर्दशीमा सप्तविज छरेर पुण्य आर्जन गर्न त चाहान्छौँ । तर, त्यहाँ चढाइने सात प्रकारका अनाजहरू जुटाउने क्रममा बजारमा किन्न जानुपरेको छ । ती अनाज कुन मुलुकबाट आयात गरेर बजारमा बेच्न राखिएका हुन् भनेर खोजी गर्दैनौँ । यो परनिर्भरताले हामीलाई कहाँ पुराउला अब सबै नेपालीले सोँच्न ढिला भइसकेको छ ।

अपडेट : 2018-12-06 01:07:25




your-image

Leave a Comment