आषाढ ७ २०७८   |  2021 Jun 21    


हराउँदै सदाचारिता (सम्पादकीय)


अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेललाई एक लाख रूपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ । अहेवको अन्तवार्तामा पास गराइदिने भन्दै जाँचमा बसेको विद्यार्थीबाट उनले घुस लिएका थिए । स्वास्थ्य सेवाका ११ औँ तहका अधिकृतले एक लाख रूपैयाँमा यसरी ¥याल छाड्छन् भने कर्मचारीतन्त्र भित्र घुस प्रबृत्ति कतिसम्म मौलाएको होला अनुमान गर्न कठीन छैन । उनी पहिले पनि विवादित रहेका थिए । त्यसैकारणले पनि हुन सक्छ घुसदाताले घुस दिने समयमा अख्तियारका कर्मचारीलाई खबर गरिदिएका थिए । घुस लिने र दिने मिलेका हुन्थे भने अख्तियारले घुस्याहाहरूलाई पक्राउ गर्न सक्ने अवस्था रहन्न । घुस खान जानेका पारखीहरूले आफ्नो हातमा घुसको रकम बुझ्दैनन् । स्वास्थ्य निर्देशक अलि लाछी घुस्याहा भएकोले नै हुन सक्छ उनी चुके । सबै रकम एक्लै खाने दाउँमा रहेकोले यस्तो भएको हुन सक्छ । उनी त पक्राउ परेपछिका एकजना पात्रमात्र हुन् । कसलाई जागिर लगाइदिने, कसैलाई योजना पारिदिने, कसैलाई मुद्दा उसको पक्षमा पारिदिने, कसैलाई विदेश घुम्नको लागि टोलीमा नाम राखिदिने यस्ता अनेक बहानामा घुस लेनदेन भइरहेको हुन्छ कर्मचारीतन्त्रमा । यस्तो सञ्जाल देशैभरी फैलिएको छ । यहि भ्रष्टाचारले आज देशलाई खोक्रो तुल्याएको छ ।
कर्मचारीतन्त्रलाई देशको खम्बा मानिन्छ । किनभने आम जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने निकाय नै कर्मचारी निकाय हो । यसको स्थायी संरचना हुन्छ । जनताका काम गर्ने, उनीहरूलाई सचेत तुल्याउने भएकोले नै कर्मचारीलाई सेवाप्रदायक भन्ने गरिन्छ । अझ अर्को शब्दमा भन्नुपर्दा राष्ट्रसेवक पनि भनिन्छ । तर, सेवाप्रदायक, राष्ट्रसेवकको खोलमा कस्ता मानिसले काम गरिरहेका छन् भन्ने कुराको एउटा नमुना हुन् डा. तारानाथ पौडेल । पृथ्बीनारायण शाहले कर्मचारीको घुस खाने प्रबृत्तिमाथि औँला उठाउँदै भनेका थिएः घुष लिन्या, दिन्या दुबै दोषी हुन् । उनीहरूलाई देश निकाला गरे पनि पाप लाग्न्या छैन । यो अर्थमा पनि भन्न सकिन्छ कि पृथ्बीनारायण शाहका पालामा पनि तत्कालीन कर्मचारीतन्त्रमा घुसको लेन देन हुन्थ्यो । पछिल्ला दिनहरूमा घुस लिने दिने कामलाई शब्दमा कडाइ गर्न खोजिएको देखिन्छ तर, ब्यवहारमा अझ सजिलो बनाउँदै लगिएको छ । लेनदेन गर्नका लागि जथाभाबी छिद्रहरू छाडिएको छ । पक्राउ गर्ने डोबहरू सबै मेट्दै लगिएको छ र परेमा पनि निस्कनका लागि अनेकन बाटाहरू खोलिएको छ ।
हामीले देशमा गणतन्त्र आएको छ, जनताले चुनेको सम्बिधानसभाबाट सम्बिधान जारी भएको छ, हामीले चुनेर पठाएका जनप्रतिनिधिहरूको सरकार बनेको छ, उनीहरूको इशारामा देश चलिरहेको छ भनेर नाक फुलाएका छौँ । मुलुकमा रहेका सबैजसो नराम्रा प्रबृत्तिहरू नासिएर जानेछन्, सबैतिर सदाचारिता छाउने छ भनेर सपना देख्यौँ । तर, बस्तुगत अवस्था त्यस्तो छैन । हामीले चुनेर पठाएका नेताहरू सरकारमा त अवश्य छन् तर, उनीहरूको हातमा सत्ताको लगाम छैन । नेताहरू जनताका पक्षमा पनि छैनन् । किनभने उनीहरूलाई जनताको विपक्षमा नचाउने रिमोट कंट्रोल अरूकै हातमा छ । भाषणमा उनीहरूले जनताको दुहाइ अवश्य दिएका हुन्छन् । तर, उनीहरूलाई पनि पैसाको आवश्यकता छ । त्यो आवश्यकता पूरा गर्नको लागि भ्रष्टाचारतन्त्रसँग हातेमालो गर्न उनीहरू अघि बढिरहेका छन् । सदाचारिता, राजनैतिक निष्ठा, जनताप्रतिको उत्तरदायित्व संघर्षको मैदानमामात्र हुन्छ । सत्ताको कुर्चीमा पुगेपछि त्यो सबै एकादेशको कथा बन्न पुग्छ । अब नेताहरूलाई जनताको आवश्यकता चुनावमामात्र हुन्छ । उनीहरू जनताका काम गरेर भोट लिने पक्षमा भन्दा चुनावमा भोट किन्ने कुरामा बढी विश्वस्त बन्दै गएका छन् । नेताहरूको यो स्वभावले गर्दा डा. पौडेल प्रबृत्ति देशमा मौलाइरहेको छ । यसलाई अन्त्य गर्नको लागि त समाज रूपान्तरण गर्नुबाहेक विकल्प छैन ।

अपडेट : 2018-12-04 03:03:36




your-image

Leave a Comment