आषाढ ७ २०७८   |  2021 Jun 21    


अपांगङ्गता दिवस र अवस्था


आज अन्तर्राष्ट्रिय अपांगता दिवस हो । यसपटक संयुक्त राष्ट्रसंघले हामीले खोजेको भविष्यका लागि १७ ओटा उद्देश्यहरू भन्ने नाराकासाथ विश्वभरी नै अपांगता दिवस मनाँउदै छ । नेपालमा पनि यो दिवसलाई यो वा त्यो प्रकारले मनाउने गर्दै आइएको छ । सन् १९९२ डिसेम्बर तीन देखि नै निरन्तर रूपमा मनाउने गरिँदै छ । बिश्वब्यापी मान्यतामा १५ प्रतिशत मानिस कुनै न कुनै प्रकारबाट अपांग हुन्छ । यसो भन्नुको अर्थ यो दिवस विश्वका १५ प्रतिशत मानिससँग प्रत्यक्ष जोडिएको छ । जुन अपांग छन् । विश्व जनसंख्याको अनुपातमा नेपालमा ०.४ प्रतिशत मानिस बसोबास गर्छन् भने अपांगहरूको १५ प्रतिशत संख्याले विश्वको कति ठूलो भूभाग ओगटेको होला यो त अनुमानमात्र गर्ने कुरा भयो । कुनै पनि अपांग उ आफू त प्रत्यक्ष रूपमा पीडित छ नै, उनीहरूसँग जोडिएर अप्रत्यक्ष रूपमा अरू पनि पीडित भएका हुन्छन् । कति अपांग भएकाहरूको स्याहार सम्भारको लागि सहयोगीको खाँचो पर्छ । त्यसरी संलग्न हुने ब्यक्तिलाई अप्रत्यक्ष अपांग मान्दा अन्यथा हुँदैन ।
कोही पनि मानिस चाहेर अपांग हुँदैन । अपांग हुनु संयोगको कुरा हो । यो कुनै दैवी कारणले पनि होइन । कोही जन्मजात अपांग हुन्छ । त्यो गर्भाबस्थामा बच्चा कुपोषित हुनु, गर्भधारण गरेको आमा कुपोषित हुनु, अथवा उमाथि शारीरिक, मानसिक यातना हुनु, आमाको गर्भाशय पूर्ण नहुनु,
बाल्य तथा बृद्ध अवस्थामा गर्भधारण गर्न पुग्नु लगायतका अनेकौँ कारणहरू हुन सक्छन् जसले बच्चालाई सही र पूर्ण रूपमा जन्म दिन सक्तैन । यसो हुनु कुनै दैवी कारण निश्चितै हैन । अहिले विज्ञान र प्रविधिले भ्रुण अवस्थामा बालक कस्तो अवस्थामा छ भनेर जाँच गर्न सकिन्छ । जुन प्रविधि पहिले थिएन । त्यसैले मानिसले दैवले यस्तै दियो भनेर भन्नुपर्ने अवस्था थियो । कतिपय अपांगता जन्मेपछि देखिन्छ । यो हुनु भनेको बालकका अभिभावकले बच्चाको नियमित स्वास्थ्यजाँच नगराउनु, पौष्टिक आहार नपुग्नु, आमाको दुध खान नपाउनु, उचित स्याहार सम्भार नपाउनु आदि कारणबाट हुन्छ । यसमा घर परिवारको अर्थ ब्यवस्था पनि जोडिएको हुन्छ । कतिपय अपांगता विभिन्न दुर्घटनाका कारणबाट मानिसमा आएको हुन्छ । सडक दुर्घटना, भिर वा रुखबाट लडेर अंगभंग हुनु, बन्य तथा घरेलु जनाबरबाट आक्रमण गर्दा हुने अपांगता, आपस्तमा कुटपिट गर्दा हुने अपांगता, मुलुकमा चल्ने गृहयुद्ध, विभिन्न आन्दोलनबाट हुने शारीरिक, मानसिक क्षति आदिबाट मानिसहरू अपांग हुन पुग्छन् । यसमा कुनै पनि उमेर समुहका र कुनै पनि लिंगका मानिसहरू पर्न सक्छन् । नेपालकै कुरा गर्दा यो अवस्थाबाट अपांग भएकाहरूको संख्या सानो छैन ।
अपांगहरूलाई पहिले देखि नै अलि हेयभावले हेर्ने गरिन्थ्यो । अहिले पनि कतिपय ठाउँमा हेलाहोँचो गर्ने, होँच्याएर बोल्ने गरिन्छ । अपांगहरूले मौका पाए भने सबलांगहरूले जस्तै काम गर्न सक्छन् भन्ने कुरा धेरैले बुझेका छैनन् । शरीर अपांग देखिएपछि सबै कुरा अपांग हुन्छ भन्ने मान्यता पालिएको छ । अहिले कतिपय मौका पाएका अपांगहरूले ठूला ठूला कार्य सम्पादन गरेका छन् । सवलांगलाई चुनौती दिएका छन् । ब्रेललिपि पढेर नेत्रहीनहरू प्रोफेसर बनेका छन् । गोडा गुमाएकाहरूले सगरमाथा चुमेका छन् । खुट्टाको औँलाले कलम च्याँपेर लेख्दै झमककुमारी नेपालका साहित्यकारहरूलाई उछिन्दै प्रख्यात भएकी छन् । खाँचो अबसरको हो । अपांगमैत्री वाताावरणको खाँचो हुन्छ उनीहरूलाई माथि उठाउनको लागि । त्यसरी नै समाजले उनीहरूलाई गन्तब्यमा पुग्न सहयोगको खाँचो पर्छ । उनीहरूको आवश्यकताहरू ब्यवस्था गर्न राज्यको ध्यानाकृष्ट गर्नु आवश्यक हुन्छ । माया, सम्मान दिन सक्नुपर्छ । यो कामको परिपाटी मिलाउनु राज्यको दायित्व हो । तबमात्र अपांगहरू पनि सम्मानित भएर समाज निर्माणमा होष्टेमा हैँसे गर्न सक्छन् । अपांग दिवस दिवसका लागि मनाउने नभई रूपान्तरणका लागि मनाइनु पर्छ ।

अपडेट : 2018-12-03 07:53:40




your-image

Leave a Comment