Logo
११ मंसिर २०७९, आईतवार
Logo

एमाले उम्मेदवारलाई मतदान गर्न उद्योगी व्यवसायीको अपिल


बुटवल, १ मंसिर ।

यसक्षेत्रका उद्योगी व्यवसायीहरुले सार्वजनिक अपिल जारी गर्दै नेकपा एमालेका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । एमाले निकटको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका तर्फबाट सार्वजनिक अपिल जारी गर्दै एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आह्वान गरिएको हो ।

महासंघका केन्द्रीय सचिव बालाराम भट्टराई र लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपालले बिहीबार संयुक्त अपिल जारी गर्दै समग्र औद्योगिक एवम् ब्यावसयिक हकहितको सम्वद्र्धन सँगसँगै समृद्धि र सुखी जनताको राष्ट्रिय संकल्प लिएको र उक्त लक्ष्य हासिल गर्ने उपयुक्त कार्यक्रम समेत बनाएको एमालेका उम्मेदवरलाई मतदान गरी समृद्धिको अभियानमा योगदान गर्न आग्रह गरेका छन् ।

‘अहिले जुन अवस्थामा आम निर्वाचन भइरहेको छ देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा छ । आर्थिक क्षेत्र नकारात्मक अवस्थाबाट गुज्रिरहेको अवस्था छ । अर्थतन्त्र जोगाउने, लगानीको वातावरण बनाउने, रोजगारी सृजना गर्ने र ग्रामीण रोजगार वृद्धि गर्नेतर्फ अहिलेको सरकारले कुनै योजना सार्वजनिक गरेको हामीले पाएका छैनौं’ अपिलमा भनिएको छ । सरकार (राष्ट्र बैंकसहित) को गलत आर्थिक नीतिका कारण बैंकको ब्याज अत्यधिक बढेको छ, तरलता अभावले गर्दा बैंकहरूसँग लगानीयोग्य रकम नभएको र त्यसको प्रत्यक्ष मारमा उद्योगी, व्यवसायी र समग्र निजी क्षेत्र परिरहेको महासंघको अपिलमा उल्लेख छ । गठबन्धन सरकारको गलत आर्थिक नीतिले गर्दा महँगी झन्डै दोब्बर बढेको छ । महँगीको मारले आम नागरिक आक्रान्त भएको दयनीय अवस्था सिर्जना भएको बताइएको छ ।

‘देश विकासको ढाँचा र अर्थ व्यवस्था सही दिशातर्फ उन्मुख नभएको, अर्थतन्त्रमा दिनदिनै जोखिम बढिरहेको छ र यसलाई जोगाउने उपायको अबलम्बन हुन नसकिरहेको अवस्थामा चुनाव हुँदैछ ।’ महासंघले भनेको छ–‘यो चुनावसंगै मुलुकलाई सही दिशामा डो¥याउनुपर्ने छ, संकटग्रस्त अवथामा रहेको अर्थतन्त्र जोगाउने उपाय खोज्नुपर्ने छ । चुनावपछि आउने नेतृत्वले जोखिमपूर्ण अर्थतन्त्रलाई जोगाउने उपाय अवलम्बन गर्नुपर्ने छ ।’ यसका लागि आम मतदाताले देश विकासको प्रष्ट खाका बनाएको, समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय संकल्प लिएको राजनीतिक दल र उम्मेदवारलाई चुन्नुपर्ने महासंघको अपिलमा छ । सम्पूर्ण उद्योगी, व्यवसायीहरुमा यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध÷अपिल गर्दछौं कि यो चुनावमा नेकपा एमालेका सूर्य ध्वजावाहक उम्मेदवारलाई मतदान गरी विजयी गराउनुहुन हार्दिक अपिल गर्दछौं ।’ अपिलमा उल्लेख छ ।

एकातिर निरन्तर मूल्यवृद्धि हुने, स्वदेशी उद्योग धन्दा र लगानी जोखिममा पर्ने, राज्यका अंगहरु कमजोर बन्दै जाने अवस्थाको अन्त्य होस् भन्ने कुरामा जोड दिंदै अपिलमा देश विकास र अर्थतन्त्रसँग सरोकार राख्ने र श्रम गर्ने व्यक्तिहरू अन्योलकै स्थितिमा रहनु भनेको कुनै पनि मुलुकका लागि सुखद कुरा होइन भन्ने कुराको बोध जिम्मेवार निकायमा होस् भनिएको छ ।

जनताको जीवनस्तरमा सुधार भई अर्थतन्त्र सही दिशातर्फ उन्मुख गराउनेतर्फ राज्य केन्द्रित होस् भन्दै अपिलमा देश विकासका लागि स्पष्ट कानूनी व्यवस्था गर्न, स्थिर, समयसापेक्ष सुधारसहितको नीतिगत व्यवस्था गर्न, दूरदृष्टि नेतृत्व, भ्रष्टाचाररहित आर्थिक गतिविधि, विश्व अर्थ व्यवस्थासँग सामञ्जस्य कायम गर्न सक्ने दृष्टिकोण बनाउनका लागि आवश्यक रहेको समेत औंल्याइएको छ ।

रोजगारी सृजना, राजस्व प्रणालीमा सुधार गर्न, आयात प्रतिस्थापनका उपाय खोजिनुपर्ने, औद्योगिक विकास र युवालाई रोजगारीको व्यवस्था हुनुपर्ने, विपन्नको आय आर्जनमा सुधार हुनुपर्ने साथै राजस्व नीति, करका दरको समायोजन एवं दायराको विस्तार गर्नुपर्ने, राजस्व प्रशासनमा निरन्तर सुधार र सुशासन कायम हुनुपर्ने, राजस्व संकलन प्रणालीलाई सरल, वैज्ञानिक र चुस्त बनाइनुपर्ने माग गरिएको छ । लगानीको सुरक्षा, प्रवद्र्धन र वातावरण बनाउनुपर्ने, निजी क्षेत्रलाई विश्वासमा लिने अवस्थाको विकास हुनुपर्ने र आन्तरिक उत्पादन, उपभोग, उत्पादकत्व र रोजगारी सिर्जनामा ध्यान दिइनुपर्ने माग अपिलमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?