Logo
११ मंसिर २०७९, आईतवार
Logo
फोटो कथा

उम्मेदवार घरदैलोमा, मतदातालाई खेतीपातीको चिन्ता (फोटो फिचरसहित)


बुटवल, २९ कात्तिक ।

धानको भारी बोकेर खलोमा ल्याउँदै गरेका धकधई, अडरिया टोलका रामअचल यादवलाई चुनावको भन्दा खेतीपातीकै चिन्ता छ । मंगलबार परिवारसहित खलोमा धान बोकिरहेका उनी यो वर्ष उब्जनी कम भएको गुनासो गरे । चार सय मिटर दूरीमा धानको भारी बिसाएर सुस्ताएका उनी सिचाईको राम्रो ब्यवस्था नहुँदा सधै आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको बताए । ‘हामी आकासे पानीमा खेती गर्न बाध्य किसानहरु सधै जोखिममा छौ’–उनले भने ।

उनी एक विगाहामा खेति गर्छन । यो वर्ष एक कठ्ठामा ५० किलो भन्दा बढी उब्जनी नहुने उनको आंकलन छ । ‘पहिले पहिले एक कठ्ठामा डेढ क्विन्टलससम्म उत्पादन हुन्थ्यो’–उनले भने । समयमा बीउ, मलखाद र पानीकै कारण उत्पादन ह्रास भएको उनको दाबी छ । खेतमा गहुँ लगाउने तयारीमा रहेका उनी अब मलखाद कहाँबाट ल्याउने समस्यामा छन् । पहिले २ हजार रुपैयाँ प्रतिबोरा भारतबाट पाईने खाद अहिले भने चोरीनिकासा गरेको पनि ३ हजार ५ सय रुपैयाँमा पाउन कठिन भएको उनले बताए । कृषि पेशा अपनाउन धेरै समस्या भएको उनको दुखेसो छ ।

‘कृषि मल विउ सबैभन्दा ठूलो समस्या छ । ‘एक विगाहामा २ बोरा डीएपी, ३ बोरा युरिया र १ बोरा पोटास हाल्नुपर्छ’–उनले भने । वर्षमा धान र गहँु गरी दुई खेति गर्ने उनी जस्ता किसानलाई धेरै समस्या छ । खेतमा काम गरिरहँदा धेरै नेताहरु चुनाव प्रचारमा गाउँ छिरेको उनले देखे । उनीहरु चुनावको बेलामात्र गाउँ पस्ने गरेको उनको दुःखेसो छ । ‘पाँच वर्षसम्म कता हराए कुन्नी ?’–उनले प्रतिप्रश्न गरे । पटकपटक मन्त्री बन्ने तर जनताको समस्याबारे भने नेताहरु अनभिज्ञ हुने गरेको उनको गुनासो छ । ‘हामी जनता दुखःी छौ ।’–उनले भने ।

अडरिया टोलको चोकमा सानो टंकी पसलमा ५५ वर्षीय सलिम उननिशा ग्राहकको पर्खाईमा छिन् । झुपडी घर अगाडि टंकी राखेर चहलपहल हुने चोकको सदुपयोग गरेकी उनी किराना सामानहरु बेचिरहेकी छिन् । खेतिपातीबाट जीवन चल्न नसकेपछि टंकी पसल थापेको उनले बताईन् । पाच वर्षसम्म कुनै नेता नआएको गाउँमा दैनिक हुल बाँधेर नेताहरु आएको उनी बताउँछिन् । ‘चुनावको प्रचारमा दैनिक नेताहरु गाडी चढेर आएका छन्’–उनले भनिन् । टंकी पसलबाट उनी चिहाएर बसेकी छिन । डिजे साउण्ड बजाएर नेताहरु गाउँ छिरे पनि माहौल भने नबनेको उनी बताउँछिन् । ‘नेताहरुलाई कुर्सी चाहिएर भोट माग्न आएका छन’–उनले भनिन ।

खेति किसानी गर्ने धकधई वडा नं. ३ की ४२ वर्षीय रामकली कहाँरको एउटा खुट्टा नचल्ने समस्या छ । लौरोको सहारामा हिडडुल गर्ने उनी काम गर्न सक्दिनन् । ब्लड प्रेसरकै कारण प्यारालाईसिस भएको उनले दुःखेसो गरिन् । ‘गाउँमा राम्रो अस्पताल छैन’–उनले भनिन् । बिरामीहरु सही उपचार पाउन नसक्ने अवस्थामा रहेको उनले बताईन् । नेताहरु चुनावको बेलामात्र गाउ पस्ने गरेको भन्दै उनले हाम्रो समस्या कहिलै पनि बुझने र समाधान गर्नेतर्फ ध्यान नदिएको दुःखेसो गरिन् ।

ससुराबाले भएको सम्पत्तिकै १२ कठ्ठा जग्गा समेत मन्दिरलाई दान गरेपछि बचेको ८ कठ्ठा जग्गामा उनको श्रीमान महेश कोहाँर खेती गर्छन् । खेतीबाट वर्षदिन खान नपुग्दा कोहार ज्यालादारी काम गरेर जिविका चलाउँछन् । परिवारमा १ छोरा र २ छोरीहरु ९ कक्षासम्म पढेर छोडेको उनले बताईन् । गाउँ डुलेर हिड्छन तर घरमा नसघाउने उनले दुःखेसो गरिन । ‘खेतमा धान झुलिरहेका फसल समेत काट्न समस्या छ’–उनले भनिन् ।

गाउँका चल्ताफुर्ता युवा १८ वर्षीय गौतम यादव राजनीतिक दलप्रति सकारात्मक छैनन । नेताहरु चुनाव जितेपछि एकपटक फर्केर नआएको उनी दुःखेसो गर्छन् । निःशुल्क शिक्षा भने पनि गरिब विपन्न परिवारका बच्चाहरु पढ्न सक्ने अवस्थामा नरहेको उनी बताउँछन् । आफ्नो ४ महिना खेति गर्ने धेरै युवाहरु रोजगारका लागि नजिकका शहर र विदेशमा जाने गरेको उनी बताउँछन् । परिवारको सदस्य आर्थिक रुपमा सबल भएमात्र छोराछोरी स्कुल जान्छ भन्ने नेताहरुले बुझन जरुरी रहेको उनको सुझाव छ । गाउँमा बुढाबुढीहरु भने वृद्ध भत्ताको ब्यवस्था गरेको भन्दै एमाले उम्मेदवारप्रति सकारात्मक रहेको उनी बताउँछन् । पढेर नोकरी मिल्दैन त्यसैले किन पढ्ने भन्ने गाउँमा धेरैको सोच परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।

पोखरीभिण्डीका ६९ वर्षीय ओसिउल्ला खान पटकपटक निर्वाचनमा भाग लिएका छन् । मधेशको जनताको एकमात्र माग भौतिक विकास भएको बताउँछन् उनी । नेताहरुले गठबन्धन गरेर जनतालाई ठग्ने काम गरेको उनको दुःखेसो छ । विकासको नाममा दलका नेताहरु मिलेर बजेट खाने काम गरेको उनी बताउँछन् ।

भारतीय सिमा भगवानपुरदेखि धकधईसम्म पाँच किलोमिटर दूरी पक्की हुन नसकेको उनको दुःखेसो छ । यो सडक खैरेनी हुँदै पाल्पा जोड्ने लक्ष्य हरेक पार्टीको प्रचारमा भेटिन्छ । मुस्लिम र यादव जातिको बाहुल्यता रहेको सो क्षेत्रमा निर्णायक भोट मानिन्छ । रोहिणी, ओमसतिया, देवदहका क्षेत्रका ७५ प्रतिशत जनसंख्या खेतिपातीमा निर्भर छन् । उनीहरुको एकमात्र माग कृषि उपजका लागि बिउबिजन, मलखादको सहजता, सिचाईको ब्यवस्था, सडकमार्गको पहुँच, शिक्षा, स्वस्थ्य नै मुख्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?