Logo
२३ जेष्ठ २०८०, मंगलवार

एमालेलाई चारैतर्फबाट घेराबन्दी भयो : ओली


सन्धिखर्क, १२ चैत ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले चारैतर्फबाट घेराबन्दी भएको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको पक्षमा एमाले खरो रुपमा प्रस्तुत भएकाले सबैले घेराबन्दी गरेको बताए ।

‘हामीविरुद्ध घेराबन्दी गरिएको छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले पाटीलाई घेराबन्दीमा पारिएको छ ,’ उनले भने, ‘अब अरु दलहरु एकातिर र एमाले अर्काेतिर भए पनि आउँदो चुनावमा जनताको रोजाईको पार्टी एमाले नै बन्ने छ, तल्लो तहसम्मको जनता सम्म पुग्न पार्टीले ग्रासरुट अभियान संचालन गरेको छ । ओलीले एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीको चलखेल हुन सक्ने भन्दै सचेत रहन पनि कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले मिसन ग्रासरुट मार्फत एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे । हरेक वडा, हरेक पालिका हरेक प्रदेश र संघमा सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको उनले बताए । त्यसका लागि पार्टी भित्रको अन्तरविरोध हटाउनुपर्नेमा उनको जोड थियो।

फरक प्रसङ्गमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ’झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन ।’ साथै सरकार ‘बनाइदिएको’ भोलिपल्टबाटै चालामाल ठीक नभएको र सरकार ढाल्न लागि परेको उनको भनाई थियो ।

समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई उनले आग्रह गरे । अहिले सिङ कस्का बलिया भनेर जोरी खोज्ने समय नभएको बताउँदै उनले मानवीय समाजको सभ्यतालाई बुझेर कम्युनिष्ट पाटीका नेता र अरू पाटीका नेता कार्ड छुट्ट्याउन नहुने बताए । ओलीले सरकार ढाल्ने खेल खेलेपछि आफूहरूले देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने संकल्प गर्नैपर्ने बताए । अध्यक्ष ओलीले अर्घाखाँचीमा भएका विभिन्न धार्मिक स्थलहरुमा अवलोकन भ्रमण संगै दर्शन समेत गरेका छन् । जिल्लाको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर र अर्घा भगवती मन्दिरको ओलीले दर्शन गरेका हुन् ।

तस्विरः कृष्ण परियार

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?