Logo
२४ माघ २०७९, मंगलवार
Logo

पर्यटन सरोकारवालाको प्रश्न : चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा तान्ने योजना खोई ?


बुटवल, ८ माघ । पर्यटनसंग सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिहरुले छिमेकी मित्र राष्ट्र चीनका बौद्धमार्गीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आकर्षित गर्न सरकारको योजना र पहल नभएको औंल्याएका छन् ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीले भैरहवामा चिनियां नयां वर्षको अवसरमा गरेको अन्तरक्रियामा सरोकारवालाले चीनमा ५५ करोड बढी बौद्धमार्गी रहेकाले उनीहरुलाई लुम्बिनीमा आकर्षित गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चीनमा ५५ देखि ६० करोड बौद्धमार्गीहरु रहेको अनुमान छ । हरेक वर्ष २ प्रतिशत चिनियांलाई नयां वर्षको विदा मनाउन लुम्बिनीमा आकर्षित गर्न सकियो भने प्रदेशलाई मात्र हैन देशकै अर्थतन्त्रलाई नै लाभ हुने सरोकारवालाको सुझाव छ ।
अन्तरक्रियामा लुम्बिनी वौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले चीनले आफ्नो नयां वर्ष साताव्यापी राष्ट्रिय विदा सहित दुई हप्तासम्म मनाउने भएकाले उक्त विदामा बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्न सरकार र निजी क्षेत्रले प्रभावकारी पहल गर्नुपर्ने बताए ।
चिनिया बौद्धमार्गीलाई लुम्बिनीमा बौद्ध दर्शन र बौद्ध शिक्षाको जानकारी एवं नेपाली संस्कृति आदान प्रदान मार्फत चिनियालाई लुम्बिनीमा आकर्षित गर्न सकिने प्रचूर सम्भावना भएपनि सरकार र पर्यटन व्यवसायीको प्रभावकारी पहल नपुगेको बज्राचार्यले औंल्याए ।
उपकुलपति बज्राचार्यले सरकार र पर्यटन व्यवसायीले चिनियां नयां वर्षलाई लक्षित गरेर लुम्बिनी टुर प्याकेज बनाई मार्केटिङ गर्न चुकेको औंल्याउंदै यसतर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले विशेषगरी चिनिया नयां वर्षको लामो विदाको अवसरमा चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सरकारले पहल गर्नुपर्ने र केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग छिटो कार्यान्वयनमा ल्याउन पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने आग्रह गरे ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले राजनीतिक स्थायित्व, नेतृत्वको कुशलता र जनताको मिहिनेत एवं अनुशासनले चीनले आर्थिक समृद्धि र विकासमा छलाङ मार्दै विश्वकै पहिलो अर्थतन्त्र बन्ने होडमा रहेको भन्दै चीनको आर्थिक प्रगतिबाट नेपालले पाठ सिक्नुपर्ने बताए । उनले चीनले अघि सारेको बीआरआई परियोजनामा नेपाल सहभागी भएर भौतिक पुर्वाधारको विकासमार्फत लाभ लिनुपर्ने सुझाए । अध्यक्ष सापकोटाले चिनिया नयां वर्षको अवसरमा नेपालस्थित चिनिया राजदुतावासमार्फत चिनिया राष्ट्रपति,चीन सरकार र चिनिया जनतामा शुभकामना व्यक्त गरेका छन् ।
अन्तरक्रियामा साहित्यकारहरु विजयसागर श्रेष्ठ,डिल्लीराज भट्टराई,लुम्बिनी प्रेस क्लबकी उपाध्यक्ष सम्झना शर्मा,समाजका वरिष्ठ उपाध्यक्ष गोबिन्दप्रसाद रेग्मी, महासचिव मनिष जोशी लगायतले चीनले उत्तरी नाकाहरु खेलिदिनुपर्ने,नेपालसंग जनस्तरमा सम्बन्ध अझ विस्तार गर्नुपर्ने खांचो औंल्याए ।
चिनियाँ नयाँ वर्ष जनवरी २१ देखि फेब्रुअरी २१ को बीचमा पर्दछ । चिनियांहरु नयां वर्षलाई स्प्रीङ फेस्टिवलका रुपमा मनाउंछन् । चिनियां नयां वर्ष नेपालका गुरुङ, तामाङ, शेर्पा जातिको जस्तै १२ वटा जनावरसंग सम्बन्धित हुन्छ । यो वर्ष खरायो वर्ष परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी