Logo
२४ माघ २०७९, मंगलवार
Logo
फ्रन्टपेज

फस्टाउँदो होजियारी उद्योग

रुपन्देहीमा ४० भन्दा बढी होजियारी उद्योगहरु रहेका छन् । ती उद्योगहरुले चिनियाँ र भारतीय उत्पादनसँग प्रतिष्पर्धा गरिरहेका छन् ।

बुटवल – पछिल्लो समय होजियारी उद्योग तथा व्यवसायप्रति नेपाली उद्योगी ब्यबसायीहरु आकर्षित भएका छन् । ऊनीको धागोबाट बनाईने स्वीटर, गलबन्दी, टोपी, गाउन, टाउजर, सुरुवाल, हाईनेक लगायतका सामग्रीहरुको उत्पादनमा जोड दिन थालेका छन् । सानो लगानीबाट उद्योग स्थापना गर्न सकिने, उद्योगी बनेर अरुलाई रोजगार पनि दिन सकिने तथा स्वदेशमै बसेर पनि लाखौं कमाउन सकिने देखिएपछि होजियारी व्यवसाय फस्टाउन थालेको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर–६ सेवापथमा संचालित श्री मालिका होजियारी उद्योगका संचालक भिम पौडेलले होजियारी उत्पादन र बिक्रीबाट प्रसस्त आम्दानी गर्न सफल भएको बताउँछन् । २०७६ सालमा होजियारी उद्योग तथा ब्यबसाय शुरु गरेका पौडेलले अहिले २० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्न सफल भएका छन भने स्वदेशमै होजियारी सामग्री उत्पादन र बिक्रीबाट बार्षिक लाखौं रुपैयाँ कमाउन पनि सफल भएका छन् । पौडेल भन्छन्— ‘यसबाट नत रोजगारीका लागि विदेशी भूमिमा भौतारिनुपर्ने, नत स्वदेशमै बेरोजगार छु भन्दै हिँड्नुपर्ने, काम र दाम रामै्र कमाउन सकिने भएपछि यहि उद्यम शुरु गरेको हुँ ।’

पौडेलका अनुसार पछिल्लो समय अधिकांश युवा र महिलाहरु होजियारी उद्योगप्रति आकर्षित बन्न थालेका छन् । बिगतमा राम्रो गैरसरकारी संस्थामा माथिल्लो अधिकृत सरह तलब पाएका पौडेललाई आफै उद्यमी र स्वरोजगार ब्यबसायी बन्ने हुटहुटीका कारण जागिर छाडेर अन्ततःउद्योगीबन्न पुगेको बताउँछन् । पौडेल भन्छन्—‘अरुको अण्डरमा बसेर काम गर्नु भन्दा अरुलाई अण्डरमा राखेर काम गर्ने ईच्छा पुरा गर्न आफैले केही गर्नुपर्छ भन्ने हेतुले २०७६ सालदेखि होजीयारी उद्योग संचालन गर्न पुगेँ । करिब ४० लाख खर्च गरेर स्थापना गरेको होजियारी उद्योगमा अहिले बजारको मागअनुरुप आपूर्ति गर्न नसक्दा कामको चापले भ्याईनभ्याई छ ।’

मालीका होजियारी उद्योगमा ८ वटा सिलाई मेशिन,३ ओभरलक मेशिन, १ ईन्टरलक मेशिन, २ कटिङ्ग मेशिन, ३ कढाई मेशिन तथा बुनाईका ठूला ५ वटा मेशिनबाट उनीजन्य कपडाहरु उत्पादन गर्दै आएका छन् । रुपन्देही होजीयारी संघका सह–सचिव समेत रहेका पौडेल भन्छन्–‘सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, भारत लगायत चाइनिजका उत्पादनलाई भन्सार र आयातमा कडाई गर्ने हो भने नेपाली उत्पादनले बजार पाउन सक्ने संभावना छ । उद्योगीहरु विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुने थियो । स्वदेशी उत्पादनको प्रवद्र्धन र प्रोत्साहन गर्ने राज्यको दायित्व रहेको भएपनि त्यो खाली भाषणमा मात्रै सीमित भएकाले देशमा उद्योगधन्दा गर्ने वातावरण नै छैन ।’
बुटवल गार्मेण्ट हाउसका संचालक बसन्तप्रसाद श्रेष्ठ पनि भारत लगायत तेस्रो मुलुकमा गई बर्षौँसम्म पसिना बगाए । अब अरुका देशमा होइन आफ्नै देशमा केही गर्नुपर्छ भनेर बुटवल ६ को दुर्गापथमा होजियारी उद्योग स्थापना गरेर संचालन गरिरहेका भेटिन्छन् । आफ्नै घरमा उद्योग संचालन गरेका श्रेष्ठलाई पनि कामको चापले बर्षको ९ महिना भ्याईनभ्याई हुन्छ । बाँकी तीन महिना भने अफसिजन रहेको बताउँछन् । उनले आफू लगायत घरपरिवार र अन्य गरि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब १५ जनालाई रोजगारी समेत प्रदान गर्दै आएका छन् ।
उद्योग संचालन गर्न दक्ष कालीगढको अभावले गर्दा भारतीय नागरिकहरुलाई ल्याएर बुनाईका ठूला मेशिन संचालन गर्नुपर्ने अवस्था रहेको छ । सरकारले युवा स्वरोजगारको कुरा गरिरहेको भएपनि दक्ष कालीगढको अभाव दिनप्रतिदिन खड्किदै गैरहेको छ । यी समस्याहरुतर्फ तिनै तहका सरकारको ध्यान गएको छैन । देशमै रोजगारी सिर्जना गर्ने स्वरोजगार उद्यमी ब्यबसायीलाई प्रोत्साहन नहँुदा घरेलु तथा साना स्वरोजगार उद्योगी ब्यबसायीहरु निरुत्साहित बन्ने अवस्था आईरहेको रुपन्देही होजियारी संघका अध्यक्ष तिलक पाण्डे बताउँछन् ।
बुटवलमा गुभाजु होजियारी, भगवती होजियारी, सिद्धवावा होजियारी, सनसाइन फेसन उद्योग, नसिव गार्मेण्ट, ॐ होजियारी, न्यू सनलाइट होजियारी, शिखर होजियारी, बुटवल गैरे होजियारी, बुटवल गार्मेण्ट हाउस गरि रुपन्देहीमा ४० भन्दा बढी होजियारी उद्योगहरु रहेका छन् । ती उद्योगहरुले चिनियाँ र भारतिय उत्पादनसँग प्रतिष्पर्धा गरिरहेका छन् । भारतीय र चाइनिज उत्पादनसँग बजार प्रतिस्पर्दा गर्नुपर्ने, बजारमा उधारो सामग्री बेच्नु पर्ने आदि कारण व्यवसायीहरुका मुख्य समस्या रहेको ब्यबसायीहरु बताउँछन् ।
घरपरिवार र समाजमा बसेर उद्योगीबन्न पाउँदा भने आफूहरु खुशी रहेको बताउँछन् । काम गर्ने मजदुरहरुपनि बर्साैंदेखि होजियारीको काममा रमाउँदै आएका छन् । घरमै बसी अधिकृत तहको भन्दा बढी तलब समेत पाइरहेको कामदार राजु चौधरी बताउँछन् । उमेरले ५३ लागेका उनी नवलपरासीबाट बुटवल आएर मालिका होजियारीमा काम गर्दै आएका छन् । सिलाई गर्ने ओभर लक गर्ने कामबाट उनले मासिक ५० हजार भन्दा बढी कमाउने बताए ।
डिलमायाँ दर्लामी, अस्मिता कुमाल, रमाचालिसे, उसा मगर, निमा तरामु जस्तै थुप्रै महिलाहरु घरको काम सकेर खाली रहेको समयमा उद्योगमा आई रामै्र आमदानी गर्ने गरेको बताउँछन् । उनीहरु घरपरिवार चलाउनमा श्रीमानलाई सहयोग गर्न पाउँदा र आफै पैसा कमाउन पाउँदा खुशी छन् । अरुको भर पर्न पर्दैन आफै कमाउँछौ आफै खर्च गर्न छोराछोरी पढाउन सजिलो भएको बताए ।
नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने, उद्योगीहरुको समस्या समाधान गर्ने, कच्चापदार्थमा लाग्ने राजश्व घटाउने र भन्सारमा आयात लगायतका बिषयमा निगरानी बढाउने हो भने उद्योगहरु संचालन गर्न, स्थापना गर्न कुनै पनि समस्या नहुने रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल बताउँछन् । सरकारको नीति स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने अवस्था नभएसम्म घरेलु तथा साना उद्योगहरु फस्टाउन नसक्ने उल्लेख गदै अध्यक्ष पौडेलले होजियारी उद्योगलाई प्रबद्र्धन गर्न आवश्यक रहेको बताए ।

उत्पादित सामग्रीको बजारगुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्गजा, नेपालगञ्ज, दाङ्ग, धनगढी, रोल्पा रुकुम लगायतको क्षेत्रमा पुग्ने गरेको छ । चाइनिज र भारतिय उत्पादनले नेपाली उत्पादनमा असर पुगेको व्यवसायीको गुनासो छ । उद्योगलाई चाहिने कच्चा पदार्थ स्वदेशमा नै उपल्बध गराउनमा जोड दिनुपर्ने उनीहरु बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी