Logo
२४ माघ २०७९, मंगलवार
Logo
विचार

विश्वासको मतभित्र रहस्यात्मक चलखेल !


नेपालमा बहुदलीय व्यवस्था पुनः स्थापना भएयता वास्तवमा भन्ने हो भने हरेक नेपालीको मनमा एक प्रकारको तुँवालो लागेको हो । त्यस देखियता हामीले व्यवस्था निकै बदल्यौं । त्यसैसंगै प्रधानमन्त्री र सरकार पनि बदल्दै गयौं तर, अवस्था चाहेजति बदल्न सकेनौं । यो त सत्य हो । नेतृत्वमा जाने र राजनीतिमा लागेर सत्ताको स्वाद चाखेकादेखि बाहेक अरुहरुलाई बहुदलीय व्यवस्था कता आयो कसलाई आयो ? यो व्यवस्था आएर हुने के हो ? भनेर प्रश्न गर्ने हो भने त्यसको जवाफ सायद तत्काल आउने छैन । आयो भने पनि आम नागरिकलाई नभएर सत्तामा जाने र उनका आसेपासेलाई मात्र आयो भन्ने जवाफ आउने छ । यो सबैतिरबाट आएको कुरा हो । नागरिकले जे देखे त्यही भने । यसमा उनीहरुको कुनै दोष छैन ।

हामी बहुदलबाट लोकतन्त्रमा पुग्यौं । लोकतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा पुगेको कुरा २०६३ सालदेखि बोल्दै लेख्दै आएका छौं । तर वास्तविक गणतन्त्र वास्तविक नागरिकलाई आयो कि आएन ? यो प्रश्न भने अहिलेसम्म अनुत्तरित छ । वास्तवमा यसको उत्तर सहजै आउनुपर्दथ्यो । यही उत्तर पाउन सकिएको छैन । वास्तविक नागरिकलाई वास्तविक गणतन्त्र आउनु पर्दथ्यो । भन्न त यस बीचमा निकै उलटफेर भयो भन्ने पनि गरिन्छ तर उलटफेर कहाँ भयो ? भनेर हेर्ने हो भने जस्ता थे मित्जु उस्ताका उस्तै पाउन सकिन्छ । मित्जु बदलिएका छैनन् । बदलिएको भनेको नेतृत्व गर्नेहरु मात्र हो । हुन त यस्ता कुरा लान्छना लगाएको जस्तो पनिहोला तर नेतृत्व गर्नेहरु उदाहरण बन्न सक्नुपर्दथ्यो । त्यसो भएन भन्ने मात्र हाम्रो चाहना हो ।

२०४७ सालको बहुदलीय .व्यवस्था पुनरागमनपछि आजसम्म बनेका सरकार र प्रधानमन्त्रीका अनुहार हेर्नुभयो भने साह्रै ठूलो संख्यामा यही काम कुराको विकास भएको देखिन्छ । कही केही भएन, यसो पनि होइन । समयसापेक्ष हुने कामदेखि बाहेक जनअपेक्षा अनुसार भएन भन्ने मात्र हो । जुन कुुरा मुलुकको आवश्यक्ता थियो । २०७९ मंसिरमा सम्पन्न निर्वाचनको जे जस्तो परिणाम आयो त्यसको दृश्यले पाँचदलको गठवन्धनले सरकार बनाउँछ भन्ने धेरैलाई लागेको थियो । त्यतिमात्र होइन गठवन्धन भित्रमा धेरै दलको चाहना पनि त्यही थियो तर नाटकीय ढंगले र कल्पना गरे भन्दा बाहिरको दृश्यबाट सरकार गठन भएको छ । अझ यसमा झन अर्को आश्चर्य भनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत पुस २६ गतेका दिन संसदबाट लिन चाहेको विश्वासको मतमा नेपाली काँग्रेसले समेत आफ्नो मत प्रचण्डलाई दिएपछि अर्को आश्यर्च मात्र होइन एक हिस्सामा आशंंका थपिएको छ । अहिले यसलाई लिएर साह्रै ठूलो स्वरमा शंकाको डंका पिट्नु त्यति जरुरी छैन । यस्ता कुरा २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारले पनि प्राप्त गरेको थियो । यो दोस्रो उदाहरण मात्र हो । एउटा अंक थप भएको मात्र हो । नेपाली काँग्रेसले प्रचण्डलाई विश्वासको मत दिंदा वेश हुने लाग्यो उसले दियो । भित्री रहस्य केही होला तर यसलाई शंकाभित्र राखिरहनु पर्दछ भन्ने लाग्दैन । यदि यस्तो केही भित्री रहस्य रहेछ भने पनि केही आश्चर्य हुने छैन । किनकि यो पनि पहिले भएका कार्यहरुमा एउटा अंक थपिने मात्र हो । यसअघिका घटनामा यस्ता कुरा नआएको भए पो यो पहिले हुने थियो र आश्चर्यजनकको घटना हुने थियो । यस्ता घटना नेपालीले धेरै देखिकेका र भोगिसकेका छन् । यसमा के को आश्चर्य ?

  • वर्तमान प्रतिपक्षबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिनुले सबैलाई आश्चर्यचकित पारेको छ । यसभित्र ठूलो कुरा केही नहोला तर विषालु सर्पले माया गरेर चुम्वन गरेमापनि खति व्यहोर्नु पर्दछ । त्यसैले बूढा लेखनाथले भनेका छन् “ज्यादै प्रेम गरेर खास उसले गर्दा पनि चुम्वन । हाम्रो यो अनमोल जीवन उडी जाने खरानी हुन् ।।” यसलाई यत्तिमै सिमित राख्दा वेश होला ।

घटना जे जस्ता आएको भएपनि अहिले बनेको सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकलाप र बोली भाषा पहिले भन्दा केही फरक देखिएको छ । अर्कोतर्फ यसै निर्वाचनमा उदाएका र केही सिट हात पारिसकेका नयाँ राजनीतिक दल र उनीहरुको समर्थनमा यो सरकार रहेको हुनाले पनि पहिले भन्दा केही फरक देख्न र सुन्न पाइन्छ भन्ने थोरै अडकल भईरहेको छ । यसकारण पनि वर्षौ पहिले लागेको तुवाँलो थोरै भएपनि हट्छ भन्ने विचार धेरैमा बनेको छ । तर, यो पुरै जनचाहना अनुसार चल्छ भन्नेमा शंका भने छँदैछ । किनकि व्यक्ति फेरिए पनि आचरण उही र उस्तै भयो भने जो गएपनि उस्तै त हो नी । यस अघिका दिनमा गरेको जस्तो सत्ता ढाल्ने र उठाउने खेल यसपटक गर्न भने अलिक कठिन छ जस्तो लाग्छ तर दुध चोरेर खान पल्केको ढाडे बिरालोले मुसा छोप्ने प्रयास गर्दैन भन्छन् । पहिले गरेको जस्तो सत्ता उल्टाउने कुटनीति यसपटक पूरै काम लाग्ने देखिदैन । किनभने यस पटकको निर्वाचनको परिणाम विगतका वर्षभन्दा निकै फरक छ । पाँचवटा दल एक ढिक्का भएर निर्वाचनमा जाँदापनि एउटा दललाई ढलाउन र गलाउन नसकेको घटना त ताजै छ । यो ताजा सन्देश हाम्रासामु हुँदाहुँदै पहिले जस्तै खेल खेलिन्छ भन्ने त लाग्दैन । अवपनि चेत कान उघ्रेनन भने धुलो चाट्ने भन्दा अर्को परिणाम देखिनेछैन । तर, होसियार हुनैपर्दछ । किनकि परको चोर्नेले घरको पनि चोर्छ र घरको चोर्नेले परको पनि चोर्छ भन्ने उखान त सधैँ काम लाग्ने उखान हो । यसभन्दा पहिले पनि एकपटक ढाड सेकिनेगरी पार्टी एकताको नाममा एमालेले धोखा पाएकै हो । अनुहारमा हिलो लतपतिने गरी हिलो दलिएकै हो । यसपटकको निर्वाचन भनेको एउटा दललाई सिध्याउनका लागि गरिएको नाटक जस्तै थियो । तर, उपाय लागेन । पाँचदलका नेताले भने जस्तैगरी नागरिकले मत दिएनन् । ०७४ को निर्वाचनताका दुई दलको एकता हुँदामात्र होइन चुनावी मोर्चा हुँदा नागरिकमा आएको उत्साह तासको महल जस्तै ढलेको हो । त्यो सबै सम्झिल्याउँदा अहिलेको गठबन्धन ताक परेर तिवारी भएको मात्र हो । ताक नपरे त फेरी गोतामे भइदैन भन्ने कुनै ग्यारेन्टी छैन । तर, सधै शंका गरिरहनु पनि उचित हुँदैन । शंका नगर्दा पनि शंकाका केही झिल्काहरु प्रधानमन्त्रीले विश्वासको मत लिंदा आएका छन् । ती झिल्काहरु कसरी झर्छन वा खस्छन ? झर्दा कस कसलाई पोल्छन त्यो भने हेर्न र सुन्न बाँकी छ । कसैले यी झिल्काले डढेलो लगाउन सक्ने आशंका पनि गर्न लागेको सुनिन्छ । वर्तमान प्रतिपक्षबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिनुले सबैलाई आश्चर्यचकित पारेको छ । यसभित्र ठूलो कुरा केही नहोला तर विषालु सर्पले माया गरेर चुम्वन गरेमापनि खति व्यहोर्नु पर्दछ । त्यसैले बूढा लेखनाथले भनेका छन् “ज्यादै प्रेम गरेर खास उसले गर्दा पनि चुम्वन । हाम्रो यो अनमोल जीवन उडी जाने खरानी हुन् ।।” यसलाई यत्तिमै सिमित राख्दा वेश होला ।

अरु मुलुकका कुरा नगरौं । हाम्रो नेपालमा अव विचार र सिद्धान्त भन्ने कसैसंग छैन । हिंजो निर्वाचनको समयमा एमालेले राप्रपासंग घाँटी जोडेर निर्वाचनमा गयो भनेर नथाकेका पुष्पकमल दाहाल अहिले राप्रपाले दिएको बैशाखीमा उभिनु भएको छ । सात खुट्टा मध्येमा एउटा बलियो खुट्टा राष्ट्रिय प्रजातन्त्र पार्टी बनेको छ । पहिले आफ्नै पालामा काटेको पुस २७ को एकता दिवस र विदा यसपटक राप्रपाको माग अनुसार आफै थप गर्नुभएको छ । यसबाट नेपालका सबै पार्टी एउटै गोरेटोमा हिंडन तयार छन् भन्ने सन्देश मान्नु पर्दछ । हरेक कुरा मुखले भने जस्तै सहज ढंगले चल्दैनन् । यो मानेमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा एमाले अध्यक्ष केपी शर्मा ओली निकै दूरदर्शी रहेछन् भन्ने बुझिन्छ । पहिले पार्टी एकताको पहल गर्ने मध्येमा पनि ओलीको नाम अगाडि आएको थियो । अहिलेको कुराले यो कुरा पुष्टि गर्दैछ । त्यतिवेला एकतामा भाँजो नहालेको भए यतिवेलासम्म नेपालको कम्युनिष्ट पार्टीलाई कसैले हल्लाउन सक्ने थिएन । आजको यो गति भोग्नुपनि पर्ने थिएन । किनकि केपी बाले अर्को अवधिमा म प्रधानमन्त्री पनि बन्दैन र पार्टी अध्यक्ष पनि हुँदैन भनेर भनेकै हुन तर तातै खाम भन्दा खेरी आज राप्रपाको बैशाखी चाहिने अवस्था आएको छ । हरेक कार्यकर्ताले यो विषयमा निकै गम्भिर हुनैपर्दछ । वर्तमान सरकार आफ्नो आयुसम्म चलोस् भन्ने धेरैको चाहना यस्तै छ तर बाहिरबाट गरेको चाहनाले नहुँदो रहेछ । चाहनाभन्दापनि नेतृत्व गर्नेहरुको इच्छाशक्तिमा भरपर्ने कुरा हो । त्यही इच्छा शक्ति पुरै जाँगरका साथ देखाउने समय आएको छ । हाम्रो शुभकामना छ यसले सार्थक रुप ग्रहण गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी