आषाढ १९   |  2022 Jul 03    


डढेलोको उच्च जोखिममा लुम्बिनी प्रदेश


news

हरेक वर्ष गर्मी मौसम शुरु हुनासाथ देशमा डढेलोेका घटनाहरु बढ्नु नियमित प्रक्रिया जस्तै भएको छ । गर्मीयाममा नडढेको वन शायदै भेटिएला । तर यो साल भने हिउदको अन्तिम सातासम्म पानी परेकोले फागुनको मध्यसम्म डढेलोका घट्नाहरु देखिएका थिएनन् । चैत्रको पहिलो सातादेखि नै देशभर गर्मी बढेसंगै वनक्षेत्रमा ठूला डढेलोेहरु लागेका खबरहरु सार्वजनिक भएका छन् । गर्मीयामका शुरुवाती दिनमा बढेको गर्मीलाई हेर्दा यो वर्ष नेपालमा डढेलोको प्रकोप बढ्ने निश्चित देखिएको छ ।

लुम्बिनी प्रदेशमा डढेलोः
हिमालदेखि तराईसम्म फैलिएको लुम्बिनी प्रदेशमा ५०.४३ प्रतिशत भूभाग वनले ढाकेको छ । तराईमा घना वन बाँकी रहेका बाँके र बर्दिया राष्ट्रिय निकुन्जको पुरै भाग र ढोरपाटन शिकार आरक्षको केहि भूभाग समेत यसै प्रदेशमा पर्ने भएकोले यहाँ वनको अवस्था सन्तोषजनक छ । लुम्बिनी प्रदेशको चुरेमा प्रदेशको ४५ प्रतिशत ( ४२४.२ हजार हेक्टर) र मध्य पहाडमा ३४ प्रतिशत (३२३.३६ हजार हेक्टर) वन रहेको छ । हिउँदपछि निकै कम पानी पर्ने यो क्षेत्रमा धेरै डढेलो लाग्ने गरेका तथ्यांकहरुले देखाउँछन् । वन तथा भूसंरक्षण विभाग र ईसिमोडले २०१९ गरेको एक अध्ययन अनुसार डढेलोका हिसाबले नेपालका १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील देखिएका छन् । अति संवेदनशील जिल्लामा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, अर्घाखाँची र पाल्पा छन् भने संवेदनशील जिल्लामा दाङ, प्युठान र नवलपरासी ( पश्चिम) रहेका छन् । वन तथा भू संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीबाट प्राप्त दैनिक डढेलो प्रतिवेदनलाई विश्लेषण गर्दा २०७३ चैत्र १ देखि २०७८ चैत्र २० सम्मको अवधिमा लुम्बिनी प्रदेशका विभिन्न वनहरुमा २ हजार ८३३ पटक डढेलो लागेको देखिन्छ । राष्ट्रिय निकुन्ज रहेका बर्दिया र बाँकेमा पछिल्लो ५ वर्षको अवधिमा क्रमश ७९१ र ५८६ वटा डढेलो लागेका थिए भने दांगमा ५२७ वटा डढेलोका घटना रेकर्ड गरिएको थियो । पहाडी जिल्लाहरुमा प्युठानमा २५५ र अर्घाखाँचीमा ११९ वटा डढेलो लागेको देखिन्छ ।


डढेलो सम्बन्धि तथ्यांकहरुलाई केलाउदा तराई र तराईसँग जोडिएका चुरे पहाडमा बढी डढेलो लाग्ने गरेको देखिन्छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाका वार्ड नम्बर ८, ९ र १० का वनमा वर्षेनी दोहोरिएर डढेलो लाग्ने गरेको छ । कपिलवस्तु जिल्लामा वाणगंगा नगरपालिकाको वार्ड नं. ८, वार्ड न. ९ र १०, विजय नगरको वार्ड नम्बर १, बुद्धभुमिको २ र ९, शिवराजको वार्ड नम्बर ९, दाङ्गको गढवा गाउपालिकाको वार्ड नम्बर २, ६ र ८, घोराहीको वार्ड नम्बर ३ र ५, राजापुर गाउँपालिकाको वार्ड १ र ७ , लमहीको वार्ड नम्बर ९ का वनमा वर्षेनी डढेलो लाग्ने गरेको छ । यसैगरी प्युठानको माण्डवी गाउँपालिकाको वार्ड नम्बर १ , ४ र ५, सरुमारानिको १,२ र ३ , रोल्पाको त्रिवेणीको वार्ड नम्बर २, रुन्टिगढि़को वर्ड नम्बर ९ राप्तीसोनारी गाउपालिकाका सबै वार्डका वन र वैजनाथ गाउँपालिकाको वार्ड नम्बर १ धेरै डढेलो लाग्ने क्षेत्रहरु हुन् । प्रदेशमै सबैभन्दा धेरै डढेलो संरक्षण क्षेत्रभित्रका वनमा लाग्ने गरेको छ । पछिल्लो ५ वर्षमा मात्र बर्दिया राष्ट्रिय निकुन्ज र यसको मध्यवर्ती क्षेत्रमा ७५९ पटक र बाँके राष्ट्रिय निकुन्जमा २२० पटक डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको डेटाबेसले देखाउँछ ।


किन लाग्छ डढेलो?ः
लुम्बिनी प्रदेशको शितगंगा नगरपालिका र त्योभन्दा पश्चिमका भूभागमा अत्यधिक डढेलो लाग्ने गरेको देखिन्छ, जुन क्षेत्र हिउँदमा न्यून वर्षा हुने क्षेत्रमा पर्छ । पुष देखि जेष्ठसम्म हुने न्यून वर्षाको कारणले वनक्षेत्र सुख्खा हुने र यो समयमा हावाहुरी समेत चल्ने भएकोले डढेलोको जोखिम बढ्ने गरेको देखिन्छ ।


चुनढुंगायुक्त पहाडी भूभाग र खहरे खोलाले बनाएका मैदानी भागहरु छिटो सुख्खा हुन्छ । बनकस (खर) धेरै पाइने त्यो क्षेत्रमा आगोको सानो झिल्का पनि भिषण डढेलो बनेर फैलिने गरेको छ । वन क्षेत्रलाई अघोषित डम्पिंगसाइट बनाएर फोहर फाल्ने प्रवृत्ति प्रदेशका सबै पालिकामा देखिन्छ । जंगलमा फ्याँकिएका फोहरमैलामा प्लास्टिकजन्य पदार्थहरु, कागज, कपडाजस्ता बस्तुहरुकासाथै गन्धक,बारुद, सलाई, लाइटर र पेट्रोलियम पदार्थजस्ता उच्च प्रज्ज्वलनशील पदार्थहरुसमेत हुन्छन् । यस्ता पदार्थहरुमा आगोको झिल्का पर्नासाथ बल्ने र स्वप्रज्ज्वलित समेत हुन्छन् । जंगलमा जति बढी फोहरमैला फैलिएको हुन्छ त्यति नै डढेलो बढ्दै जान्छ र फोहरमैलामा सल्किएको आगो लामो समयसम्म ननिभ्ने भएकोले वन डढेलो दोहोरिने खतरा धेरै हुन्छ ।


अधिकांश डढेलोहरु मानवीय स्वार्थ र लापरवाहीले लाग्ने गरेका छन् । वन्यजन्तुको शिकार गर्दा आगोको छेकवार लगाउने, दाउराकोलागि आगो लगाएर रूख सुकाउने र वन फँडानीका प्रमाणहरु नष्ट गर्न डढेलो लगाएको पाइन्छ । डढेलो लागेको ठाउँमा नयाँ घाँस राम्ररी उम्रने र च्याउ उत्पादन राम्रो हुने विश्वासमा मानिसहरुले जानीजानी जंगलमा डढेलो लगाउने गर्दछन् । कतिपय मानिसहरुले खेतबारीका झारपात हटाऊन् खरवारी सफा गर्न र वन अतिक्रमण गर्नको लागि लगाएको आगो अनियन्त्रित भएर ठूलो डढेलोको रुप लिने गरेको पाइन्छ । कहिलेकाहीँ वस्तीमा आगलागी हँुदा र वनभित्र रहेका गोठमा सल्काएको आगो हावाहुरीले वनमा पुग्दासमेत डढेलोको रुप लिने गर्दछ ।


पछिल्लो समयमा दाउन्नेदेखि भालुवाङसम्मका चुरे क्षेत्र घुमफिर गर्ने, वनभोज खाने थलोको रुपमा लोकप्रिय बनिरहेको छ । घुमफिर, रमाइलो गर्न चुरे र आसपासको वन क्षेत्रमा गएकाहरुले चुरोट बिँडीको ठूटो ननिभाई फाल्दा र वनभोज गएका मानिसहरु तथा राजमार्ग किनारको वनमा खाना पकाएर खाने यातायात मजदुरहरुले आगो ननिभाई छोड्दा त्यो आगो घाँस दाउरामा सल्कीएर डढेलोको रुप लिन्छ । यस्तो समस्या राजमार्ग छेउछाउको वनमा बढी देखिन्छ । नेपालमा डढेलोप्रतिको सचेतनाको कमि र अज्ञानताको कारणले गर्दा डढेलो लाग्ने गरेको छ । बेला कहिलेकाँही दुर्घटनावश पनि डढेलो लाग्ने गर्छ । प्राकृतिक कारणहरु, जस्तै चट्यांग पर्दा, सुकेका रुखहरु बिच घर्षण हुँदा र ढुंगाहरु एक आपसमा ठक्कर खाँदा निस्केको आगोको झिल्का झारपातमा सल्किँदा घना र सुकेका रुखहरु भएको जंगलमा डढेलो लाग्ने सम्भावना रहन्छ । खासगरी घना वन भएका र सुकेका घासपात, दाउरा बढी भएका बाँके र बर्दिया राष्ट्रिय निकुन्जमा बढी डढेलो लाग्नुमा प्राकृतिक कारणलाई धेरै हदसम्म जिम्मेवार मान्ने गरिन्छ ।


असर कति?ः
लुम्बिनी प्रदेशको चुरे र भावर क्षेत्रमा अत्यधिक डढेलो लागिरहादा त्यसको प्रत्यक्ष असर चुरे नजिकका वस्तीहरुमा खानेपानीको आपूर्तिमा परिरहेको छ । खानेपानीका संरचनाहरु जल्ने मात्र नभई पानीका मूलहरु सुक्ने र गर्मीमा पानि उपलब्धता कम हुने गरेको छ । जलाधार क्षेत्रहरु सुख्खा हुदा चुरेबाट उत्पन्न भएका नदीहरु छिटो सुक्दा सिचाईमा समस्याहरु देखा परिरहेका छन् । लुम्बिनी प्रदेशमा डढेलो अत्यधिक लाग्ने स्थान नजिकै ठुला वस्तीहरु रहेका छन् । डढेलोको कारणले ति वस्तीका वासिन्दाहरु गर्मिको समयमा सधै आतंकित भैरहनुपर्ने अवस्था छ । वर्षेनी डढेलो दोहोरिएर लाग्नाले पशु चरिचरन र घाँसपात संकलनमासमेत समस्या उत्पन्न हुने गरेको पाइन्छ । डढेलो फैलिएर खेतबारी र गाउँसम्म आउँदा खेतीपाती र घरगोठ जलेर नष्ट हुने गरेका छन् । वनको बाटो हँुदै आवतजावत गर्दा र डढेलो निभाउन जाँदा आगोमा जलेर मानिसको मृत्यु भएका दुखद स्मृतिहरू पनि लुम्बिनी प्रदेशमा छन् । वन डढेलो कार्बनडाइअक्साइड ग्यास उत्सर्जनको मुख्य श्रोत हो । विगतमा डढेलो लागेको समयमा सुनवल, देवदह, बुटवल, गोरुसिंगे, लमही, कोहलपुर र दांग उपत्यकामा धेरैदिनसम्म धुँवा फैलिएर दृश्यावलोकन र श्वासप्रश्वासमा समेत समस्या हुने गरेको थियो ।


डढेलोेलाई वन क्षयीकरणको प्रमुख कारण मानिन्छ । डढेलोको कारणले नयाँ बिरुवाहरु हुर्कन बढ्न नपाउने, पुराना बिरुवाहरु सुक्दै जाने र जमिन सुख्खा भएर नयाँ बिरुवा उम्रन नसक्ने प्रक्रिया केहिवर्ष दोहोरिईरहदा जंगल उजडिदै जान्छ र अन्ततः जंगलमा मरुभूमिकरण प्रक्रिया शुरु हुन्छ । यस्तो समस्या दाङका चुरेमा धेरै देखिन्छ । डढेलोलाग्दा वन्यजन्तुको वासस्थान र चरनक्षेत्र विनाश हुन्छ । धेरै जीवहरू डढेलोबाट जोगिन सक्दैनन् । डढेलोलाग्दा वन्यजन्तुको रतिक्रिया र प्रजनन हुन पाउँदैन र हुर्कंदै गरेका जीवजन्तुहरु पनि गँुड र वासस्थानसंगै जलेर खरानी हुन् पुग्छन् । यस्ता घटनाहरु वर्षेनी दोहोरीइरहदा जीवजन्तु र वनस्पति प्रजातिहरुको विकास र विस्तारमा कमि आई वनमा मरुभूमिकरण बढ्दै गएको छ ।

हिड्नुपर्ने बाटोः
वर्षेनी डढेलोेका घटनाहरु दोहोरिनु र डढेलोेबाट मानवीय, भौतिक र प्राकृतिक क्षति बढ्दै जानुलाई स्वाभाविक प्रकोप मानेर बस्न सकिदैन । डढेलोबाट हुने क्षति घटाउनको लागि वन मन्त्रालय ÷डिभिजन कार्यालयको मुख ताकेर बसिरहने हो भने समस्या झनझन् जटिल हँुदै जानेछ । ठाउँ, जंगलको प्रकृति र कारणको आधारमा डढेलोको जोखिम फरक फरक हुने भएपनि सामान्य साबधानीले सबै डढेलोेबाट हुने क्षति घटाउन सकिन्छ । डढेलो लाग्ने सम्भाव्य कारणहरु बेलैमा नियन्त्रण गर्ने, वनमा अग्नि रेखा निर्माण गर्ने वन सरसफाइ गर्ने, वनमा पानीका श्रोतहरुको संरक्षण गर्ने, नयाँ पोखरीहरु निर्माण गर्नेजस्ता कामहरु गर्न सकेमा वनलाई डढेलो लाग्नबाट जोगाउन सकिनेछ ।

डढेलो निभाउन जाँदा हावाको दिशा र गति विचार गरेर तथा पर्याप्त साबधानिका उपाय अपनाएर जाने, वन र वस्तीको विचमा सदावहार विरुवा लगाउने हो भने डढेलोेबाट हुने मानवीय र भौतिक क्षतिलाई घटाउन सकिन्छ । यस्ता कामहरु जनसहभागितामा स्थानीय सरकार र सामुदायिक वन समुहहरुले नै गर्न सक्ने भएकोले बेलैमा ध्यान दिनु आवस्यक छ ।

अपडेट : 2022-04-07 16:54:45




your-image

Leave a Comment