जेठ १२   |  2022 May 26    


दिव्योपदेशमा पर्यावरणीय चेत


news

नेपालमा धर्म प्रचार गर्न आएका इशाई मिशनरिका पादरीहरुलाई निष्कासित गरेको झोंकमा उनै पादरीहरुले पृथ्वी नारायण शाहको विरुद्धमा लेखेको कथाको व्याख्यालाई युरोपियन युनियनको डलरमा विकेका केहिले पृथ्वीनारायण शाहलाई जनजाति विरोधी, खस शासंनका सुत्राधार, नाक कान काट्ने अपराधि र एकात्मक शासनका सुत्रधार भन्दै एकोहोरो राग अलापे पनि उनी नेपाललाइ एकताको सुत्रमा बाँध्ने नायक नै हुन् ।

पहाडी क्षेत्रमा असंख्य भुरे टाकुरे राजाहरुले शासन गरिरहेको र ती शासकहरुले राज्यको संरचना समेत तयार नगरेको अवस्था र दक्षिण तर्फबाट मुगल र अंग्रेजको बढ्दो जगजगीको अवस्थामा पहाडी राज्यहरुलाई जोगाइराख्न यहाँका ससाना राज्यहरुको सोच र सामथ्र्य समेत नभएको अवस्थामा बलियो राज्य बनाउने सोचाइ राखेर उनले राज्य एकीकरणको जुन अभियान थाले त्यसैको उपज नै आजको नेपाल हो । नेपालको अस्तित्व देख्न नचाहने र आफुलाई नेपाली भन्न नचाहनेहरुको लागि पृथ्वीनारायण खलनायक भए पनि देशप्रेमीहरुको लागि उनी नायक नै हुन् ।


आजको नेपाल गोरखा राज्यको विस्तार नभएर नेपालको एकीकरण हो । जीवनका उर्वर समय राजकीय मोजमस्तीमा नलागी राज्य एकीकरणमा लगाएका उनले ससाना राज्यहरुलाई जितेर नेपाल निर्माणको शुरुवात गरेका मात्र हैनन्, संबिधान र कानूनको विकास नभएको अवस्थामा राज्य संचालनका आधारहरु समेत निर्धारण गरेको पाइन्छ । जीवनको उत्तरार्धमा उनले राज्य संचालनका आधारभूत सिद्धान्तहरु प्रस्तुत गरेका थिए, यिनै सिद्धान्तहरुलाई दिव्योपदेश भनिन्छ । जीवनका अंतिम दिनहरुमा आफ्नो मृत्युपछि पनि नेपाल राज्य ब्यवस्थित र समुन्नत रहन सकोस भनेर उनले दिएका उपदेशहरु प्रवचन नभएर राज्यका नीतिहरु र राज्यका नीतिगत सिद्धान्तहरु हुन् । नेपाल निर्माणको आधार कसरि तयार भयो? नेपालीलाई एक सुत्रमा बाँध्नको लागि के गर्नुपर्छ भन्ने कुराको उपदेश मात्र दिब्योपदेशमा छैन, राज प्रशासनलाई कसरि सहभागितामूलक बनाउने, न्याय प्रशासनलाई कसरि प्रभावकारी बनाउने कुराहरु समेत यसमा छन् । अधिकांश कुराहरु राज्य संचालन, न्याय प्रशासन र अर्थतन्त्रसंग सम्बन्धित भएपनि दिब्योपदेशमा केहि पर्यावरणीय सवालहरु समेत समेटिएका छन् । प्रस्तुत लेखमा त्यसैको चर्चा गरिएको छ ।


श्रोतमा समान सहभागिताः
मेरा साना दुखले आज्र्याको मुलुक होइन,सबै जातको फूलबारी हो । सबैलाई चेतना भया, यो फूलबारीको छोटाबढा चारै जात छत्तिसै वर्नले (सम्भार गर्नु) पृथ्वीनारायण शाहको दिव्योपदेशको सार यहि हो । यो भनाईले राज्यका हरेक श्रोतहरुमा सबै नागरिकको बराबर अधिकार भएको कुरालाई इंगित गर्दछ । अहिले आईएलओ महासन्धि १६९ को आधारमा कुनै निश्चित जाति समुदायले आफुलाई श्रोत माथिको अधिकार भएको कुरा उचाल्दै आएका छन् । तर पृथ्वीनारायण शाहले नेपाल सबै जातको फूलबारी हो । यसको संरक्षण सबै मिलेर गर्नुपर्छ भन्ने बताएर लाभको समानुपातिक वितरण र श्रोत संरक्षणमा सबैको सहभागिता खोजेका छन् । अहिले प्राकृतिक श्रोत संरक्षणमा यो उपदेशलाई मूल मन्त्र बनाएमा श्रोतको लागि हुने द्वन्द र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिलाई हटाएर श्रोतबाट हुने लाभ र संरक्षणमा सबैको सहभागिता सुनिस्चित गर्न सकिने छ ।


श्रोतको उपयोगः
एकातर्फ नेपालका श्रोत साधनहरु खेर गैरहेका छन् भने अर्कोतर्फ देशलाई आवस्यक पर्ने यस्ता श्रोत साधनहरु विदेशबाट ल्याउनु परिरहेको छ । माछादेखि मसलासम्म अनि धनियाँदेखि धानसम्म विदेशबाट मगाउनु परिरहेको छ । देशमा उपलब्ध प्राकृतिक श्रोत साधनहरु कौडीको भाउमा बिदेशी र नेताका आसेपासेलाई सुम्पेर राज्य श्रोतको दोहन गर्ने काम चलिरहेको छ । रामदेव बाबादेखि बतास र यति समुहसम्मलाई डाँडापाखा, खोला नदि, वनजंगल दिने काम भैरहेको छ । यस्तो कार्यले नेपालीले श्रोत साधनबाट लाभ लिन नपाउने मात्र हैन केहि वर्षापछि देशले नै प्राकृतिक श्रोतको लागि विदेशी र केहि स्वदेशी घरानाहरूकोसामु हात फैलाउन पर्ने अवस्था आउन सक्छ । यो कुरालाई देशका महाजनहरु आया भन्या कंगाल गरि छोड्छन....देसका कपरा लगाउनालाई मन्हाई गरिदिनु । आफ्ना देसका कपरा बुन्न जान्यालाई नमुना देखाई सघाउनु र बुन्न लाउनु र यस्व भया नगद देस जादैन....आफ्ना देसका जिनिस जरिबुती देस लैजानु र नगद खिची राषनु.....” भन्ने उपदेशले सम्बोधन गरेको छ । स्वदेशी कच्चा पदार्थमा आधारित सिप र उद्यम विस्तार गरि आम्दानि लिने, श्रोतको उपयोग स्वदेशीबाट नै गराउने, नेपालका जडिबुटी लगायका प्राकृतिक सम्पदाहरु आफैले नै विदेशमा बेचेर लाभ वर्तमान समयमा पनि स्वदेशी उद्योगलाइ प्राथमिकता दिने र विदेशी सामाग्रीको आयातलाई घटाउन महत्वपूर्ण महत्वपूर्ण राज्य नीति हुने देखिएको छ ।


भुसंरक्षण र कृषि उत्पादनः
कृषि नेपालीहरुको मुख्य पेशा हो र नेपालको आर्थिक विकासको सम्भावना पनि हो । कृषिबाट लाभ लिनको लागि कृषि भूमिको सहि सदुपयोग गरि उत्पादन गर्नुपर्छ । कृषि उत्पादनको लागि खेतीयोग्य जमिन र सिचाइको तालमेल मिल्नु आवस्यक छ । अहिले अनियन्त्रित ढंगले खेतीयोग्य जमिनहरु प्लाटिंगले गर्दा खेतबारीहरु कंक्रिटको जंगलमा परिणत भैरहेका छन् । विवेकहीन विकासका गतिविधिहरुले पानीका श्रोतहरु मासिएर सिँचाईमा पनि समस्या आइरहेको छ । भुमि विनास र सिचाईको कमीले गर्दा उत्पादनमा ह्रास आइरहेको छ । उत्पादनले गुजारा नचल्ने भएपछि कृषि क्षेत्रबाट पलायन हुने क्रम बढ्दै छ, खाद्य संकट बढिरहेको छ र नेपालले खाद्य पदार्थहरु समेत विदेशबाट ल्याउनु परिरहेको छ । यो अवस्था आउन नदिनको लागि पृथ्वीनारायण शाहले ... गह्रो भयाका जग्गामा घर भयापनि घर अरु जग्गामा सारी कूलो काटी षेत बनाई आवाद गर्नु भन्ने दिव्योपदेश दिएका थिए । नेपालमा बजारीकरणको प्रभाव कम हुँदासम्म यो उपदेशलाई सबैले मानेका थिए । पानी लाग्ने र मलिलो जग्गामा खेति गरेर मानिसहरुले अफ्ट्यारो ठाउँमा घर बनाउने गरेको देखिन्थ्यो । अहिले बाटो बनाउने र शहरिया बने अन्धदौडले गर्दा मलिला खेतहरु मासिदैछन् । भू–व्यवस्थापनका नीतिहरु बनाउँदा यी कुराहरुलाई मार्गदर्शन मान्न सकेमा खेतीयोग्य जमिनको संरक्षण गर्न र कृषि उत्पादनमा वृद्धि गर्न सकिने छ ।


खानीको उपयोगः
नेपालमा चुनढुंगा, गिट्टी बालुवा, कोइला, फलाम, तामा, म्याग्नेसाइट, अभ्रक लगायतका खानिहरु रहेका छन् । खानीहरुओ खोजि र उत्खनन सहि किसिमले हुन नसक्दा राज्यले लाभ लिन सकिरहेको छैन र खानीजन्य पदार्थहरु पनि विदेशबाट ल्याउनु परिरहेको छ । शक्तिको आडमा खानीको दोहन गर्ने र नियमसंगत खानी उत्खनन गर्दा रोक्ने दुबैथरी प्रवृति नेपालमा देखिन्छ । नेपालका खानीहरुको उपयोग राष्ट्रिय हितमा गर्नु पर्दछ, यसको लागि खानीको उत्खनन र खनिजजन्य पदार्थको विक्री गर्नु पर्छ । खानी भएको ठाउँमा वस्ती हुँदा खानीको प्रयोग गर्न नसकिने र खानी नजिक वा माथि वस्ती हुँदा वस्ती समेत जोखिममा पर्ने भएकोले वस्तीलाई उचित स्थानमा स्थानान्तरण गरेर भएपनि खानी चलाउनु जरुरि छ । यहि कुरा पृथ्वीनारायण शाहको दिब्योपदेशमा उल्लेखित खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गामा सारिकन पनि खानि चलाउनु ... भन्ने भनाईमा भेटिन्छ । खानीको उचित उपयोग र वस्ती व्यवस्थापनसंग सम्बन्धित नीतिहरु बनाउँदा यो उपदेशलाई मनन गर्नु जरुरि छ ।


पृथ्वीनारायण शाहले नेपाल बनाउने महान कार्यको शुरुवात गरेका मात्र हैनन् देश संचालनको निम्ति महत्वपूर्ण नीतिहरु पनि आफ्नो उपदेश मार्फत नेपालीहरुलाई दिएर गएका छन् । नेपाल एकीकरण र राज्य संचालनमा पृथ्वी नारायण शाहको ध्यान केन्द्रित भएकोले प्रत्यक्ष पर्यावरणीय मुद्धामा दिव्योपदेशमा धेरै कुरा भेटिँदैनन । तर उनले राम शाह, महेन्द्र मल्ल र जयस्थिति मल्लको थिति (नियम) को अध्ययन गरेको र १२ हजारको थिति बनाउने अभिलाषा राखेकोले उनि केहि समय अझै बाँचेको भए राज्यले प्राकृतिक श्रोतको उपयोग र संरक्षण सम्बन्धि थुप्रै नीतिहरु पक्कैपनि प्राप्त गर्न सक्नेथियो । राज्य प्रशासन र सुरक्षामा नागरिक सहभागिता, स्वाधीन अर्थतन्त्र निर्माण, प्राकृतिक श्रोेतको व्यवस्थापन सन्दर्भमा अढाई शताब्दी अघिका यी उपदेशहरु नेपाल र नेपालीका लागि अहिले पनि मार्गदर्शक नै छन् । दिब्योपदेशमा भएका उपदेशहरुलाई समेटेर राज्यका नीतिहरु बनाउने र त्यसैको आधारमा राज्य संचालन गर्ने हो भने नेपाल स्वतन्त्र, समृद्ध, न्यायपूर्ण र समाबेशी देश बन्न सक्छ । बिदेशीको इशारामा चल्न रुचाउनेहरुले वेवास्ता गरेपनि देशभक्त नेपालीहरुले यसतर्फ बेलैमा ध्यान दिनु जरुरी छ ।

अपडेट : 2022-01-10 16:58:41




your-image

Leave a Comment