जेठ १२   |  2022 May 26    


लुम्बिनीको पर्यटन प्रवर्धन प्रयास र प्रभाव


news

गौतम बुद्धले आफ्नो जीवनका अन्तिम दिनहरुमा भिक्षुहरुलाई प्रवचन दिने क्रममा बौद्धमर्गीहरुले जीवनमा एकपटक पुग्नैपर्ने ठाउँ लुम्बिनी भएको बताए । लुम्बिनीमा आफु जन्मेको भएर मात्र नभई लुम्बिनीको प्राकृतिक र सास्कृतिक महत्वलाई बुद्धले जोड दिएका थिए । बुद्धको महापरिनिर्वाणको धेरै पछि मौर्य सम्राट अशोक बुद्धका पाइलाहरु पच्छ्याउँदै लुम्बिनीसम्म आइपुगे । उनले क्रकुच्छंद, कनकमुनी र गौतम बुद्धको जन्म भएका स्थानहरु गोटिहवा, निग्लिहवा र लुम्बिनीमा स्तम्भ खडा गरे र लुम्बिनीमा स्थापना गरेको स्तम्भमा “शाक्यमुनी बुद्धको जन्म भएको स्थान“ भनि उल्लेख समेत गराए । पाँचौ र सातौँ शताब्दीमा घुम्दै आएका चिनिया यात्रीहरु फाहियान र हुयान साङले आफ्नो यात्रा वृतान्तमा लुम्बिनीको बारेमा वर्णन गरे । लुम्बिनीलाई संसारसामु चिनाउने यी प्रारम्भिक प्रयास थिए । अहिलेको भाषामा भन्ने हो भने लुम्बिनीको प्रवद्र्धनकालागि गरिएका महत्वपूर्ण कामहरु थिए यी । अहिले लुम्बिनीलाई चिनाउने काम बुद्धको उपदेश, अशोक स्तम्भ र यिनै यात्रा वृतान्तको आधारमा भैरहेको छ ।


अहिले लुम्बिनी नेपालको प्रमुख आधायातिक र पर्यटकीय गन्तब्य हो । कोरोनाको कारण सन् २०२० र २१ मा भ्रमण गर्ने मानिसहरुको संख्या विस्वब्यापी रुपमा घटिरहेकोले लुम्बिनी पुग्ने पर्यटकको संख्या कम भएपनि सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । यी मध्ये १४ लाख एक हजार १७८ जना नेपाली र २ लाख ४ हजार ८२५ जना भारतीय थिए । नेपालमा विदेशी पर्यटकले औशतमा १३ दिन विताउने भएपनि लुम्बिनी आउने विदेशी पर्यटकहरुमध्ये झन्डै ७३ प्रतिशतले त्यहाँ आधा घण्टाभन्दा कम समय विताउने गरेको युनेस्कोले केहि वर्षअघि गरेको एक सर्वेक्षणले देखाएको छ । बस्ने र खर्च गर्ने पर्यटक थोरै मात्र लुम्बिनी पुग्ने भएकोले यो क्षेत्रले पर्यटनबाट लाभ लिन सकेको देखिँदैन । लुम्बिनीमा पुग्ने पर्यटकलाई लक्षित गरेर भैरहवा, बुटवल, लुम्बिनी र तौलिहवामा निजि क्षेत्रबाट पर्यटन उद्योगमा अर्बौ लगानी भैसकेको छ । तर पर्यटकीय सेवा लिने स्तरीय पर्यटकहरु नआउँदा पर्यटन व्यवसायी र स्थानियहरुलाई निराशा बनाएको छ । छिमेकी भारतले बौद्ध पर्यटनबाट ठूलो लाभ लिइरहेको भएपनि नेपालले लुम्बिनी पर्यटनबाट लाभ लिन नसक्नुमा पर्यटन व्यवसायीहरुले लुम्बिनीको पर्यटन प्रवर्धनमा सरकारले उचित ध्यान नदिनु प्रमुख कारण भएको बताउँदै आएका छन् ।


बौद्धमार्गीहरुको प्रमुख आस्थाको केन्द्र भएपनि इशाको सातौ शताब्दीसम्म आइपुग्दा लुम्बिनी तहसनहस भएर हराइसकेको थियो । उत्तरी भारतमा अंग्रेजहरुले पकड जमाएपछी उनीहरुले पुरातात्विक स्थलको खोजि शुरु गरेका थिए । चिनिया यात्रीको यात्रा वर्णनको आधारमा भारतीय भूमिमा धमाधम बौद्धकालिन पुरातात्विक स्थलहरुको खोजिमा सफलता हासिल समेत गरिरहेका थिए । कपिलवस्तुको पहिचान भएपछी पनि लुम्बिनी फेला परेको थिएन तर तत्कालिन रुम्मिनदेही गाउँमा लुम्बिनी हुनसक्ने अनुमान भने भएको थियो । निग्लिहवा स्तम्भ फेला परेपछि ब्रिटिश सर्जन डाक्टर वाडेंनले सन् १८९६ जुन १ मा कलकत्ताबाट प्रकाशित इन्गलिशमेन पत्रिकामा “ बौद्ध जन्मस्थल कहाँ छ?“ शिर्षकमा लेख लेखेर लुम्बिनीमा खोजि गर्नुपर्ने कुरामा जोड दिएका थिए । लगत्तै जनरल खडक समसेरले लुम्बिनीको उत्खनन गर्न लगाए र अशोक स्तम्भ पत्ता लगाए । खडक समशेरलई भेट्न आएका पुरातात्वविद फुहररले अशोक स्तम्भको लेखोट अथ्र्याए अनि आफुले लुम्बिनी पत्ता लगाएको भन्ने प्रतिवेदन मात्र तयार गरेनन, सन् १८९६ को पायोनियर पत्रिकाको डिसेम्बर अंक र लन्डनबाट प्रकाशित टाईम्स पत्रिकामा लुम्बिनी पता लगाएको कुरा लेखे । लुम्बिनी पत्ता लगाएको कुराको जस लिने काममा फुहररले बदमासी गरेको भएपनि लुम्बिनीलाई विस्व जगतमाझ चिनाउन उनले गरेको प्रयासको प्रसंशा गर्ने पर्छ । लुम्बिनीको प्रवर्द्धनको यो पहिलो आधुनिक पाइला थियो । लुम्बिनी पत्ता लागेपछि चन्द्र समशेरले यसको संरक्षण र विकासमा केहि प्रयास शुरु गरेपनि त्यसले निरन्तरता पाउन सकेन. नेपालतर्फबाट प्रचार प्रसारका कामहरु नभएपनि भारतमा बौद्ध पुनर्जागरणकाल शुरु भएकोले विशौ शताब्दीको पूर्वाद्र्धमा धेरै बौद्ध विद्वान र तिर्थयात्रिहरुले लुम्बिनीको भ्रमण गरी लुम्बिनीको बारेमा लेख र पुस्तकहरु लेखेका थिए । महापण्डित राहुल सास्कृत्यायान, बौद्ध विद्वान भिक्षु धर्मरक्षित, पर्सिभल लन्डन जस्ता विद्वानले लेखेका पुस्तक र विसेन्ट स्मिथ, होई, बुहरर जस्ता अध्येताले रोयल एशियाटिक जर्नलमा लेखेका लेखहरुले लुम्बिनीलाई प्रारम्भिककालमा चिनाएका थिए । लुम्बिनीलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव ऊ थांतले सन् १९६७ मा शुरु गरेको अन्तर्राष्ट्रिय अभियान अहिलेसम्मकै महत्वपूर्ण कदम मान्नुपर्छ ।


पंचायती व्यवस्थाको शुरुसंगै आध्यात्मिक केन्द्रको रुपमा लुम्बिनीको विकास राज्यको प्रयास शुरु भएको पाइन्छ । दोश्रो राष्ट्रिय योजनामा लुम्बिनीलाई भ्रमणयोग्य स्थानको विकास गर्ने र प्रचार गर्ने कार्यक्रमहरु समावेश थिए । तेश्रो योजनामा लुम्बिनीको उत्खनन र अनुसन्धानमा जोड दिइएको थियो । चौथो योजनामा लुम्बिनी गुरुयोजना निर्माण, पर्यटकीय सुविधा विस्तारका साथै लुम्बिमा पर्यटकको बसाई लम्ब्याउने योजनाहरु अघि सारिएको थियो । पंचायती व्यवस्थाको अन्त्यपछि आठौ योजनामा लुम्बिनीको विकासको लागि छुट्टै योजना अघि सारिएको थियो । यो अवधिमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रीको केन्द्र बनाउने कुरा उल्लेख गरिएको थियो । यो अवधिमा पर्यटन प्रवर्धनलाई जोड दिइएको थियो । नवौ योजनायता भने नेपाल सरकारका आवधिक योजनाहरुमा लुम्बिनीको विकासका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा लुम्बिनीको प्रचार प्रसारका योजनाहरु ल्याउने र सिमित नै भएपनि त्यस्ता कामहरु गर्ने गरेको देखिन्छ ।


लुम्बिनीको पर्यटकीय प्रचारमा नेपाल भ्रमण वर्ष १९९८ र पर्यटन वर्ष २०११ लाई महत्वपूर्ण मान्न सकिन्छ । खासगरी अन्तराष्ट्रिय जगतमा नेपालको भ्रमण प्याकेजमा लुम्बिनीलाई पनि राख्न सकिन्छ है भन्ने संदेश यी दुई कार्यक्रमले दिएका थिए । यी कार्यक्रमहरुले आशा जगाएकोले लुम्बिनी, भैरहवा सेरोफेरोमा पर्यटक लक्षित होटेलहरु खोल्ने लहर चलेको थियो । माओबादी द्वन्दको समाप्ती पछि नेपालमा विदेशी पर्यटकहरुको आगमन मात्र वृद्धि भएन, आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । यसको ठुलो लाभ लुम्बिनीले लिन पाएको छ । सन् २०११ देखि २०१९ सम्म लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकको संख्या झन्डै दोब्बर भएको छ । संख्यालाई हेरेर उपलब्धि मान्ने हो भने यो संख्या खुशी दिलाउने तथ्य हो ।
लुम्बिनी प्रदेश (तत्कालिन प्रदेश ५) सरकारले आ.ब. २०७५÷७६ को बजेट बक्तव्यमा लुम्बिनी आउने पर्यटकको संख्या वृद्धि गर्ने कार्यक्रम गर्ने घोषणा गरे अनुसार २०७६ साललाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने कार्यक्रम शुरु गरेको थियो । यो कार्यक्रम अन्तर्गत होटेल तथा पर्यटन ब्यवसायीलाई सहभागी गराई नेपालका सातै प्रदेश र भारतका सारनाथ, बोधगया लगायतका क्षेत्रहरुमा नेपालका बुद्ध परिपथमा रहेका क्षेत्रहरुको प्रचार प्रसार गर्न शुरु गरिएको थियो । यस कार्यक्रमको नतिजा नदेखिदै विस्वब्यापी रुपमा कोरोना फैलिएकोले प्रचार प्रसार र पर्यटक आवागमन ठप्प हुन् पुग्यो । २० लाख विदेशी पर्यटक भित्राउने र नेपालको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार गर्ने लक्ष्य लिएर नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निकै ठूलो तयारि गरेको थियो । भ्रमण वर्षको प्याकेजमा लुम्बिनीलाई पनि निकै महत्व दिइएको थियो । तर भ्रमण वर्ष शुरु नहँुदै कोरोना शुरु भएकोले कार्यक्रम संचालन नै हुन पाएन । स्वदेशी घुमन्तेहरुको राम्रो साथ पाएको लुम्बिनीले भ्रमण वर्षको सफलतापछि राम्रै संख्यामा विदेशी पर्यटकहरु पाउने आशा थियो, त्यो आशा पुरा हुन् सकेन ।


हिमाल, बाघ–गैडा पहाडी सस्कृति हेर्न मात्र नेपाल आउने पर्यटक र लुम्बिनीको बारेमा सुन्दै नसुनेको विदेशीलाई लुम्बिनीमा ल्याउन पक्कैपनि ठुलै मेहनत गर्नुपर्छ । रुपन्देही–कपिलवस्तुका होटेल तथा पर्यटन व्यवसायीहरुले लुम्बिनीको पर्यटन प्रवर्धनमा निकै मेहनत गरिरहेका छन् । विभिन्न मेला महोत्सव गरेर, आएका विदेशीलाई रिझाएर, भारतमा प्रचारात्मक कार्यक्रम गरेर, भारतीय लेखक र संचारकर्मीलाई लुम्बिनीमा ल्याएर लुम्बिनी र अन्य बौद्ध स्थलहरुलाई चिनाउने काम गरिरहेका छन् । लुम्बिनी विकास कोष र यहाका मिडियाहरुले पनि बलबुताले भ्याएसम्म यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेका छन् । विश्व पर्यटन बजारमा अहिलेसम्म भएका प्रवद्र्धनात्मक कार्यक्रम ठूला नहोलान्, तर लुम्बिनीलाई पर्यटकीय प्रतिफल दिन सक्ने खालका भने अवस्यपनि छन् । यति हँुदाहुँदैपनि लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्या वृद्धि गर्न र स्वदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिएको छैन । यहि कुराले लुम्बिनीको पर्यटन क्षेत्रलाई निरास बनाइरहेको छ ।


पर्यटन प्रवद्र्धन गर्नु भनेको प्रचार प्रसार गर्नु मात्र हैन । प्रचार प्रसार गर्नु भनेको एक पटक मानिसलाई आकर्षित गर्ने उपाय हो । यो काम सरकार र निजि क्षेत्रबाट थोरै भएपनि भएकै छ । पर्यटक ल्याउन र अड्याउन प्रचारको साथसाथ प्रसस्त पर्यटकीय सुविधा आवस्यक पर्छ. भारतमा रहेका बौद्ध स्थालहरुसंग विश्वका बौद्ध मुलुकहरुको सिधा हवाइ सम्पर्क रहेको छ । तर अहिलेसम्म लुम्बिनीमा यस्तो सुविधा छैन । भारतमा आएका बौद्धमार्गी तीर्थयात्री र पर्यटकहरुलाई भारतीय टुर अपरेटरहरुले सकेसम्म नेपाल आउन दिन्नन् र आउन खोज्नेलाई पनि नेपाल ल्याएर घुमाएर तत्कालै भारत नै लैजान्छन् । लुम्बिनी आउने विदेशीहरुमा अधिकांश बौद्धमार्गी नै हुन्छन् । यिनीहरुले लुम्बिनीमा बौद्ध आध्यामिक वातावरण चाहन्छन्, तर लुम्बिनी अहिले घुमफिर र मनोरन्जनको स्थल बनिरहेको छ र लुम्बिनी सेरोफेरो कंक्रिटको जंगलमा परिणत भैरहेको छ, जसले गर्दा पनि लुम्बिनीमा पर्यटकहरु धेरै बस्न रुचाउदैनन् । लुम्बिनीमा आन्तरिक पर्यटकहरु पुग्ने र फोटो खिचेर फर्कने मात्र काम भएको छ । यस्ता पर्यटकलाई लामो समयसम्म लुम्बिनी र यसको सेरोफेरोमा अड्याएर राख्नको लागि एकीकृत पर्यटन प्याकेज पस्कन सकिएको छैन । लुम्बिनीलाई केन्द्रमा राखेर कम्तिमा पनि साबिकका लुम्बिनी अन्चलका पर्यटकीय स्थलमा पर्यटक पु¥याउने प्याकेज दिएमा पर्यटकको संख्या र पर्यटकीय लाभ दुवै वृद्धि गर्न सकिने छ ।


पर्यटन प्रवद्र्धनमा मिडियाको ठुलो भूमिका रहने गर्छ । लुम्बिनीको प्रचार गर्नमा नेपाली मिडियाहरुको ठूलो भूमिका छ. तर नेपाली मिडियाको पहुँच अन्तर्राष्ट्रिय बजारमा नभएकोले गर्दा पनि मिडियाले प्रभावकारी भूमिका खेल्न सकेको पाइदैन । लुम्बिनीको बारेमा गहन खोजि अध्ययन गरि समाचार सामग्री तयार गर्ने, धारणा निर्माण गर्न सक्ने लेख र पुस्तकहरु प्रकाशन गर्ने, विदेशी भाषामा बुद्ध सम्बन्धि न्युज पोर्टल संचालन गर्ने र नेपालका सिमित अन्तर्राष्ट्रिय स्तरका संचार माध्यमहरुले नेपालका बौद्ध स्थलको बारेमा नियमित तथ्यमूलक सामाग्री तयार गररे प्रचार प्रसार नगर्नाले पनि अन्तर्राष्ट्रिय जगतमा लुम्बिनी सम्बन्धि यथार्थ जानकारी दिन र भ्रम निवारण गर्न सकिएको छैन ।


अहिलेसम्म हामीहरु लुम्बिनी पर्यटनको नाममा लुम्बिनी बगैचाको सेरोफेरोमै रुमल्लिरहेका छाँै । वास्तवमा लुम्बिनी पर्यटन एक ब्यापक अवधारणा हो जुन लुम्बिनी पर्यटन लुम्बिनी बगैचामा मात्र सिमित नभएर समग्र बौद्ध स्थल र लुम्बिनी प्रदेशकै पर्यटकीय क्षेत्रबाट लाभ लिने कुरामा आधारित छ । लुम्बिनी पर्यटनको लागि जति बजारिकरणको आवस्यकता छ, त्यो भन्दा बढी अहिले आईरहेका पर्यटकलाई सेवा र सुविधा प्रदान गरेर सन्तुष्ट बनाउनु आवस्यक छ । सन्तुष्ट पर्यटकहरु पर्यटन प्रवर्धनका दिगो दुत बन्न सक्छन् । कम्तिमा पनि आन्तरिक पर्यटकको बसाई लम्ब्याउन र विदेशी पर्यटकलाई लुम्बिनी बाहिरको लुम्बिनिसंग भिजाउन सकियो उनीहरुले नै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा लुम्बिनी पर्यटनको प्रचार प्रसार गर्नेछन् । अनि मात्र समग्र पर्यटन क्षेत्रले दिगो पर्यटकीय लाभ लिन पाउने छ ।

अपडेट : 2022-01-05 13:10:01




your-image

Leave a Comment