जेठ १२   |  2022 May 26    


लखन, गंगालाल, वीपी , मदन र जीवराज आश्रितहरु


news

आकाशमा बादल भई उडिरहेको छु ।

बादल हुनुभन्दा पहिले म एक मानिस थिएँ ।

ज्ञान र सत्यको खोजीमा हिंडिरहेको मानिस थिएँ । स्वतन्त्रता र मुक्तिको खोजीमा हिँडिरहेको मानिस थिएँ । नदीको उल्टो धारमा पौडिएर किनारा खोजिरहेको मानिस थिएँ ।

मलाई मुक्तिका लागि विगतमा विश्वास थिएन । इतिहासमा विश्वास थिएन । पुराना किताब र पुराना नेतृत्वमा विश्वास थिएन । सिद्धान्तहरुको रटानमा विश्वास थिएन । नेताको भव्य बैठक कोठाको बुक सेल्फमा सजाइएका कुनै पनि किताबमा विश्वास थिएन ।

मलाई हिजोमा होइन, आजमा विश्वास थियो । मलाई थोत्रा विचार र दर्शनमा होइन, नयाँ र मौलिक विचारमा विश्वास थियो । मलाई सबैभन्दा बढी अन्तिम किनारका मानिसहरुमा विश्वास थियो । तिनका आक्रोश र आँसु, तिनका दुःख र पीडा, तिनका सपना र आकाङ्क्षाले मलाई दिएको शक्ति र सामथ्र्यमा विश्वास थियो ।

त्यसैले म एक सम्झौताहीन सङ्घर्षमा खटिएको सिपाही थिएँ । पुराना कथित ज्ञान र दर्शनले हल्लाउन नसक्ने म एक प्रतिवद्ध तर साधारण मानिस थिएँ । लोभ, लालच, डर, धम्की र परम्परागत चक्रव्यूहमा फस्न नचाहने म एक लखन थिएँ । म एक गंगालाल थिएँ । म एक वीपी कोइराला थिएँ । म एक मदन भण्डारी थिएँ । म एक जीवराज आश्रित थिएँ ।

हिंस्रक जनावरहरुले घात लगाइरहेको समयमा म एक अँन्धेर नगरीको अक्लान्त मानिस थिएँ ।

सानो छँदा, कथा सुनाउँदै आमा भन्नुहुन्थ्यो– इहलिला सकिएपछि मानिस बादलपारिको देशमा जान्छ ।

म आमालाई सोध्थेँ– कसरी जान्छ मान्छे बादल पारिको देशमा ?

आमा भन्नुहुन्थ्यो–सुनौला परीहरु राम्रा राम्रा पखेटा लिएर आउँछन् । ती त्यही पखेटा हालेर उड्दै उड्दै बादल पारिको देशमा जान्छन् ।

हिंस्रक जनावरहरुले घात लगाइरहे । तिनले दुरभिसन्धि गरिरहे ।

एक दिन मेरो इहलिला समाप्त भयो ।

छाती पिटेर आमा रुनुभयो । टाउको समातेर बाबा रुनुभयो । हृदय निचोरेर प्रियजनहरु रोए ।

मलाई बादल पारिको देशमा निर्वासन मिल्यो । तर आमाले भनेजस्तै मलाई बादल पारिको देशमा लैजान कुनै सुनौलो परी राम्रा राम्रा पखेटा लिएर आइन ।

मैले थाहा पाएँ–बादल पारिको देशमा जान बादल नै बन्नु पर्ने रहेछ । बादल बनेर उड्दै उड्दै जानु पर्ने रहेछ बादल पारिको देशमा ।

अनि म बादल भएँ ।

मलाई थाहा थियो मेरो गन्तव्य । म अग्ला अग्ला पहाडका कोप्चाबाट, गहिरा गहिरा सागरका सतहबाट अन्तिम किनारका मानिसहरुको मुक्तिका लागि अग्लो अग्लो र गहिरो गहिरो विचार टिपेर नै बतासमा उठेको थिएँ । र, माथि माथि, अझै माथि आकाशमा उडेको थिएँ । मेरो गन्तव्य ताराहरु थिए ।

आकाशको उँचाईबाट मैले देखेँ–अँध्यारोको साम्राज्यमा भोकले डामिएका नानीहरू । उन्मादले जलाइएका गाउँहरू । थिलोथिलो परेको मानवता ।
देखेँ–राज्य सत्ताका अनुहारमा हजारौं वर्षदेखिको स्वार्थले उमारेका विषालु झार । विफरग्रस्त जस्तै पृथ्वीको दुःखी मुहार । अँधेरको बुटमुनि किचिमिचि पारिएका आर्तहरूको हारगुहार !

मैले देखेको भन्दा भयावह रहेछ धरतीको दृश्य । अनुमान गरेको भन्दा नृशंस रहेछ अन्तिम किनारका मानिसहरुमाथि लादिएको अत्याचार । विराट रहेछ तिनको पीडाको पोखरी र आँसुको आहाल । अथाह रहेछ अँध्यारोको सम्राज्य ।

कल्पनाको अनेक आकृति धारण गरेर उडिरहेको मलाई धरतीको त्यो करुण दृश्यले बुँद बुँदमा भाँचिदियो । एउटा भावोत्तेजना र सङ्लो समर्पणको तीब्र बोधले मलाई आकाशमै पगालिदियो ।

अनि म वर्षा भएर धरतीमै झर्न थाले ! झरी भएर धर्तीमै पर्न थालेँ ।

म धरतीबाट दुःखको बास बगाउन चाहन्थेँ ।

म अन्तिम किनारमा छट्पटाइरहेका मानिसहरुको अनन्त प्यास मेटाउन चाहन्थेँ ।

मानिसहरु सोंच्दछन्– चाँदीको माला लगाएर बादल आकाशिएको हो पानी पार्न ।

बादल भएपछि बोध भयो मलाई–आंशिक सत्य मात्रै हो त्यो !

खास कुरा त के हो भने म ताराहरूको सप्पै उज्यालो धरतीमा झार्न चाहन्छु । म आकाशभन्दा माथि पुगेर ताराहरुसँग तिनको उज्यालो माग्न चाहन्छु । त्यो उज्यालो, धरतीको अन्तिम किनारामा अन्धकारमा छटपटाइरहेका मानिसहरुलाई दिन चाहन्छु ।

मानिस छँदा पनि मेरो मन पवित्र थियो । बादल बनिसक्दा पनि पवित्र छ मेरो मन । पवित्र मनले उडान भरेर म ताराहरुसमक्ष पुग्न चाहन्छु उज्यालो लिनका लागि । उज्यालो, शीतलहरले कठ्याङ्ग्रिएका बस्तीहरुका लागि । उज्यालो, आरक्षण पाएर पनि अन्तिम किनारमै हराइरहेका नानीहरुका आँखाका लागि । उज्यालो–एक छाक खाना, शीत लहर छेक्ने छाना र न्यानो नाना खोजिरहेका अन्तिम किनारतिरका नानीहरुको आगामी संघर्षपूर्ण यात्राका लागि ।

वर्षौ वर्ष भयो तर पुग्न सकिरहेको छैन म आकाशको सीमा नाघेर ताराहरु समक्ष । एउटा नयाँ हिम्मतका साथ जब आकासिन्छु म माथि माथि, धरतीको दारुण दृश्य परिहाल्छ मेरो नजरमा । ती दृश्यहरुले फेरि पनि मलाई बुँद बुँदमा भाँचिदिन्छन् । फेरि एउटा भावोत्तेजना र सङ्लो समर्पणको तीब्र बोधले म आकाशमै पग्लिन्छु । र, धरतीमा झर्छु ।

म बाढी भएर धरतीबाट सारा दुःख बगाउन चाहन्छु ।

म अन्तिम किनारमा छट्पटाइरहेका मानिसहरुको अनन्त प्यास मेटाउन चाहन्छु ।

ताराहरुको उज्यालो लिन हिँडेको म, अझै पनि संवेदनाले पग्लिएर आधा बाटोबाटै धरतीमा झर्न विवश छु ! मेरो यो नियति निर्धाको निधारमा ठक्करजस्तो लाग्छ । श्रापित एक, गोलचक्कर जस्तो लाग्छ !

प्रियजनहरु ! मेरो याद आउँछ भने मनको आँखाले आकाशमा हेर्नु !

छिन छिनमा परिवर्तित भइरहने बादलको अनेक आकृतिहरुमा उज्यालो लिन हिँडेका लखनहरु देखिनेछन् । गंगालालहरु देखिनेछन् । वीपी कोइरालाहरु देखिनेछन् । मदन भण्डारीहरु देखिनेछन् । जीवराज आश्रितहरु देखिनेछन् ।

अपडेट : 2022-01-01 16:32:39




your-image

Leave a Comment