जेठ १२   |  2022 May 26    


कांग्रेसमा नयाँ भाव पैदा होस्


news

शरीर, विचार सबैतर्फ खडेरी पर्यो भने राजनैतिक पार्टी होउन् वा राजनैतिक सिद्धान्त त्यो खडेरीमा डढ्छ । उर्बरक हुन सक्तैन । कुन्नी के गरँे अनि दैलो देखेँ भने झैँको अवस्थामा अहिले कांग्रेस पुगेको छ । चार बर्ष अघि सम्पन्न भएको संघीय र प्रदेश सभाको निर्वाचनमा हार बेहोर्नुको मुल कारण आफू नभएर तत्कालिन एमाले र माओवादीको एकता हो भनी पार्टी अध्यक्षले बताउँदै आएत्यो फगत आत्मतुष्टि थियो । उनी किन एकतालाई चुनौती दिनेगरी आफ्नो दललाई अगाडी बढाउन सकेनन् त ? वास्तवमा यो उनको अति गैर जिम्मेवारपूर्ण र कुटील उत्तर हो । यस उत्तरमा नैतिकताको खडेरी प्रष्ट झल्कन्छ ।


सो सन्दर्भमा आफ्नो कमजोरी स्वीकार गर्न नसक्नु पार्टी सभापतिको ठूलो कमजोरी हो । उनले आफ्नो नैतिक जिम्मेवारी लिएमा क्रमशः अन्य पदाधिकारीहरुले पनि आफ्नो कमजोरी स्वीकार गर्नु पर्ने हुन्थ्यो । तथापि नेतृत्वबाट नै यसलाई लत्याएपछि कुनै पनि पद वा विभागका जिम्मेवार व्यक्तिहरुलाई हाइसन्चो नै भएको हो । अहिले फेरि उनै नेता सभापतिमा चुनिए । यो अर्को ऐतिहासिक भुल भएको छ । भोलिका दिनमा नेपाली काँग्रेस कसरी अघि बढ्ला ? टिठाउनु पर्ने भएको छ
विगत २००७ साल देखि आजसम्म देशमा ठूलाठूला राजनैतिक परिवर्तनहरु भए । वास्तवमा राजनैतिक रुपमा देशले ठूलो फ्डको मार्यो । यी परिवर्तनहरुमा अन्य दलहरु भन्दा कांग्रेसको भूमिका अहम् रह्यो । यो सत्य हो । तसर्थ यो भन्न सकिन्छ कि कांग्रेस देशको परिवर्तनको अगुवाइ गरेको पार्टी हो । हिँजोका कुनै पनि तानाशाहहरुको जरा काट्ने कामको नेतृत्व कांग्रेसले गरेको हो । यस्ता परिवर्तहरुमा कम्युनिष्ट लगायतका अन्य केही दलहरुले साथ दिँदा देशका तानाशाहरु आफ्नो गद्दीलाई त्याग्न वाध्य हुनु पर्यो ।


अब कुरा आउँछ विरासतमात्र खोजेर बस्ने कि त्यो त्यागबाट आएको परिवर्तनअनुसार आफ्नो दललाई संगठनिक रुपमा पनि अद्यावधिक गर्दै जाने ? दलले भोगेका हारमा दलकै नेतृत्वले आफ्नो दललाई समय सापेक्ष रुपमा एजेण्डा दिन नसकेर हो भन्ने सवाललाई किन सभापतिले नकार्ने ? दलभित्र रहेको वजनका आधारमा सबै जिम्मेवार हुनुपर्छ । सभापति चाहिँ नैतिक रुपमा नै जिम्मेवार बन्नुपर्छ । यो कसैले जिम्मालिई भनेर सभापतिलाई भनिरहनु पर्ने कुरै होइन । अबका दिनमा देउबाले आफूलाई सच्चाउनु जरुरी छ । देउवा, रामचन्द्र लगायतका सत्तरी काटेकाहरुले दलको कार्यकारी पद त्यसै पनि छाड्नु पर्ने हो । रामचन्द्र पौडेलले छाडे उनलाई साधुवाद छ । उनीहरु वृद्ध भइसके । घरमा आराम गर्ने बुढेसकालमा दल वा देशको बागडोर सम्हाल्छु भन्नु वुद्धिमत्ता हुँदैनथ्यो । उनीहरुको यस प्रकारको राजनीतिक नैतिकताको खडेरी र पदलोलुप प्रवृत्तिकाकारण युवा पुस्ताले नेतृत्वमा पुग्ने अवसर पाउँदैनन् । अनि क्रमशः राजनीतिप्रति नै वितृष्णा छाँउदै जान्छ । कहिल्यै पनि पालो नआएपछि युवाहरु राजनीतिबाट पलायन भएका उदाहरणहरु पनि पर्याप्त छन् । देउवाको नेतृत्व बिचार शुन्य र पदलोलुपताको पराकाष्ठाको सूचकका रुपमा देखिएको छ ।


वास्तवमा राजनीतिलाई फराकिलो तरिकाले बुझ्नेहरु केवल पदका लागि मरिहत्ते गर्दैनन् । उनीहरु देश र जनताको भलाइका लागि पद बलिदानी गर्न पनि तयार हुन्छन् । पदका लागि नभएर देश र जनताका लागि राजनीति गर्छन् । आफूले जनसमर्थन जुटाउन, दल वा देशको नेतृत्व गर्न सक्ने भए आफै गर्छन्, हैन भने सक्नेलाई दिएर आफूले सहयोग गर्छन् । देशकै लागि राजनीति हो भने आफै पदकालागि किन लोलुप हुनुपर्ने ? आफूलाई व्यक्तिगत लाल्सा केही नभएपछि जसले बढी राम्रोसँग देश चलाउन सक्छ उसैलाई जिम्मा लगाएर सहयोग गरे त भैगो नि । तथापि हाम्रो संस्कार यति पुरातन भयो कि आफ्नो दलले ऐतिहासिक लज्जास्पद हार बेहोर्दा समेत नेतृत्वले अरुलाई दोष थोपरेर नैतिक जिम्मेवारी समेत नलिने देखिएको छ ।

राजनीतिमा उमेर, पार्टीमा दिएको वलिदानी भन्दा उसको कार्यक्षमता र दृष्टिकोणलाई महत्वमा राखिनु पर्छ भन्ने कुराको उदाहरण त कति छन् कति ? के करमचन्द गान्धी कुनै पदमा बसे ? यसको उदाहरण बनेका छन् तत्कालिन भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह पनि । उनी को, के, वा कुन वादी हुन् त्यसलाई एकैछिन पन्छाएर एक राजनीतिज्ञका रुपमा हेर्दा उनी आदर्श राजनीतिज्ञ थिए । उनको दलका केन्द्रिय नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएको क्याबिनेटमा उनी गृह मन्त्री बने । उनले मोदीको योजनाले दिलाएको दलको विजयको उच्च सम्मान गरेको देखिन्छ । मोदीको बिचारको जितलाई उनले उच्च सम्मान गरेको कुरा पनि प्रष्ट हुन्छ । नेपालका राजनीतिज्ञहरुले झैँ आफू संसदीय दलमा आउन कुनै हतकण्डा पनि अपनाएनन् । उनले आफू प्रधानमन्त्री बन्न पाउनु पर्ने भनेर खोँचे थापेनन् । न त असहयोग नै गरे । बरु आफू कनिष्ट व्यक्तिको सरकारमा मन्त्री पद लिई सहयोग गर्ने व्यवहारिक प्रतिबद्धता व्यक्त गरे । यो एउटा पाठ हो ।

अतः सभापतिले सोच्नै पर्ने विषय यो छ कि दलभित्र नैतिकता, न्यायीक प्रणाली विकास गर्ने कि तानाशाही बन्ने ? दललाई समय सापेक्ष परिवर्तन गर्दै जाने कि अझ पुरातन बनाउँदै ? अब इतिहासका कहानी पढाएर कांग्रेस उँभो लाग्दैन । आज समय परिवर्तन भएको छ । राजनीतिक लडाइ लगभग सकिएको छ । अब समृद्धिको चरण शुरु गर्नु आवश्यक छ । हिङ नभए पनि हिङ बाँधेको टालो हँु भने जस्तो हिसाबले अब दल उँभो लाग्दैन । भनिन्छ कपाल फूल्नु भनेको बुढ्याइँको संकेत हो न कि विज्ञता । किनकि सबै कपाल फुलेकाहरुमा पाको बाहेकको अन्य पृथक अनुभव नभएको पनि हुन सक्छ । मेलमिलाप दिवसको आजको शुभ घडीमा कांग्रेसमा नयाँ भाव पैदा होस्, अस्तु ।

अपडेट : 2022-01-01 16:26:37




your-image

Leave a Comment