जेठ १२   |  2022 May 26    


महाकाव्य जस्तै बजै


news

गएको साता एक बिहान छतमा लुगा सुकाउँदै थिएँ । बजै हल्का धङ्धङाउँदै म छेउ आइपुग्नु भयो । सिंढी चढ्दा सास बढेर स्याँ स्याँ गर्दै हुनुहुन्थ्यो ।


मैले ढोगेँ । बजैले सधै जस्तै आशीर्वाद दिनुभयो –‘ठूलो मन्छे भएस् बाबु !’


दशैंमा होस् वा अरु बेला, बजैले मलाई सधैं ‘लाउरे भएस् । केप्टन, लप्टन, सुब्दार, हल्दार, जम्दार भएस्’ भन्ने आसिक दिनु हुन्थ्यो । बाल्य कालमा यही आसिक । किशोर कालमा यही आसिक । युवावयमा पनि यही आसिक । तर युवावस्था काटिसक्दा पनि म ‘लाउरे’ नभएपछि बज्यैको ‘लाउर’ वाला आशीर्वाद पनातिहरुतिर स¥यो ।
मेरो लागि त्यसपछि बज्यैको वस्तुतः एउटै आसिक छ–‘ठूलो मन्छे भएस्’ ।


सामन्ती युगले बजैको मस्तिष्कमा प्रतिविम्वित गरिदिएको ‘ठूलो मन्छे’ भनेको उही ‘लप्टन–केप्टन’ नै हो । त्यो भनेको प्रशस्त सम्पत्ति, घर घडेरी, जग्गाजमीन, घोडागाडी, पेन्सन र यावत् सुविधाले सम्पन्न मान्छे हो । तर यो देश जिन्दगीभरि इमान्दारीपूर्वक मिहिनेत गर्दा पनि बजैले चाहेको जस्तो ‘ठूलो मान्छे’ हुन सकिने देश होइन । आस्था र विश्वासमा घात गरेर, इमानलाई बेचेर, दासताको सिक्रीमा बाँधिएर मात्रै अग्लो हुन सकिने देश हो यो । त्यो गर्न सकिन । त्यसैले ‘ठूला मान्छे’ बन्न सकिन । ‘सानो मान्छे’ भएर नै साना साना सपनाहरुमा अल्झिरहने बानी प¥यो ।


तर ‘ठूलो मन्छे भएस्’ भन्ने बजैको आसिक मेरा लागि स्थायी आसिक भएको छ ।


हाम्रो घरमा बजैको आगमन अचम्म र प्रत्यासित कुरा होइन । मावल घर सय मिटरको दूरीमा भएकोले उहाँको आउजाउ सामान्य कुरा हो । प्राय आइरहनु हुन्छ हाम्रो घरमा । आमा मुटुको बिमारी भए पछि त उहाँ दैनिकजसो आइरहनु हुन्छ । मेरी आमा अर्थात् आफ्नी कान्छी छोरीलाई हेर्नुहुन्छ । कम सुने पनि कुरा गर्नुहुन्छ । कहिलेकाँही चिया नास्ता खानु हुन्छ । आमा बारीमा भए आफू पनि बारीमा पसेर गोडमेल गर्नुहुन्छ । आमालाई सिमी वा सिल्टुङ टिप्न सघाउनु हुन्छ ।


मैले लुगा सुकाएर भ्याएँ । बजै प्लास्टिकको कुर्चीमा बस्नुभयो । म पनि उहाँको नजिकै अर्को कुर्चीमा बसेँ । कान्छी बहिनीले बजैलाई चिया ल्याएर दिई । दुबै हातले चियाको गिलास समातेर बजैले भित्र कतै भासिएर हराएकाजस्ता देखिने आँखाहरुले चश्माबाट मलाई चिहाउनु भयो ।


र, भन्नुभयो–“मेरो नागरिकता हरायो । फिरि, बनाउन मिल्च कि मिलन्न बाबु ? बनाइदिन सक्चस् कि सकन्नस् ?”
मैले उहाँलाई ढाड्स दिँदैं भने– “पाइन्छ बजै । नागरिकताको फोटोकापी भयो भने पाइन्छ । पुराना कागजातबाट फोटोकापी खोजेर नयाँ नागरिकता निकाल्न मिल्छ ।”


बुझिल्याउँदा नागरिकता हराएपछि वृद्धभत्ता पाइन्न भन्ने लागेको रहेछ उहाँलाई । वृद्धभत्ता पाइएन भने नाति–नातिना, पनाति–पनातिना र खनातिनीलाई तिथिहरुमा, चाडपर्वहरुमा वा ती काठमाण्डौ र अन्य कही टाढा जाँदा टीका लगाइदिएर दक्षिणा वा पैसा कहाँबाट ल्याएर दिने ? पनाति–पनातिनाहरुलाई जेरी वा मिठाई के ले किनिदिने ? बजैको चिन्ता त्यस्तो रहेछ ।


सम्वत् २०७८ असारमा १०३ वर्ष पूरा गरेर बजै १०४ वर्षमा लाग्नुभयो । जिन्दगीको एक शताब्दीभन्दा लामो यो यात्रामा बजैले जीवनलाई धेरै नजिकबाट हेर्नुभएको छ । मृत्युलाई धेरै नजिकबाट छाम्नु भएको छ । त्यसैले म बजैलाई संघर्षको सबैभन्दा ठूलो हिमाल देख्छु । धैर्यको सबैभन्दा ठूलो ताल देख्छु ।


बाजे गोर्खा राइफलमा लाहुरे हुनुहुन्थ्यो रे । बजै २७ वर्ष पुग्दा ४ जना लालाबालाहरुलाई अनाथ बनाएर बाजे महाप्रस्थानमा हिँड्नु भएछ । बाजेको चितासँगै बजैको सारा सौभाग्य जलिगएछ । सधैं सपनामा आएर सम्झनाको करौंती चलाइरहने हुनाले सम्हालेर राखेको बाजेको फोटो र लाहुरे जीवनको सारा कागजपत्र पनि काशी यात्रामा जाँदा आफ्नी सासुको सल्लाह अनुसार बजैले गङ्गाजीमा बगाइदिनु भएछ । तर कागजपत्र गङ्गाजीमा बगाइदिएपछि पनि बाजेको यादले त कहाँ छोड्यो होला र ? त्यो याद त आज पनि म बजैका उदास अश्रुपुरित आँखाहरुमा देखिरहन्छु ।


विज्ञहरु भन्छन्–ती कागजपत्र सम्हालेरै राखिएको भए बजैले बाजेको लाहुरे पेन्सन नै नपाए पनि रहलपहल र राहत रकम पनि पाउनु हुन्थ्यो रे । तर त्यो सम्भव भएन । दुई छोरालाई लाहुरे बनाएर र दुई छोरीहरुको बिहे दान गरिदिएर तिनलाई तिनको आकाशमा उन्मुक्त छोडिदिन बजैले धेरै संघर्ष गर्नु प¥यो । लाउँ लाउँ र खाउँ खाउँको उमेरदेखि आजसम्म एकल महिलाको जिन्दगी बिताउँदा बजैले दुःखको अनेक सगरमाथा चढ्नु प¥यो । पीडाको अनेक पोखरीमा पौडिनु प¥यो ।
दुःखको भुमरीमा रिङ्दै बजै चालीसको दशकमा बागलुङको चोराहाबाट बटौली आउनु भयो । सुक्खानगरको माटोमा खनीखोस्री गर्नुभयो । प्रियजनहरुसँग रमाउनु भयो । नातिनातिनाहरुलाई अनेकन कथा सुनाउनु भयो । तिनको बिहेदानमा आसिक दिनुभयो । पनातिपनातिनीहरुलाई काखमा लिएर रमाउनु भयो । तिनलाई बोकेर हिँड्नु भयो । डाँडामाथि पुग्न थालेपछि अलिअलि रक्सी पनि पिउन थाल्नु भयो । तर त्यो कहिल्यै अम्मल भने भएन ।


बजैले बटौली आएपछि तिनाउको किनारलाई लक्ष्य बनाएर हिँडेको अभिभावक–सासूको महाप्रस्थान हेर्नुभयो । जेठी छोरीलाई दोस्रो पटक सदाका लागि बिदा गर्नुभयो । अनेक प्रियजनहरुको मृत्युमा रुनुभयो । ७० वर्ष काटिसकेका आफ्ना छोराछोरीहरु विरामी भएर अस्पताल भर्ना हुँदा पीरको पोखरीमा अत्यासिनु भयो ।


गहिरिएर हेर्छु । बजै एक हिसाबले फुकीढल हुनुभएको छ । बानी बेहोराले केटाकेटी जस्तै हुनु भएको छ । एउटा चित्रकारले अमूर्त चित्रकलामा कोरेका धर्साहरुजस्ता अनगिन्ती धर्साहरु छन् बजैको मुहारमा । ती धर्साहरुमा दुःखका अनेक नदीहरु बगिरहेका छन् । ती नदीहरु गण्डकीभन्दा गहिरा छन् । ती नदीहरु आँसुभन्दा नुनिला छन् ।


साेंच्छु–ज्येष्ठ नागरिकमा पनि राज्यले चिन्ने केन्द्रका हस्तीहरुलाई मात्र रहेछ । कुनै बेला राजनीतिक, व्यवसायिक वा वौद्धिक क्षेत्रको केन्द्रमा रहेका, राज्यका हर सुविधा र अवसरको उपभोग गरेका अनि राजधानीमा सुखसयलपूर्ण जीवन बिताएकाहरु मात्रै शताब्दी पुरुष, राष्ट्रपुरुष हुने देशमा मेरो बजैजस्तो सुदूर गाउँका बजैहरुलाई राज्यले चिन्दैन । चिने पनि बोझका रुपमा चिन्छ । वृद्धभत्ता दिनु पर्ने एउटा बोझका रुपमा चिन्छ ।


राज्यसत्तालाई थाहा छैन– मेरो बजैजस्तै यो देशका सयौं हजारौं बजैहरुको जिन्दगी पनि आफैमा एउटा विराट संघर्षको महाख्यान हो । एक सुन्दर र गौरवपूर्ण महाकाव्य हो ।

अपडेट : 2021-12-11 09:58:25




your-image

Leave a Comment