माघ ५ २०७८   |  2022 Jan 19    


नारी, मातृत्व र यसको संवर्द्धन


news
आमा, हजुरआमा, बहिनी, दिदी, फुपू, छोरी, काकी, सानीमा, ठूलीआँ, श्रीमती, सासू, जेठ्सासू, साली, मितेनी, गुरुमा ..सबै नारीकै विशिष्ट रूप हुन् । सम्पूर्ण नारीको परम लक्ष्य आमा हो । त्यसैले त शास्त्रले आमाको देवत्वकरण गरी मातृ देवो भवः भनेर संसारको सृष्टि, स्थितिकारक मातृत्वको उच्च सम्मान गरेको छ । यसै गरी दश उपाध्याय बराबर एक आचार्य, दश आचार्य बराबर एक गुरु, दश गुरु बराबर एक बुबा र दश बुबा बराबर एक आमा भनी गरिएको तुलना शृङ्खलाले पनि मातृत्वको उच्च मूल्याङ्कन गरेको पाइन्छ ।
 
मानव विकासको प्रारम्भिक चरणमा पारिवारिक नेतृत्व महिलाको थियो भन्ने मानवशास्त्रीहरूको ठम्याइ छ । गणनायिकाको नीति निर्देशनमा त्यस बखतको फिरन्ते गण नियन्त्रित थियो । त्यो फिरन्ते समाज जब कृषि तथा पशुपालनतिर सङ्क्रमण भयो तब स्थायी बसोवास, स्थायी जोडी, निश्चित परिवारको रूपमा रूपान्तरण भयो । यस्तो अवस्थामा महिलाहरू सुरक्षित हिसाबले घरको देखभाल, बालबच्चा तथा पशुधनको स्याहारमा रहने र पुरुषहरू बाहिरफेरको जोखिमयुक्त काम गर्ने गरी कामको बाँडफाँड भयो । यसो गर्दा शारीरिक रूपमा ज्यादा जोखिम हुने कामबाट महिलाहरू केही पर रहने अवस्था भयो । त्यस्ता काम गर्ने अभ्यासमा पनि कम हुँदै गयो । तैपनि विगतको गणनायिकाको अवस्थामा विभिन्न सुरक्षात्मक योजना बनाउने अभ्यासले आर्जिएको वंशााणुगत गुण भने महिलामा कायमै छ । त्यसैलाई लक्षित गर्दै पुरुषले आँटे वर्ष दिन महिलाले आँटे एकछिन भन्ने कथन अहिले पनि प्रयोगमा आउने गर्छ ।
 
देवी भागवत पुराणमा देवीको नेतृत्वमा महिषासुरसमेतका राक्षसहरूको अत्याचारलाई दमन गरेको कुराले सुरक्षाका लागि महिलाको सफल नेतृत्वको प्रमाण पेश गर्छ । धनकी अधिष्ठात्री लक्ष्मी, विद्याकी अधिष्ठात्री सरस्वती हव्य, कव्यका अधिष्ठात्री स्वाहा र स्वधा हुनुले पनि प्राचीन कालमा सुरक्षा, अर्थ, शिक्षा, पालन पोषण (वितरण) मा महिलाको नेतृत्व निकै सफल स्थापित भएको कुरा स्पष्ट हुन्छ ।
 
महिषासुरले देवीलाई तिमी मेरी पत्नी बन भन्ने आग्रहलाई यो मे जयति सङ्ग्रामे यो मे दर्प व्ययोहति । यो मे प्रतिबलोलोके स मे भर्ता भविष्यति (जसले मलाई लडाइँ गरेर जित्छ, जसले मेरो घमण्डलाई तोड्न सक्छ, जसले मलाई घिच्याएर लैजान सक्छ, त्यो नै मेरो पति हुनेछ ।) भनेर ओँठे जवाफ दिने देवीको हैसियत महिलाको उच्च मनोबलको प्रतिनिधि अभिव्यक्तिको रूपमा उदाहरण दिने गरिन्छ । त्यसो त त्रिलोक विजयी त्रेता युगका रावणले आफ्नो देशको सीमा सुरक्षा बलको नेतृत्व लङ्कीनी नामकी महिलालाई दिएका थिए । व्यक्तिको सुरक्षित दैनिकी सञ्चालनका लागि महत्वपूर्ण रक्षाकवच मानिने दुर्गा कवचमा शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्ग सुरक्षाको जिम्मा विभिन्न देवीहरूले लिएको कथनले महिलाहरू शरीर विज्ञ भएको र स्वास्थ्य सुरक्षाका लागि उनीहरूको भूमिका उच्च रहेको स्पष्ट हुन्छ । त्यसैले दाराणां तोषणं तीर्थ गार्हस्थं तीर्थमुच्यते ।(अश्वमेध पर्व अध्याय ९२, महाभारत) अर्थात् गृहस्थको तीर्थ भनेको नारी सन्तुष्टि हो । नारी सन्तुष्ट रहेको घर नै तीर्थ हो भनिएको छ । यत्र नार्या सुपुज्यन्ते रमन्ते तत्र देवता अर्थात् नारीको पूजा हुने ठाउँमा देवता उसै रमाउँछन् भनेर नारीको, सुख शान्तिलाई उच्च महत्व दिइएको छ । लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा नारी गृहस्थहरूको मुटुतुल्य जान । हुन्छन् अडेर रहने उसबीच प्राण । यो दूषित हुन गए सब गड्बडिन्छ । यो बिग्रिए गृह त्यसै शवतुल्य हुन्छ भनेर गृहस्थ जीवनको केन्द्रविन्दु महिलालाई मानेका छन् ।
 
महाभारत शान्ति पर्व अध्याय १४४ मा भनिएको छ– न गृहं गृहमित्याहुर्गृहिणी गृहमुच्यते । गृहं तु गृहिणी हीनमरण्यं सदृशं मतम् ।।६।। अर्थात् भवन घर होइन गृहिणी अर्थात् श्रीमती नै घर हो । यदि घरमा गृहिणी छ्रैनन् भने त्यो घर घर होइन वन हो भन्ने भनाइ छ । यसै गरी सोही अध्यायको १७ औँ श्लोकमा भनएिको छ– यस्य भार्या गृहे नास्ति साध्वी च प्रिय वादिनी । अरण्यं तेन गन्तव्यं यथा सख्यं तथा गृहं ।।१७।। अर्थात् जसका घरमा सज्जन मीठो बोल्ने पत्नी छैन त्यो बन गए हुन्छ । किनकि उसका लागि घर वन जस्तै हो ।
 
कतिपय पौराणिक इतिहासमा नारी पुरुषका बारेमा लेखिएका केही असन्तुलित अभिव्यक्तिले नारी पुरुषबीच दरार खडा हुन खोजेको पाइन्छ । दुर्गा कवच पाठ नारीको महिमा गाइएको स्तुती काव्य हो । तर यही पाठको पुत्रान् रक्षेत् महालक्ष्मी मार्यां रक्षेत् तु भैरवी ले एकातिर पुत्री छाडिदियो भने अर्कोतिर पत्नीलाई रक्षा गरून् भनेपछि यो कवच महिलाले पाठ गर्नु खासै औचित्यपूर्ण देखिएन । त्यसैगरी शुक्रं ब्रह्माणी मे रक्षेत् शुक्र अर्थात् वीर्य पनि महिलामा नहुने र कुरा हो । यसले पनि महिलाले दुर्गाकवच पाठ गर्नुपर्ने औचित्य पुष्टि गर्न सकेन । वीर्य रक्षा गर्नुपर्ने तर डिम्ब रक्षा गर्नु नपर्ने त होइन होला ! त्यसैगरी अर्गलास्तोत्रमा पत्नी मनारेमां देही मनोवृत्तानुसारिणिम् ले पनि माथि जस्तै पुरुषककै आफ्नै आवश्यकता पूर्ति गर्ने खालको अवस्था देखायो । सूर्याष्टकं नामको सूर्यस्तोत्रमा उल्लेख गरिएको स्त्री तैल मधु मांसानि य करोति रवेर्दिने ले पनि महिलालाई यन्त्रवत् व्यवहार गरेको देखिन्छ । यौन सम्पर्कले व्रत, आराधना भङ्ग हुने हो भने महिला पुरुष दुवैको हुन्छ । स्त्री शब्दको ठाउँमा यौन शब्द राखे भै हाल्थ्यो ।
 
यी माथिका कुरा त पुरुषले लेखे वा रचेर नारीलाई समेट्न सकेनन्, अर्को कित्तामा राखेर हेरे । तर महाभारत आश्रमवासी पर्व अध्याय १७ को कुन्तीले भनेको यौटा श्लोक हेरौं – दुःशासनो यदा मौर्ख्याद् दासीवत् पर्यकर्षत ।
 
तदैव विदितं मह्यं पराभूत मिदम् कुलम् ।।११ ।।(जब दुःशासनले मूर्खतावश दासीलाई जस्तै गरेर (द्रौपतीलाई) घिस्स्याएको थियो त्यसैबेला नै हामी कुलमा बेग्लिएर बस्नुपर्ने भयो भन्ने सोचेकी थिएँ ।) यहाँ त मान्छेलाई मान्छेको जस्तो व्यवहार नगर्ने सहज अभिव्यक्ति कुन्तीबाट आएको छ । हुन त यो लेख्ने पनि पुरुष नै हुन् ।
 
महाभारत उद्योग पर्व अध्याय (१०६ – १३२) मा गालब ऋषिको हठले जीवनको लामो समय दुःख पाएको कुराको वर्णन छ । उनी आर्थिक हिसाबले अलि कमजोर भएकोले गुरु विश्वामित्रले उनलाई गुरु दक्षिणा माफ गरिदिएका थिए । तर गालबलाई लाग्यो मेरो आर्थिक स्थिति कमजोर देखेर गुरुले मलाई निरिह ठाने । अनि गालब अलि अहङ्कारी बनेर गुरुसित जुनसुकै मूल्यको गुरु दक्षिण दिन आफू तयार रहेको बताए । तब गुरुलाई झोक चल्यो र आठसय श्यामकर्ण घोडा ल्याऊ भने । त्यस बखत संसारमै जम्मा ६०० श्यामकर्ण घोडा थिए । त्यही पनि एकै ठाउँ थिएनन् । यो समस्याको गाँठो फुकाउन गालब महाराज यायाति कहाँ गए । उनीसँग श्यामकर्ण घोडा त थिएनन् तर श्यामकर्ण घोडा प्राप्त गर्ने उपाय सुझाउँदै भने– ऋषि गालब, अयोध्याका राजा हर्यश्वसँग २००, काशीका राजा दिवोदासँग २०० र भोजनगरका राजा उसिनरसँग २०० गरी जम्मा ६०० श्यामकर्ण घोडा छन् । मेरी छोरी माधवी लैजाऊ र ती राजालाई एक एक सन्तान जन्माउन्जेल अर्पण गर । मेरी छोरीबाट एक सन्तान जन्मेको सट्टामा २०० श्यामकर्ण घोडा दिेने सम्झौता गर । र अन्त्यमा तिम्रा गुरुलाई पनि एक सन्तान जन्माउनका लागि अर्पण गरेपछि तिम्रो वाचा कवोल पूरा हुनेछ । गालबले त आफ्नो बचन पूरा गरे तर माधवीको जीवन भने एक यन्त्र मनवको जस्तो बनाएर । यहाँ माधवीको निरीहताले जति पीडा दिन्छ त्यहाँभन्दा कैयौँ गुणा धेरै घृणा दिन्छ गालब, यायाति, हर्यश्व दिवोदास, उसिनर र गुरु विश्वामित्र प्रति । कसैले (रावणले) माग्यो भनेर पत्नी नै दिने शिवले पनि महिलाप्रतिको आदर्श उति राम्ररी थाम्न सकेको देखिन्न ।
 
पौराणिक कथाहरूमा विभिन्न खानदानियाँ पात्रहरू छोरी भइकन पनि छोरा भएनन् भनी भब्बाउने, किक्याउने गरेका थुपै्र सन्दर्भ छन् । तेत्तीसकोटी छोरी जन्माएका दक्ष प्रजापतिले छोरा छैनन्, बुढेसकालमा कसले पाल्ला भनी जेठी छोरीको सतिदेवीलाई विवाह नगरी राखेका थिए । राजा दशरथले छोरी शान्ता भइकन पनि छोराकै लागि जिउज्यान सुकाएका थिए । छोराका लागि अनेकौ छोरी भ्रूण नाश गरी स्वास्थ्य, अर्थ बर्वाद पार्ने आजकालका दम्पतिहरू र छोराका लागि पञ्चाग्नि ताप्ने दशरथ दम्पतिको कष्ट भोग्ने तरिका फरक भए पनि प्रवृत्ति एउटै हो । वसुदेवले छोरो बचाउन नन्दकी छोरीसित कृष्णलाई साटेका थिए । यी केही यस्ता घटना भए पनि शिव भट्ट दम्पतिले गणेशको तपस्या गरेर गोमा छोरी पाएर खुसी भएका थिए । राजर्षि जनक पनि छोरी सन्तानलाई साह्रै महत्व दिने पात्र हुन् । उनको लालनपालनमा हुर्केकी छोरी सीता एक आदर्श महिलाको रूपमा स्थापित भइन् । हिमालय पर्वत र मेनकाले छोरी पार्वती जन्माएर निकै हर्ष बढाइ गरेका थिए । हाल मङ्गोल जातिमा छोरीको राम्रो हैसियत हुनु यही संस्कारको निरन्तरता हुनसक्छ । राजा दु्रपतले पनि सिखण्डी छोरीलाई छोरो बनाई हुर्काएर बिहेसमेत गरिदिएका थिए केटीसित । यसले पनि छोराप्रतिको लगाव वा लिप्सा कति थियो भन्ने देखाउँछ । पछि द्रौपदी भने चाहनाले नै जन्मे जन्माएकी छोरी हुन् ।
 
माथिका केही सन्दर्भ हेर्दा छोरीहरू परिवार समाजले नचाहेर पनि प्रकृतिले नै सुरक्षित गरेको जस्तो देखिन्छ । तर त्यस्तो होइन । महिला वा नारी जातिको सुरक्षा, संरक्षण वा संवर्द्धनका लागि प्रकृति जति सचेत छ त्यसै गरी प्राचीन समाज सुधारक वा चिन्तक पनि उत्तिकै सम्वेदनशील भएर लागको देखिन्छ । सामाजिक कीरा माहुरीले रानी माहुरीको सुरक्षाका लागि कति उच्च सतर्कता अपनाएको पाइन्छ । बाँदर, ढेँडुवा, हात्ती आदिको बथानमा बाहिरी आक्रमण हुँदा प्रत्याक्रमणमा पुरुष जन्तु अघि सरेको पाइन्छ । मांसआहारका लागि बध गरिने जन्तु पुरुष वा भाले ( बोका, राँगा, थुमा ... ) हुने हुन्छन् । वंश सुरक्षाका लागि, वंश वृद्धिका लागि पोथी जातिको सुरक्षा सर्वाधिक रहन्छ । किनकि एउटा भालेले छोटो समयमा सयौं पोथीलाई गर्भवती बनाउन सक्छ तर एउटा पोथीले निकै लामो समय लगाएर बच्चा जन्माउने र हुर्काउने गर्नुपर्छ ।
 
हाम्रो संस्कारमा छोरीपट्टिको सन्तान देखेपछि तरिन्छ वा नरक जानुपर्दैन भन्ने भनाइले छोरीप्रतिको अगाध आस्था समाजमा छ भन्ने देखाउँछ । विभिन्न नीतिशास्त्रमा नारी जातिको संरक्षणका बारेमा उल्लेख गरेको पाइनछ । महाभारत अनुशासन पर्व अध्याय २० मा भनिएको छ– पिता रक्षति कौमारे भर्ता रक्षति यौवने । पुत्राश्च स्थविरे काले नास्ति स्त्रीणां स्वतन्त्रता ।।२१ ।। अर्थात् बुबाले कुमारी अवस्थामा रक्षा गर्ने, र्यौवनावस्थामा पतिद्वारा रक्षा गरिने, बुढेसकालमा छोराद्वारा रक्षा गरिने नारीलाई स्वतन्त्रता छैन । यहाँ स्वतन्त्रता छैन भन्नुको अर्थ ती सधै दासीको हैसियतमा रहनुपर्छ भनेको चाहिँ होइन । बरु सधै रक्षाको आवश्यकता छ भनेको हो । रामले आफू वनमा जाँदा बुबालाई आमाको (कौशल्याको) ख्याल गर्नुहोला भन्नु, पाण्डव वनमा जाँदा युधिष्ठिरले काका विदुरलाई आमा कुन्तीको ख्याल गरिदिनुहोला भन्ने कुरालाई कसरी अन्यथा मान्न सकिन्छ र ? रामले सौतेलो बा भएको कारणले भनेका थिए भने युधिष्ठिरले दुर्योधनको धूत्र्याइँका कारणले काका विदुरसित रक्षाको माग गरेका थिए । हाम्रो समाजमा महिला स्वतन्त्रताको वकालत गर्नेले छोरीका बा आमालाई भन्ने गर्छन्– छोरो गाउँघरमा ढौँटालिएर मध्य राती घर आउँदा पनि वास्ता हुँदैन तर छोरी साँझमा घर आइनपुगे करकर गर्न थाल्छन् । तर तिनीहरूले बुझ्नु पर्ने कुरा के हो भने छोरालाई कसैले हमला गरे दुई चारवटा घाउ, दुई चारवटा टुटिल्का लिएर आउला र दुई चार दिनमा निको पनि होला । तर छोरी हमालमा परी भने त्यो महाघाउ जीवनभरि निको हुँदैन । छोरीले दुई चार जना पेचाडेलाई कचाककुचुक पार्ने हिम्मत राख्छे भन्ने आत्मविश्वास हुन्थ्यो भने कुन बुबा आमाले अनावश्यक पिरलो गर्थे होला र ?
 
कतिपय आलोचकले श्री कृष्णलाई नारीप्रति ज्यादा आशक्ति भएको लपस्तरो भन्ने गर्छन् । एघार वर्षको उमेरमा रास लीला गरेको भनेर श्रीकृष्णलाई यौन पिपासु भन्ने गर्छन् । तर ती सुन्दर बालकलाई जवान महिलाहरूले जबरजस्ती यौन शोषण गरेकोतर्फ उनीहरूको ध्यान जाँदेन । नाबालक अवस्थामा घटेको यस रासलिला घटनाले श्रीकृष्णलाई निकै अन्तरमनसम्म छोयो । उनले महिलाको यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न चिरहरण लिला रचेका थिए अलि ठूलो भएपछि । निर्वस्त्र भएर सार्वजनिक स्थानमा नुहाउने असभ्य प्रवृत्ति हटाउन यस घटनाले सहयोग पु¥याएको थियो । महिलाहरूको चेत खोलिदिएको थियो । सारीभित्र भित्री लुगा ( पेटीकोट जस्तै) लगाउने शिक्षा पनि श्रीकृष्णले दिएका थिए । यसैकारण द्रापदीलाई कौरव सभामा निर्वस्त्र गराउन लाग्दा दुःशासन असफल भएको थियो र द्रौपदीले यो लाज बचाउने श्रेय श्रीकृष्णलाई दिएकी थिइन् ।
 
भौमासुर राजाले १६,१०० कन्या बन्धक बनाई यौन दासी बनाउको अवस्थामा श्रीकृष्णले ती कन्यालाई मुक्त गरेका थिए । ती मुक्त कन्याले हामीलाई स्वतन्त्रता दिलाउने मालिक भनेर श्री कृष्णलाई भन्नु स्वाभाविक थियो । यसै कुरालाई अपव्याख्या गरी कृष्णका श्रीमती १६००० भनियो तर वास्तविकता अर्कै थियो । कन्याको इच्छा विपरीत गरिने विवाहका विरुद्ध पनि श्रीकृष्ण उभिएका छन् । पहिलो त रुक्मिणीसित झ्याङिएको पे्रमलाई मर्न दिएनन् । कृष्णलाई प्रेम गर्ने रुक्मिणीलाई उनको इच्छा विरुद्ध शिशुपालसित विवाह गर्ने निश्चित भएको अवस्थामा श्रीकृष्णले रुक्मिणीलाई विवाहकै दिन भगाएका थिए । त्यसै गरी अर्जुनसित प्रेम गर्ने आफ्नै बहिनी सुभद्रालाई उनको इच्छा विरुद्ध दुर्योधनसित विवाह गरिदिन लाग्दा अर्जुनलाई आफ्नी बहिनी भगाउन सहयोग गरेका थिए ।
 
भन्ने गरिन्छ महिलाहरू शान्ति प्रिय, सहनशील हुन्छन् । पुरुषको दाँजामो महिलाहरू कम भ्रष्ट हुन्छन् । मातृत्व बोकेको जीवन भएकाले पुरुषहरूभन्दा महिलाहरू दयालु हुन्छन् । कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति अर्थात् कुपुत्र जन्मन सक्छन् तर कहिले पनि कुमाता हुन सक्तिनन् भन्ने उक्ति आमा वन्दना बखत सान्दर्भिक लागे पनि नारी दोषरहित हुन्छन्, दूधले धोएकै हुन्छन् भन्ने सोच्नु पनि एक अतिशयोक्ति मात्रै हो । साना नानीबाबुलाई अलपत्र छोडेर यौन सन्तुष्टि, सम्पत्ति सुखको लालसा वा अन्य कुनै कारणले हिँड्ने प्रवृत्ति आजको संसारमा बढ्दो छ । आमा ज्यूँदै हुँदाहुँदै टुहुरा बालबच्चाको जीवन कति पीडादायक हुन्छ भन्ने कुरा मापन गर्ने कुनै यन्त्र छैन । अझ नेपाली समाजमा विदेशमा धन कमाउन गएको श्रीमानको वर्षौको रगत पसिनाको कमाइ लिएर अरूसित लागी परिवार तहसनहस पारेका घटनाको पनि कमी छैनन् । श्रीमान्‌को भन्दा आयआर्जन बढी हुँदा घरमा खटपट सुरुवात गर्ने महिलाले पुरुषलाई यसले त एउटी केटी त रूखपमुनि लगेर पनि पाल्छ भनी हिम्मतिलो वचन भनेजस्तै महिलालाई पनि यसले एउटो केटो त रूखमुनि लगेर पनि पाल्छे भन्न सक्ने समाजको बोलीमा रूपान्तरण गर्नुपर्ने हुन्छ । आजभोलि पढालेखा दम्पतिमा पारपाचुकेका घटना बढेको देख्दा असमझदारी कहाँबाट सुरु हुने गरेको छ भन्ने कुरा अनुसन्धेय बनेको छ । रूपचन्द्र विष्ट थाहा दर्शनले राजनीतिक क्षेत्रमा जति सफल थिए दाम्पतय जीवनमा प्रतिष्पर्धी सोचले असफल रहेको मानिन्छ । पारपाचुके दाम्पतय जीवनको समस्याको समाधान होइन बरु जीवनभरि बोक्नुपर्ने अनन्त पीडाको भारी हो भन्ने कुरा महिलापुरुष दुवैले बुझ्नु पर्ने हुन्छ ।
 
यसो खोजी पस्ने हो भने हाम्रा पौराणिक युद्धका कारक महिला भएको पाइन्छ । रामायणको युद्ध, महाभारतको युद्ध सीता र द्रौपदीका कारण भएका छन् । श्रीमतीको चाहना पूरा गर्न अष्टबसुदेवले वसिष्ठको गुरुकुलको नन्दिनी गाई लुट्न गएका थिए । त्यही कारणले ती अष्टवसु मध्येका कान्छा वसु मर्य् लोकमा जन्मनु परेको थियो सन्तुन र गङ्गाका छोराका रूपमा भीष्म भएर । पूर्व जन्ममा श्रीमतीका कारण आफू भ्रष्ट हुनुपरेको कारणले उनले मर्त्यलोकको जीवनमा विवाह नै गरेनन् । (आदि पर्व, अध्याय ९९, महाभारत ) परशुरामले आफ्ना बुबालाई मारिदिएको सहस्रार्जुनलाई मारेर बदला लिए । तर पति वियोगमा छाती पिट्दै भुइँ हान्दै गरेकी आफ्नी आमाको करुण दृष्यले परशुरामलाई हदै व्यथित तुल्यायो । रेणुका( परशुरामकी आमाले ) ले २१ पटक छाती पिट्दे भुइँमा हात बजार्दै गरेकीले परशुरामले २१ पटक पृथ्वीबाट क्षेत्री निर्मूल पारे । जमदग्निको हत्याले भन्दा रेणुकाको विरह बिलौनाले यो जातीय सफायाका लागि उक्साएको थियो ।
विभिन्न प्राकृतिक वा मानव सिर्जित विपत्तिका बखत जम्मा ज्यान गुमाउनेमा ८० % महिलाले ज्यान गुमाउने गरेको तथ्य र विगतमा आएको सुनामी नामको समुद्री आँधीमा भएको हताहतीमा महिला पुरुष अनुपात ३ र १ रहेको अर्थात् ३ महिलामा आघात पर्दा १ पुरुषमा पर्ने कुरा विभिन्न सञ्चार माध्यमले बताएको थिए । यस तथ्यले विभिन्न विपत्तिमा महिलाको जोखिम स्तर ७५ % रहेको देखायो जुन माथिको तथ्यसित निटक नै देखिन्छ । यी तथ्यहरूले पनि महिला सुरक्षाका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।
 
सुखमय जीवन यापनका लागि पुरुष हुनु जाती वा स्त्री हुनु जाती भन्ने कुरा अन्तहीन बहसको विषय हुनसक्छ । अहिले लिङ्ग परिवर्तनका घटना देख्न सुन्न पाए पनि लिङ्ग परिवर्तन पछिको अवस्थासित प्राकृतिक अवस्थाको तुलना केवल कल्पना मात्रै हुनसक्छ । तर पौराणिक इतिहासमा दुवै लिङ्गको अनुभव गर्नेमा दु्रपद पुत्र सिखण्डी र भगाश्व नामका राजाको चर्चा छ । सिखण्डीले दुवै खाले यौन जीवनको कुरालाई लिएर कुनै तुलनात्मक चर्चा गरेको पाइँदेन । तर भगाश्व राजको भने दुवै खाले यौन जीवनसित जोडिएको चर्चा पाइन्छ । श्रीमती छोराछोरीले पूर्ण भएका राजा वन विहारका लागि इला पर्वत क्षेत्रमा गएका थिए । त्यहाँ एउटा पोखरी थियो । राजाले सो पोखरीइमा नुहाए । नुहाएर बाहिर निस्कँदा उनी महिला बनेका थिए । यसपछि उनी आफ्नो राज्यतिर नलागी छिमेकि देशको राजधानीतिर लागिन् । त्यस देशका राजा एक कन्याका खोजीमा रहेछन् । तिनै भगाश्वा कन्यासित विवाह गरेछन् । थुपै्र छोराछोरी जन्मे, हुर्के । कालक्रमले भगाश्व पुरुष हुँदाका छोराहरू र भगाश्वा महिला हुँदाका छोराहरूबीचमा राज्य विस्तारको सन्दर्भमा विवाद भयो । ठूलो लडाइँ भयो । भगाश्वका दुवै पक्षका छोराहरू मारिए । भगाश्वालाई साहै्र ठूलो शोक प¥यो । उनले शोक विह्वल अवस्थामा ईन्द्रको आराधना गरिन् । ईन्द्र आएर भने– हे भगाश्वा तिम्रो पुत्र शोक सहितको करुण आराधनाका कारण म आएको छु । भन म कुनै एक पक्षका पुत्रहरू ब्यूताइदिन सक्छु । कतापट्टिका ब्यूँताइदिउँ ? तव भगश्वाले आफू महिला भएर जनमाएका सन्तान ब्यूँताइदिन भनिन् । तब इन्द्रले भने– पुरुष हुँदाका बखत जन्मेका सन्तान जिलाइदिन नभनेर महिला हुँदाका बखत जन्मेका सन्तान नै किन जिलाइदिन भनेकी नि ? तब भगाश्वा भन्छिन्– महाराज इन्द्र, महिला भएर सन्तानवती हुँदाको जस्तो आनन्द पुरुष हुँदा नहुने कुराको अनुभवले नै मैले यस्तो निर्णय गरेकी हुँ । भगाश्वाले कुनै छलकपटबिना सोझो जवाफ दिएकीले ईन्द्रले दुवैतर्फका छोराहरू बचाइदिए । यसले छोरीको जन्म हारेको कर्म भनाइलाई राम्रो जवाफ दिएको छ ।
 
महिलाको हठ निकै जोड जबरजस्त हुन्छ भन्ने कुरा लोकमान्य छ । नारी हठ, राज हठ, बाल हठलाई चर्को हठको रूपमा लिने गरिन्छ । सीताको सुनको मृग पाउने हठ रामले पूरा गर्न खोज्दा सीता आफै अपहरणमा पर्नु प¥यो । सतीदेवीले नबोलाएको निम्तोमा जाने ( शिवले बारबार नजान भनेका थिए ) हठले अल्पायुमै ज्यान गुमाउनुप¥यो । तर यस्तै दृढ हठले सावित्रीले मृत्यु वरण गरेका सत्यवान्लाई यमपाशबाट फुत्काएर ल्याइन् । पार्वतीले शिवसित मृत्युञ्जय कथा सुन्ने हठ गरेर अजम्मरी भइन् ।
 
अहिले सञ्चार मन्त्रालय, पधेर्नी कुरा भने खिसीट्यूरीका पात्र बन्ने महिलाहरू द्वापर युगको अन्त्यसम्म निकै गब्बडी, गोपनीयता भङ्ग नगर्ने स्वभावका थिए । पाण्डु पत्नी कुन्तीले विवाह नहुँदै सूर्यसितको संसर्गले छोरा कर्ण जन्माएकी थिइन् । यो कुरा महाभारत युद्धमा कर्णको देहान्त हुने बेलासम्म गोप्य राखेकी थिइन् । जब कर्णको देहान्त भयो तब कुन्तीले रुँदै पाण्डवहरूलाई आफ्ना जेठा दाजु कर्णलाई जलाञ्जली दिन भनेकी थिइन् । यो गोपनीयताले आफू आफ्नै दाजुको मृत्युको कारण बनेकोमा युधिष्ठिरलाई ठूलो खेद भयो । तब युधिष्ठिरले आमालाई लक्षित गर्दै भने – पापे नासौ मया श्रेष्ठो भ्राता ज्ञातिर्निपातित । अतो मनसि यद्गुह्यं स्त्रीणां तन्न भविष्यति ।।२९ ।। ( महाभारत, स्त्रीपर्व, अध्याय २७ ) अर्थात् म पापीले कर्ण जेठो दाइ हो भन्ने ज्ञान नहुनाले मराएँ । यसैले आजदेखि कुनै पनि महिलाले गोप्य कुरा राख्न नसकून् । )
 
वैदिक सनातन समाजमा एक अन्ध परम्परा छ महिलाले वेद पढ्नु हुँदैन भन्ने । सन्तान जन्माउनु, हुर्काउनु र वंश विस्तार गर्नुलाई उच्च महत्व दिइने प्राचीन कालको ज्ञानमा महिलालाई प्राप्त हुने प्रकृति प्रदत्त ज्ञान पुरुषका लागि अध्ययनको विषय बन्थ्यो । त्यसैले पुरुषले वेद ( ज्ञान ) पढ्नै पर्ने वा पढेर जान्नुपर्ने तर महिलालाई नपढे पनि प्राप्त हुने भन्ने कुरा विकृत भएर महिलाले वेद पढ्नु हुँदैन मा रूपान्तरण भएको मानिन्छ । अपाला, वागम्भृणी रोभषा जस्ता महिलाले वेदका मन्त्रहरू रचेका छन् भने महिलाले वेद पढ्नु हुँदैन भन्ने कुरा तर्कसङ्गत छैन । यसै कुरासँग सहमत हुँदै आजभन्दा १५०० वर्ष अघिका महाकवि शुद्रकले आफ्नो नाटक मृच्छकटिकम्मा यसो भनेका छन् – स्त्रियो हि नाम खल्वेता निसर्गादेव पण्डिता ः । पुरुषाणां तु पाण्डित्यं शास्त्रैरेवोपदिश्यते ।।१९।। ( चतुर्थ अङ्क ) वास्तवमा नारी जाति जन्मैले वा प्रकृति प्रदत्त क्षमताले नै चतुर हुन्छन् । पुरुषको चतुरता भने शास्त्र पढेपछि मात्रै प्राप्त हुन्छ ।
 
पितृ प्रधान समाज, पितृ सत्ताको हालिमुवाली भएको समाजले नारी उत्थानमा तगालो हालेको छ भनी जति करकर गरे पनि प्राचीन कालदेखि आजसम्म पुरुषहरू महिला उत्थानका निकै तपस्वी बनेका छन् । राजा पाण्डुले पत्नीका खुसीका लागि विभिन्न परपुरुष ( धर्म, वायु, इन्द्र, अश्विनीकुमार ) बाट सन्तान जन्माउन अनुमति दिएका थिए ।
 
वास्तवमा बा चिनाइदिने आमा हुन् । त्यही विश्वासमा पुरुषहरू जीवनभरि ज्यामी बनेर रहने हो । यही कारणले होला राम्ररी अनुहारै नउघे्रको नवजात शिशुको अनुहारमा बुबाको छाँटकाँट देख्छन् महिलाहरू । यी आँखी भौँ त ठपक्कै ( ठ्याक्कै ) बाउका जस्तै छन् । निधारको डिलडौल, ओँठ, चिउँडो, कान, हातका औँला .... बाउका जस्तै छन् । यही खुसीयालीमा का..का.. गरी रमाउँछ पुरुष भलै भोलि बच्चाको अनुहारले कुहू कुहू भनोस् । त्यसैले भन्ने गरिन्छ बा विश्वास हो आमा यथार्थ हो भनेर ।
 
महिलामा बाँझोपन भएमा वा श्रीमान् श्रीमतीमा बाँझोपन भएमा धर्म सन्तान पाल्नु पर्ने वाध्यता महिलालाई हुन्छ तर पुरुषमा वा महिला पुरुष दुवैमा बाँझोपन नहुँदानहुँदै धर्मसन्तान ( आफ्नै श्रमिती बाट जन्मेको तर आफ्नो वीर्य नभएको ) हुर्काउने वाध्यता हुने गर्छ पुरुषमा । तैँ चुप मै चुप भएर सहनुपर्ने वाध्यता ।
 
महिला चुलोचौकोमा भुलेर पछि परेका हुन् भन्ने महिला उत्थानकर्मीको अर्को दलिल छ । शायद संसारका सबै मान्छेले खाने खाद्यपदार्थ तयारीका हिसाबले हेर्ने हो भने सबैभन्दा धेरै खाना पुरुषहरूले तयार गर्छन् हेला । ठूला ठूला भोज भतेरमा, ठूला ठूला होटेलका कुक, क्याटरिङ सञ्चालक तथा काम गर्ने भान्से, पाउरोटी, कुकिज, बिस्कुट कारखानामा काम गर्ने सबैजसो पुरुष नै हुन्छन् । घर परिवारमा बच्चाबच्चीको हेरचाह र खाना तयार गर्ने काम सुविधा, सहजता र मातृत्व भावका हिसाबले सुरक्षित र उपयुक्त भएकाले महिला भान्से हुनु स्वाभाविक हो । बाहिरी मेलापातको सकसको काम पुरुषले गर्ने, देश विदेशको कमाइका लागि कहर काट्ने पुरुषहरू घरकी गोसेनीकै मियोमा आबद्ध रहेका हुन्छन् । वास्तवमा घरको भान्से परिवारको शक्ति उत्पादन केन्द्र हो । त्यसैले पुरानू जमानामा घरको भान्से हुन निकै तँछाड मछाड हुने गथ्र्यो । अहिले खास गरी भान्सा वेवारिसी बन्दै छ । जीवनमा शक्ति सञ्चार हुने केन्द्रको यो अवस्थाले पारिवारिक माया ममता पनि खस्कँदो छ । किनकि महिलालाई फलिफाप नहुने चुलोचौकोले पुरुषको उत्थान पनि त नहोला भन्ने सोचले परिवारमा सँगै बस्ने, सँगै खाने, रमाउने अवस्था पनि त विस्तारै कम हुँदै जाने होला । एक छाक भए पनि आमाले पकाएको खाना खाउँला भन्ने सोच पनि त विस्तारै हराउला । यसले मातृत्वको गरिमा विस्तारै खस्कँदै जाने कुरामा शङ्का गर्नुपर्दैन । पारिवारिक विघटनको सुरुवाती आधार !
 
नारी जीवन निकै आह्लादकारी भन्ने जतिसुकै प्रमाण जुटाए पनि हरेक देशमा पुरुष सन्तानको मोह भने घटेको पाइँदेन । भारतका कैयोँ प्रान्तमा स्त्री भु्रण हत्याका कारण पुरुष जनसङ्ख्या बढ्नाले विवाहका लागि केटीको समस्या हुने गरेका समाचार आउन लागेका छन् । परापूर्व कालदेखि पुरुष सन्तानका लागि मरिहत्ते गर्ने वंशाणु कसरी निर्माण भयो भन्ने सन्दर्भलाई केलाउँदा शिशु अवस्थामा केटीभन्दा केटाको मृत्युदर बढी हुनु देखिएको छ । अहिले औषधी उपचारको राम्रो व्यवस्था भएको अवस्थामा पनि पुरानू धङ्धङीले छोडेको छैन ।
 
अहिले महिला उत्थानका लागि धेरै चिन्तन मनन हुन थालेका छन् । पठनपाठन तथा रोजगारीका क्षेत्रमा आरक्षणको व्यवस्था हुनुपर्छ भन्ने कुरा पनि महिला सशक्तीकरणको लागि एक आयामको रूपमा लिइएको छ । तर आरक्षणले महिलालाई प्रतिष्पर्धी मनस्थितिबाट किनारा मात्र लाउँदैन यसले उचालेको कुकुरले मृग मार्देन भनेझैँ हीनताबोधको स्थिति सिर्जना गर्छ भन्नेहरू पनि छन् । बरु महिलालाई उच्च प्राथमिकता दिने क्षेत्र पहिचान गरी ती क्षेत्रमा महिला महिलाबीच खरो प्रतिष्पर्धा गराई छनोट गर्ने व्यवस्था गर्ने र अन्य क्षेत्रमा आरक्षणको व्यवस्था हटाउने भन्ने समाजशास्त्रीहरू पनि उत्तिकै छन् । स्त्री तथा बालरोग विशेषज्ञ, नर्स, प्राथमिक शिक्षा शिक्षक, उडान परिचारिका, बैकिङ सेवामा महिलाद्वारा प्रदान गरिने सेवा सर्वोत्तम हुनसक्छ ।
 
महिला उत्थानका लागि विभिन्न क्षेत्रबाट अथक प्रयास गर्दै आए पनि समग्र महिलाको स्तर उठ्नका लागि अवरोधका रूपमा रहेका केही व्यावहारिक पक्षहरू यी रहेका छन्–
 
क) प्राकृतिक पक्ष— १. महिनावारी— किशोरावस्थामा प्रवेश गरेपछिको एक प्राकृतिक सङ्केत हो युवतीहरूको महिनावारी । यसलाई रजस्वला, छुई, नछुने हुनु, परसर्ने, पन्छिने, रजोवती हुनु जस्ता शब्दावलीले पनि बुझ्ने गरिन्छ । एक स्वस्थ महिलाको २८ देखि ३० दिनको रजस्वला चक्र चल्ने हुनाले यसलाई महिनावारी भनिएको हो । यो सामान्य प्राकृतिक कुरा भए पनि रक्तस्राव हुने, कसै कसैलाई पेट, कमर दुख्ने जस्ता समस्याले गर्दा महिनाको कम्तिमा ३ दिन महिलाका लागि असहज स्थिति बन्छ । खेल, व्यायाम जस्ता शारीरिक श्रमयुक्त काम गर्न गाह्रो हुन्छ । संयोगले निर्धारित कार्यक्रमको अवस्थामा रजस्वला भएमा स्वभाविक सफलता हात लाग्न नसक्नाले पछि पर्न बाध्य हुनुपर्छ ।
 
२. सुत्केरी— मानव सृष्टिलाई निरन्तरता दिने भनौँ वा वंश परम्परा थाम्ने महत्वपूर्ण घटना हो सुत्केरी अवस्था । जुन एक उर्वर महिलाबाट मात्र संभव छ । गर्भावस्थादेखि नौ महिनासम्म गर्भ हुर्काउँदा आउने विभिन्न शारीरिक असहज अवस्थालाई सहन गर्दै, पारगर्दै सुत्केरी अवस्थामा आइपुग्नुपर्छ । बाहिरी वस्तु ( भु्रण ) को आगमनलाई ननिको मानेर हुने औछनदेखि भु्रण बढ्दै जाँदा हुने असजिलोले शारीरिक छरितोपन कम भएको अवस्थाले ल्याउने कार्यक्षमताको कमीले पनि पछि पर्न बाध्य पार्छ । सुत्केरीपछि बच्चा स्याहारमा बिताउनु पर्ने, सुनौला हजार दिन पनि महिलाका लागि उति सहज हुँदैनन् । बच्चाको स्याहारमा पुरुषले सहयोग गर्न सके पनि स्तनपानको काम निर्विकल्प आमाले नै गर्नुपर्ने हुन्छ । यी र यिनीसित सम्बन्धित अन्य झिनामसिना कुराहरूले महिलालाई सहज वेगमा हिँड्न दिँदैनन् ।
 
३. कद— औसत महिलाको कद औसत पुरुषको भन्दा कम हुन्छ । यो कदले विशेष गरी शारीरिक श्रमका सन्दर्भमा असर गर्छ । यसले बल, काममा टिक्ने कुरामा असर पर्छ । यी कुराले पनि कतिपय अवस्थामा पछि पर्ने स्थिति हुन्छ ।
ख. सामाजिक पक्ष— १. परघर जाने प्रथा— आफू जन्मे हुर्केको गाउँठाउँ छोडेर केटाको घर जाने प्रथाले महिलालाई पुनः नयाँ ठाउँमा सामाजिक सम्बन्ध विस्तार गर्नुपर्ने स्थिति हुन्छ । लवाइ, खवाइ, हिडाइ, बोलाइसमेतमा सोही ठाउँअनुसारको जस्तो मिलाई सम्बन्ध विस्तार गर्नु त्यति सहज हुँदैन । यस्तै तनावले गर्दा महिलालाई सहजसित अघि बढ्न रोक लगाउँछ । यसको अर्को पाटो छ आफ्नै जन्म घरमा गरिने विभेद । अर्काको घर जाने त हो भनी राम्रो शिक्षा दिक्षामा कञ्जुस्याइँ गर्ने प्रवृत्तिले पनि महिला पछि पर्ने गरेका छन् ।
 
२. बाल विवाह र अनमेल विवाह— बाल विवाहले महिलाको शिक्षा दीक्षा, समुचित शारीरिक विकास, सामाजिक सम्बन्ध विकाससमेतका कुरा अधुरा, अपुरा रहने गर्छन् भने अनमेल विवाहले जीवनजोडीबाट पाउने सामयिक माया ममतासमेत अधुरा हुन्छन् । यस्तो जीवन एक एकाकी र निरस रूपले बित्ने गर्छन् । मनमा जोस, जाँगर, उत्साहहीन जीवन सधै असफल रहने गर्छ ।
 
३. उच्च हैसियतका वर खोज्ने प्रवृत्ति– कदमा, उमेरमा, शिक्षामा, आर्थिक हैसियतमा, रोजगारीमा उच्च हैसियतको वर खोज्ने प्रवृत्तिले पनि महिलालाई पछि पार्न सयहोग गरेको छ । पुरुषको भन्दा महिलाको कद सानो हुनुपर्छ भन्ने सङ्केत नाटक वा चलचित्रमा गरिएको नायक नायिका चयनले देखाउँछ । हरेक कुरामा उच्च हैसियत भएको श्रीमान्सित धक खोलेर बोल्न, छलफलमा भाग लिन अप्ठयारो हुने हुन्छ । ज्ञानको तह, अनुभवको तहमा हुने फराकिलो फरकले मानसिक रूपले सधैभरि थिँचिएर रहनुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थामा व्यक्तित्व फक्रिन र मौलाउन नपाई सधैभरि तप्केनी, झापसको खेतीझैँ टाक्सिएर जीवन वित्ने गर्छ ।
 
४. दाइजो प्रथा— विवाहका बखत माइतिपक्षले वर पक्षलाई दिने धनसम्पति नै दाइजो हो । कहीँ बोलकबोलबाट कहीँ भड्क्याइँ देखाउन दिइने यो दाइजो महिलाको लागि सधै पीडादायक बन्छ । घरमा दाइजो कम ल्याएको भनी ताडना सहनुपर्ने र माइतीमा यसका लागि दाइजो दिँदा गरिब भइयो भन्ने सुन्नुपर्दा जीवन सधै उदास र निराश भएर बित्ने गर्छ । यस्तो अवस्थामा महिला जीवनको टेक्ने हाँगो न समाउने डालोजस्तो अवस्था महसुस गर्छन् भने उत्थानको बाटो कहाँ भेटाउनु ?
 
५. सुरक्षण तथा संरक्षणको अभाव – कतिपय जातजातिमा आफ्नी चेलीको सुरक्षण तथा संरक्षणको राम्रो व्यवस्था गरेको पाइन्छ । मद्र नरेश पुत्री माद्रीलाई विवाह गर्दा पाण्डुले तोकिए बमोजिमको रकम दिएका थिए । यो संस्कार अहिले विवाहका बखत सुनौली रूपौली नामले सुरक्षण लिने लिम्बु जातिमा रहेको पाइन्छ । तामाङ जातिमा विवाहित महिलाको मृत्यु हुँदा माइति पक्षको उपस्थिति र अनुमति विना अन्त्येष्ठी नगर्ने संस्कारले पनि महिला हिंसा कम गर्न सहयोग रहेको भन्न सकिन्छ । माइति पक्ष घर पक्षभन्दा मर्यादाका हिसाबले तल्लो स्तरमा रहने आर्य संस्कारले महिला हेपिने, मानसिक वा शारीरिक हिंसा पीडित हुने अवस्था रहेको छ ।
 
६. अछूत प्रथा– महिलाहरू रजस्वला हुँदा र सुत्केरी हुँदा छूत बार्ने परम्परा छ । ती अवस्थामा महिलाहरू शारीरिक रूपले कमजोर र असहज परिस्थितिमा हुन्छन् भनी साबिकको काम नगर्ने वा कम गर्ने भन्ने सद्सोचबाट सुरु गरिएको वैज्ञानिक चलनलाई नष्टभ्रष्ट पारेर घर भित्रै बस्न नहुने, छुन नहुने, पोषिला खानेकुरा खान नहुनेमा लगिएको छ । रजस्वलालाई संस्कृतमा पुंसवती भएको भनिन्छ अर्थात् फूल फुलेको अवस्थाकी । फूल नफुली फल लाग्दैन । महिलामा देखिने प्राकृतिक उर्वरपनाको जानकारी पाउने त्यो रजोवती अवस्था परिवारमा हर्ष छाउने अवस्था हो । त्यस्तै सन्तानवती अवस्था पनि । ज्ञानको अभावमा यस्तो राम्रो कुराले महिला पीडित, कुपोषित र पछि पर्नुपरेको छ ।
 
७ . घर तथा विद्यालयमा हुने लैङ्गिक विभेद— घरायसी काम सिकाउँदा, विद्यालयमा खेलिने खेलका प्रतिष्पर्धामा, खेलोना किन्दा, लुगा किन्दा यो केटा लागि ऊ केटीका लागि भन्ने प्रचलनले पनि केटीको मनस्थितिमा आघात पर्ने गर्छ । फुटबल भलिभबलको टोली बनाउँदा मिश्रित टोली बनाउने हो भने सहसिकाइ (Mentoring) का कारण केटीहरू पनि केटाहरू जस्तै प्रतिष्पर्धी, आत्मविश्वासी बन्न सक्थे । कसको क्षमता कति छ भन्ने जाँच्दै नजाँची कमजोर कित्तामा केटीहरूलाई छुट्याइदिन्छौं र पछाडि पाछौँ । घरमा गरिने छोरा र बुहारीमा गरिने विभेद, छोरा र छोरीमा गरिने विभेद र छोरी र बुहारीमा गरिने विभेदमा महिला उच्च पीडामा हुन्छन् । घरमा हुने मानसिक द्वन्द्वका कारण महिलालाई सिर्जनात्मक सोच फुराउन गाह्रो भएको छ जुन महिला पिछडिनुको कारण बनेको छ ।
 
८ . यौन हिंसा— संसारभरिका महिलाहरू यौन हिँसाका जोखिममा छन् तर हाम्रो जस्तो घरदखि, विद्यालयदेखि लैङ्गिक विभेदले तल्लो छेउमा पारिएका महिलाहरू अझ ज्यादा यौन हिंसाको शिकार बन्छन् । सानैदेखि केटालाई पुल्पुल्याउने र केटीलाई अनुशासनका पाठ घोकाउने गर्दा पुरुषको बढ्दो साँढे प्रवृत्तिले यौन हिंसाको डढेलो सल्काउने गर्छ । छोरीलाई सानैदेखि आत्मसुरक्षाको सीप सिकाउने सोच गर्दैनौँ बरु साँझमा उता नजा, बिहानै त्यो बाटो नजा भन्ने अर्ति बुद्धि दिने गर्छौ । मेरी छोरीले एक दुईटा खैराँतेले जिस्क्याउँदा चिउँदो खुस्किनेगरी दनक दिन सक्छे भन्ने क्षमता विकास गरिदिएको भए सधै मनमा पीडाका फुरौला पकाएर बसिरहनु पथ्र्यो र ?
 
ग) निजी मामला– १ शृङ्गार— महिलालाई प्रकृतिले नै सुन्दर स्वरूप दिएको छ । तर त्यो प्राकृतिक स्वरूपलाई बिगारेर कृत्रिमताका लागि थुपै्र समय र धन खर्च गर्छन् महिलाहरू । शृङ्गारका लागि समय र धनको खर्च गर्नु भनेको दक्षता, सक्षमतामा पछि पर्नु हो ।
 
२ .गहना— गहनामा हुरुक्क हुने महिला पनि जीवनको जोखिमपूर्ण यात्राका यात्री हुन् । कामका कारणजोखिम, विचारका कारण जोखिमको प्रतिवाद पुरुषहरूले पनि गरिरहेका हुन्छन् । तर महिलालले थप गरगहनाको पनि जोखिमी प्रतिवाद गर्नुपर्ने महिलाले पुरुषभन्दा पछि पर्नुमा कुनै अनौठो भएन ।
 
३. असजिलो फेसन – आफ्नो शरीरले कस्तो लवाइ खोज्छ ( न्यानो, शीतल ), आफ्नो समाजले कस्तो लवाइलाई सहज स्वीकार्छ, आफूलाई कस्तो लगाउँदा सजिलो हुन्छ भनी आफूले लगाउने लुगा तथा जुत्ताको छनोट गर्नुपर्छ । तर धेरैजसो महिलामा यसको अभाव देखिन्छ । फेसनका लागि चाहिनेभन्दा बढी समय र धन खर्चिनु पनि पिछडिनुको थप कारण बन्ने गर्छ ।
 
महिलालाई शीर्ष महत्व दिइएको सन्दर्भमा ऋग्वेदले भनेका प्रतीकात्मक यी दुई हरफहरू हेरौँ– सामोहमस्मि ऋक् त्वं, द्यौ रहं पृथ्वी त्वं । यहाँ सङ्गीत पुरुष, गीत महिला र आकाश पुरुष र पृथ्वी महिला भनिएको छ । दुवैमा आधार महिला र आधारित पुरुष भएको देखाइएको छ । यसले महिला पुरुष दुवैलाई परस्पर परिपूरकको भूमिकामा देखाएको छ ।
 
दाम्पत्य जीवनमा महिला पुरुष कहिल्यै पनि प्रतिष्पर्धी होइनन् । प्रतिष्पर्धाले ईर्ष्या जन्माउँछ । दाम्पत्य जीवनमा भित्रिएको ईर्ष्याले सो जीवनको एकात्मक स्पातको मियोमा खिया लाग्छ र मियोलाई छियाछिया बनाउँछ । जुनसुकै कडा रसानले पनि जोड्न सकिन्न । त्यसैले दाम्पत्य जीवन प्रतिष्पर्धी जीवन होइन यो त परिपूरक जीवन हो । एक हजार लिटर दूधलाई दही बनाउन एक लिटर बीउ दही भए पुग्छ । यहाँ दही बनाउने कामका लागि महत्वका हिसाबले दूध र बीउ दहीबीचको आयतन, तौल र बजार मूल्यको तुलनाको कुनै अर्थ छैन । किनकी दूध नभए पनि दही बन्दैन र बीउ दही नभए पनि दही बन्दैन ।
 
एक जना हास्य व्यङ्गयकारले पुरुषले गर्न सक्ने र महिलाले गर्न नसक्ने कुरा भित्तामा पिसाब फेर्ने हो भनी हँसाए । पुरुषमा पितृत्व छ महिलामा मातृत्व छ । यी दुवै कुरा एक्लैमा दुवै अपूर्ण छन् ।त्यसैले पुरुषलाई महिलाको अर्धाङ्गी र महिलालाई पुरुषको अर्धाङ्गिनी भन्ने गरिन्छ । यी दुवैको आपसी संयोजनमा मात्र पूर्णता प्राप्त हुन्छ । पितृ प्रधान समाज, पुरुषवादी सोच भनेर अनावश्यक खुइलिएका कुरा गरेर समाजमा तीतो नपोखौँ । जातीय क्षेत्रीय साम्प्रदायिकताले धेरै बलि खाइसक्यो देशेले । अब फेरि पितृ प्रधान र मातृ प्रधानका निहुँ निकालेर फेरि अर्को बलिको अखाडा तयारीमा नलागी आपसी सुझबुझमा जिउने संस्कारको सुरुवात आजको आवश्यकता हो ।

अपडेट : 2021-11-27 13:49:06




your-image

Leave a Comment