माघ ५ २०७८   |  2022 Jan 19    


पति लिन हिँडेकी युवती


news

जनसंख्याको ठूलो हिस्साले आशालु नजरले हेरिहेको थियो । तर हेर्दा हेर्दै एउटा ‘कम्युनिष्ट पार्टी’ को हँसिया र घनवाला झण्डा मजदुर–किसान र अन्तिम किनारको उपेक्षित दुखियाहरुको हातबाट गैंडाको अघिल्लो खुट्टामा पुग्यो । यता एकसिंगे गैडा मखमेल भएर प्रसन्न मुद्रामा पछिल्ला दुई खुट्टामा उभिएको छ, उता दुखिया जनहरु बढ्दो महंगी, बेरोजगारी र ‘भ्रष्ट–सुशासन’ले बोकाएको भारी बोक्न नसकेर चौपाया बनेर घिस्रिरहेका छन् । यता भुँइको मानिस दुःखले थिलोथिलो भएर ‘ऐया’ र ‘आत्थो’ गरिरहेछ, उता नवधनाढ्य भुइँफुट्टाहरु, हत्याराहरु र मेडिकल माफियाहरु ‘नेता’को देवत्वकरणमा आल्हादित् हुँदै ‘आहा’ र ‘गजाब’ भनिरहेछन् ।


अघिल्लो महिना चाडबाडको महिना थियो । तैपनि २०७८ कार्तिक महिनामा मात्रै ५४ हजार ९ सय १८ नेपालीहरुले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको खबर आएको छ । यो हिसाबले वर्र्ष दिनमा ६ लाख जोरभन्दा बढी युवा पाखुरीहरु विदेशको श्रम गन्तव्यमा बाहिरिएको छ । ६ लाख जोरभन्दा बढी युवा पैतालाहरु विदेशको श्रम गन्तव्यमा हिँडिरहेको छ ।


उता खाडीमा लाखौं युवाहरुले रगत पसिना बगाइरहेका छन् । दुखजिलो गरी तिनको घरबार चलेको छ । तिनकै कमाई आइरहेको छ र अर्थतन्त्रको ढुकढुकी चलेको छ । सरकारहरु चलेका छन् । तर पनि कमाउनेहरुको जीवन सुखतिर फर्किन सकेको छैन । तिनको दुःख उही छ । पीडा र वियोग उही छ । नियति उही छ । किनभने राज्यसत्तामा हालीमुहाली गर्ने शासकहरुको नियत उही छ । राज्यको अकर्मण्यता उही छ । तिनका कमाइको अंशबाट दलाल पूँजीपति र नवधनाढ्य साहुहरुले बोनस खाइरहेका छन् ।


राजनीति बिग्रियो भने सबै बिग्रन्छ भन्ने भनाई सस्तो राजनीतिक र गह्रुंगो दार्शनिक भाष्य होइन । यो एक व्यवहारिक सत्य हो । राजनीति बिग्रियो भने राजनीतिक दल जागरुक कार्यकर्ता र सचेत जन समूहबाट टाढा पुग्छ । र, भीडमा जान्छ । जनताको माया र भरोसामा होइन, भीडको राजनीतिमा विश्वास गर्न थाल्छ । । भीडलाई शक्ति ठान्ने र भीडको भावावेशलाई नै भविष्य मान्ने नेतृत्व मानौं विवेकून्य हुन पुग्छ । राजनीति भीड जम्मा गर्दागर्दै भाँडमा जान्छ ।


असिमित युवा ताकत मुगलान भासिएको छ । सिर्जना र निर्माणका बलिया खम्बाहरु निराशाको गर्तमा डुबेर मध्यरातबाट राहदानीको लाइनमा उभिएको उभियै छन् । लाखौं युवाहरुको लर्को उता खाडी पसिरहेछ । यता छट्टु र क्रूर नेतृत्व भने आफ्ना कलुषित अहङ्कार तुष्टिका लागि प्रयोजनविहीन लाखौंको भीड जम्मा गर्दछ । लाखौं श्रमिक दिन (म्यान–डे) लाई नदीको प्रवाहसँगै बगाएर बर्बाद गर्दछ ।


नारायणी नदी किनारमा नेपालको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशनको भव्य उद्घाटन भएको छ । ४५ लाख लागतमा एक हजार वटा फलामे पिलरयुक्त, ७२ जना कलाकारले एकैसाथ प्रस्तुति दिन र तीन सय जना बस्न सक्ने, ‘नेपालकै ठूलो’, ब्रायन एडम्सको कन्सर्टको मञ्चभन्दा पनि झकिझकाउ उद्घाटन मञ्च ५० जना श्रमिकले लगातार ५ दिन काम गरेर बनाएको भनिएको छ । त्यो भनेको २ सय ५० श्रमिक–दिन हो । २ सय ५० श्रमिक दिनले वालुवामाथि त्यत्रो संरचना निर्माण गर्न सकिदो रहेछ भने ५ लाख श्रमिक–दिनले कतिवटा स्कूल बनाउन सकिदो हो ? कतिवटा स्वास्थ्य चौकी बनाउन सकिदो हो ? कति किलोमिटर सडक बनाउन सकिदो हो ? कतिवटा उद्योग बनाउन सकिंदो हो ?


अनि मञ्चमा खर्च भएको ४५ लाख रुपैंयाँमा नदेखिएर खर्च भएको करोडौं जोड्दा शहीद परिवारका कति नानीहरुको पढाईलाई भरथेग हुँदो हो ? हटाउन बाँकी कतिवटा तुइन हटाएर झोलुंगे पुल राख्न सकिदो हो ? भोकले छटपपटाइरहेको कर्णालीको सुदूर गाउँहरुमा कति बोरा खाद्यान्न पठाउन सकिदों हो ? झाडापखालाले ग्रस्त गाउँहरुमा कति वटा खानेपानीको धारा जोड्न सकिदों हो ? कति पत्ता सिटामोल र कति प्याकेट जीवनजल किन्न सकिदो हो ?
भीडको राजनीतिलाई यस्ता प्रश्नहरुसँग एलर्जी छ । यस्ता प्रश्न सुन्दैन । के गर्छ ? बेरोजगार, विवश र उदास युवाहरुलाई राजनीतिका नाममा व्यक्तिको होर्डिङ बोर्ड बोक्ने भरिया बनाउँछ । सर्वत्र निराशा बाहेक केही नदेखेको बिचरा थकित गलित युवा के गर्छ ? केही भइ पो हाल्ला कि ? केही पाइ पो हालिन्छ कि ? सत्ता र शक्तिको नजरमा परि पो हालिन्छ कि ? भनेर सकेको जोडले नेताको भाषणमा ताली ठोक्छ । नेताको जिन्दावाद गाउँछ । क्रान्तिको झण्डा खोसिएपछि हातमा थमाइएका ठूलाठूला माला नेताको घाटीमा लगाइदिन्छ ।


नेतृत्व यही हो जो ‘युवा भनेका देशका खम्बा हुन्’ भनेर कहिल्यै थाक्दैन तर युवाहरुलाई कहिल्यै अघि बढ्ने बाटो दिंदैन । नेतृत्व यही हो जो युवाशक्तिको महिमा वाचन गरेर कहिल्यै थाक्दैन तर त्यो शक्तिलाई राष्ट्रनिर्माणमा लगाउने कुनै नीति र योजना ल्याउँदैन । समृद्धिको खोक्रो सपना देखाउँछ तर तिनलाई रोजगारी दिन सक्दैन । बरु बेरोजगारी र गरीबीेले आहात भएर प्रियजनका लागि माना, छाना र नानाको जोहो गर्न रुँदैरुँदै विदेशिन बाध्य लाखौं युवाहरुको बहिर्गमन भावशशून्य भएर हेरिरहन्छ ।


दैनिक सरदर तीनवटा कफिन झर्छ काठमाण्डौमा । र, ती कफिनहरुभित्र खाडी वा मलेशियाबाट पठाइएका नेपाली युवाको पार्थिव शरीर हुन्छ । या तिनको अस्तु खरानी हुन्छ । जाँदा आफू रुँदैरुँदै गएको अभागी फर्केर आउँदा प्रियजनहरुलाई रुवाउँदै रुवाउँदै आउँछ ।


कफिनमा बन्द भएर काठमाण्डौ आइरहेको पतिलाई लिन हिंडेकी क्लान्त युवतीका आँखाबाट अविरल रुपमा नारायणी बगिरहेको छ । आफ्नै आँखाको नारायणी छिचोलेर पर बगिरहेको नारायणी हेर्दाहेर्दै उसलाई लागिरहेको छ–नारायणीमा बगिरहेको त्यो पानी होइन । त्यो उसको चुरा, पोते र सिन्दुर हो । त्यो उसको सपना हो । त्यो उसका नानीहरुको भाग्य र भविष्य हो ।


उसको पति केही घण्टामा काठमाण्डौ आइपुग्नेछ । कफिनमा बन्द भएरै सही, वर्षौपछि उसको पति आएको छ । उसका नानीहरुको बाबा आएको छ ।


ऊ आफ्नो पतिलाई छिटोभन्दा छिटो भेट्न चाहन्छे । अंगालो हालेर रुन चाहन्छे । मौनतामै सही आफ्नो दुःख र माया देखाउन चाहन्छे । छातीभित्र तृष्णाको असिमित आयतन देखाउन चाहन्छे ।


तर जाम छ लामो छ । घण्टौंदेखि बस रोकिएको रोकियै छ । युवतीलाई आफ्नो सास पनि रोकिएजस्तो भइरहेको छ ।
नजिकै देशको सबैभन्दा ठूलो राजनीतिक पार्टीको महाधिवेशन चलिरहेछ ।

अपडेट : 2021-11-27 13:33:33




your-image

Leave a Comment