मंसिर १६ २०७८   |  2021 Dec 02    


पर्यापर्यटन: अपेक्षा र समस्या


news

भूकम्पपछि थालिएको नेपालको पर्यटन क्षेत्रले सफलता समातिरहेको बेलामा सन् २०१९ को अन्त्यदेखि विश्वब्यापी रुपमा फैलिएको कोरोना कहरले नेपालको पर्यटन क्षेत्रलाई ठप्प बनायो । नेपाल भ्रमण वर्षको तयारि भैरहेको र प्रदेशहरुले पनि पर्यटनलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु बनाइरहेको समयमा कोरोनाले पर्यटन सम्बन्धि सबै योजना र कार्यक्रमहरुलाई कोमामा पु¥यायो । वार्षिक १२ लाखको हाराहारीमा विदेशी पर्यटकहरु नेपाल आउने गरेकोमा दुई वर्षयता विदेशी पर्यटकहरुको आवागमन लगभग ठप्प छ ।

कोरोनाको दोश्रो लहरको सुस्तता पछि अन्य आर्थिक क्षेत्रहरु चलायमान भए पनि पर्यटन क्षेत्र अहिले पनि बन्दप्राय नै छ । हुलका हुल पर्यटक आउने परम्परागत पर्यटकीय केन्द्रहरुमा पर्यटकहरु आएका छैनन् । तर यो विषम परिस्थितिमा पनि देशका कुनाकाप्चा, वनजंगल, खोला नदि, तालतलैया र डाँडापाखामा पुग्ने आन्तरिक पर्यटकहरु संख्या उल्लेख्य देखिन थालेको छ । यस्ता भ्रमणले नयाँनयाँ पर्यटकीय क्षेत्रहरु उजागर भैरहेका छन् । कोरोना कहरले थला पारेको पर्यटन उद्योग र वर्तमानमा देखिएको पर्यटनको नयाँ आयामले नेपालमा पर्यावरणीय तथा सामाजिक जीवनमा आधारित पर्यटन नै दिगो पर्यटनको आधार हुने देखिएको छ ।

मानिसलाई प्रकृति र त्यससंग गाँसिएको सामाजिक जीवनको अवलोकन र अध्ययनले बढी खुशी र उर्जा दिन्छ । आधुनिक समाजको भागदौडयुक्त जीवनबाट केहि समय आफुलाई मुक्त राख्नको लागि प्रकृतिको नजिक समय विताउने चाहना मानिसहरुमा बढिरहेको छ । र, मानिसहरुलाई पर्यापर्यटनतर्फ आकर्षित गरिरहेको छ । प्रकृतिलाई माया गर्ने, मित्रता गाँस्ने, वातावरणीय सचेतना वृद्धि गर्ने तथा पर्यावरण अनुसन्धान गर्ने कार्यसंग जोडिएर गरिने पर्या पर्यटनले जैविक तथा सांस्कृतिक विविधताको संरक्षण, दिगो उपयोग तथा सामाजिक–आर्थिक लाभको समन्यायिक वितरणमा जोड दिने भएकोले वर्तमान समयमा यसलाई पर्यटनको अभिन्न अंग मान्ने गरिन्छ ।

नेपालमा पछिल्ला २ दशकमा प्रकृतिमा आधारित पर्यटनमा स्वदेशी र विदेशी पर्यटकहरु आकर्षित भैरहेका छन् । प्राकृतिक विविधताको अनुपम संगम बनेको नेपालका सबै भूगोल र क्षेत्रमा पर्यटकलाई खुशी बनाउन सक्ने प्राकृतिक श्रोत र त्यसमा आधारित सांस्कृतिक जीवन भएकोले पर्यापर्यटनलाई नेपालको पर्यटनका नीति तथा कार्यक्रमहरुमा समावेश गर्न थालिएको छ । पर्यटन नीति २०६५ को नीति ८ झ संग सम्बन्धित रहेर वातावरण संरक्षण र दिगो उपयोग सम्बन्धि कार्यनीति तय गरिएको छ । यो नै नेपालको पर्यापर्यटनको नीतिगत आधार हो । पर्यटन नीतिले साँस्कृतिक र प्राकृतिक सम्पदाको दिगो उपयोग गरिने, पर्यटकीय पूर्वाधार निर्माण एव क्रियाकलाप संचालनमा वातावरण संरक्षण पक्षलाई प्राथमिकता दिइने, पर्यटकीय कार्यमा प्रदूषण सीमा निर्धारण गरी त्यसको अधिनमा सञ्चालन र नियमन गरिने कार्यनीति निर्धारण गरेको छ ।

यसैगरी संरक्षित र आरक्षित क्षेत्रहरु एवं राष्ट्रिय निकुञ्जहरुमा पर्यटकहरुलाई आकर्षित गर्ने र तिनीहरुको व्यवस्थापन, संरक्षण, सञ्चालन र नियमनमा स्थानीय जनसहभागिताको बृद्धि गर्नेे, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु तर्फ आकर्षित उच्च आय वर्गका पर्यटकलाई ग्रामीण पर्यटनतर्फ समेत आकर्षित गरिने उपायको अवलम्बन गर्ने, देशमा विद्यमान जैविक विविधता एवं वन्यजन्तु अवलोकनलाई पर्यटकीय उपजको रूपमा विकास, विस्तार र प्रबद्र्धन गर्ने तथा वातावरण मैत्री पर्यटन व्यवसााय सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहित÷पुरस्कृत गर्ने जस्ता कार्यनीतिहरु तयार गरि पर्या पर्यटनलाई प्रोत्साहित गर्न खोजिएको छ । नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना, २०१६–२०२५ले प्रदुषण रहित पर्यटनको विकास गरि पर्यटनको वातावरणीय प्रभाव न्यूनीकरण गर्न उपयुक्त रणनीति तय, योजना तर्जूमा तथा कार्यान्वयन गरेर पर्यावरण अनुकूल पर्यटन र यस सम्बन्धी असल अभ्यासहरूलाई प्रवद्र्धन गर्ने रणनीतिक लक्ष्य निर्धारण गरेको छ । चालु पन्ध्रौ योजनामा पर्यापर्यटन सम्बन्धि छुट्टै रणनीतिहरु नभएपनि पर्या पर्यटनको विकासको लागि निजि क्षेत्रसंग सहकार्य गर्ने, पर्यटन क्षेत्रलाई वातावरण मैत्री, उर्जा किफायती एवं जलवायु उत्थानाशील बनाउन नीतिगत व्यवस्था गर्ने, पर्यटन क्षेत्रलाई प्रदुषणमुक्त राख्ने कुराहरु उल्लेख गरिएको छ । मध्यवर्ती क्षेत्र र सामुदायिक वन समुहहरु मार्फत स्थानीय समुदायले पर्या पर्यटनतर पाइला बढाएपछी वन ऐन २०७६ मा वातावरणिय सेवा अन्तर्गत पर्यापर्यटनलाई समावेश गरिएको छ ।

नेपालमा पर्यापर्यटनलाई पर्यटनको मुख्य क्षेत्र बनाउने उत्साह देखिएको भएपनि अहिलेसम्म यसका भरपर्दा आधारहरु तयार हुन सकेका छैनन् । प्राकृतिक र साँस्कृतिक अवस्थामै पर्यटकहरुलाई भूलाएर पर्यटकीय गतिविधि संचालन गर्नु यसको प्रमुख कार्य हो । तर पर्यापर्यटन विकास भन्दै प्राकृतिक श्रोतहरु स्वरूप परिवर्तन गर्ने, कंक्रिटका भ्यु टावर, पक्कि सडक र पैदल मार्ग निर्माण गर्ने, वनमा टहरा र होटेल निर्माण गर्ने, साँघुरो ठाउमा जनावरहरुलाई थुनेर मिनी जु बनाउने जस्ता कार्यहरु स्थानीय समुह र सरकारले गरिरहेका छन् । यस्ता कार्यले सुविधा थप्ने भन्दा पनि प्रकृति प्रेमी पर्यटकलाई विकर्षित गर्ने सम्भावना देखिन्छ । अहिले वनपाखा, खोला नदि, पहाड र हिमालमा डुल्ने आन्तरिक पर्यटकहरुको संख्या वृद्धि संगै प्रदुषण पनि बढिरहेको छ । यस्ता कार्यले कालान्तरमा समग्र पर्यटनमा नै नकारात्मक असर पुग्नेछ । पर्यापर्यटनले स्थानीय उत्पादन र पद्दतिको प्रयोग गरि पर्यटन व्यवसाय संचालन गर्ने कुरालाई जोड दिएको हुन्छ । तर नेपालका पर्या पर्यटकीय सम्भाव्य स्थानहरुमा आधुनिक पद्दतिले संरचना निर्माण गर्ने, बाहिरि बस्तुहरु उपयोग गरि पर्यटकलाई सेवा प्रयोग गर्ने, स्थानीय उत्पादनको प्रयोग नगर्ने कार्यहरु भैरहेका छन् । प्रकृतिमैत्री होमस्टे हुनुपर्नेमा शहरी होटेलकै झल्को दिने आवास गृह बनाउने, जीवजन्तुको आहार विहारमा असर पुग्ने गरि हुल बाँधेर घुम्न जाने प्रवृत्ति बढ्दो छ । पर्या पर्यटनको नाम भजाएर रिसोर्ट, कटेज संचालन गर्ने होहल्ला गर्ने कामहरु हुँदा समुदायमा अशान्ति समेत भैरहेको छ । पर्यटकीय सम्भावनाका क्षेत्रहरुमा बाहिरि मान्छेहरुको बढी हस्तक्षेप हुँदा स्थानीय संस्कृति र सामाजिक व्यवहार मासिँदै गएको छ । स्थानीय समुदायले भन्दा पनि बाहिरि व्यवसायीले पर्यटनबाट लाभ लिइरहेका छन् । पर्या पर्यटनका गतिविधिहरुमा स्थानीय सहभागिता कम हुँदा प्राकृतिक श्रोतको संरक्षण र दिगो पर्यटनका सम्भावनाहरु कमजोर हँुदै गएका छन् । यस्ता गतिविधिहरुले पर्यापर्यटनलाई विकास गर्ने र लाभ लिने कुरै छोडौँ, हाल प्राप्त पर्यटकीय लाभ समेत गुम्ने खतरा बढेको छ ।

सामान्यतया खोला नदि, ताला तलैया, वनजंगल, जीवजन्तु र भू दृश्यको रसास्वादनका लागि गरिने भ्रमण नै पर्यापर्यटन हो भन्ने बुझाइ रहेको छ । यस्ता प्राकृतिक श्रोतहरु हुने वित्तिकै मानिसहरुले पर्यापर्यटनको अपार सम्भावना छ भनेर गफ गर्न थालिहाल्छन् । प्रकृति हेर्नु मात्र पर्यापर्यटन हैन । प्रकृतिमा आधारित वस्तु तथा सेवाहरु प्रदान गरेर अतिथिहरुलाई सन्तुष्ट पार्नु, संरक्षणलाई टेवा पु¥याउनु, पर्यटनबाट स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासमा सहयोग पु¥याउनु पर्यापर्यटन भित्रका अपरिहार्य कार्य हुन् । नेपालमा अहिले पर्यापर्यटनको नाममा भैरहेका गतिविधिहरु र भैरहेका तयारीहरुले प्राकृतिक र सांस्कृतिक सम्पदालाई सुरक्षित राखेर दिगो लाभ लिन नसकिने संकेतहरु देखिएका छन् । यी संकेतहरुको अध्ययन गरि समस्याहरुको समाधान सहितका पर्यटन गतिविधिहरु नगरेमा पर्यटनबाट समृद्धि हासिल गर्ने सपना कहिल्यै पुरा हुने छैन ।

अपडेट : 2021-11-25 12:26:46




your-image

Leave a Comment