मंसिर १६ २०७८   |  2021 Dec 02    


मधुमेह के हो र कसलाई हुन्छ ?


news

मधुमेह एक अवस्था हो जहाँ शरीरले ग्लुकोज सही रूपमा प्रयोग तथा नियन्त्रण गर्न असफल हुन्छ । यो दुई मुख्य कारणले हुन सक्छ– इन्सुलिन हर्मोनको कमीको कारण अथवा उपलब्ध इन्सुलिनले प्रभावकारी रूपमा काम नगर्नाले हुनसक्छ । विकासशील तथा विकसित देशहरूमा मधुमेहको बोझ चुनौतीपूर्ण छ । २०१९ मा, अनुमानित ४६ करोड वयस्कहरू विश्वव्यापी रूपमा मधुमेहसंग बाँचीरहेका छन् र २०४५ सम्म यो संख्या७० करोडसम्म पुग्ने अनुमान गरिएको छ ।

धेरै मधुमेहका केसहरू पहिलो चरणमा पत्ता लाग्न सकेको हुँदैन, जसले मधुमेहका विभिन्न जटिलताहरू जस्तै न्यूरोप्याथी, नेफ्रोप्याथी, रेटिनोप्याथी, हृदयरोग, र स्ट्रोक निम्त्याउँछ । मधुमेह भएका दुई तिहाइ मानिसहरू न्यून र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने विश्वास गरिन्छ । तर सीमित तथ्याङ्कका कारण मधुमेहको बोझ र मृत्युको वास्तविक अनुमान अझै अज्ञात छ ।


मधुमेहको प्रारम्भिक पहिचान र उचित व्यवस्थापनले मधुमेह सम्बन्धित जटिलताहरूको जोखिममा उल्लेखनीय कमी सहित रोगको प्रगतिलाई ढिलो गर्न सक्छ । अन्य विकासोन्मुख देशहरू जस्तै नेपालमा पनि लक्षणहरू स्पष्ट हुँदा मात्रै व्यक्तिहरू स्वास्थ्य प्रदायककहाँ उपस्थित हुन्छन् । फलस्वरूप, रोगको वास्तविक बोझ अत्यधिक कम रिपोर्ट हुन्छन् ।


मधुमेय टाइप १ र २ हुन्छ । मधुमेहको जोखिम आनुवंशिक र मेटाबोलिक कारकहरूको अन्तरक्रियाद्वारा निर्धारण गरिन्छ । जातियता, गर्भावस्थाको मधुमेहको अघिल्लो इतिहास, मधुमेहको पारिवारिक इतिहास, वृद्धावस्था, अधिक तौल, मोटोपन, अस्वस्थ आहार, शारीरिक निष्क्रियता र धुम्रपानले टाइप २ मधुमेह हुने जोखिम बढाउँछ । शरीरको अत्यधिक मोटोपन, अस्वस्थ आहार र आलश्य जीवनशैली टाइप २ मधुमेहको विकासको लागि सबभन्दा बलियो जोखिम कारकहरू हुन् ।

मधुमेहमा के हुन्छ ?

मधुमेहमा इन्सुलिनको कमी वा उपलब्ध इन्सुलिनले प्रभावकारी रूपमा काम नगर्नाले रगतमा ग्लुकोजको मात्रा बढी हुन्छ । रगतमा ग्लुकोजको मात्रा बढी हुँदा रक्त नलीलाई हानी पुराउन सक्छ । यसले हृदय रोग, मृगौला क्षति, स्नायु क्षति, आँखा क्षति र अन्धोपन साथै स्ट्रोक जस्ता धेरै जटिलताहरू निम्त्याउँछ । मधुमेह, नियन्त्रणमा नआएमा संक्रमणको सम्भावना बढाउन सक्छ । अनियन्त्रित मधुमेहमा तल्लो खुट्टामा संक्रमण र ग्याङ्ग्रीन हुन सक्छ, यो गम्भीर भयो भने अंग विच्छेदन पनि आवश्यक हुन सक्छ ।


मधुमेह धेरै दीर्घकालीन प्रणालीगत जटिलताहरूको कारण हो, जसले बिरामीलाई मात्र होइन परिवार र समाजमा पनि महत्वपूर्ण प्रभाव पार्छ । मधुमेह र यसका जटिलताहरूले मधुमेह भएका व्यक्तिहरू, तिनीहरूका परिवारहरू, स्वास्थ्य प्रणाली र राष्ट्रिय अर्थतन्त्रलाई प्रत्यक्ष नोक्सान पुराउँछ ।


मधुमेहको रोकथाम, उपचार र हेरचाहः
चिकित्सकको सल्लाहलाई पालना गरेर, मधुमेहलाई नियन्त्रणमा राखेर मधुमेहको जटिलताको जोखिमलाई कम गर्न सकिन्छ । कुनैपनि समस्या छिट्टै पत्ता लगाउन र उपचार गर्न रगतमा ग्लुकोजको नियमित अनुगमन गरिरहनु पर्छ । उपचारमा स्वस्थ आहार र व्यायामका साथै रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न आवश्यक भएमा औषधि र इन्सुलिन दुवै समावेश हुन सक्छ । रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न र मधुमेहका जटिलताहरू रोक्नका लागि गरिने अभ्यासहरुलाई अझै परिमार्जन गर्दै लैजानु आवस्यक छ ।

मधुमेह सम्बन्धी स्वास्थ्य शिक्षाको माध्यमबाट बिरामीहरूलाई उनीहरूको स्वास्थ्य र रोगहरूका बारे सचेत गराउँदै अन्ततः मधुमेहप्रति उनीहरूको दृष्टिकोण परिवर्तन गर्न सकिन्छ, जसले गर्दा मधुमेहका बिरामीहरूले राम्रो जीवन शैली अपनाउने र परिणामस्वरूप यसको जटिलताहरुबाट उत्पन्न हुन सक्ने समस्याहरूको बोझ घटाउन सकिन्छ ।


अतः मधुमेह नियन्त्रणका लागि बृहत बहुक्षेत्रीय कार्ययोजना बनाउनु पर्छ जसमा स्थानीय तह देखि सरकारी नीतिहरू सम्मिलित हुनुपर्छ । प्रबल इच्छाशक्ति भएमा व्यक्तिगत स्तरबाट पनि मधुमेह नियन्त्रण गर्न सकिन्छ । सरकार संगसंगै विभिन्न स्वास्थ्यसंग सम्बन्धित क्षेत्रका संस्था तथा व्यक्तिहरुलाई समेटेर मधुमेह नियन्त्रणका लागि बृहत योजना बनाउनु उत्तिकै आवस्यक देखिन्छ । त्यसो गर्न सकेमा मधुमेह र यससंग सम्बन्धित समस्याहरुलाई केहि हदसम्म भए पनि समाधानको दिशा दिन सकिन्छ ।

अपडेट : 2021-11-14 12:24:55




your-image

Leave a Comment