मंसिर १६ २०७८   |  2021 Dec 02    


विपद जोखिममा कृषि


news

मनसुन सकिएर आकाश सफा भएपछि बाली भित्राउन र नयाँ बाली लगाउन उत्साहित नेपाली किसानहरु असोज मसान्तदेखि देशभर शुरु भएको बेमौसमी वर्षाले मर्माहित भए । असोज मसान्तदेखिका १० दिनमा मात्र नेपालका ३२ जिल्लामा बाढी र पहिरोका १०२ वटा घटना भए । उक्त घटनामा परेर ११९ जनाले ज्यान गुमाएका छन् भने २८ जना बेपत्ता छन् । नेपालमा प्राकृतिक विपत्तिको क्षति मृतक, घाइते र वेपत्ताको संख्या, भत्किएका घर र बिग्रिएका संरचनाको संख्याको आधारमा मुल्यांकन गर्ने गरिएकोले ती बाहेक अन्य क्षेत्रमा हुने गरेको क्षतिको खासै मतलब गर्ने चलन छैन । तर यसपाली प्राकृतिक विपत्तिले कृषि क्षेत्रमा भएको नोक्सानी कसैबाट लुक्न सकेन, काट्न ठिक्क परेको, काटेर खेतमा छोडिएका र पाक्दै गरेका धानबाली डुबानमा परेको, नदीको पानीसंगै बगेको दृश्यहरुसंगे मर्माहत र मुर्छित किसानहरुका कारुणिक तस्विरहरु सामाजिक संजाल र मिडियाहरुबाट हप्ताभर नै आईरहे । सरकारले कृषि क्षेत्रमा प्राकृतिक विपत्तिबाट भएको क्षति मुल्यांकन गर्नको लागि समिति गठन गरेको छ । समितिले जे जस्तो प्रतिवेदन दिएपनि अहिलेको विपत्तिका तस्विरहरुले नेपाली किसानले प्राकृतिक प्रकोपबाट कतिसम्म क्षति ब्यहोर्नु परिरहेको छ भन्ने सजिव वर्णन गरेको छ र भविस्यमा नेपालको कृषि क्षेत्रले विपदबाट भोग्नुपर्ने समस्याको बारेमा संकेत समेत गरेको छ ।


नेपालको करिब ८३ प्रतिशत भूभाग हिमाल तथा पहाड र १७ प्रतिशत भूभाग तराई प्रदेशमा पर्छ । नेपालको पुरै भूभाग १० सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ । भौगर्भिक रुपमा गतिशील पर्वत शृंखला, अस्थिर तथा अति भिरालो जमिन र कमजोर भौगोलिक वनावट अनि ६००० भन्दा बढी नदीनाला भएकोले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । नेपाल विश्वमा भूकम्पबाट ११ औँ र बाढी पहिरोबाट ३० औं अति जोखिम देशको रुपमा रहेको छ । यी विविध कारणहरुले गर्दा नेपालमा हरेक वर्ष ५०० भन्दा बढी विविध किसिमका विपदका घटनाहरु हुने गर्छन् । भौगोलिक÷ भौगर्भिक कारण बाहेक हिमपात, हिमपहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, हुरी बतास, शितलहर, लूजस्ता जलवायु परिवर्तनजन्य विपदको कारणले पनि नेपालले वर्षेनी ठुलो क्षति भोग्नु परिरहेको छ । यस्ता सबै मौसमजन्य र जलवायु परिवर्तनजन्य विपदहरुबाट कृषि क्षेत्रमा सबैभन्दा बढी नोक्सानी भएको देखिन्छ ।

कृषि क्षेत्रमा बाढी र पहिरोबाट बढी नोक्सानी हुने गरेको छ । असार– श्रावण महिना नेपालीको मुख्य खेतीपाती लगाउने समय हो । यहि समयमा नेपालमा मनसुनको उच्च प्रभाव रहने भएकोले बाढी पहिरोका घटनाहरु धेरै हुने गरेको पाइन्छ । वर्षेनी दोहोरिने पहिरोले पहाडका खेत÷ बारीहरु मासिने क्रम बढेको छ । पहाडी क्षेत्रमा भैरहेका अव्यवस्थित पूर्वाधार निर्माण कार्यले गर्दा पहिरोको संख्या र क्षेत्रफल बढ्दै गएका छन् । नदि कटानले गर्दा खेतबारीहरु बगरमा परिणत हुने, बाढी र डुवानले गर्दा लगाएको बाली नष्ट हुने घटना वर्षेनी बढिरहेका छन् । समय समयमा आउने सानाठूला भूकम्पले गर्दा पहाडी क्षेत्रका खेतबारीहरु चिराचिरा परेर खेतीपातीको लागि जोखिमपूर्ण बन्दै गएका छन् । यस्ता विपदले खेतीपाती गर्ने जग्गाको क्षेत्रफल र उत्पादकत्व मात्र घटेको छैन, किसानहरुको ठूलो मेहनत र लगानीसमेत खेर गैरहेको छ अनि नेपाली किसानहरुलाई झन्झन् गरिब र कृषि पेशाबाट नै विस्थापित गराउँदैछ ।


पछिल्ला वर्षहरुमा नेपालमा जलवायु परिवर्तनका असरहरु बढ्दै गएका छन् । खासगरी बेमौसमी वर्षा, अतिवृष्टि र खडेरीका दिनहरु बढ्दै गएका छन् । बाली पाक्ने र भित्राउने बेलामा एक्कासि झरी र असिना पानीले वर्षेनी लाखौँ मेट्रिक टन बालीनाली खेतमा नै नष्ट हुने गरेको छ । हिमाली क्षेत्रमा हुने अस्वाभाविक हिमपात, तराइमा चल्ने शीत लहरलेसमेत नेपाली किसानहरुलाई बारम्बार पिडित बनाइरहेको छ । नेपालको कूल २६ लाख ४१ हजार खेतीयोग्य जमिनमध्ये हालसम्म १५ लाख ३ हजार ३६७ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ । ४३ प्रतिशत भन्दा बढी खेतीबारी सिचाइको लागि आकाशे पानीमा नै निर्भर छन् भने खोला÷नदीमा आधारित सिँचाइ प्रणाली पनि आकाशे पानीमा नै निर्भर रहेको छ । वर्षाचक्रमा सानो परिवर्तन आउनासाथ सिँचाइमा ठूलो समस्या आउने गरेको छ । विश्वब्यापी उष्णिकरणको कारणले खडेरीका दिनहरु बढ्दै गएका छन् । जमिनमा सुख्खापन बढ्न थालेका विवरणहरु सार्वजनिक भैरहेका छन् । खडेरीले गर्दा समयमा धान रोप्न नपाएको, खडेरीले धानखेतमा धाँजा परेको, बालीहरु खेतमा डढेका दुखद् दृष्यहरु वर्षेनी देखिँदैछन् । बाढी र पहिरोको पूर्वानुमान गरि रोकथामका प्रयासहरु गर्न सकिने भनेपनि अतिवृष्टि र खडेरीको सहज पूर्वानुमान गर्न नसकिने भएकोले यस्ता विपदबाट किसानले बढी मौसमी क्षति बेहोर्नुपरेको छ । खडेरीले सिचाइका परम्परागत प्रणाली बेकामे हँुदै गएको र बालीनाली लगाउन मुस्किल भएकोले खेतीयोग्य जमिनहरु बाँझो हुने क्रम बढिरहेको छ ।


जलवायु परिवर्तनको प्रत्यक्ष असर जैविक प्रणालीमा समेत देखिएका छन् । तापक्रम बढ्दै जाँदा खेतबारीमा रोग र किराहरुको प्रकोप बढ्दै गएको किसानहरुले महशुस गर्न थालिसकेका छन् । बालीनालीमा पहिले कहिल्यै नदेखिएका किरा फट्यांग्राले दुख दिन थालेका छन् । मिचाहा प्रजातिका वनस्पतिहरु सबै भूगोलमा तिब्र गतिमा फैलिँदै गएका छन् । रोग, किरा र झारपात नियन्त्रण गर्ने परम्परागत प्रविधिहरु बेकामे हुँदा किसानहरुलाई बालीनाली जोगाउने मुस्किल परेकोमात्र छैन बालीनालीमा आणुबांशिक परिवर्तनसमेत देखिन थालेका छन् । झारपात र किराहरुको प्रकोप बढ्दै गएकोले चरिचरनमासमेत समस्या देखिन थालेको छ । जलवायु परिवर्तनले हिमाली खर्कहरु बढी प्रभावित भएका छन् । हिमपात र हिम गलनको परिमाण र समयमा परिवर्तन आउँदा हिमाली क्षेत्रका पशुपालकले समस्या र क्षति भोग्नु परिरहेको छ ।


नेपालका दुई तिहाई घर परिवार कृषि र पशुपालनमा संलग्न छन् भने कृषि र वनले कुल ग्राहस्थ उत्पादनमा एक तिहाई स्थान ओगटेको छ । कृषि क्षेत्र खाद्यवस्तु उत्पादनमामात्र सिमित छैन, संस्कृति र पर्यटन, जैविक विविधता संरक्षण र पारिस्थितिक प्रणालीको संचालनसंग पनि यसको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । अहिले नै कृषिजन्य उत्पादनको लागि ठूलो धनराशी विदेशिएको छ । नेपालको कृषि क्षेत्रमा मौसमजन्य विपद र जलवायु परिवर्तनसिर्जित विपदहरु बढ्दै जाँदा कृषि र पशुपालन जटिल र उत्पादन कम हुँदै जानेछ । यसले कृषिजन्य उत्पादनमा परनिर्भरता बढाउने छ । कृषिमा विपदका असरहरु बढ्दै गएमा वन तथा भू–संरक्षण, जलाधार र जलश्रोत संरक्षण, पर्यटन र साँस्कृतिक व्यवहारको निरन्तरतामा गम्भीर असर पर्ने निश्चित छ ।


जलवायु परिवर्तनमा नेपालीको भूमिका न्यून भएपनि असरको मात्रा बढी छ । विश्वब्यापी उष्णता बढ्दै जाँदा नेपालमा जलवायु परिवर्तनसिर्जित विपदहरु अझ बढ्ने निश्चित छ । यस्ता विपदबाट कृषि क्षेत्रमा पर्ने नोक्सानी कम गर्नकालागि कृषि क्षेत्रमा अनुकूलनका कार्यक्रमहरु संचालन गर्नुपर्छ । प्राकृतिक विपद सहन सक्ने बालीनालीको विकास, प्रवद्र्धन र उपयोगमा जोड दिनुपर्छ । बालीनाली संरक्षण र पशुपालनका रैथाने सिपको प्रवद्र्धन गर्ने, सामुहिक खेतीपाती र पशुपालन गर्ने, व्यवसायिक कृषि प्रवद्र्धन गर्ने, खडेरीबाट जुध्नकालागि पानीका श्रोतहरुको संरक्षण गर्नेजस्ता कार्यले जोखिमलाई कम गर्न सकिन्छ । कतिपय स्थानमा विपद जोखिमयुक्त स्थानमा खेतीपाती र चरिचरनले बाढी र भूक्षय भैरहेको छ । यस्ता स्थानमा नियमित खनजोत गरेर खेतीपाती गर्नुको साटो व्यवसायिक फलफूल खेती, डालेघाँस विकास र कृषि वन विकास गरेर विपद कम गर्दै कृषि क्षेत्रबाट लाभ लिने योजना सरकारले किसानलाई दिनुपर्छ । सामान्य अवस्थामा समेत सचेतना र सुचनाको कमीले नेपाली कृषकहरुले प्राकृतिक प्रकोपबाट धेरै क्षती भोग्नु परिरहेको छ । मौसम सम्बन्धि सुचनाहरु ठिक समयमा सबैको माझमा पु¥याउने पालिकास्तरीय संयन्त्र बनाएर सबै किसानलाई विपद विरुद्धको पुर्व तयारि गर्नसक्ने बनाउनुपर्छ । विपदलाई रोक्न नसकिने भएकोले सम्भाव्य सबै पूर्वतयारी र अनुकूलन व्यवहार गर्दागर्दै पनि कृषि क्षेत्रलाई पूर्ण रुपमा विपद जोखिम मुक्त राख्न सकिँदैन । यस्तो अवस्थामा कृषकलाई नोक्सानी हुनबाट जोगाउन र कृषि क्षेत्रमा टिकाइराख्न राज्यले राहतको सुनिश्चितता र बिमाको व्यवस्था गर्नुपर्छ । कृषि क्षेत्रलाई विपदबाट जोगाउन सकिएन भने हाम्रो जीवन र जीविका पनि जोगिन सक्नेछैन । यी कुरा सबै सरोकारवालाहरुले बेलैमा बुझ्नु पर्छ ।

अपडेट : 2021-11-10 20:30:45




your-image

Leave a Comment