मंसिर १६ २०७८   |  2021 Dec 02    


५ कक्षा पढेर गाउँमै स्कुल


news

१७ बर्षको उमेरमा कक्षा ३ मा भर्ना भएका उनी दैनिक रुपमा घरबाट घण्टौं हिडेर विद्यालय जानुपरेपछि पढेर गाउँमै विद्यालय खोल्ने अठोट गरे । कक्षा ५ पढेपछि २० बर्षको उमेर पुग्दा उनले २०२८ सालमा गाउँमा भूमिसरा प्राथमिक विद्यालय खोले । अहिले ७० बर्षको उमेरमा उनी तिनाउ गाउँपालिका वडा नं. ५ को वडाअध्यक्ष भइ जनताको काममा भिडिरहेका भेटिन्छन् ।

000
दलबहादुर दर्लामी पाल्पामा अपरिचित नाम होइन । मुख्य गरेर सामाजिक सेवा, शिक्षा क्षेत्र र जनप्रतिनिधीको क्षेत्रमा उनको नाम परिचित छ । गाउँकै परिवर्तनमा रातदिन खटिने गरेका कारण पनि उनलाई मन नपराउने कमै छन् । विद्यालयमा पढाउँदा होस या अवकाशपछि होस् उनी समाजसँगै जोडिएका छन् ।


अहिले भने दलबहादुर दर्लामी पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष हुन् । जनताकै काम गर्न सकिन्छ भन्ने लागेर वडाको अध्यक्षको जिम्मेवारी लिएको दर्लामी बताउँछन् । ७० बर्षको उमेरमा पनि उनी जनताको काममा भिडिरहेका भेटिन्छन् । शिक्षा, स्वास्थ्य, पानी, विजुली, बाटो जस्ता काममा हिड्दा हिड्दै उमेर बितेको पत्तो नै नभएको उनी बताउँछन् । अब भने जनताको आम्दानी बढाउने काममा पनि खट्नुपर्ने बेला आएको उनको बुझाई छ । अस्ती भर्खरसम्म पढ्न गएजस्तो लाग्छ उनले भने, ७० बर्षको उमेर भैसकेछ ।


दलबहादुर दर्लामीको गाउँ बुटवल तानसेन सडक खण्डको तिनाउ गाउँपालिका चर्चरे माथि रहेको मरामकोट हो । जहाँ बाक्लो मगर बस्ती छ । ३६ बर्ष ९ महिना १५ दिन शिक्षकको रुपमा काम गरेका दर्लामीसँग जीवन संघर्षका रोचक कथा छन् । सर्घर्षका व्यथा छन् । सफल हुँदा मुस्कुराउने खुुसी छन् । घरमै क क न न सिकेका दलबहादुर १७ बर्षको उमेरमा मदनपोखराको भगवती प्राविमा कक्षा ३ मा भर्ना भएको बताउँछन् । दैनिक रुपमा घरबाट घण्टौं हिडेर विद्यालय जानुपरेपछि उनले मनमा पढेपछि गाउँमै विद्यालय खोल्ने अठोट गरे । फलस्वरुप कक्षा ५ पढेपछि २०२८ सालमा उनले गाउँमै भूमिसरा नाम गरेको विद्यालय खोले । दर्लामी भन्छन्, टाढाको विद्यालय घण्टौं हिड्नुपर्ने भएपछि मैले म जसरी पनि पढ्छु र गाउँमै विद्यालय खोल्छु भन्ने अठोट गरे । गाउँमा विद्यालय खोल्दा आफ्नो उमेर २० बर्ष पुगेको र आफुले कक्षा ५ सम्म पढेको उनले बताए । उनका अनुसार गाउँमा खोलेको विद्यालयको कक्षा भने ३ सम्म थियो । विद्यालय खोलेपछि केही समय पढाएपछि पुनः माथिल्लो कक्षा पढ्नका लागि मदनपोखराकै शारदा माविमा भर्ना भएको उनले बताए । उक्त विद्यालयमा कक्षा ८ सम्म पढे । त्यहाँसम्म आउन जान उनलाई दैनिक ५ घण्टा पैदल हिड्नुपथ्यो । कक्षा ८ पढेपछि भने एसएलसी परीक्षा प्राइभेट दिई २०३५ सालमा उत्तिण गरेको उनी बताउँछन् ।


हाम्रो क्षेत्रमा कहि कतै विद्यालय थिएन दर्लामीले भने, हिउँदे खोला, चर्चरे, पाताल, झाप्से लगायतका क्षेत्रबाट पढ्ने विद्यालय भनेको मैले खोलेको विद्यालय थियो । विद्यालय हेर्नका लागि २०३० सालमा सर्भे आयो । त्यसपछि विद्यालयले अस्थायी अनुमति पायो । २०३२ सालमा विद्यालयले स्थायी अनुमति पायो । सरकारबाट अुनमति पाएको समयमा आफुलाई ठूलै युद्ध जितेको महशुस भएको दर्लामी बताउँछन् । कक्षा ५ सम्म धेरै बर्ष चलेको उक्त भूमिसरा प्राविले २०५२ सालमा निमाविको कक्षा ६, २०५३ मा कक्षा ७ र २०५५ मा कक्षा ८ को अनुमति पाएको थियो । त्यतिबेला कक्षा ८ सम्म पढाई हुँदा विद्यालयमा २७६ जनासम्म विद्यार्थी पुगेको उनी सुनाउँछन् । अहिले भने विद्यालयमा विद्यार्थी घट्दै गएर ६०÷७० जनामा झरेको छ ।


केही बर्षपछि भने विद्यालयमा विद्यार्थी घट्दै गएको दलबहादुर दर्लामीले बताए । विद्यार्थी घट्नुको प्रमुख कारण भनेको बस्ती सर्नु र पानी नहुनु भएको उनी सुनाउँछन् । खानेपानीको समस्या हुँदा बस्तीहरु बेसी, सडक र बजारतिर सरेको उनी बताउँछन् । त्यसैगरी घण्टौ हिडेर विद्यालय पुग्दा र दिउँसो तिर्खाएको समयमा विद्यार्थीले पानी पिउन नपाएपछि विद्यार्थीले विद्यालय रोज्न छाडेको उनको भनाई छ । कसरी पानी नपुग्ने भयो त ? भन्ने जिज्ञासामा दर्लामी भन्छन्, विद्यार्थी कम हुँदा पानी पुग्थ्यो, धेरै भएपनि पुगेन ।


उनका अनुसार गाउँदेखि पर खोल्सामा दुईवटा पोखरी खनिएका थिए । उक्त पोखरीमध्ये एकवटा मानिसले खानको लागि थियो भने अर्को कपडा धुन र गाईवस्तुका लागि थियो । हिउँदको समयमा ति पोखरी पनि सुक्ने हुदा डेढ घण्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता थियो ।


मरामकोटमा पानीको दुःख छ पानी खान पाइन्न भन्ने बुझाई अहिले पनि वरपरको गाउँमा रहेको दर्लामी बताउँछन् । घण्टौं लगाएर पानी बोक्नु पर्ने गाउँको रुपमा परिचित भएको हुँदा गाउँमा बुहारी पाउन पनि कठिन थियो, विगत सम्झदै दलबहादुरले भने । मरामकोटमा छोरी चेली दिनुहुन्न पानीको दुःख छ भन्थे, हामी पनि मरामकोट र जन्तिलुङ घर हो नभनेर अन्तैको गाउँ बताउँथ्यौं उनले भने ।


बासको कप्टेरो र बलेनी पानी संकलन गरेर पनि पानीको गुजारा चलाएको अनुभव आफुसँग रहेको दलबहादुर सुनाउँछन् । उनका अनुसार उक्त गाउँमा २०५५/५६ तिर फिनिडाले घैटो बनाउने कार्यक्रम ल्याएर केही समय पानीको समस्या समाधान गर्ने प्रयास गरेको थियो । फिनिडाले फुसको छानो हुने घरलाई १ बण्डल जस्ता पाता र १ वटा २ घनमिटरको घैटो बनाउन सहयोग गरेको थियो । त्यसैगरी जस्ताको छाना हुनेलाई २ वटा घैटो बनाउन सहयोग गरेको थियो । उक्त पानी पनि दशै तिहारपछि सकिने गरेको उनले बताए ।


उनका अनुसार २०७१ सालपछि भने गाउँमा ठाडेखोलाबाट लिफ्टिङ गरी ११७ घरमा खानेपानी पुर्याइएको छ । गाउँमा विहानै उठेपछि सबैभन्दा पहिलो काम गाग्रो टिपेर पँधेरामा पुग्ने दैनिकी फेरिएको छ । खानेपानीलाई मट्टितेल झै सुरक्षित राख्ने गाउँलेले त्यो सास्तीबाट मुक्ति पाएका छन् ।


विद्युतमा समस्या आउँदा र पानी तान्ने मटरमा गडबडी आउँदा भने मरामकोट र जन्तीलुङका गाउँलेहरुमा पुरानो दैनिकी शुरु हुन्छ । गत बर्षको चैत र बैशाखगरी २ महिना चट्याङले विद्युत बिग्रीदा गाउँलेहरु पानी बोक्न हिउँदे खोलाको मुल र रतुवा खोलासम्म पुगेका थिए ।

अपडेट : 2021-10-31 10:41:48




your-image

Leave a Comment