माघ ५ २०७८   |  2022 Jan 19    


शहरी फोहरमैला समस्या र ब्यवस्थापन


news

नेपालमा शहर र फोहर एक अर्काका परिपुरक जस्ता बन्न थालेका छन् । काठमान्डौ उपत्यकाको फोहरले बेलाबेलामा अन्तर्राष्ट्रिय चर्चा समेत पाउने गर्छ । २÷३ दिन फोहर नउठ्दा काठमान्डौमा महामारीको अवस्था सिर्जना हुन्छ । उपत्यका पुरै दुर्गन्धित हुन्छ र राष्ट्रिय मुद्धा समेत बन्न पुग्छ । काठमान्डौको फोहरको चर्चा सुनिरहेका बुटवलवासीले समेत यसपाली फोहरमैलाको दुर्गन्ध राम्रैसंग चाख्न पाए ।

भदौको तेश्रो साता बुटवल प्राकृतिक प्रकोपसंग जुधिरहँदा फोहरमैलासंग समेत जुध्नु परेको थियो । एक साता फोहर संकलन नहँुदा घर, चोक, गल्लि र सडकहरुमा फोहर थुप्रिएको थियो । फोहर व्यवस्थापनको लागि नागरिकहरुले नगरपालिका विरुद्ध आन्दोलन नै गर्नुपरेको थियो । केन्द्रिय राजधानी हुँदै प्रादेशिक राजधानीहरूमा तीव्र गतिमा प्रवेश पाइरहेको फोहरमैला समस्या यहि गतिमै जिल्ला र पालिकाका केन्द्रहरुमा समेत प्रवेश गरिरहेको छ । शहरीकरण बढ्दै जाँदा यो समस्या निकै जटिल हुने र वातवरण तथा जनस्वास्थ्यमा गम्भीर असर पुग्ने लक्षणहरु देखा परिसकेका छन् ।


कहाँ कति फोहर ?
केन्द्रिय तथ्यांक विभागले गत वर्ष देशभरिका नगरपालिकाहरुमा आधारित फोहरमैला सम्बन्धि बेसलाइन सर्भे गराएको थियो । यहि सर्भेक्षण प्रतिवेदनले तिनै तहका नगरपालिकाहरुमा फोहरमैलाको अवस्था दर्शाएको छ । प्रतिवेदनका अनुसार नेपालका नगरपालिकाहरुमा औशतमा वार्षिक २२३० मेट्रिक टन फोहर संकलन हुने गरेको छ । फोहरको मात्रा भने नगरपालिका अनुसार फरक फरक हुने गरेको छ । महानगरमा वार्षिक ३२९७० मेट्रिक टन र उपमहानगरमा वार्षिक ५८४४ मेट्रिक टन फोहर संकलन हुने गरेकोमा नगरपालिकाहरुमा भने औशत वार्षिक १५५४ मेट्रिक टन फोहरमैला संकलन भएको देखिन्छ ।

यसले शहरहरु घना हुँदैजाँदा फोहरमैला उत्सर्जनको मात्रा बढ्दै गएको प्रस्ट देखिन्छ । एशियाली विकास बैंकले ८ वर्ष पहिले गरेको सर्भेक्षणमा त्यसबेला नेपालका नगरपालिकाहरुमा वार्षिक औशत १४३५ मेट्रिक टन फोहर उत्सर्जन हुने गरेको र ८२२ मेट्रिक टन संकलन हुने गरेको पाइएको थियो । ८ वर्षमा संकलन हुने फोहरको मात्रा ३ गुणा बढ्नुले पनि फोहरमैलाको द्रुत वृद्धिलाई स्पष्ट पार्छ ।


कस्ता फोहर ?
आधुनिकतासंगै फोहरको प्रकृतिमा परिवर्तन आएको भएपनि अझैपनि शहरी फोहरमा प्रांगारिक फोहरको मात्र बढी देखिन्छ । सर्भेक्षण अनुसार कूल शहरी फोहरमध्ये प्रांगारिक फोहर ५४ प्रतिशत, अप्रांगारिक फोहर ३३.३ प्रतिशत र बाँकी अन्य किसिमका फोहरहरु रहेका छन् । महानगर, उमनपा र नगरपालिकामा प्रांगारिक फोहरको हिस्सा क्रमश ४४.५, ७० र ५३ प्रतिशत रहेको पाइन्छ । प्रांगारिक फोहरमा कृषिजन्य पदार्थको हिस्सा धेरै रहेको छ । भान्सामा फालिने तरकारी, फलफूल, खाद्यपदार्थहरु फोहरको रुपमा फालिने भएकोले फोहरमा यस्ता पदार्थहरुको हिस्सा धेरै हुने गरेको छ । कृषिजन्य वस्तुले प्रांगारिक फोहरको ४६.४ प्रतिशत हिस्सा ओगट्ने गरेका छन् भने त्यसपछि क्रमश कागज, टेक्सटाइल र छालाजन्य फोहरको हिस्सा धेरै भएको पाइन्छ । दशक अघि शहरी फोहरमा कृषिजन्य पदार्थ, कागज र टेक्सटाइलजस्ता प्रांगारिक फोहरको हिस्सा ५६ प्रतिशत रहेकोमा अहिले ५४ प्रतिशत हुनुले फोहरको जटिलता स्पस्ट पार्दछ ।

एक दशकअघि कूल शहरी फोहरमैलामा प्लास्टिकजन्य पदार्थको हिस्सा १६ प्रतिशत रहेकोमा अहिले १५.८ प्रतिशत र काँचको हिस्सा ३ प्रतिशत रहेकोमा अहिले ५.५ प्रतिशत रहेको केन्द्रिय तथ्यांक विभागको तथ्यांकले देखाउँछ । शहरी फोहरमा प्लास्टिकको हिस्सा घटेको देखिएपनि सबै किसिमको फोहरमैलालाई पोलिथिनको झोलामा नै राखेर फ्याँक्ने गरिएकोले अहिले शहरी स्वच्छता र फोहरमैला व्यवस्थापनमा प्लास्टिकजन्य पदार्थ ठूलो चुनौती बनिरहेका छन् । प्लास्टिकजन्य फोहरले शहरी सुन्दरता र शहरी ढल प्रणालीलाई ध्वस्त गरेकोमात्र छैन, नदीनाला, खेतीयोग्य जमिन र वनमा समेत ठूलो क्षति पु¥याएको देखिन्छ । सरकारले पोलिथिन झोला नियन्त्रणका आधा दर्जन भन्दा धेरै कार्यक्रमहरु ल्याएपनि ती प्रभावकारी हुन नसक्दा प्लास्टिकजन्य फोहरहरु फोहरमैला व्यवस्थापनमा टाउको दुखाइ बनिरहेका छन् ।


बढ्दै जोखिमपूर्ण फोहर
विद्युतीय फोहरमैला, चिकित्साजन्य/अस्पतालाजन्य फोहर र विषाक्त पदार्थ मिश्रित फोहरलाई अति हानिकारक फोहर मानिन्छ । आधुनिक जीवनशैलीको विस्तारसंगै विद्युतीय फोहरको मात्रा बढिरहेको छ । देशभरी स्वास्थ्यसंस्थाहरुको संख्या बढेर सुविधा पुगिरहेको भएपनि यी सँस्थाहरुले आफुले उत्सर्जन गरेको फोहर व्यवस्थापन नगरी अन्य फोहरसंगै फाल्ने र नगरपालिकाले फोहर संकलन पनि एकै ठाउँमा गर्ने भएकोले जोखिम बढिरहेको छ । यसैगरी हानिकारक रासायनिक पदार्थहरु प्रयोग भएका ब्याट्री, खेलौना, विषादीका खाली बोतल, रेडियोधर्मी पदार्थहरुसमेत फोहरमा फालिने भएकोले फोहर संकलन र व्यवस्थापनमा समस्या परिरहेको छ । वि.सं. २०७३ देखि २०७६ सालसम्मको तथ्यांक विश्लेषण गर्दा देशका नगरपालिकाहरुमा वार्षिक औशत ३०० मेट्रिक टन यस्ता जोखिमपूर्ण फोहरहरु संकलन हुने गरेको छ । कतिपय नगरपालिकाहरुले अति हानिकारक विशिष्ट फोहरमैला संकलनको लागि छुट्टै शुल्क लगाएर फोहर संकलन गर्ने गरेको र कतिपयले फोहर उत्सर्जकलाई नै फोहर व्यवस्थापन गर्न लगाएको पाइन्छ । सामान्य भन्दा चर्को शुल्क तिर्नुपर्ने र सफाइकर्मिले जोखिमपूर्ण फोहर उठाउन नमान्ने भएकोले त्यस्ता फोहर उत्सर्जकाले लुकिछिपी वन, खोला–खोल्सा र चौरमा फाल्ने प्रवृत्ति बढ्दै गएको छ । यसले फोहरमैला व्यवस्थापनमा अझ बढी समस्या थपिएको छ ।


घर नै मुख्य श्रोत
घरको संख्या बढेकोले नेपालमा शहरीकरण बढेको हो । त्यसैले शहरी फोहरमा पनि घरबाट उत्सर्जन हुने फोहरको मात्रा अत्यधिक हुने गरेको छ । शहरी फोहरमा घरेलु फोहरको हिस्सा ३८.६ प्रतिशत रहेको केन्द्रिय तथ्यांक विभागको अध्ययनले देखाएको छ । यसैगरी व्यापारिक संस्थाबाट २४.७ प्रतिशत, शैक्षिक संस्थाबाट १०.३ प्रतिशत, स्वास्थ्यसंस्थाबाट १०.१ प्रतिशत, औद्योगिक प्रतिष्ठानबात ९.५ प्रतिशत र बाँकि अन्य श्रोतबाट फोहर उत्सर्जन हुने गरेको छ । घर र होटेल÷ रेस्टुरेन्टबाट हरेक दिन उत्सर्जन हुने र शहरी क्षेत्रमा घरमा नै फोहर संकलन गरेर केहि दिनसम्म राख्ने अभ्यास नभएकोले केहिदिन फोहर नउठ्दा पनि शहरी क्षेत्रमा ठूलो मात्रामा फोहर थुप्रिने गरेको छ । कम्तिमा शहरमा बस्नेहरुले अलिकति ध्यान पु¥याउने र घरभित्रबाट निस्कने फोहरलाई घटाउने तथा उचित ढंगले संकलन र विसर्जन गर्ने हो भने नगरपालिकामा संकलन हुने फोहरको मात्रा घटाउन र व्यवस्थापन गर्न सहज हुन्छ ।


व्यवस्थापनका उपायमै अलमल
विगतमा फोहरमैला भन्नेवित्तिकै राजधानीको समस्याको रुपमामात्र बुझिन्थ्यो र फोहर व्यवस्थापनका योजनाहरु बनाउँदा राजधानीलाईमात्र हेरेर बनाइन्थ्यो । तर अहिले यो समस्या देशका सबै नगरपालिकाहरुमा प्रवेश गरिसकेको छ । फोहरमैला समस्या बढेपनि यसको कसरि व्यवस्थापन गर्ने भन्ने कुनै ठोस योजना र कार्यक्रम अहिलेसम्म आउन सकेको देखिँदैन । वस्तीमा जम्मा भएको फोहर उठाउनुमात्र फोहर व्यवस्थापन गर्नु हैन, त्यसको उचित अन्त्य गर्नु ठूलो कुरा हो । नेपालमा फोहर व्यवस्थापन गर्ने कुरा सधै प्रयोग र हावादारी गफमा मात्र सिमित भएको पाइन्छ । फोहरबाट मोहर भन्ने नारा जताततै सुनिन्छ तर कसरि मोहर बनाउने भन्ने कुनै ठोस योजना भने ल्याइँदैन ।

फोहरबाट प्रांगारिक मल बनाउने, फोहरबाट बिजुली निकाल्ने, फोहरलाई बेचेर लाभ लिनेजस्ता कुराहरु गर्न स्थानीयदेखि संघीय सरकार खप्पिस छन् । तर अहिलेसम्म व्यवस्थित फोहर संकलन केन्द्रसम्म बनाउन सकेको देखिँदैन । फोहर कसरि घटाउने ? फोहर कसरि संकलन गर्ने ? फोहरको उपयोग कसरि गर्ने ? अनि फोहरको अन्तिम विसर्जन कसरि गर्ने भन्ने दिगो योजना पालिका र सरकारसंग नभएकोले फोहरमैला सधै बल्झिरहने घाउ बन्दै आएको छ ।


घटाउन सकिन्छ फोहर
सबै किसिमका फोहरलाई एकै ठाउँमा राखेर राखेर फाल्नु र एकै तरिकाले फोहर विसर्जन गर्न खोज्नु नै फोहरमैला व्यवस्थापनको मुख्य समस्या हो । फोहरमैलाको बनावटअनुसार श्रोतमा नै वर्गीकरण गरेर संकलन गर्ने हो भने आधा समस्या समाधान हुन्छ । फोहरमा आधाभन्दा धेरै प्रांगारिक वस्तुहरु हुन्छन् । प्रांगारिक फोहरलाई पोलिथिन झोलामा राखेर नफाल्ने हो भने फोहर व्यवस्थापन गर्न सजिलो हुन्छ । यिनीहरुलाई करेसाबारी भएका परिवारले घरमै तह लगाउन सक्छन् । घरमै व्यवस्थापन गर्न नसकिएका प्रांगारिक फोहरलाई पालिकाहरुले संकलन गरेर कम्पोस्ट मल बनाउन, बायो ग्याँस उत्पादन गर्न सजिलै सक्छन् । नकुहिने फोहरहरुमध्ये प्लास्टिक, धातु र कांचलाई छुट्टाछुट्टै संकलन गरेर पुनः प्रशोधन गर्ने उद्योगलाई बेच्न सकिन्छ । यति गर्दा पनि बाँकि रहने जोखिमपूर्ण फोहर तह लगाउनको लागि भने नगरपालिकाले विशेष प्लान्ट बनाउनुपर्ने हुन्छ । फोहरबाट विजुली निकाल्ने कुराहरु पनि सुनिँदै आएका छन्, तर हाम्रो सन्दर्भमा यो उपाय व्यवहारिक र भरपर्दो देखिदैन । शहरी फोहरलाई एकमुष्ट संकलन गरेर यस्ता कार्यहरु गर्न सकिँदैन ।

त्यसैले फोहरलाई श्रोतमै बर्गीकरण गरेर बेग्लाबेग्लै संकलन गर्ने र बेग्लाबेग्लै व्यवस्थापन गर्ने योजना पालिकाहरुले ल्याउनुपर्छ । फोहरमैला व्यवस्थापन सरकारको जिम्मेवारी हो भनेर नागरिकहरुले चोक र बाटोमा फोहर थुपारेर सरकारलाई गाली गरेर आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन । फोहरलाई सकेसम्म कम बनाउन, आफ्नै पहलमा विसर्जन गर्न, प्रांगारिक मल बनाउन, फोहरलाई वर्गीकरण गरेर फोहर संकलन केन्द्रमा पु¥याउने काममा नागरिकहरुले सहयोग गर्ने हो भने गाउँवस्तीमा फोहरको मात्रा घटाउन सकिन्छ र फोहरमैलाबाट लाभ लिनेमात्र नभएर दिगो व्यवस्थापन समेत गर्न सकिने छ ।

अपडेट : 2021-10-06 10:47:24




your-image

Leave a Comment