मंसिर १६ २०७८   |  2021 Dec 02    


मुल सुके बस्ती सरे


news

पाल्पाको तिनाउ गाउँपालिका–५, मरामकोटमा दुई दशकको बीचमा चार दर्जन घर परिवारले थातथलो छाडेका छन् । थातथलो छाड्नेमध्ये एक चौथाई घरपरिवार शहर बजारतिर लागेका छन् भने अरु भने गाउँकै नजिक रहेका अन्य गाउँहरुमा सरेका हुन् ।


उनीहरु गाउँ छाड्नुको मुख्य कारण खानेपानीको समस्या भएको स्थानीयको भनाइ छ । बसाइँ सरेर गएका ठाउँहरुमा पानीको स्रोत भएको क्षेत्र भएको हुँदा स्थानीयले भनेको तर्कमा विश्वास गर्ने आधार देखिन्छ ।


गाउँमा रहेका ११ घर अहिलेपनि भूतबंगलाको रुपमा देख्न (हेनुस् तस्वीर तुलसी दर्लामीको घर) सकिन्छ । उनको परिवार गाउँदेखि तल हिउँदेखोलामा सरेर गएका हुन् । पानीको दुःख भएपछि हिउँदे खोलामा बसाइँ सरेको तुलसी दर्लामी (४७) ले बताइन । ‘पानी बोक्न राती नै उठेर कुवा कुवा चाहार्नुपथ्यो,’ विगत सम्झदै तुलसीले भनिन्–‘केही सुबिस्ता हुन्छ कि भनि यता सरियो ।’ उनले अहिले खानेपानीको धारा घरकै दैलोमा रहेको र खेतीपातीको लागि पनि कुलो आउने गरेको बताइन ।


तुलसीजस्तै गाउँ छाड्नेहरु धेरैजसो गाउँदेखि नजिकमा रहेका पानीको स्रोत भएका क्षेत्रतर्फ गएका छन् भने केही घरपरिवार शहर बजारतर्फ सरेको स्थानीय बताउँछन् । स्थानीय दुर्गा दर्लामीका अनुसार गाउँबाट नजिक रहेको पानीको स्रोत भएका बस्तीमा सर्नेमा हिउँदे खोलामा १० घर, चौबिस माइलमा ७ घर, रनग्वाडाँडामा ५ घर, केरावारी क्षेत्रमा ५ घर, श्रीडाँडामा ४ घर र तिरतरेमा २ घर छन् । त्यसैगरी एक दर्जन घरपरिवार तानसेन, बुटवल, पोखरातर्फ पुगेका छन् ।


तानसेन नगरपालिका–१० आमडाँडाका दुई दर्जन घर परिवार पनि गाउँ छाडेर हिँडेका छन् । ती घरहरुमा पनि खानेपानीको मुख्य समस्या भएपछि बसाइँ सरेर गएको स्थानीय केशर चिदीले बताए । चिदीका अनुसार त्यसरी गाउँ छाड्नेहरु डुम्रे र माडीफाँटतर्फ छन् । त्यहाँ खानेपानीका लागि दुःख छैन ।


पाल्पाको मरामकोट र आमडाँडामा मात्रै होइन जिल्लाको विकट मानिने निस्दी गाउँपालिकाको मौलाथर, काफल, खोप्लाक र मोर्मा गाउँमा पनि गाउँबाट बसाइँ सर्ने भेटिन्छन् । गाउँमा बसाइँ सर्नुको कारण भनेकै खानेपानी समस्या भएको स्थानीय हेम खाम्चा बताउँछन् । खानेपानीको मूल सुकेपछि घण्टौं लगाएर पानी बोक्ने सकसले बसाइँ सरेको उनले बताए ।


तिर्खा लाग्दा पेटभरी पानी पनि खान नपाएपछि बसाइँ सर्नेहरु पाल्पामा धेरै भेटको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, पाल्पाका सव इन्जिनियर नारायण अर्याल बताउँछन् । शिक्षा र स्वास्थ्यलाई कम महŒव दिने ठाउँका बासिन्दा पानीको मूल भएतर्फ सर्नुलाई पानीकै कारण भएको बसाइँसराइँको रुपमा अथ्र्याउँछन् तीन दशकदेखि काम गरिरहेका अर्याल । भोर्मा गाउँमा खानेपानी डिभिजन कार्यालय पाल्पाले १० बर्षअघि खानेपानी आयोजनाले गाउँमा ल्याएको खानेपानीको मूल सुकेपछि उक्त आयोजना बन्द भएको छ ।


भोर्माका स्थानीय हेम खाम्चाले धारादी मूल सुकेपछि खानेपानीको भौतिक संरचना भएपनि पानी आउन छाडेको उनले बताए । खाम्चाका अनुसार उक्त क्षेत्रका पानीको स्रोत सुक्दै गएको छ । बनजंगल कम भएजस्तो पनि लाग्दैन, डेडेलो पनि लागेको छैन, पहिरो पनि गएको छैन तर मुल सुकिरहेका छन खाम्चाले भने, हिउँदमा आकाशबाट पानी कम परेर मुल सुक्यो कि भन्ने मेरो बुझाई छ । उक्त मुलको पानी ३५ घरले खाने गरेका थिए । अहिले त्यहाँका स्थानीय सिरिदी मूलको पानी बोकेर खान बाध्य छन् । उनका अनुसार गत सालदेखिलुम्बिनी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले लिफ्टीङ आयोजनाको काम शुरु भएको छ ।


पानीले सुक्दै स्कुल
तिनाउ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दलबहादुर दर्लामीले आफ्नो गाउँमा रहेको भूमिसरा आधारभूत विद्यालयमा विद्यार्थी घट्दै जानुको मुख्य कारण खानेपानीको समस्या भएको बताउँछन् । खानेपानी नहुँदा टाढाबाट जाने विद्यार्थीले पानी खान नपाउनु र पानीकै कारण बस्ती सर्दा विद्यालयमा विद्यार्थी कम भएको उनको तर्क छ । खानेपानीको समस्या हुँदा बस्तीहरु गाउँदेखिका तलको क्षेत्रमा बसाइँ सरेको उनी बताउँछन् । त्यसैगरी घण्टौ हिँडेर विद्यालय पुग्दा र दिउँसो तिर्खाएको समयमा विद्यार्थीले पानी पिउन नपाएपछि विद्यार्थीले विद्यालय रोज्न छाडेको उनको भनाइ छ ।


कसरी पानी नपुग्ने भयो त ? भन्ने जिज्ञासामा दर्लामी भन्छन्–‘विद्यार्थी कम हुँदा पानी पुग्थ्यो, धेरै भएपनि पुगेन ।’ विगत सम्झिदै उनले भने–‘गाउँदेखि पर खोल्सामा दुईवटा पोखरी खनिएका थिए, ती पोखरीमध्ये एकवटा मानिसले खानको लागि थियो भने अर्को कपडा धुन र गाईवस्तुका लागि थियो । हिउँदको समयमा ती पोखरी पनि सुक्ने हुँदा डेढ घण्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता थियो ।


मरामकोटमा पानीको दुःख छ पानी खान पाइन्न भन्ने बुझाई अहिले पनि वरपरको गाउँमा रहेको दर्लामी बताउँछन् । ‘घण्टौं लगाएर पानी बोक्नु पर्ने गाउँको रुपमा परिचित भएको हुँदा गाउँमा बुहारी पाउन पनि कठिन थियो,’ विगत सम्झदै दलबहादुरले भने । ‘मरामकोटमा छोरी चेली दिनुहुन्न पानीको दुःख छ भन्थे, हामी पनि मरामकोट र जन्तिलुङ घर हो नभनेर अन्तैको गाउँ बताउँथ्यौं,’उनले भने ।


बाँसको कप्टेरो र बलेनी पानी संकलन गरेर पनि पानीको गुजारा चलाएको अनुभव आफूसँग रहेको दलबहादुर सुनाउँछन् । उनका अनुसार उक्त गाउँमा २०५५/५६ तिर फिनिडाले घैटो बनाउने कार्यक्रम ल्याएर केही समय पानीको समस्या समाधान गर्ने प्रयास गरेको थियो । फिनिडाले फुसको छानो हुने घरलाई १ बण्डल जस्ता पाता र १ वटा २ घनमिटरको घैटो बनाउन सहयोग गरेको थियो । त्यसैगरी जस्ताको छाना हुनेलाई २ वटा घैटो बनाउन सहयोग गरेको थियो । उक्त पानी पनि दशै तिहारपछि सकिने गरेको उनले बताए ।


उनका अनुसार २०७१ सालपछि भने उनको गाउँमा ठाडेखोलाबाट लिफ्टिङ गरी ११७ घरमा खानेपानी पु¥याइएको छ । गाउँमा बिहानै उठेपछि सबैभन्दा पहिलो काम गाग्रो टिपेर पँधेरामा पुग्ने दैनिकी फेरिएको छ । खानेपानीलाई मट्टितेल झै सुरक्षित राख्ने गाउँलेले त्यो सास्तीबाट मुक्ति पाएका छन् ।

 

बुहारी पाउनै गार्हो
बगनासकाली गाउँपालिका यम्घा टेक्रे गाउँमा बर्षौदेखिको पानीको समस्या पूरा भएको छ । लिफ्टीङ गरी गाउँमा पानी ल्याएपछि खानेपानीको समस्या समाधान भएको हो । गाउँकी रक्षा सुनारलाई आफ्नै आँगनमा खानेपानीको सुबिधा भएपछि पानी बोक्ने दिन सम्झिँदा पनि आङ नै जिरिङ हुन्छ । एक घण्टा बढी डोकोमा पानी बोकेर दैनिकी सम्झिदा सपना जस्तो लाग्न थालेको उनले सुनाइन ।


टेक्रेको दलित र जनजातिको बसोबास रहेको उक्त बस्तीमा खानेपानीको समस्याको कारण बसाइँ सराइँको क्रम बढेको थियो । जब घर घरमा खानेपानीको सुबिधा भएपछि बसाईँसराइँको क्रम रोकिएको छ भने स्थानीयहरुको दैनिकी समेत फेरिएको छ । खानेपानीको सुबिधा नहुँदा तरकारी किनेर खानेले खेरा गएको धाराको पानीलाई उपयोग गरेर तरकारी खेति गरि तरकारीमा आत्मनिर्भर भएको स्थानीय बासिन्दा टोपबहादुर गाहा बताउँछन ।


गाउँमा खानेपानीको समस्याका कारण त्यस गाउँमा छोरी बिहे गरेर दिन दुःख मान्ने प्रचलन रहेको गाउँकी यमकुमारी सुनार बताउँछिन् । छोरीलाई रातभरी पानी बोक्नुपर्छ भन्ने डर माइतीलाई हुनेहुँदा छोरी माग्न जादा नदिने गरेको उनले सुनाइन । ‘पानी पँधेरो टाढा थियो, पानी बोकेर बिहान बित्थ्यो,’उनले भनिन्–‘कहिले काहीँ पँधेरोमा पानी नै सकिए रित्तो गार्गी लिएर फर्कन समेत पर्दथ्यो ।


स्थानीय जनताको २१ लाख खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको १ करोड २ लाख रुपैंयाँ गरि १ करोड २३ लाख रुपैंयाँको लागतमा योजना सम्पन्न भएपछि दैनिकी नै फेरिएको खानेपानी उपभोक्ता समितीका अध्यक्ष बिरबहादुर खाम्चाले बताए । पानी बोक्ने समयलाई महिलाहरुले बच्चा पढाउन खर्चिएका छन् । खानेपानीका कारण सरसफाईमा समेत परिवर्तन आएको छ । सबैको घर घरमा पक्कि शौचालय बनेको उनले बताए । करिब ५ सय मिटर टाढाबाट लिफ्टिङ गरि संचालित योजनाबाट प्रत्यक्षरुपमा एक सय घर परिवार लाभान्वित भएको उनले बताए । गाउँमा खानेपाने नहुँदाको समयको कथा र व्यथा लामो छ । उनका अनुसार योजना सम्पन्न गर्नका लागि १ सय ५० घर परिवारले २५ दिन सम्म श्रमदान गरेका थिए । पानी लिफ्टीङ गर्दाको विद्युत शुल्कमध्ये ४० प्रतिशत रकम बगनासकाली गाउँपालिकाले तिरिदिने हुँदा खर्च धान्नलाई सजिलो भएको खाम्चा बताउँछन् ।


निस्दी गाउँपालिका ४ मित्याल रुप्से भन्ज्याङका सन्तबीर सुनारी (६८) पानी संघर्ष पनि उस्तै छ । २०४१/०४२ सालमा गाउँमा खानेपानीको योजना आयो । त्यस योजनाले केही बर्ष खानेपानीका लागि सहज बनायो । मानवबस्ती बढ्दै जाने र मूल सुक्दे जाँदा उक्त योजनाले धेरै बर्ष थेग्न सकेन । पुन एक गाग्री पानीका लागि आधा दिन बिताउनुपर्ने अवस्था आयो ।


गाउँ नजिक पानीको मूल नहुनु र राष्ट्रिय प्रसारण लाईनबाट बिजुली नजोडिँदा उक्त गाउँमा पानीको लिफ्टीङ गर्दा सोलार सिस्टमको प्रयोग गरिएको छ । साढे ९ किलोमिटर टाढा रहेको क्याक्रुक खोलाबाट ग्याभिटीबाट पानी ल्याई काफल भन्ने ठाउँमा रिजर्भ ट्यांकी बनाइ पुनः २७५ मिटर उचाईमा रहेको रोक्से भन्जाङमा पानी तानिएको छ । एक बर्ष अघि पूरा भएको उक्त खानेपानी आयोजनाबाट ८७ घरपरिवारले खानेपानी प्रयोग गरिरहेका छन् ।


दूध बेचेर पानी
तानसेन नगरपालिका वडा नं. ८ मा पर्ने शिखरडाँडा, छाप, चाँदनी टोल, काखेपाखा गाउँमा पानीको समस्या छ । ती गाउँमध्ये चाँदनी टोल र काखेपाखाका स्थानीले प्रयोग गरेको जाङ्दी खोल्सा र काखेपाखा मूलको पानी सुक्दै गएपछि अहिले ती गाउँका बासिन्दाले पानीको दुःख बहोरिरहेका छन् । अरु गाउँमा भने लिफ्टीङ गरी खानेपानी पु¥याइएको छ ।


उक्त गाउँका गाउँलेहरु दूध बेचेर पानी किन्ने गरेका छन् । शिखरडाँडाका ४३ घर, छापका २०० घर, चाँदनी टोल र काखेपाखाका ३५ घर, साविकको मदनपोखरा वडा नं. ३ का १३० घरले पानी किन्ने गरेको वडा नं. ८ का वडाअध्यक्ष रामप्रसाद घिमीर बताउछन् । घिमीरेका अनुसार ती गाउँका स्थानीयले न्यूनतम २५० देखि ७०० सम्म पानीको मासिक शुल्क तिर्ने गरेका छन् । पानीको मूल सुक्दै गएपछि लिफ्टीङ गरी पानी खानुपरेको र पानी तान्ने विद्युत र कर्मचारी व्यवस्थापनका लागि पानी खाने घरबाट शुल्क लिने गरेको छाप गाउँका स्थानीय कुलबहादुर थापा नगरकोटी बताउँछन् । उनले आफ्नो गाउँका १११ घरले कैयनमूल र छत्तिवन मूल गरी दुई ठाउँबाट लिफ्टीङ गरी पानी ल्याएको बताए । दुई ठाउँबाट पानी ल्याउँदा पनि कपडा धुन र नुहाउनका लागि टुनी, तल्लो पँधेरो र कालीमाटी कुवासम्म पुग्नुपर्ने अवस्था रहेको बताए । त्यहाँसम्म पुग्नका लागि करिब एक घण्टा समय लाग्ने उनको भनाई छ ।


तिनाउ गाउँपालिकाको मराकोटमा पनि गाउँमा समेत मासिक १ हजार २ सयसम्म पानीको शुल्क तिर्ने गरेका छन् । यो शुल्क तुलनात्मक रुपमा तानसेन र बुटवलको पानीको शुल्क भन्दा पनि बढि हो । पानी तान्दा विद्युत खर्च हुने गरेको छ भने पानी तान्न, ट्यांकीबाट छाड्न र बन्द गर्न कर्मचारी राख्नुपर्ने बाध्यता छ । शुल्क बढी तिनुपर्नुको कारण विद्युत महशुल र कर्मचारी व्यवस्थापन भएको मरामकोटका दुर्गाबहादुर दर्लामी बताउँछन् । उनले पम्प बिग्रीएर मर्मत गर्नुपरेको अवस्थामा त झनै मर्मतका लागि थप पैसा उठाउनुपर्ने बाध्यता रहेको सुनाए ।


खानेपानीको स्रोत कुवाबाट खोला सर्दै
पानीको मूल सुक्दै गएपछि पहाडी बस्तीको खानेपानीको स्रोत खोल्सा र खोलातिर सरेको छ । कतिपय खानेपानीको ग्राभिटि (मूलबाट पाइपमा ल्याउने) को मूल सुकेपछि खोलाबाट लिफ्टीङ गर्न थालिएको हो भने बस्ती नजिक मूल नभएका बस्तीमा पनि खोलाकै भर पर्नुपरेको हो ।


यसरी खोल्सा र खोलाको पानी तान्नका लागि पाल्पामा कतै विद्युत त कतै सोलार जडान गरिने गरिएको छ । सोलारबाट तानिएका पानीमा महशुल नलागेपनि विद्युतबाट पानी तानिएका बस्तीले भने घर घरबाट पानीको शुल्क उठाएर विद्युत महशुल तिर्ने गरेका छन् । घाम नलागेको समयमा पानी तान्न अप्ठ्यारो पर्ने हुँदा अधिकांश लिफ्टीङ योजना विद्युत जडान गरि तान्ने गरिएको छ ।


तिनाउ ६ मस्यामका भुपालबहादुर अस्लामीले ग्राभिटी प्रणालीबाट जुक्या गैराको मूलबाट पानी ल्याएकोमा मूल सुकेपछि लिफ्टीङ गरिएको बताउँछन् । उनका अनुसार २०३८ सालमा ल्याइएको पानीको मूल बिस्तारै सुक्दै जाँदा हिउँद महिनामा पानीको हाहाकार भएपछि हरलामे खोल्साबाट लिफ्टीङ गरिएको हो । उक्त पानी अहिले मस्यामका ९२ घरले प्रयोग गर्दै आएका छन् । उनी लिफ्टीङ प्रणाली आएपछि खानेपानीको अप्रेटरको रुपमा समेत काम गरिरहेका छन् ।


डिभिजन कार्यालय पाल्पाका इन्जिनियर अधिकारीका अनुसार अर्घाखाँची समेत हेर्दै आएको डिभिजन कार्यालयले आर्थिक बर्ष २०७७÷७८ मा पाल्पामा १५० खानेपानी आयोजना र अर्घाखाँचीमा १९७ खानेपानीको आयोजना संचालन गरिरहेको छ । त्यसमध्ये पाल्पामा करिब ८० प्रतिशत र अर्घाखाँचीमा करिब ९० प्रतिशत खानेपानी आयोजना लिफ्टीङ प्रणालीका छन् । यसो हुनुमा पानीको स्रोत सुक्दै जानु र नयाँ पानीको स्रोत बस्ती भन्दा तल भेटिनुले गर्दा भएको इन्जिनियर अधिकारीको तर्क छ ।


मुल सुक्दै जानुमा आ–आफ्नै बुझाई
पानीको मूल सुक्दै जानुमा स्थानीयको आआफ्नै बुझाई र भोगाई छ । तानसेन नगरपालिका १० आमडाँडाका केशर चिदी (४९) ले केही बर्षको अन्तरालमा गाउँमा पानीको मूल सुक्दै गएको बताए । उनका अनुसार १५ बर्षको अन्तरालमा गाउँलेले खानेगरेको माझघारको मूलमा पानी कम हुँदै गएको हो । उनको गाउँका स्थानीयहरु उक्त मूलबाट २५ बर्ष अघि ग्राभिटी गरी ल्याइएको पानी प्रयोग गर्दै आएका थिए । उक्त मुल सुकेर पानी कम आएपछि पानी बोक्न गाउँलेहरु बुढी कुवासम्म पुग्नुपरेको उनले सुनाए ।


माझघार मुलमा पानी कम भएपछि अहिले आमडाँडामा तल्लो चिदिर मूलबाट लिफ्टीङ गरी खानेपानीको व्यवस्था गरिएको छ । लिफ्टीङ हुनभन्दा अगाडी आमडाँडामा फागुनदेखि असार नलाग्दासम्म गाउँलेहरुले बढी समस्या झेल्ने गरेको अनुभव सुनाउँछन् । स्थानीय नामकुमारी चिदि (६९) भन्छिन्, बुढी कुवाको पानी भर्नका लागि राती नै पुग्नुपथ्यो । थोपा थोपा गरी कुवामा संकलन हुने हुने पानी जो पहिलो पुग्यो उसैले भर्थ्यौं उनले भनिन्, त्यसैले पनि उज्यालो नहुँदै पधेरो पुग्नुपर्ने बाध्यता थियो । अहिले पनि लिफ्टीङ पानीको मटर बिग्रीदा र बिजुली नआउँदा पानी लिन बुढी कुवामै पुग्नुपर्ने अवस्था रहेको उनले बताइन । १६/१७ बर्ष पहिले भने बुढी कुवाँमा अहिलेको भन्दा पानी भरिएको देखेको उनी बताउँछन् ।


हिउँदको समयमा आकाशबाट पानी पर्ने कम भएको हुँदा र बैशाख जेठ महिनामा वनमा डढेलो लाग्ने हुँदा कुवाको पानी सुकेको हुनसक्ने उनी बताउँछिन् । म त नजान्ने मान्छे नामकुमारीले भनिन्, म सानो हुँदा हिउँदा पानी नि आउथ्यो, बारीमा हिउँदे खेती पनि हुन्थ्यो अहिले त पानी पनि आउँदैन, बारीमा खेती पनि हुँदैन ।


तिनाउ गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष दलबहादुर दलार्मी (७०) ले केही बर्षको तुलना गर्दा पानीको मूल सुक्दै गएको देखेको बताउँछन् । मुल सुक्नुको कारण हिउँदमा पानी नपर्नु र बन जंगलमा डढेलो लाग्नु भएको अनुमान उनको छ । डढेलोले वनको साना विरुवाजति नाश गर्छ उनले भने, सानो विरुवा नहुँदा जमिनमा खुख्खा छिटो हुने रहेछ । पछिल्लो समयमा भने जथाभावी मोटरबाट खनिनु, डाडाका पोखरी पुरिनु र भूकम्प कगएकाले पनि पानीको मूल सुक्दै गएको उनले बताए ।


तानसेन नगरपालिका ८ मदनपोखराका रामप्रसाद घिमीरे (६९) ले आकाशे पानी समयमा नपर्दा र वन जंगलमा डेढेलो लाग्दा पानीको मुल सुकेको हुनसक्ने बताउँछन् । घिमीरेले भने, हिउँदमा पानी पर्नै छाड्यो बर्षामा बढी पानी परेर बगाउँछ । उनले अहिले तापक्रम पनि बढेको अनुभव आफुले गरेको र त्यसले पनि पानीको स्रोत कम हुदै गएको हो । तापक्रम बढेको प्रमाण पहाडका गाउँघरमा लामखुट्टे देखिनु भएको उनको तर्क छ । अहिले चैत्र महिनादेखि मंसीरसम्म लामखुट्टेले सताउने गरेको उनले सुनाए । पहिले त लामखुट्टे भन्ने गाउँमा देखिएको थिएन उनले भने, अहिले झुल नलगाई सुत्नै सकिन्न ।


तानसेन ९ दमकडाका मणी श्रेष्ठ (५६) ले पहिरोका कारण मूल सुकेको आफुले अनुभव गरेको बताए । उनका अनुसार उनीहरुले अधेरी मुलको पानी खाँदै आएकोमा २०३८ सालमा पहिरो आएपछि मूल बगाएपछि खानेपानीमा समस्या भएको थियो । पहिरोपछि उक्त मूल सरेर तल आउनुको साथै छिरलिएको उनी बताउँछन् । अहिले छिरलिएको मूललाई एकै ठाउँ ट्यांकीमा संकलन गरि लिफ्टीङ गरेर पानी गाउँमा पु¥याइएको छ ।


निस्दी गाउँपालिकाको भोर्मा गाउँका स्थानीय हेम खाम्चाले पानीको स्रोत सुक्नुमा अतिबर्षा र कम बर्ष भएको तर्क गर्छन् । बनजंगल कम भएजस्तो पनि लाग्दैन, डेडेलो पनि लागेको छैन, पहिरो पनि गएको छैन तर मुल सुकिरहेका छन खाम्चाले भने, हिउँदमा आकाशबाट पानी कम परेर मुल सुक्यो कि भन्ने मेरो बुझाई छ । उनको गाउँमा १० बर्ष अघि सम्पन्न भएको खानेपानी आयोजना मुल सुकेपछि बन्द छ ।


खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, तानसेन, पाल्पाका इन्जिनियर संजीव अधिकारीले पानीको सेत सुक्नुमा एउटा मात्र नभई धेरै कारणहरु भएको बताउँछन् । उनले अनाबृष्टि र अतिबृष्टि, रुख मासिएका क्षेत्रमा बृक्षरोपण नहुनु, ग्रामीण सडकको बिस्तार हुनु जस्ता कारणले पानीको स्रोत सुक्दै गएको र त्यसको असर कार्यालयले काम गरेको खानेपानी आयोजनाहरुमा देखापर्न थालेको बताए । त्यसैगरी २०७२ माभूकम्प जाँदा जमिनमा उथलपुथल हुँदा पानीको मूलहरुमा ठाउँ परिवर्तन भएको हुँदा पनि खानेपानीको समस्या देखिएको उनको भनाइ छ ।


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, तानसेन, पाल्पाले तयार गरेको पाल्पा जिल्लाका ६० गाविसहरुको खानेपानी तथा सरसफाइ क्षेत्रको तथ्यांक प्रतिवेदन २०७२ मा १५४६ खानेपानी आयोजनाहरुमा मूल संरक्षण गर्नुपर्ने, ट्यांकी मर्मत गर्नुपर्ने, पाईप परिवर्तन गर्नुपर्ने, अर्को मूल ल्याएर मिसाउनुपर्ने जस्ता सुधार गनुपर्ने देखिएको छ । ती खानेपानी आयोजनाहरुमध्ये धेरैजसो आयोजनाहरु पानीको स्रोत सुकेका कारण समस्यामा देखिएका हुन् ।


तापक्रम बढ्नु र बर्षा अनियमित हुनुको यस्तो छ आधार
फरेष्टएक्सन नेपालले २०७० सालमा प्रकाशनमा ल्याएको नेपालमा जलवायुु परिवर्तनका स्थानीय अवसरहरु अध्ययन संगालोमा मौसमको परिवर्तनले निम्त्याएको अनिश्चितता र बर्षाको अनियमितिताले सिँचाई क्षेत्र आक्रान्त बन्दै गएको उल्लेख छ । अध्ययनमा भनिएको छ, यदि तापक्रम ३ डिग्रीसेल्सियसले बढ्यो भने सिँचाईको लागि चाहिने पानीको आवश्यकता ११ प्रतिशतले बढेर जाने हुन्छ ।


उक्त अध्ययनमा भनिएको छ, ‘वातावरणविदहरुको विश्लेषण हेर्ने हो भने विश्वको तापक्रम ३.२९ डिग्री सेल्सियसले बढ्दा जैविक क्षेत्र करिब ५०० मिटरले माथि सर्छ । यस्तो हुँदै जाँदा हिमाली भेगका अमूल्य जन्तु र वनस्पति लोप हुँदै जाने र घाँसे मैदानमा आधारित पशुपालन व्यवसाय पनि धरापमा पर्ने हुन्छ ।’


वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय अनुकूलन योजना तर्जुमाको प्रकृयालाई सहयोग गर्न हालै सार्वजनिक गरेको प्रतिवेदन (जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण र अनुकूलनका उपायहरुको पहिचान) अनुसारजलवायु परिवर्तनका कारण जलश्रोतको क्षेत्रमा लुम्विनी प्रदेशका जिल्लाहरु पुर्बी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची र पाल्पा लगायत कर्णाली प्रदेश र सुदुरपस्चिम प्रदेशका दार्चुला, बझांग र बाजुरा उच्च देखि अति उच्च संकटमा रहेको जनाएको छ । उक्त रिर्पोट अनुसार चरम खालका घटना (एक्सट्रीम इभेन्टस) का कारण खडेरी तथा बाढीपहिरोको जोखिम उतिकै बढेको छ । पहाडी क्षेत्रमा ३० वर्षको अवधिमा ३० प्रतिशतले पानीको स्रोतहरु घट्दै गएकाछन् ।वर्षा र तापक्रमको मात्रामा परिवर्तनका साथै अस्वोभाविक मौसमी घटनाहरु (बाढी, पहिरो, खडेरी) का कारण पानीको उपलब्धता, समयावधि, र पानी जन्य विपद्का घटनामा असर पार्ने देखिन्छ ।

लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा वार्षिक न्यूनतम तापक्रममा वृद्धिको एक सकारात्मक प्रवृत्ति छ । सबै प्रदेश ५ का जिल्लाहरुमा अधिकतम तापक्रममा बृद्धि हुने सकारात्मक प्रवृत्ति छ । कपिलवस्तु, रुपन्देही, बाँके र बर्दियाका चार जिल्लाहरुमा जाडोमा अधिकतम तापक्रममा कमी आएको छ । सन् १९७१ देखि २०१४ को अवधिको मौसमको अध्ययनमा नेपालको औसत वार्षिक तापमान वृद्धि दर ०.०५६ डिग्री सेल्सियस छ । लुम्बिनी प्रदेशको पूर्वी रुकुम बाहेक सबै जिल्लाहरुमा जाडो र प्री–मनसुनको समयमा न्यूनतम तापमान सबै जिल्लाहरुमा बढेको जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण र अनुकूलनका उपायहरुको पहिचान सम्बन्धि अध्ययनमा देखिएको छ । त्यस्तै गरी, मानसून र मनसुन पछिको सिजनमा पनि सबै जिल्लाहरुमा न्यूनतम तापक्रम बढेको छ तथ्यांक छ । पाल्पामा बार्षिक रुपमा ०.००४ सेल्सियसको दरले तामक्रम बृद्धि भएको अध्ययनले बताएको छ । जाडोमा ०.००४, मनसुन पूर्व ०.००५, मनसुनमा ०.००२, मनसुनपछि ०.००१ सेल्सियसका दरले तापक्रम बढिरहेको देखिएको छ ।


स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार जिल्लामा डेगुका विरामी भेटिने गरेका छन् । आव २०७५/७६ मा ७ जना र ०७६÷७७ मा २ जना डेंगुका बिरामी भेटिएका छन् । लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो, गर्मीका कारण पहाडमा डेंगुको संक्रमिण भएको लामखुट्टे पहाडमा देखिएको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीको भनाई छ । यूनिसेफले खानेपानी वितरण लाइनहरूमध्ये २५ प्रतिशत मात्र पूर्ण रुपमा काम गर्ने अवस्थामा रहेको र ४० प्रतिशतलाई ठूलो मर्मतको आवश्यकता रहेको बताएको छ ।


जलवायु परिवर्तन बाटपानीको श्रोतहरुमा पर्ने असरहरु कम गर्न तत्काल, मध्य र लामो समयावधिका अनुकूलनका कार्यक्रमहरु गर्नुपर्ने हुन्छ । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलनका कार्य मार्फत जलाधार, नदी किनार, पानीका श्रोतहरुको उचित ब्यबस्थापन गर्ने, पानीको संकलन, पुनर्भरण, वृक्षारोपण जस्ता कार्यहरु मार्फत बर्सातको पानी जमिनमा संकलन र रोकेर राख्ने प्रविधि तथा कार्यहरुलाई बढावा दिनुका साथै एकीकृत जलश्रोत ब्यबस्थापनका योजनाहरु कार्यन्वयन गर्ने जस्ता कार्यहरु मार्फत भविस्यमा जलवायु परिवर्तनको कारण पानीको क्षेत्रमा हुने असरहरु कम गर्न सकिने र नेपाल सरकारको राष्ट्रिय अनुकूलन योजना तर्जुमाको प्रकृयामा यस्ता भैगोलीक प्रसंग र जनजिवन रुपान्तरण हुने खालका अनुकुलन उपायहरु प्राथमीकरण हुन जरुरी भएको विज्ञको भनाई रहेको छ ।

अपडेट : 2021-10-01 17:27:20




your-image

Leave a Comment