माघ ५ २०७८   |  2022 Jan 19    


लुम्बिनीमा दिगो पर्यटनका आधारहरु


news

परिचय
गौतम बुद्धको जन्मस्थान लुम्बिनी र बुद्धसंग सम्बन्धित तिलौराकोट,कुदान, लुम्बिनी, देवदह र रामग्राम लगायतका स्थानहरु विस्वभरिका बौद्धमार्गी र शान्तिका पुजारीहरुको आस्थाका केन्द्रहरु हुन् । कपिलवस्तुदेखि पश्चिम नवलपरासीसम्म फैलिएको यी र अन्य पुरातात्विक, साँस्कृतिक सम्पदाहरु समेटिएको समग्र भूभाग वृहत्तर लुम्बिनी क्षेत्र हो । क्रकुच्छंद बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनी बुद्धको जन्मस्थान निग्लिहवा लगायतका १३० वटा पुरातात्विक क्षेत्रहरु कपिलवस्तुमा रहेको पुरातत्वविदहरुको ठहर छ । रुपन्देहीमा विश्व सम्पदा सुचिमा समाबेश गौतम बुद्धको जन्मभूमि लुम्बिनी, बौद्धकालिन शहर भएको विस्वास गरिने सैनामैना र देवदह रहेका छन् भने नवलपरासीमा कोलिय राजधानी भएको विस्वास गरिएको पण्डितपुर र बुद्धको सग्लो अस्तुधातु रहेको रामग्राम स्तुपा रहेका छन् ।

यी तिन जिल्लामा रहेका अनेकौ पुरातात्विक र सास्कृतिक थलोहरु वृहत्तर लुम्बिनी क्षेत्रभित्र पर्छन् । विश्व शान्तिको शहर लुम्बिनी नेपालमै धेरै पर्यटकहरुले भ्रमण गर्ने थलो हो । यस बाहेक लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा रहेका सास्कृतिक, पुरातात्विक र पर्यावरणीय महत्वका स्थलहरु वृहत्तर लुम्बिनी क्षेत्रसंग प्रत्यक्ष रुपमा जोडिएका छ ।


वृहत्तर लुम्बिनी सेरोफेरोमा पर्यटन
सन् १९५० देखि नेपालमा पर्यटनका गतिविधिहरु बढ्न थालेका थिए । राजा महेन्द्रले सन् १९५६ मा लुम्बिनी भ्रमण गरि यसको विकासमा चासो दिएपछि लुम्बिनीमा पनि पर्यटकहरु आउने क्रम शुरु भएको थियो । आन्तरिक र बाह्य सहयोगले गर्दा लुम्बिनी विस्वकै आध्यात्मिक र पर्यटकीय स्थल बन्दै गएको छ । लुम्बिनी पर्यटनको कुरा गर्दा धेरैलाई लुम्बिनी बगैचाको सेरोफेरोमा घुम्ने भन्ने सोचाई आउने गर्छ , तरको पर्यटकीय फैलावट लुम्बिनी प्रदेश भरि नै रहेको छ । अहिले लुम्बिनी प्रदेशमा तीन किसिमका पर्यटकीय गन्तव्यहरु रहेका छन् । पहिलो समुहमा राज्यको आँखा परेका र अन्तर्रािष्ट्रय जगतमा समेत परिचित गंन्तब्य्हरु पर्छन । लुम्बिनी, रामग्राम, कपिलवस्तु, स्वर्गद्वारी र वर्दिया राष्ट्रिय निकुन्ज यस्तै किसिमका गन्तव्यहरु हुन् । दोश्रो समुहमा आन्तरिक पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेका, देश भित्र प्रचार पाएका र थोरै भएपनि पर्यटकीय पुर्वाधारहरु तयार भएका गन्तव्यहरु पर्छन ।

कमल दह, सुपा देउराली, बलकोट, रेसुंगा, तानसेन श्रीनगर, रानी महल, रिडी, सत्यवती ताल, सिद्धबाबा र भैरवस्थान, राम्दी, मणिमुकुन्द पार्क, शंकर नगर वन बाटिका, नुवाकोट, देवदह, जगदीशपुर ताल, दाङ्गको धारापानी, बाँकेको बागेश्वरी र गाभर भ्याली, बर्दियाको ठाकुरद्वारा जस्ता क्षेत्रहरु दोश्रो समुहमा पर्छन । अहिलेसम्म स्थानीय प्रयासबाट पर्यटकीय हैसियतमा पुगेका यी गन्तब्यहरुको प्रचारप्रसार गर्ने, थप पूर्वाधार विकास गर्ने र स्थानीय वासिन्दाहरुलाई पर्यटनमैत्री बन्न सघाउने हो भने ठुलो संख्यामा आन्तरिक र बाह्य पर्यटकहरु भित्राउन सकिन्छ । तेश्रो समुहमा विशिष्ट साँस्कृतिक र प्राकुतिक पहिचान भएका तर ओझेलमा परेका गन्तव्यहरु पर्छन ।

नवलपरासिको बुद्धमंगल ताल, पण्डितपुर बर्दगोरिया र महलपोखरी, रुपन्देहीका चुरे क्षेत्र, बाउन्न कोटी वन, गैडहवा ताल, गजेडी ताल, पाल्पाको बल्ढेङ्गगढ़ी, माथागढी, तालपोखरा, रम्भादेवी र दर्लामदेवी, अर्घाखाचीको बल्कोट, नरपानी, गुल्मीको ठुलो लुम्पेक र आपचौर क्षेत्र, दाङ्गको गढवा, कोइलाबास, बर्दियाको कर्णाली सेरोफेरो, रोल्पाको थवांग र जलजला, रुकुमको तकसेरा जस्ता विशिस्टता बोकेका स्थानहरु पर्यटकलाई तान्न सक्ने तर पर्यटकिय पूर्वाधार र प्रचार नपाएका गन्तव्यहरु हुन् ।

यी गन्तव्यमा आक्कल झुक्कल आन्तरिक पर्यटकहरु पुग्ने गरेपनि पर्यटनका व्यवसायिक गतिविधिहरु संचालन हुन सकेका छैनन् । पहिलो र दोश्रो समुहमा पर्ने पर्यटकीय गन्तव्यहरूको बजारीकरण गर्ने र पर्यटकीय पूर्वाधारको विस्तार गर्ने हो भने तत्कालै राम्रा पर्यटकीय केन्द्र बन्न सक्छन् भने तेस्रो किसिमका गन्तव्यहरुमा पर्यटकीय सस्कार सिकाउने, स्थानीय उत्पादनमा जोड दिने, संरक्षणका कार्यहरु गर्ने र स्थानीय मौलिकता पस्कने हो भने ठुलो संख्यामा आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।

पर्यटकिय लाभ कति ?
नेपालमा धेरै मानिसहरु घुम्न आउने स्थान लुम्बिनी हो । सन् २०१५ मा १२९११८ र सन् २०१६मा १३६२५३ जना तेश्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । सन् २०१५मा ७ लाख ४८ हजार २९४ जना आन्तरिक तथा बाह्य पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।। सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनी भ्रमण गरेकोमा १४ लाख एक हजार १७८ जना नेपाली र २ लाख ४ हजार ८२५ जना भारतीय थिए.( कोरोना कहरले गर्दा सन् २०२० मा जम्मा २ लाख ७९ हजारले मात्र लुम्बिनी भ्रमण गरेका थिए) । नेपालमा विदेशी पर्यटकले औषतमा १३ दिन विताउने भएपनि लुम्बिनी आउने विदेशी पर्यटकहरु मध्ये झन्डै ७३ प्रतिशतले त्यहा आधा घण्टा भन्दा कम समय विताउने गर्दछन भने ५ दशमलव ५ प्रतिशत पर्यटक एक घण्टा भन्दा बढी विताउने गरेको युनेस्कोले केहि वर्षअघि गरेको एक सर्वेक्षणले देखाएको छ ।

तिलौराकोट, कुदान, रामग्राम, पण्डितपुर देवदहमा मा केहि पर्यटकहरु पुग्ने भएपनि अवलोकन गरेर केहि घन्टामै फर्कने गरेका छन् । खर्च गर्ने पर्यटक भन्दा पनि फोटो खिचेर फर्कने पर्यटकहरु लुम्बिनी पुग्ने , त्यहाँ उनिहरु लामो समय नबस्ने र अन्यत्र पनि नघुमि फर्कने भएकोले पर्यटन बजारमा लुम्बिनी पस्कन थालेको दशकौ भएपनि यो वृहत्तर लुम्बिनी क्षेत्रले पर्यटनबाट लाभ लिन सकेको देखिदैन ।

कपिलवस्तु देखि नवलपरासी सम्मका उत्तरी क्षेत्रमा केहि आन्तरिक पर्यटन गन्तव्यहरु विकास भैरहेका छन् । तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर वन बाटिका र बुटवलमा अवस्थित मणि मुकुन्द सेन पार्कमा वार्षिक ५ लाख भन्दा बढी आन्तरिक पर्यटन पुग्ने गर्छन । रुपन्देहीकै बाउन्न कोटी बाटिका, गजेडी ताल, गैडहवा, मलमला, कपिलवस्तुको राजापानी र जगदीशपुर जलाशय, दाङ्गको जाखिरा ताल, बर्दियाको बढैयातालमा पनि मानिस पुग्ने क्रम बढ्दो छ । धार्मिक उद्धेश्यले प्युठानको स्वर्गद्वारी, गुल्मीको रिडी र रेसुंगा, पाल्पाको राम्दी र सत्यवती, दाङ्गको धारापानी, बाँकेको बागेश्वरीमा तिर्थालुहरु पुग्ने क्रम चलिरहेको छ । यस्ता गतिविधिहरु घुमेर वा पुजा गरेर मात्र फर्कने काममा सिमित हुने भएकोले पर्यटकीय लाभ प्राप्त हुन् सकेको छैन ।

चितवनले नेपालमै धेरै बाह्य पर्यटक भित्राएर देशमै मुख्य पर्यटकीय क्षेत्रको रुपमा चिनिन सफल भएपनि उस्तै प्राकृतिक अवस्था र सुन्दरता रहेको बर्दिया र बाँके राष्ट्रिय निकुन्जले आक्कल झुक्कल बाहेक पर्यटकहरुको मुख नै देख्न पाएका छैनन् । यी समग्र कारणले वृहत्तर लुम्बिनी र यसले नेतृत्व गर्न सक्ने समग्र लुम्बिनी प्रदेशकै पर्यटकीय क्षेत्रबाट नगन्य मात्रामा पर्यटकीय लाभ लिन सकिएको छ ।

वृहत्तर लुम्बिनीबाट किन फाइदा लिन सकिएन?
विस्वभरिका बौद्धमार्गी र शान्तिप्रेमिहरुको आस्थाको केन्द्र, पुरातात्विक अध्ययनको लागि खुल्ला संग्राहलय रहेको लुम्बिनी र वरपरको क्षेत्रबाट पर्यटकीय र धार्मिक लाभ लिन सकिएको छैन । विकासका नाममा बनाईएका कंक्रिटका संरचनाले बौद्धमार्गीहरुलाई आकर्षित गर्न सकेका छैनन् । प्राकृतिक बौद्ध वातावरण वृहत्तर लुम्बिनी क्षेत्रमा नहुदा पर्यटकहरुले बौद्धस्थलको स्वाद लिन सकिरहेका छैनन् । सबै बौद्धस्थलमा बौद्ध जनसंख्या अत्यन्त न्यून छ, जसले गर्दा वृहत्तर लुम्बिनी क्षेत्रले स्थानीयको अपनत्व प्राप्त गर्न सकिरहेको छैन । यो क्षेत्रको विकासको कुरा उठ्दा स्थानीयको जग्गा अधिग्रहण होला भन्ने डरले स्थानीय वासिन्दाहरु त्रसित भएकोले विस्तार र उत्खननमा कठिनाई भएको छ ।

बुद्ध र वृहत्तर लुम्बिनीको महत्व बुझाउन नसक्दा स्थानीय वासिन्दाहरु पर्यटन व्यवसायमा संलग्न हुनै सकेका छैनन् । भारतहुदै विदेशी पर्यटकहरु यस क्षेत्रमा आउने र उतैबाट टुर अपरेटरले व्यवस्था मिलाउने भएकोले पर्यटकलाई घुमाएर लाभ लिने अवसर यहाँका स्थानीय वासिन्दाले नगन्य मात्रामा पाएका छन् ।


तिलौराकोटदेखि रामग्राम अनि स्वर्गद्वारीदेखि रेसुंगा हुदै राम्दिसम्मका क्षेत्रहरु जोडेर पर्यटन प्याकेज ल्याउन नसकेकोले पर्यटकहरु लुम्बिनीमा मात्र खुम्चिएका छन् ।.पर्यटकलाई स्थानीय मौलिकता बेच्न सकिरहेका छैनौ । पर्यटन क्षेत्रले खपत गरेका सामाग्रीहरु विदेशबाट मगाईने भएकोले पर्यटन क्षेत्रले कमाएको आम्दानि पनि विदेश तिरै फर्केको छ । हामीसंग सम्पदा भएपनि सम्पदा बुझाउन सक्ने जनशक्ति छैन । पर्यटकलाई कुनैपनि ठाउँमा बाँध्न सक्ने कथा चाहिन्छ, तर हामीसंग कथा र कथा भन्न सक्ने दुवै उपलब्ध छैनन् । भारत हुदै लुम्बिनी र अन्य ठाउँमा आउने पर्यटकहरु भारतीय गाइडले बुनेको कथामा अलमलिने भएकोले नेपाली दृष्टिबाट लुम्बिनीलाई बुझ्न र बाहिर प्रचार गर्ने जान्दैनन् ।

यसले गर्दा पर्यटन विकासमा अवरोध उत्पन्न भैरहेको छ । लुम्बिनिको क्षेत्रको लागि भनेर गठन भएको लुम्बिनी विकास कोष राजनैतिक दुस्चक्रमा फँसिरहनु, लुम्बिनी बाहेक अन्य स्थानलाई पनि समान महत्व दिनुपर्छ भन्ने दृष्टि नहुनु जस्ता कारणले गर्दा वृहत्तर लुम्विनीको विकास, प्रवद्र्धन र लाभ लिने काम अति न्यून मात्रामा भैरहेको छ ।

वृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटनका विकासका लागि गर्नुपर्ने काम

क. .सम्पदाको उजागर र जनसहभागिता वृद्धि
मुख्य बौद्ध स्थलको उत्खनन भैरहेको छ । तर वृहत्तर लुम्बिनी क्षेत्रभित्र थुप्रै पुरातात्विक ऐतिहासिक र पर्या पर्यटनका स्थलहरु रहेका हुन् सक्छन् । स्थानीय वासिन्दाहरु र अध्येताहरुको सहयोगले त्यस्ता स्थानहरुको पहिचान गर्ने . त्यसको इतिहास खोजि गर्ने र त्यससंग जोडिएका लोकगाथा र सस्कृतिको अभिलेखीकरण गर्नुपर्छ । अहिलेसम्म यस क्षेत्रमा भएका उत्खनन, विकासमा स्थानियहरुको न्यून सहभागिता रहने गरेको छ र पर्यटनबाट स्थानीयले लाभ प्राप्त गर्न नसक्दा वृहत लुम्बिनी विकास भन्ने वित्तिकै नागरिक तर्सने अवस्था छ । जबसम्म स्थानीय बासिन्दाहरुले आफुलाई वृहत्तर लुम्बिनीको अंग मान्न सक्दैनन् तबसम्म यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन सम्भव छैन ।

स्थानीय वासिन्दालाई वृहत्तर लुम्बिनीको अंग महसुस गराउनको लागि यो क्षेत्रको महत्व र यसको विकास गर्दा हुने फाइदाको बारेमा बुझाउनु पर्छ ।स्थानिय संस्कृतिलाई पर्यटन प्याकेजमै समावेश गर्नुपर्छ । स्थानियतामा आधारीत पर्यटन ब्यवसाय, पर्यटनमा स्थानिय उत्पादन र श्रोतको उपयोग जस्ता कार्यले जनसहभागिता वृद्धि गरि दिगो पर्यटनको आधार तयार गर्न र गरिबि निवारण गर्न सकिन्छ ।

ख. प्रचार प्रसार
दिगो पर्यटनको मुख्य आधार भनेको पर्यटन बजारमा पर्यटकीय क्षेत्रको ब्यापक प्रचारप्रसार हो । नेपालमा जति चिच्याएपनि नेपालको पर्यटकिय सम्पदाको बारेमा अन्तराष्ट्रिय पर्यटन बजारमा प्रचार प्रसारको अवस्था दयनीय देखिन्छ । नेपाल घुमेर गएका पर्यटक र संचारमाध्यमहरुले बोलेको, लेखेको र देखाएकोबाट जानकारी पाएर पर्यटकहरु येनकेन आइरहेका छन् । नेपालमा बारम्बार हुने बन्द, द्वन्द, प्राकृतिक प्रकोपको कारणले अन्तर्राष्ट्रिय पर्यटन बजारमा भ्रमणको लागि नेपाल असुरक्षित छ भन्ने हल्ला चल्ने गर्छ र यसलाई चिर्न नेपालले सकिरहेको छैन ।

उचित प्रचारको अभावले गर्दा नेपालका प्रमुख बौद्ध पर्यटनको फाइदा पनि भारतले मात्र लिइरहेको छ । अहिले विस्वमा चिनिया र भारतीय पर्यटकको संख्यामा तीव्र वृद्धि भैरहेको भएपनि छिमेकी देश भएर पनि त्यहाँका पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिएको छैन । गौतम बुद्ध, लुम्बिनी, रिडी, स्वर्गद्वारी, सिद्दबाबा, बागेश्वरीलाई मात्र यी छिमेकी देशहरुमा राम्रो प्रचार गर्न सकियो र ति देशका एक प्रतिशत पर्यटकलाई मात्र लुम्बिनी क्षेत्रमा ल्याउन सकियो भने यहाँको पर्यटन क्षेत्रले मुहार फेर्न सक्ने देखिन्छ ।

ग.पर्यटन उद्यमको विस्तार
नेपालमा पर्यटकलाई सुविधा दिने उद्योगहरुको संख्या विस्तारै वृद्धि भैरहेको भएपनि तिनीहरु काठमाडौं, पोखरा, चितवन र लुक्ला सेरोफेरोमै रहेका छन् । नेपालको पर्यटन तथ्यांकलाई हेर्दा पर्यटन उद्यम जहाँ छ त्यसको सेरोफेरोमै पर्यटकहरु घुम्ने गरेका देखिन्छ । नेपालका सबै ठाउँमा पर्यटकलाई पु¥याउन लागि सबै लुम्बिनीमा मात्र नभएर सबै बौद्ध स्थलको नजिक र प्रदेशका सबै भौगोलिक क्षेत्रमा पर्यटकको लागि सुबिधा पु¥याउने उद्यमको विस्तार गर्नुपर्छ । होटेल, ट्राभल एजेन्सीजस्ता सस्थालाई पर्यटन सम्भाव्य सबै भौगोलिक क्षेत्रमा पु¥याउनको लागि आवस्यक छुट र सहुलियत प्रदान गर्ने नीति र कार्यक्रमहरु स्थानीय र प्रदेश सरकारले ल्याउनु जरुरि छ ।

घ.पर्यटकीय पूर्वाधार
वृहत्तर लुम्बिनी क्षेत्रमा सडक संजाल विस्तार भएपनि समग्र लुम्बिनी प्रदेशमा रहेका अधिकांश पर्यटकीय स्थलहरुसम्म पुग्न, अवलोकन गर्न र रमाउनको लागि घुम्न चाहनेहरुले ठुलै कष्ट बेहोर्नुपर्ने बाध्यता छ । बाटोघाटोको असुविधा, संचारको असुविधा, बास बस्ने ठाउँको अभाव, पर्यटकीय सुचनाको कमि, पर्यटनमैत्री सँस्कारको कमि जस्ता कारणले गर्दा पर्यटन विकासमा तगारोको काम गरिरहेको छ । सबै सम्भाव्य पर्यटकीय स्थलहरुमा भौतिक पुर्वाधारहरु पु¥याउने र स्थानीय बासिन्दालाई पर्यटन मैत्री संस्कार र सिप सिकाएर उनीहरुलाई नै पर्यटकहरुको सेवा सत्कार र व्यापारमा लाग्ने अवसर प्रदान गर्न सकियो भने सबै ठाउँमा पर्यटकहरु रमाएर घुम्ने, बस्ने र खर्च गर्ने वातावरण मिल्नेछ र त्यसले पर्यटकहरुको संख्या र बसाइ वृद्धि गर्न मद्धत मिल्नेछ ।

ङ.पर्यटकका लागि कथा
सम्पदा भएर मात्र पर्यटक भुल्दैनन । पर्यटकलाई भुलाउन रोचक कथा चाहिन्छ । हामीसंग प्रसस्त सास्कृतिक प्राकृतिक सम्पदा भएपनि त्यसलाई रोचक ढंगले पर्यटनलाई बताउन सक्ने जनशक्ति छैन र भन्ने कथा पनि छैनन । हरेक क्षेत्रमा रहेका सम्पदाहरुलाई ऐतिहासिकता र कथात्मक रुप दिएर भन्न सक्ने, हरेक पर्यटकीय, साँस्कृतिक र प्राकृतिक सम्पदालाई कथामा जेल्न सक्ने र त्यसलाई पर्यटककै भाषामा बताउन सक्ने हो भने यहाँका प्रत्येक स्थान, प्रत्येक सम्पदाहरूमा पर्यटकलाई पुगौ पुगौ लाग्ने हुन्छ । उनीहरुमा उत्सुकता वृद्धि हुन्छ, बढी भन्दा बढी यो ठाउँमा बिताउने चाहना वृद्धि हुन्छ । त्यसैले स्थानीय समुदायमा रहेका अभ्यास, परम्परा र लोकगाथालाई पर्यटनसंग जोड्ने गरि बताउन सक्ने जनशक्ति उत्पादन गर्न स्थानीय सरकार, लुम्बिनी विकास कोष र स्थानीय शैक्षिक सस्थाहरु अग्रसर हुनुपर्छ । बाहिरबाट लुम्बिनीमा पर्यटक ल्याएर आउने हरेक गाईडले यहाँको कथा भन्न सक्नुपर्छ।

च. आन्तरिक पर्यटनमा जोड
दक्षिण एशियाली राष्ट्रहरुमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरु संख्या तिब्र दरमा बढ्दै गएको छ । नेपाल जीवनस्तर सर्वेक्षण (सन् २०१०÷११) अनुसार नेपालको कूल जनसङ्ख्याको ११ प्रतिशतले पर्यटनको नाममा खर्च गर्छन् । त्यस हिसाबले करिब ३५ लाख जनसंख्याले पर्यटनमा केही न केही खर्च गर्छन् । यो संख्यालाई आधार मान्दा वर्षेनी ठुलो संख्यामा नेपालीहरु घुमफिर गर्न निस्कने गरेको देखिन्छ । सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनी भ्रमण गरेकोमा १४ लाख एक हजार १७८ जना नेपाली नै थिए. यसले पनि आन्तरिक पर्यटनको फैलावट अनुमान गर्न सकिन्छ । अहिलेसम्म लुम्बिनी प्रदेशको पर्यटन क्षेत्र आन्तरिक पर्यटककै भरमा चलिरहेको कुरा सबैलाई राम्रै थाहा छ ।


नेपाल सरकारले आन्तरिक पर्यटन विकासलाई प्राथमिकता दिएको छ । पर्यटन नीति २०६५ ले पनि विभिन्न १६ वटा नीतिगत क्षेत्रहरूमध्ये आन्तरिक पर्यटनलाई एक प्रमूख राष्ट्रिय नीतिगत कार्यक्रमको रूपमा मान्यता दिएको छ । यसले आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको एक सहायक अङ्गको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । आन्तरिक पर्यटनको विकासका लागि नेपाल सरकारले वि.स. २०७३ लाई “घुमफिर वर्ष” को रुपमा घोषणा समेत गरेको थियो । पछिल्लो समयमा तिनै तहका सरकारले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न कर्मचारीहरुलाई घुमफिरमा प्रोत्साहीत गर्ने कार्यक्रमहरु संचालन गरिरहेका छन् । तर पर्यटकीय स्थलहरुमा नेपाली पर्यटकहरुलाई मान्छे नै नगन्ने, उनीहरुलाई तोकिएको रकम तिर्दा पनि पर्यटकीय सेवा सुविधा प्रयोग गर्न नदिने गरेको गुनासो बारम्बार सुनिने गरिएको छ । आन्तरिक पर्यटकलाई वेवास्ता भएकै कारणले अहिलेपनि लुम्बिनी प्रदेश र छेउछाउका क्षेत्रबाट वर्षेनी ठुलो संख्यामा विद्यार्थीहरु, सहकारी सस्थाका पदाधिकारीहरु, सामाजिक सस्थाका कर्मचारीहरु, जनप्रतिनिधिहरु भ्रमणको लागि भारत, चिन, थाइल्याण्ड, श्रीलंका. दुबईजस्ता विभिन्न ठाउँमा पुग्ने गरेका छन् ।

घुम्न खोज्ने नेपालीहरुलाई पर्यटकको सुविधा उपलब्ध गराउने, विद्यालयको पाठ्यक्रममा स्थानीय क्षेत्रका पर्यटकीय स्थानको जानकारी दिने, बाल शिक्षणमा घुमाइबाट सिकाइलाई प्राथामिकता दिने काम गर्न सकियो भने मात्र प्रदेशका सबै स्थानमा पर्यटकहरु घुम्न जाने वातावरण निर्माण हुन्छ । आन्तरिक पर्यटकहरुको घुमफिरको क्रम बढ्न सक्यो भने उनीहरु मार्फत नै देश विदेशमा लुम्बिनी र समग्र नेपालकै पर्यटकीय स्थल र अवसरको बारेमा प्रचार प्रसार हुन्छ जसले गर्दा नेपालमा दिगो पर्यटन विस्तार हुन सक्छ ।

छ . स्थानीय उत्पादनमा जोड
लुम्बिनी प्रदेशका सबै पर्यटकीय क्षेत्रमा विदेशी उत्पादनकै हालीमुहाली छ । खानेपानीदेखि भोजनसम्म, मेच कुर्सिदेखि डोरीसम्म विदेशी उत्पादन नै प्रयोग भैरहेको छ । यो अवस्थाले गर्दा पर्यटन उद्योगले गरेको कमाईको ठुलो हिस्सा विदेशतर्फ नै गैरहेको छ । कुनै पनि ठाउँमा घुम्न जाने पर्यटकले स्थानीय स्वादका खाना, बसाई र आतिथ्यता खोज्ने गर्छन । तर नेपालमा मौलिकता भन्दापनि अन्तराष्ट्रिय स्वाद पस्कन पर्यटन व्यवसायीहरु अघि सर्छन । लुम्बिनी र सेरोफेरोमा आएका पर्यटकहरुले घुमफिर गरेर फर्कदा स्थानीय चिनो लैजान खोज्छन तर अहिलेसम्म यहाँ स्थानीय ब्रान्डको भरपर्दो उत्पादन पर्यटकलाई बेच्न सकिएको छैन ।

स्थानीय कला, सीप र मौलिकता झल्कने सामाग्रीहरु पर्यटकलाई बेच्न सक्ने र उनीहरुले कोशेलीको रुपमा ति सामग्रीहरुलाई आफुसंग लैजाने बनाउन सकियो भने मात्र पर्यटनबाट स्थानीय क्षेत्रले लाभ लिन सक्छ र पर्यटनबाट गरेको कमाई स्वदेशमै रोकिन सक्छ । लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनामा पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसँग जोड्ने रणनीति निर्धारण गरिएको छ । यसको सफल कार्यान्वयन भएमा स्थानियहरुले पर्यटन बात ठुलो लाभ प्राप्त गर्न सक्नेछन र स्थानीय उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण पनि हुनेछ ।

ज. आध्यात्मिक वातावरण निर्माण
वृहत्तर लुम्बिनी क्षेत्रमा भ्रमण गर्न आउनेहरु बौद्ध दर्शन र शान्तिको खोजीमा आएका हुन्छन । उनीहरुलाई खोजेको कुरा दिलाएर लामो समयसम्म यो क्षेत्रमा राखिरहन यहाँ बौद्ध वातावरण निर्माण हुनु जरुरि छ । यसको लागि कंक्रिटका ठुला संरचना निर्माण गर्नुभन्दा पनि बौद्धकालिन वन विकास, बौद्ध समुदाय वा बौद्ध दर्शन बुझेका समुदाय भएका वस्ती निर्माण, परम्परागत शैलिका गुम्बा, विहार र चैत्य निर्माण गर्नुपर्छ । सिद्धबाबा, रेसुंगा, रिडी, राम्दी, स्वर्गद्वारी बागेश्वरी जस्ता हिन्दु धार्मिक स्थलमा मात्र नभएर ति क्षेत्रमा पुग्ने मार्गको छेउछाउ समेत आध्यात्मिक वातावरण तयार गर्नुपर्छ । यसले धार्मिक र आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न र दिगो लाभ लिन मद्दत पुग्नेछ ।


झ. पर्यटनमा अंन्तरपालिका आवद्धता
कपिलवस्तु, लुम्बिनी सास्कृतिक , देवदह र रामग्राम नगरपालिकाहरू वृहत्तर लुम्बिनीका अभींन्न अंगहरु हुन् । यसबाहेक बर्दघाट, सुनवल, बुटवल, सैनामैना, बाणगङ्गा र बुद्धभूमि नगरपालिकाहरू पनि बौद्ध पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु हुन् । अहिले यी तिन जिल्लाका मात्र नभएर सबै जिल्लाका धेरै पालिकाहरुले पर्यटनका योजनाहरु धमाधम बनाइरहेका छन् । प्रदेशका कुनैपनि स्थानीय तहका पर्यटकीय सम्पदाहरूले पर्यटकहरुलाई धेरै समय बसाल्न सक्दैनन् । पर्यटकीय स्थल र पर्यटकीय पुर्वाधारहरु फरकफरक पालिकाहरुमा हुने भएकोले एउटा स्थानीय सरकारको योजनाले मात्र पर्यटन विकास हुने र फाइदा लिन सक्ने देखिदैन ।

पर्यटकहरुलाई बढीभन्दा बढी समय आफ्नो ठाउँमा टिकाइराख्न र उनीहरुलाई बढिभन्ंदा बढी सुविधा दिनको लागि स्थानीय सरकारहरु विचमा अन्तरआवद्धता र सहकार्य हुनु जरुरि छ । स्थानीय सरकारहरुले पर्यटन योजना बनाउदा एक अर्कोसँग आवद्ध हुने, एक अर्को भूगोलका सुविधाहरुको प्रयोग गर्ने गरि बनाउनु पर्छ.। अंन्तरपालिका पर्यटन आवद्धताले गर्दा श्रोतको उपयोग , बाडफाँड गर्न, कार्यक्रमहरुमा दोहोरोपन आउन नदिन र आपसी विवाद आउने नदिन मद्धत पुग्छ । पालिकाहरुले सयुक्त रुपमा पर्यटनका नीति र कार्यक्रमहरु बनाएर काम गर्दा पर्यटकहरुले बढी सुविधा प्राप्त गर्न सक्छन र स्थानीय क्षेत्रले पर्यटनबाट दिर्घकालिन रुपमा फाइदा प्राप्त गरिरहन सक्छ ।

र अन्तमा,
लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम लगायतका अनेकौ बौद्ध सम्पदाहरु लगायतका सास्कृतिक– पर्यावरणीय पर्यटकीय सम्पदा भएर पनि हामीहरुले पर्यटकलाई आकर्षित गर्न सकेका छैनौ । पर्यटकीय सम्पदा हुदैमा पर्यटकहरु आउदैनन भन्ने कुरा अहिलेसम्मको अभ्यासले देखाइसकेको छ । वृहत्तर लुम्बिनी लगायत लुम्बिनी प्रदेशकै पर्यटनबाट दिगो लाभ लिनको लागि विश्व पर्यटन बजारमा लुम्बिनी पर्यटनलाई मौलिक स्वरुपमा पस्कन सक्नुपर्छ । स्थानीय वासिन्दाहरुले अपनत्व ग्रहण गर्ने, राज्यले पर्यटकीय पूर्वाधारको विकास गरिदिने र नेपालीहरुले देशभित्र घुम्नुपर्छ भन्ने भावनाको विकास गर्ने हो भने लुम्बिनी र यसको सेरोफेरोलाई पर्यटकको कहिल्यै कमि हुदैन र पर्यटनको प्रचार गर्न कसैको मुख ताक्नु पर्दैन ।

आन्तरिक पर्यटक, स्थानीय पर्यटन स्वाद र पर्यटनमैत्री सस्कार र आध्यात्मिक पर्यटकीय वातावरणको अभिवृद्धि गर्न सकियो भने लुम्बिनी क्षेत्रले मात्र नभएर देशले नै दिगो पर्यटकीय लाभ हासिल हुने कुरामा शंकै गर्नु पर्दैन ।

(वातावरण तथा पर्यटन अनुसन्धान तथा लेखनमा संलग्न कंडेल बौद्ध अध्ययन विषयमा पिएचडिका सोधार्थी हुन्)

 

 

 

अपडेट : 2021-09-27 08:37:50




your-image

Leave a Comment