जेठ १२ २०७७   |  2020 May 25    


माफ गर प्रिय म हारेको छु



news

ति सुनौला केश, ति काला नयन
त्यो पुष्ट छाती, त्यो गोरो बदन
मिलेका ति दन्त लहर
आहा कति सुन्दर !
देखेर सोह्र बर्षे जवानी
मोहित भएँ म, बन्यो कहानी ।।

लमी पठायौं, कुरा मिल्यो
आतुर थिए तिम्रा जननी पनि,
दायीत्वको एउटा वोझ बिसाऊँ भनि,
पुण्य प्राप्ति गर्नु थियो,
स्वर्गको ढोका खोल्नु थियो,
मलाई मन पर्यो, तिम्लाई पर्यो परेन रु
त्यो सोध्नु जरुरी थिएन ।।

सबै दङ्ग, सबै प्रशन्न
मात्र रुने तिमी, डाँको छोड्यौ,
रुँदै रुँदै डोली चढ्यौ
रुनु फगत, औपचारिकता ठानीयो ।
संस्कार धानेको परापूर्व देखि मानियो ।।

मिर्मिरे संगै उठ्यौ,
घर धन्दामा जुट्यौ,
धन्दा सकेर मेरो गोडा धोयौ,
र, पवित्र जल शिरमा लगाई
घुटुक्क पियौ र ढोग्यौ मलाई,
दिएँ भरपुर आशिर्वाद पायौ ।
किनकी,
म पति परमेश्वर
चरणकी तिमी दासी थियौ ।।

थुनेर पिंजडा भित्र तिमीलाई,
म थिचीरहें, मिचीरहें
चुसिरहें, गिजोलीरहें
यो समाजलाई साक्षी राखेर
वैधानिक बलात्कारमा जुटिरहें
म तिम्रो अस्मिता लुटिरहें
तिमी चुपचाप सहिदियौ
किनकी तिमी नारी थियौ
तिमी पोथी थियौ
म तिम्रो रक्षक, पाले थिएँ ।
पितृ सत्ताको भाले थिएँ ।।

एक धर्को सिंदुरले
म लक्ष्मण रेखा कोरेको थिएँ,
अग्नि साक्षी राखी, सात फेरो लगाएर
तिमीलाई बन्धनले डोरेको थिएँ,
न उम्कन सक्यौ, न भाग्न सक्यौ
फक्रन नपाउँदै त्यो कोपिला,
उदात्त तिम्रा चाहनाहरु,
थिलो थिलो पार्दै तिम्रा सपनाहरु,
चुँडिदिएँ यी निर्दयी हातले ।
अत्याचारमा रमाएँ म
यो सामाजिक संस्कारजन्य साथले ।।

म अन्धो थिएँ,
म लाचार थिएँ,
पितृसत्ताको दम्भ बोकेर,
गर्वले छाती फुलाउँथें,
पुरूषत्वको डङ्का ठोकेर
प्रताडीत बन्यौ, सबै सह्यौ
चुपचाप, चुपचाप आँशु पियौ
सक्तिन म त्यो जवानी फर्काउन
न सक्छु ति टुटेका सपना सजाउन


तिम्रो जीवन मैले बर्वाद पारेको छु ।
मलाई माफ गर प्रिय म हारेको छु ।।
मलाई माफ गर प्रिय म हारेको छु ।।।

अपडेट : 2020-05-23 15:07:38




your-image

Leave a Comment