जेठ १२ २०७७   |  2020 May 25    


बिरामीमाथि क्रिमसन अस्पतालको खेल !



news

गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका एक शिक्षक जेष्ठ १ गते रुपन्देहीको क्रिमशन अस्पतालमा भर्ना भए । उपचारको क्रममा शंका लागेपछि उनको स्वाब संकलन गरियो । स्वाबको रिर्पोटमा उनको कोरोना पोजेटिभ देखियो ।

उनको मृत्यु भएको र शब व्यवस्थापनका लागि भन्दै क्रिमशन अस्पतालबाट प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयलाई बुधबार विहान खबर आयो । बुधबार बिहान नै अस्पतालका संचालक तथा तिलोत्तमा नगरपालिकाका वडाअध्यक्षले तिलोत्तमा नगरपालिकाका मेयरलाई मृत्यु भएको खबर गरे ।


मिडियाहरुले यि सूचना पाउने व्यक्तिहरु र अस्पतालसँग जोडिएका व्यक्तिसँगको अन्य थप स्रोतलाई जोडेर उपचाररत बिरामीको मृत्यु भएको समाचार प्रकाशन गरे । समाचार प्रकाशित भएसँगै सतहमा थरी थरीका कुराहरु आए ।

बिरामीको मृत्यु भयो ।

बिरामी ज्यूँदै छ ।

बिरामीको उपचार हुदैछ ।

अवस्था स्थिर छ । आदि, इत्यादि ।

अस्पतालले आफैले दिएको सूचनालाई फेर्दा मेयर देखि मन्त्री, पत्रकारदेखि मिडियाहरु विवादमा तानिए । अहिलेको प्रविधीको युगमा दुई थरी कुरा बाहिर आएपछि आआफ्ना बुझाइ, अभ्यासमा रहेको मान्यताका आधारमा फरक फरक व्याख्या, तर्क र टिप्पणी हुने नै भए ।

पुनः दोस्रो पटक क्रिमशन अस्पतालले बिहीबार मृत्यु भएको जानकारी मन्त्रालयलाई गरायो । यसले उनको मृत्यु बिहीबार भयो कि बुधबार ? भन्ने बिषयमा भने टिकाटिप्पणी हुन छाडेको छैन् । दुई थरी कुरा आउदा यस्तो हुनु अस्वाभाविक पनि होइन् ।


यसले पत्रकारिताको क्षेत्रमा लागेका तर विवादमा नतानिनेहरुका लागि पनि बिर्सन नसकिने दुइवटा ठूला पाठ सिकाएको छ । पहिलो पाठ भनेको समाचारको स्रोत पनि कहिलेकाही चिफ्लिन सक्छ या चिफ्लाउन पनि सक्छन भन्ने (स्रोतले कुरा फेर्नसक्छ) । दोश्रो पाठ भनेको कसरी कसरी चिफ्लियो ? र त्यसो हुनुका कारणहरुको पछिका दिनहरुमा पनि निगरानीका साथ खोजी गर्नुपर्छ भन्ने । अर्थात त्यसभित्र पनि खोजी पत्रकारिता शुरु गर्नुपर्छ भन्ने ।

 

गलतले सजाय पाउनै पर्छ

जिउँदो मान्छेलाई मरेको समाचार लेख्ने संचारकर्मीले छुट पाउनु हुदैनन् ।

गल्ती गर्नेले कार्वाही भोग्नुपर्छ ।

समाजिक सन्जालमा पनि त्यही नै प्रतिक्रिया आइरहेको छ ।

आउनुपनि पर्छ ।

प्रेस काउन्सिलले पनि ३९ वटा अनलाईनलाई कार्वाही गरेको कुरा सार्वजनिक भइसकेको छ । प्रेस काउन्सिलबाट सतहमा देखिएको गलत समाचारलाई निगरानी गर्नु स्वागत योग्य कुरा नै हो । किनकी मिडिया छाडा हुनुहुदैन । समाचार सत्य, तथ्य र विश्वासिलो हुनुपर्छ । त्यो हुन सकेन भने मिडियाप्रति जनताको विश्वास र भरोसा टुट्छ । पत्रकारिताको क्षेत्रमा लाग्नेले त्यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सजाय भोग्नुपर्छ ।

अर्कोतिर यदि मान्छे मरेको छ भने त्यसलाई जिउँदो भन्न पनि पाइदैन । मान्न पनि सकिदैन । त्यसले पनि समाजमा भ्रम पैदा गर्छ । अन्योलता ल्याउँछ । समाजलाई लडाउँछ । त्यस्ता झूठहरु लामो समयसम्म सत्य भएर रहन पनि सक्दैनन् ।

 

पत्रकारितामा स्रोतको प्रयोग
पत्रकारिताको अभ्यासमा घटना प्रधान समाचारहरु स्रोतबाट प्रमाणीकरण गरेर समाचार प्रसारण गरिन्छ । समाचारको नियमित स्रोत, सरकारी आधिकारीक स्रोत, संस्थासँग जोडिएका अधिकारीहरु समाचार स्रोतका निकै बलिया स्रोत हुन् । यो अहिले पत्रकारिता देखिएको अभ्यास हो । लकडाउनको समयमा त झनै स्रोतको आधारमा नै समाचार बनाउनुपर्ने संचारकर्मीहरुको बाध्यता छ ।

अहिले क्रिमशन अस्पतालसँग जोडिएर प्रकाशित प्रसारित समाचार र बारिह आएका कागजी प्रक्रियालाई हेर्दा झुठा, गलत र भ्रामक देखिएपनि स्वतन्त्र रुपमा र पत्रारिताको अभ्यासका हिसाबले मिडियाले प्रयोग गरेका स्रोतको अनुसन्धान गरेर हेर्ने हो भने ति समाचारहरु झुठ छैनन् र हुदैनन् पनि ।
अर्कोतर्फ मृत्युको समाचार संप्रेषणमा थप स्रोतहरु लिनुपर्ने अझै धेरै हुनसक्ला तर मृत्यु भए नभएको पत्रकार आफै पुगेर हेर्ने र नाडी छामेर समाचार लेख्ने अभ्यास पत्रकारितामा भएको देखिदैन ।

त्यस्तै जिउँदो मान्छेलाई मरेको भनेर समाचार लेख्ने रहर कुनै संचारकर्मीलाई हुदैन नै । मान्छे मरेको भन्दा पनि बाँचेको समाचार सुन्न पाउँदा संचारकर्मी खुसी नहुने झन कुरै भएन । अझै कोरोनालाई जितेको व्यक्तिको समाचार लेख्न संचारकर्मीहरु झनै आतुर भएको बुटवल धागो कारखानामा बनाइएको अस्पतालमा एक बिरामीले कोरोना जित्दा यस क्षेत्रका संचारकर्मीहरुले लेखेका समाचारहरु प्रमाणकै रुपमा पनि छन् ।

 

बिरामीको मृत्युमा देखिएका शंका उपशंकाहरुः

बुधबार र बिहीबार दुई दिनको मात्रै क्रिमशन अस्पतालले दिएको सूचनालाई केलाएर हेर्ने हो भने बिरामीको मृत्युमा शंका उपशंका गर्ने धेरै ठाउँ देखिन्छ । यो अस्पतालकै कारणबाट सृजित भएको समस्या हो । जस्तै,

१) स्वास्थ्य निर्देशनालयलाई अस्पताल आफैले फोन गरेर मृत्युको जानकारी गराउनु, तिलोत्तमाका मेयरलाई पनि अस्पतालकै संचालक आफैले मृत्यु भएको जानकारी दिनु । अर्थात बिरामीको मृत्यु भयो भएन भनेर ति कार्यालय र व्यक्तिले सोधेका होइनन् । अस्पतालबाट दुई निकायमा यदि मृत्यु नभएको हो भने, किन जानकारी गराउने प्रयास भयो ।

२) समाचार स्रोतमा ति दुई जना व्यक्तिहरु मेयर बासुदेव घिमीरे र मन्त्री सुदर्शन बराललको नाम जोडिएर समाचार प्रकाशित भएपछि अस्पतालले मृत्यु भएको होइन भनेर कुरा फेर्नु । (सांक्षी प्रदेश ५ को सामाजिक विकास मन्त्रालय)

३) प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालसँगको फोन सम्पर्कमा क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेले अस्पतालबाट भएको गल्ती कमजोरीको क्षमा याचना गर्नु ।

४) मृतकका आफन्तजनलाई बुधबार विहान नै बिरामीको नारी नभेटिएको जानकारी चिकित्सकहरुबाट दिइनु ।

५) बुधबार साँझ नगरपालिकाको स्वास्थ्यकर्मीबाट पुनः स्वाब लिन पुगेपछि अर्कोदिन बिहीबार बिहानै ७ः१० बजेको समयमा हतार हतार अस्पतालले बिरामीको मृत्युको घोषणा गर्नु ।

 

किन बिहीबार बिहानै हतारियो अस्पताल ?

१) बिरामीको स्वाब पुनः परिक्षणका लागि नगरपालिकाको अगुवाईमा बुधबार साँझ अबेर स्वास्थ्यकर्मीहरु क्रिमशन अस्पताल पुगे । स्वाब लिने क्रममा ति स्वास्थ्यकर्मीहरुले बिरामीको वास्तविक अवस्था जानकारी पाए ।

२) यसबाट क्रिमशन अस्पताल प्रशासनमात्रै होइन चिकित्सकहरु पनि तर्सिए । स्थानीय सरकारका हिसाबले नगरपालिक, स्थानीय सरकार र संघिय सरकारको समन्वयकारी भूमिका निभाइरहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिरामीको अवस्थाको बारेमा सुइको पाएपछि राती नै अस्पतालले रणनीति परिवर्तन गर्यो । बुधबार जस्तै पुनः दोस्रो पटक उपचाररत बिरामीको मुत्यु भएको खबर बिहानै सामाजिक विकास मन्त्रालयलाई खबर गर्यो ।

यसरी बिहानै बिरामीको मृत्युको जानकारी गराउनुमा मेयर र मन्त्री अस्पतालको बुधबारको व्यवहारबाट असन्तुष्ट छन् भन्ने अस्पतालले अघि नै आकलन गरिसकेको थियो । कुनै न कुनै हिसाबले ति निकायबाट अस्पतालमा हस्तक्षेप हुन्छ कि भन्ने डर अस्पतालमा रहेको थियो ।
अर्कोतिर मिडियाहरु पनि बुधबारको घटनाले चिडिएका छन र मिडियाकर्मीलाई अस्पतालका असतुष्ट पक्षबाट सूचना चुहिन्छ कि भन्ने डर पनि अस्पताललाई उत्रिकै थियो ।

 

अस्पतालको लापरवाहीः आफन्त

बिरामीको उपचारमा अस्पतालले लापरर्वाही गरेको मृतकका आफन्तले बताएका छन् । मृतकका भाईले स्वाकृतीबीना ढाडबाट पानी निकालेको बताए । उनले बिरामीको बारेमा अवस्थाको नियमित रुपमा जानकारी नगराएको आरोप समेत अस्पताललाई लगाएका छन् ।


उनका अनुसार उपचारमा संलग्न चिकित्सकले बुधबार बिहान बिरामीको नाडीको चाल पत्ता लगाउन नसकिएको समेत जानकारी गराएका थिए । मृतकका आफन्तहरुले उपचारमा लापरवाही भएको भन्दै सिसि टिभि फुटेज उपलब्ध नगराउदासम्म शब नउठाउने अडान लिएका छन् ।

 

घटना भित्रको घटनाक्रम

१) मुख्यमन्त्रीको निर्देशनमा प्रदेश ५ सरकारले क्रिमशन अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा प्रयोग गर्न चाहेको थियो । त्यसको लागि स्थानीय तहलाई कुराकानी अगाडी बढाउन लगाइयो, त्यसमा मेयर बासुदेव घिमीरे अघि सरे । अस्पतालका संचालक र प्रशासनले त्यस कुरालाई स्वीकार गरेन । त्यसपछि स्थानीय जनप्रतिनिधीको हिसाबले मन्त्री लिला गिरीले पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा पहल गरे । त्यसमा पनि प्रगति भएन् । पुनः प्रदेश सरकारका प्रतिनिधिहरु समेत पहल गरे । त्यसपछि पनि अस्पताल प्रशासनले स्वीकृति दिएन र कोरोना बिशेष अस्पताल बनाउने कुरा त्यत्तिकै सेलायो ।

२) कोरोना बिशेष अस्पताल बनाउने कुरामा अस्पतालका संचालकहरु स्थानीय जनप्रतिनिधीको अगुवाई गरेका हिसाबले मयेर बासुदेव घिमिरे र विभागिय मन्त्रीको रुपमा सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग असन्तुष्ट बने ।

३) यसै बीचमा लकडाउनको बीचमा क्रिमशन अस्पतालले ओपिडी सेवा बन्द गरेको समाचारहरु बाहिर आयो । उक्त खबर पाएपछि मेयर घिमीरेले अनुगमन गरे । अनुगमनमा अस्पतालका गल्ती कमजोरी देखिए । ति बाहिर आए । यसबाट पनि अस्पताल संचालक, प्रशासन मात्र होइन चिकित्सक पनि मेयरसँग असन्तुष्ट बने ।

४) लुम्बिनी प्रादेशिक अस्पतालभित्र रहेको सम्झौताका अबधि सकिएर पनि बसिरहेको नीजि फार्मेसीलाई सामाजिक विकास मन्त्री सामाजिक विकास मन्त्री सुदर्शन बराल आफै सक्रिय भएर हटाएका थिए । क्रिमशन अस्पतालका संचालक उक्त फार्मेसीका संचालक समेत भएको हुदा मन्त्रीसँग उनिहरुको भित्री रिसीबी उत्तिकै थियो ।

५) माओवादीको जनयुद्धको बेला सुदर्शन बराल गुल्मीका जनसरकार प्रमुख थिए । त्यतिबेला माओवादीले अहिले क्रिमशन अस्पतालका अध्यक्ष रहेका चिन्तामणी पाण्डेको गुल्मी अस्लेवाको घरमा भाडाकुडा फाल्ने देखि दुकानको सरसामान लैजानेसम्मका काम गर्यो । त्यस घटनापछि उनि पहाडको गाउँको घरबाट बिस्थापित भए । त्यतिबेलाको घटनाले पनि अस्पतालका अध्यक्ष मन्त्रीप्रति पोजेटिभ छैनन् ।

६) तिलोत्तमा नगरपालिकाले मुटु अस्पताललाई जग्गा दिने निर्णय गर्यो, त्यसमा असहमति जनाउँदै मेयरलाई खबर गर्ने क्रिमशन अस्पतालका संचालक तथा तिलोत्तमाका वडा अध्यक्ष दुर्गा पाण्डेले राजीनामा दिएर केही दिन गुप्तबास बसे ।


यि र यस्ता धेरै कुराहरु बुधबार भएको घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको ति घटनासँग जोडिएको देख्ने जान्नेहरु बताउँछन् । अप्रत्यक्ष रुपमा लाग्ने र लगाउनेहरुको पनि उत्तिकै बल पुर्याएको उनिहरुको तर्क छ । त्यसमा बिरामीको प्रयोग गरी घटनालाई उल्टोपाल्टो गरेको त्यसरी बिश्लेषण गर्नेहरुको तर्क छ ।


यद्यपी तिलोत्तमा नगरपालिकाका बासुदेव घिमिरेले खबर दिने आफ्नो वडाअध्यक्ष तथा क्रिमशन अस्पतालका संचालक र लापरवाहीको बिषयमा छानबिन गरी कार्वाहीको दायरामा ल्याउने बताएका छन् ।

तर अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डे भने आग्रह पूर्वाग्रह नराखी अस्पताल संचालन गरिहेको तर्क गर्छन । बुधबार उनले बुटवल टुडेसँग आफुहरुले कुनै पनि कसर नराखेर बिरामीको उपचार गरेको दाबी गरे । बिरामी निको भएर जादा अस्पतालकै प्रचार प्रसार हुने र आफुहरुलाई समेत खुसी र गर्व लाग्ने उनले सुनाए ।

 

र अन्त्यमा,

बिष्णु पौड्याल आफ्नो फेसवुकमा लेखेका छन्

“क्रिमसन अस्पताल र कोरोना पोजेटिभ विरामी प्रकरण वारे !“


डिजिटल दुनियाँ छ ।

ठिक र वेठिक छुट्टाउन सक्ने ठूलो जमात छ । विश्व कोभिड १९ को महामारीमा छ । नेपाल उच्च जोखिममा छ । यस्तो वेला “विश्वासको संकट“ पटक्कै सुहाउने विषय होईन ।

हिजो जे भयो,
जसको स्वार्थमा भयो, त्यो नराम्रो भयो । हिजोको मानसिकताले हामी कसैलाई पनि राम्रो गर्दैन । हामी सवै नैतिकवान वन्नु पर्छ । संवेदनशील बन्नु पर्छ । सत्य तथ्य सुचना लिने र दिने गर्नु पर्छ ।

हामी नेपाली जातको, नेपालीको नाता–सम्बन्ध मात्र होईन, विश्वास, ईमानदारीता, आदर, सम्मान, माया र प्रेमको नाता–सम्बन्ध पनि हो ।
तसर्थ “हिजोको कुरा दोहरिन नदिने प्रतिवद्वता गरौ ! समस्याहरुको मिलेर सामना गरौ !!“
अन्त्यमा, कोरोना संक्रमितवाट मृत्यु हुनु भएका गृह जिल्ला गुल्मी मदानेका शिक्षक मित्र प्रति हार्दिक श्रद्धाञ्जली !

(यो सामग्री पत्रकारिताको भाषामा भन्दा पनि ठाडो भाषामा तयार गरिएको छ । यसमा बुधबारको समाचार प्रकाशित भएपछि बिभिन्न व्यक्तिहरुले दिएको जानकारीलाई पनि समावेश गरिएको छ । बुधबार प्रकाशित मृत्युको समाचारको स्रोतका प्रमाणहरु बुटवल पब्लिकेशनसँग सुरक्षित रहेको पुनः जानकारी गराइन्छ)

अपडेट : 2020-05-24 09:36:04




your-image

Leave a Comment