आषाढ ३० २०७७   |  2020 Jul 14    


संकटको समयमा सुरक्षित श्रम अभ्यास


news

नेपालमा औद्योगिकीकरण कछुवाको चालमा छ । देशमा धेरै किसिमका कच्चा पदार्थ र बजार भएपनि नेपाल र नेपालीका लागि आवश्यक पर्ने सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुको संख्या न्यून रहेको छ । उद्योग विभागका अनुसार २०७६ साल फाल्गुनसम्म नेपालमा आठ हजार २१२ वटा उद्योगहरु दर्ता भएका छन् । र ती उद्योगहरुमध्ये तीन हजार ८० वटा उद्योगहरु मात्र उत्पादनमूलक उद्योग रहेका छन् । सिमित पूँजीमा संचालनमा आएका यस्ता उद्योगहरुले न आधुनिक प्रविधिलाई प्रयोगमा ल्याउन सकेका छन्, न त बजारको आवस्यकता र सामाजिक उत्तरदायित्वमा नै ध्यान दिन सकेका छन् । सिमित पूँजी र पुरानो प्रविधि अनि तत्कालिन नाफामुलक सोचका साथ अधिकांश उद्योगहरु संचालित हुने भएकोले नेपालका उद्योगहरुमा बारम्बार श्रम र वातावरण सम्बन्धि विवादहरु आइरहन्छन् । बारम्बार दोहोरिने यस्ता विवादले गर्दा कतिपय उद्योगहरु सधैँका लागि बन्द समेत भएको पाइन्छ ।

पछिल्ला वर्षहरुमा उपभोक्ताहरु सर्वोत्तम उत्पादनतर्फ आकर्षित हुँदै गएका छन् । सर्वोत्तम उत्पादन हुनको लगि गुणस्तरीय कच्चा पदार्थ र आधुनिक प्रविधिको प्रयोग भएका उत्पादनलाई मात्र नहेरेर उपभोक्ताहरुले उत्पादनमा श्रमको प्रयोग, वातावरणीय प्रभाव र सामाजिक उत्तरदायित्व जस्ता कुराहरुमा ध्यान दिन थालेका छन् । बालश्रमको प्रयोग भएको कारणले नेपालका कार्पेट र गार्मेन्ट्सले अन्तर्राष्ट्रिय बजार गुमाउँदै जानु, विषादीको प्रयोग भएको बहानामा चिया लगायत नेपाली उत्पादनले विदेशी बजारमा सहज प्रवेश नपाउनु यसका ज्वलन्त उदाहरणहरु हुन् । अहिले युरोप र अमेरिकी देशहरुमा देखिएको यो चासो र सचेतना विस्तारै नेपालमा समेत फैलिँदै गएको छ । यसले परम्परागत रुपमा संचालन भैरहेका उद्योगहरुलाई आफ्ना उत्पादनहरु उपभोक्ताहरुमा पु¥याउन पक्कै पनि मुश्किल हुनेछ ।

हरेक उत्पादनको लागि श्रम मुख्य आगत (इन्पुट) हो । स्वस्थ श्रम सम्बन्ध र सुरक्षिय श्रम वातावरणले मात्र उद्योग संचालनमा सहजता आउने भएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा श्रम सम्बन्धि धेरै मापदण्डहरु बनेका छन् । अन्तर्राष्ट्रिय मापदण्डहरुलाई ध्यानमा राख्दै नेपालले पनि श्रम ऐन मार्फत श्रमिकको स्वास्थ तथा सरक्षा र स्वस्थ श्रम सम्बन्धको व्यवस्था गरेको छ । गरिवीको कारणले श्रमिकहरुले श्रम मापदण्ड भन्दा पनि काम र ज्याला मात्र खोज्ने, मालिकहरुले श्रमिकलाई दास र मेशिनको रुपमा हेर्ने तथा सरकारी निकायहरुले श्रमिकको लागि भैरहेका व्यवस्थाहरूको उचित अनुगमन नगर्ने गर्नाले नेपाली श्रमिकहरु आधारभूत स्वास्थ्य र सुरक्षाको सुविधाबाट समेत वन्चित भएको पाइन्छ ।


सन् २०१९ को अन्त्यताका शुरु भएको कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको छ । यसबाट सबैभन्दा बढी श्रमिकहरु नै मर्कामा परेका छन् । नेपालमा पनि ३ महिना देखि चलिरहेको बन्दाबन्दीले गर्दा सबै उद्योग व्यवसाय ठप्प हुँदा श्रमिकहरुले रोजीरोटी मात्र गुमाएनन्, भोकभोकै पैदल यात्रा गरी कार्यस्थलबाट घर जान बाध्य भए । धेरै रोजगारदाताहरुले त बन्दाबन्दी शुरु हुने वित्तिकै उद्योग व्यवसाय बन्द गरेर कामदारलाई लखेटे । सरकारले पनि बैकल्पिक तरिकाले श्रमिकलाई काममा लगाउन सकिन्छ भन्ने नसोची काम बन्द गर्न लगायो । जसले गर्दा श्रमिकले काम, लगानीकर्ताले उत्पादन र उपभोक्ताले वस्तु गुमाउनु प¥यो । संकटमा कसरि श्रमिकलाई काममा लगाउन सकिन्छ ? संकटबाट श्रमिक र व्यवसायलाई जोगाउन सकिन्छ ? भन्ने पूर्व तयारी नभएको कारणले गर्दा अहिले ठूलो क्षति बेहोर्नु परिरहेको छ । कोरोना कहर तत्कालै अन्त्य हुने लक्षण नदेखिएकोले उचित श्रम अभ्यास नअपनाएमा नेपालको औद्योगिक क्षेत्रको अकल्पनीय नोक्सानी बेहोर्नुपर्ने निश्चित छ ।

बन्दाबन्दीमा उद्योग चलेनन । कतै स्थानीय सरकारले चलाउन दिएनन् र कतै उद्योग संचालकले चलाउने उपाय नै नजानेर उद्योग नै बन्द गर्न पुगे । तर यो अवधिमा केहि ईट्टा उद्योगहरु भने मज्जाले संचालनमा आएको थाहा पाइयो । बेटर ब्रिक्स नेपाल कार्यक्रममा समेटिएका ५ नम्बर प्रदेशका ईट्टाभट्टाहरुले लक डाउनको समयमा पनि सुरक्षित किसिमले उत्पादनलाई निरन्तरता दिन सके । असल श्रम सम्बन्ध र स्वस्थ वातावरणीय अभ्यास मार्फत उच्चस्तरीय उत्पादनमा सघाउने यस कार्यक्रमले बन्दाबन्दी शुरु हुने वित्तिकै कार्यक्रम लागु भएका ईट्टाभट्टाका मालिक र मजदुरलाई राखेर कसरि सामाजिक दुरी कायम राख्दै काम गर्न सकिन्छ भन्ने सिकाउनुको साथै कार्यस्थलमा पानी, मास्क र स्यानेटाइजर समेत उपलब्ध गरायो । बेटर ब्रिक्स नेपालले मजदुरलाई आवस्यक खाद्य सामग्रीको लागि सहजीकरण गरेपछि ईट्टा उद्योग संचालकहरुले पनि ईट्टाभट्टा परिसरमै गास बासको व्यवस्था गरि श्रमिकहरुलाई निरन्तर काममा लगाइरहे । उद्योग परिसर भित्र नै श्रमिकहरुलाई राखेर बाह्य सम्पर्क हुन् नदिनेगरी काममा लगाउने, स्वास्थ्य र सरसफाइमा ध्यान दिने र आवस्यक सामाग्रीहरु उपलब्ध गराउने काम बेटर ब्रिक्स नेपाल र उद्योग संचालकले गरकोले ईट्टा उत्पादन वर्षा शुरु नहुदासम्म निरन्तर चलिरह्यो । यो पद्दति अवलम्बन गर्दा श्रमिकहरु सुरक्षित श्रम अभ्यास गर्न पाइरहे भने उत्पादनले पनि निरन्तरता पायो । हेर्दा सामान्य लाग्ने यो कार्य औद्योगिक क्षेत्रको लागि वास्तवमै अनुकरणीय काम थियो तर धेरैले अभ्यासमै ल्याएनन् ।

उचित श्रम अभ्यास र श्रम व्यवस्थापन संकटको समयमा व्यवसायलाई निरन्तरता दिने सबैभन्दा ठूला औजारहरु हुन् । सामान्य समयमा केहि अतिरिक्त सुविधा र ज्यालाका लागि द्वन्द्व हुने गर्छन् र ती द्वन्द्वहरु सामान्य प्रयासमै समाधान हुन सक्छन् । तर संकटको समयमा श्रम वातावरण र श्रम सम्बन्ध जटिल हुने गर्छ । श्रमिकलाई काममा लगाइरहँदा समुदायमै जोखिम बढ्छ भने काममा नलगाउँदा श्रमिकलाई हात मुख जोर्न कठिन हुने, लगानीकर्ताको लगानी डुब्ने, राज्यको आपूर्ति तथा आर्थिक अवस्था डामाडोल हुने तथा उपभोक्ताले वस्तु तथा सेवा प्राप्त गर्न नसक्ने हुन्छ । अहिले कोरोनाले त्यस्तै सकसपूर्ण अवस्था सिर्जना गरेको छ । बन्दाबन्दी आंशिक रुपमा खुलेको छ तर समुदायमा संक्रमितहरुको संख्या बढिरहेकोले ढुक्क भएर उद्योग संचालन गर्न सकिने अवस्था छैन । मजदुरहरु आएर काम गर्दा कोरोना सर्ने डरले कतिपय स्थानीय तहले मजदुरलाई उद्योगसम्म आउन दिएका छैनन् र मजदुरहरुले बाध्यताले काम गर्न खोजे पनि काममा लगाउन सक्ने अवस्था छैन । यो अवस्थाको अन्त्य गर्नको लागि उद्योग संचालक र सरकारले स्वच्छ र सुरक्षित श्रम रणनीति ल्याएर उद्योग व्यवसायको निरन्तर संचालन गर्न ढिला गर्नु हुँदैन ।

कोरोना कहर कतिञ्जेल रहन्छ भन्ने थाहा छैन । यस्तो बेलामा उद्योग व्यवसाय संचालन गर्न पनि सकिँदैन र नगरी पनि भएको छैन । कोरोना कहर समाप्त भएपछि पनि यस्ता अन्य संकटहरु आउन सक्छन् । यस्ता समस्याहरुसंग जुध्दै उद्योग संचालन गर्ने दीर्घकालिन सोच व्यवसायी र सरकारका जिम्मेवार निकायमा आउनु जरुरी छ । श्रम ऐन र मापदण्डरुले व्यवस्था गरे अनुसारका संरचनाहरु तयार गरेर श्रमिकलाई काममा लगाउने हो भने पनि धेरै आपतकालीन अवस्थामा पनि उद्योग संचालन गरिरहन सकिन्छ । श्रमिकहरुलाई उद्योग परिसरमै आवास र भोजनको ब्यवस्था गरेर बाह्य भौतिक सम्पर्क हुन् नदिने, कार्यस्थलमै स्वास्थ्य र सुरक्षा सामग्री र सुविधा उपलब्ध गराउने, नियमित मनोपरामर्श र स्वास्थ्य जाँचको व्यवस्था गरेर श्रमिकलाई कामका लगाउन सकेमा कोरोना जस्ता महामारीको समयमा पनि उद्योग संचालन गर्न सकिन्छ । औद्योगिक क्षेत्रहरुमा त झन् बाहिरि सम्पर्क नहुने गरि बन्दाबन्दी गरेर माथि उल्लेखित व्यवस्था संयुक्त रुपमा गर्न सकिन्छ । यस्ता कामलाई उद्योग संचालकहरुले अतिरिक्त आर्थिक भारको रुपमा नहेरेर स्वस्थ श्रम सम्बन्ध र दिगो उत्पादनको आधारको रुपमा लिनुपर्छ ।

अपडेट : 2020-06-30 17:40:42




your-image

Leave a Comment