आषाढ ३० २०७७   |  2020 Jul 14    


धान दिवसः चर्चा छ, उत्पादन योजना छैन्


news

किसानको लागी धान खाद्यान्न मात्र नभएर प्रतिष्ठा पनि हो । विश्वमा साढे तीन अर्बभन्दा बढी मानिसहरूको खाना चामल हो । विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । खाद्यबालीको रुपमा धान नेपालमा लोकप्रिय छ । हिमालदेखि तराई मैदानसम्म धानको खेति हुन्छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धान बाली लगाइन्छ । राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २७.७ प्रतिशत रहेको छ । यसमध्ये खाद्यान्न तथा अन्य बालीको हिस्सा करिब ४५.२ प्रतिशत छ र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको तथ्यांक छ । जीविकोपार्जनको दृष्टिले सबैभन्दा धेरै नेपालीहरु खाद्यान्न बाली उत्पादनमा केन्द्रित छन् र यी बालीहरु मध्ये धानले नेपालमा मुख्य प्राथमिकता पाउने गरेको छ ।

नेपालीको लागि चामल खाद्यान्न मात्र नभएर सामाजिक सम्पन्नताको प्रतिक पनि बनेको छ । अरु अन्न खानेहरु भन्दा चामलको भात खान पाउनेहरु सम्पन्न मान्छे हुन् भन्ने पुरानो भ्रमले गर्दा जताततै चामलको माग हुने गरेको छ । हिजोका दिनहरूमा जस्तै भात खानकै लागि पहाडदेखि तराई बसाइ सर्ने क्रम अहिले कम भएपनि खाना खानु भनेको भात खानु हो भन्ने मानसिकता तराईदेखि हिमालसम्म बढ्दो छ । जनसंख्याको ठूलो हिस्सा खेतिपातीबाट पलायन र जनसंख्या वृद्धिको नेपालमा चामलको माग निरन्तर बढिरहदा धान उत्पादनमा भने वृद्धि हुन सकेको छैन । पांच दशक अघिसम्म नेपालबाट चामल निर्यात हुने गरेकोमा अहिले वार्षिक १ अर्ब को धान र ३० अर्ब बढीको चामल विदेशबाट आइरहेको बताइन्छ । आर्थिक वर्ष २०६८ ÷६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७६/७७ मा करिब ५५ लाख ५० हजार मेट्रिक टन मात्र धान उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ (आर्थिक सर्वेक्षण २०७६/७७) । थोरै खेतीयोग्य जमिन भएको नेपालजस्तो देशकोलागी धान उत्पादनको यो परिमाण कम भने हैन ।
मन्त्रालयका अनुसार धान उत्पादनमा प्रदेश नम्बर २ सबैभन्दा अघि छ । देशको कूल धान उत्पादनको एक चौथाई उत्पादन यहि प्रदेशमा हुने गरेको छ । प्रदेश नम्बर ५ मा देशको २१.४ प्रतिशत धान उत्पादन हुने गरेको छ र सुदुर पश्चिम र कर्णाली प्रदेशले देशको कूल धान उत्पादनको क्रमश ११.६ र २.४ प्रतिशत हिस्सा ओगट्छन् । चालु आर्थिक वर्षमा धान उत्पादन हुने क्षेत्रफलमा २.२ प्रतिशतले कमि आएको कारणले अघिल्लो वर्ष ८.९ प्रतिशतले बढेको धान उत्पादन चालु आर्थिक वर्षमा १.१ प्रतिशतले घटेको देखिन्छ । पछिल्ला वर्षहरुमा धानको उत्पादकत्व झिनो रुपमा वृद्धि भएपनि धानको उत्पादनमा खासै सुधार भएको छैन ।

नेपालमा धान उत्पादनमा अनियमितता आउनुमा प्राकृतिक र मानवीय दुवै कारणहरु जिम्मेवार देखिन्छन । प्राकृतिक प्रकोप, सिंचाइको अपर्याप्तता, मलखादको कमि र धान खेति गरिने जग्गाको क्षेत्रफलमा कमि जस्ता कारणले धान उत्पादन घटाउन भूमिका खेलिरहेका छन् । नेपालमा धानको कुल उत्पादन र उत्पादकत्व वर्षामा निर्भर रहिआएको छ । विगत केही वर्षको तथ्यांकलाई केलाएर हेर्दा मौसम अनुकूल भएका वर्ष धान चारदेखि पाँच लाख मेट्रिक टन बढी फलेको र मौसम प्रतिकूल भएका वर्ष यति नै मात्रामा घटेको देखिन्छ । अहिले पनि धेरै धानखेतहरुमा सिंचाइको व्यवस्था हुन सकेको छैन । नेपालको कूल खेतीयोग्य जमिन २६ लाख ६१ हजार हेक्टर मध्ये २०७६ फाल्गुन मसान्त सम्म जम्मा १४ लाख७९ हजार हेक्टरमा मात्र सिंचाई सुबिधा उपलब्ध छ (आर्थिक सर्वेक्षण २०७६÷७७) । यो सुबिधा मध्ये अधिकांश खोला नदि जस्ता सतही श्रोतमा आधारित छ । राम्रोसंग वर्षा नभएको समयमा यी श्रोतबाट पानी उपलब्धतामा कमि आउने र खडेरीको समयमा भूमिगत पानी पनि उपलब्ध नहुने भएकोले धानबालीमा सिंचाई सुबिधा पुर्याउन समस्या परिरहेको छ । त्यसका लागि धान उत्पादनको योजना हुन जरुरी छ । धान उत्पादन योजना लागु हुनुपर्छ ।

अचेल पशुपालनमा कमि आइरहेको छ र खेतको उर्बरशक्ति बढाउन रासायनिक मलको प्रयोग गर्ने प्रचलन बढ्दो छ । नेपालमा रासायनिक मल उत्पादन नहुने भएकोले किसानहरुले धान रोप्ने बेलामा कहिल्यै पनि पर्याप्त रासायनिक मल पाउदैनन् । तराईमा खुल्ला सिमानाको कारणले भारतबाट केहि सहज रुपमा मलखाद ल्याएर प्रयोग गर्न सकिएपनि पहाडी क्षेत्रमा सधै मलको अभाव हुने गरेको छ । कृषि अनुसन्धान परिषदले झन्डै ५ दर्जन धानका जातहरू सिफारिस गरिसकेको छ । तर किसानहरुले हावापानी र माटो सुहाउदा यस्ता उन्नत जातका धानहरु प्रयोग नगरी पुरानो र भारतबाट आयातित कमसल धानको विउ प्रयोग गरिरहेका छन् । त्यसैगरी धान खेतीमा आधुनिक प्रविधिको प्रयोग अति न्यून छ । पछिल्लो दशकमा तराई, उपत्यका र पहाडका मैदानी भूभागका धान खेतहरु मासेर प्लटिंग गर्ने कार्यले निकै तिब्रता पाएको छ । पहिले धान फल्ने तराई र उपत्यकाका खेतहरूमा अचेल कंक्रिटका जंगलहरु ठडिएका छन् । प्राकृतिक प्रकोपको चपेटामा धान खेति हुने जमिन घट्ने तथा सिमाक्षेत्रमा बनाईएका भारतिय बाँधको कारणले दक्षिणी क्षेत्रका धान खेतहरु डुवानमा पर्ने क्रम बढ्दो छ । श्रम शक्तिको कमी र सिंचाईको असुविधाले गर्दा पहाडमा धान खेति गर्न छोडिएको छ । यी सबै कारणले नेपालमा धान उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन ।

वि..सं. २०६८ को जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको छ । नेपालमा खाने मुखहरू बढिरहेको बेलामा धान उत्पादन भने पाच वर्ष पहिलेकै अवस्थामा रहेको देखिन्छ । केन्द्रीय तथ्यांक विभागले गरेको जिवनस्तर सर्वेक्षण अनुसार एकजना नेपालीले वार्षिक १२२ केजी खान्छन । हरेक दिन दुबै छाक चामलको भात खाँदा र अन्य सास्कृतिक कार्य गर्दा एकजना मानिसलाई एक वर्षमा करिब १४५ किलो चामल भए पुग्छ । विदेशमा गएकालाई छोडेर अहिले नेपालमा २ करोड ५० लाख मानिसले दुबैछाक भात खादा पनि करिब ३६ लाख मेट्रिक टन चामलले सबै नेपालीको भाते आवस्यकता पुरा हुन्छ , यो परिमाणको चामल नेपालमा उत्पादन हुने धानबाट सजिलै प्राप्त हुन्छ । यस हिसाबले हेर्दा धान उत्पादनमा नेपाल आत्मनिर्भर छ र खानको लागी चामल आयात गर्नु पर्दैन । तर असुरक्षित खाद्य भण्डारण र किरा तथा मुसाको कारणले ठुलो मात्रामा धान नष्ट हुने , तराईबाट भारत तर्फ धान विक्री हुने र जाँड रक्सि बनाउने जस्ता काममा चामलको प्रयोग हुने भएकोले देशमा सधै चामल अभाव हुने र विदेशबाट मगाउनु समेत परिरहेको छ । कृषि प्रधान देशमा खानकै लागि यतिधेरै चामल आयात गर्नुपर्ने अवस्था वास्तवमै लाजमदो कुरा हो ।

नेपालमा चामलको माग धेरै छ र आवस्यक उत्पादनको सम्भावना पनि प्रसस्त छ । तर धान उत्पादन, भण्डारण र चामलको प्रयोगमा उचित ध्यान दिन नसक्दा नेपालमा हरेक वर्ष चामल अभाव र चामल आयात बढिरहेको छ । चामल जस्तो सर्वप्रिय खाद्यान्नको उत्पादन घट्दै जानु र आयात बढ्दै जानुलाई आर्थिक र सामाजिक दृष्टिले राम्रो भन्न सकिन्न । नेपालको हावापानी र यहाको भूबनोट धान उत्पादनको लागि उपयुक्त भएकोले धान उत्पादनमा राज्य र जनस्तरबाट विशेष पहल हुनु पर्दछ । सबै भन्दा पहिले वस्ती विस्तारको नाममा धान खेत र ति खेतमा सिंचाई गर्ने कुलो मास्ने कार्यलाई तत्कालै रोक्नु पर्दछ । कृषि अनुसन्धान परिषदले माटोको अवस्था र पानीको उपलब्धतालाई विचार गरेर विकास गरेका उन्नत जातका धान रोप्ने कार्यलाई प्रोत्साहन दिनु पर्दछ । राज्यले किसानलाई सिंचाई, मलखाद र कृषि प्रविधिको प्रयोगमा सहयोग गर्नु पर्दछ । यी कार्यहरु गर्न सकियो भने नेपालमा धान उत्पादन बढाएर धानचामलको आयात प्रतिस्थापन गर्न अवश्यपनि सकिनेछ ।

 

अपडेट : 2020-06-29 07:58:47




your-image

Leave a Comment