आषाढ ३० २०७७   |  2020 Jul 14    


‘हामीलाई शुल्कको भारी नबोकाउ’


news

नेपाल मात्रै होइन अहिले बिश्व नै कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट थला परेको छ । हाम्रो देशमा २०७६ चैत ११ देखि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले लकडाउन (बन्दाबन्दी) गरेको थियो । भर्खरै मात्र आषाढ १ गतेदेखि अलिकति खुकुलो बनाएर हल्का हल्का ब्यापार ब्यवसाय सुरु हुँदैछ । यद्यपि त्यति लामो पूर्ण लकडाउनको कारण आर्थिक गतिविधिहरु चलायमान हुन सकेका छैनन् । जब जब लकडाउन खुकुलो हुँदै गयो कोरोनाको संक्रमणले पनि उत्तिकै रुपमा गति लिन थाल्यो र अहिले संक्रमितको संख्या १२ हजार नाघिसक्यो । तेस्रो बिश्व युद्धको रूपमा आएको यो महामारी सम्पूर्ण मानवजाति माथिको युद्ध हो । यतिबेला सम्पूर्ण मानवजातिहरु एक भएर यसका विरुद्ध डटेर लडाइँ लडि विजय हासिल गर्नु प्रमुख दायित्व हो । एक भएर लड्नुको सट्टामा यहाँ त रमिता भैरहेको छ । सक्नेले नसक्नेलाई च्यापिरहेका छन, शासन सत्ता हातमा हुनेहरुले निमुखा जनतालाइ निचोरिरहेका छन, अग्लाले होचालाई दबाइरहेका छन, हुनेखानेहरुले हँुदा खानेहरुलाई चुङाइरहेका छन् । भयो के भने सरकारमा बस्नेहरूले यहि मौका छोपेर आफ्नो तलब भत्ता र अन्य सेवा सुबिधाहरु बढाइरहेका छन् । बैंक तथा बित्तीय संस्थाहरु अनि ऋणदाताहरुले ऋणको साँवा र ब्याज असुलीका निम्ति दैनिक जसो तनाब दिइरहेका छन् ।

अलिकति भनाउँदा ब्यापारीहरुले लकडाउनको कारण देखाइ कृत्रिम अभाव सृजना गरि मूल्य वृद्धि गर्दैछन् । सरकारले गरिखाने मात्र धेयले संचालन गरेका ब्यबशायीहरुलाई कर तिर भनेर आह्वान गरेको छ । घरभाडामा दिएका घरवालाहरुले कोठा, सटर, गोदाम अनि जग्गाको भाडा तिर्न भनेर ताकेता गर्ने मात्र होइन भाडा तिरेर तुरुन्त खाली गर भनेर उर्दि नै गरेको सुनिन्छ भने कहिँकत ैकाम गर्ने श्रमिकले पहिले काम गरेको बेतन समेत प्राप्त गर्न नसकेको अबस्था छ । विभिन्न संघ संस्थाले वितरण गरेको राहत समेत पाउनै पर्नेले प्राप्त गरे गरेनन् । अनि मुग्लान पसेर घर परिवारको सुख खुशी देख्ने रंगिन सपना बोकेका कैयन नेपाली दाजुभाई दिदीबहिनी भोकभोकै बिदेशी भूमिमा तड्पिरहेका छन त कोही बाकसमा बन्द भएर आउँदैछन । यस्तो कहाली लाग्दो छ अवस्था यतिबेला सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने अभिभावकिय भूमिका निर्बाह गर्नुपर्ने सरकारले हो । सरकार कहिले मिचिएको भूमि त कहिले नक्सा त कहिले एमसिसि जस्ता बिषयमा लड्न परेको छ भने कतिपय अबस्थामा कम महŒवका बिषयमा प्रबेश गरि अल्मलिएको छ । एकातिर सरकारले विभिन्न कारणले गर्दा यथोचित ब्यबस्थापन गर्न सकेको छैन भने अर्कोतिर आन्तरिक द्वन्द्व भ्रष्टाचार राजनीतिक खिचातानी अनि दलिय स्वार्थका कारण अरु थप जटिल परिस्थितिको सृजना भैरहेको छ । अहिले देशमा आर्थिक क्रियाकलापहरु भर्खरै शुरु हुने अबस्थामा छन् तथापि शिक्षालय, यातायात, पर्यटन, होटल, पार्लर, सैलुन लगायतका कैयन क्षेत्रहरू अझैसम्म खुल्न सकेको अवस्था छैन । करिब पौने करोड बिद्यार्थी सय दिन यता घरमै छन् । यद्यपि बैकल्पिक माध्यमबाट सहजीकरण गर्ने अभ्यास सुरु हुँदैछ । त्यसको पहुँच प्रभावकारिताको मापन भने पक्कै पनि कमी नै छ होला !


यतिबेला के खाउँ ? के लाउँ ? औषधिमुलो कसरी केले गरौं ? भन्ने सवाल जल्दोबल्दो रुपमा छ । यस्तो अबस्थामा निजी बिद्यालयका संगठनहरुले शुल्क बुझाउँ,भर्ना गर, पुस्तक किन, अध्याबधिक गर, बक्यौता तिर भनेको छ ।


कठिन परिस्थितिको सृजना भएको छ । यो बेलामा कसैले पनि हार्नु हँुदैन सबैले जित्ने हो । सबै क्षेत्र तहसनहस बनेको छ । सरकारले शुल्क नतिर्न भन्छ भने पनि अभिभावकले शुल्क तिर्न कसरी सक्लान र ? अभिभावकहरु पनि सबैको एउटै आर्थिक अबस्था छैन । कोहि सरकारी कर्मचारी कोही, सेना प्रहरी, सरकारी शिक्षक, त कोही बिदेशी सेनामा निरन्तर आय स्रोत भएका हुनुहुन्छ त कोहि अभिभावकहरु दैनिक ज्याला मजदुरी गरि खाने, कोही निजी संस्थामा जागिर गर्ने हालसम्म बन्द रहेका क्षेत्रहरूमा काम गर्ने हुनुहुन्छ ।

त्यसैगरि बिद्यालयहरु पनि सबै समान हैसियतका पक्कै पनि छैनन् । यो बेला त्यहाँ कार्यरत शिक्षक कर्मचारीको पीडा पनि उत्तिकै छ । बिद्यालय नियमित राख्न पर्ने पनि छ । यो समय भनेको हुनेले नहुनेलाई सहयोग गर्ने भएकाले नभएकोसँग बाँडेर खाने मानबताको उच्चतम बिन्दुमा पुगेर काम गर्ने बेला हो जस्तो लाग्छ । आखिरमा सबैभन्दा बढी पीडा ब्यहोर्नपर्ने तल्लो तहको नै हो उपभोक्ताले नै हो तसर्थ अहिले यहिँबाट यो प्रवृत्तिको अन्त्य गर्ने सबैले प्रण समेत गरौ । त्रास, दबाब, तनाब र पीडाको यो बोझ बोकेको यो संक्रमणकालिन बर्तमान परिबेशमा अभिभावकले अहिले भनेजस्तै गरेर शुल्क तिर्ने अवस्था छैन । यसमा परिवार भित्र यहि बिषय उठाएर आरोप प्रत्यारोप गर्नुभन्दा सम्बन्धित सबैका समस्या समाधानका उपायका निम्ति सरकारको नेतृत्वदायी भूमिकामा बिद्यालय अभिभावक शिक्षक कर्मचारी बिद्यार्थी बीच एउटै टेबलमा बसेर उपाय निकाल्न सकिन्छ र यो प्रभावकारी हुन्छ भन्ने लाग्छ । यो बेला सबै एकै ठाउँमा रहौं एकले अर्कोलाई सहयोग गरौं । सबै बाचौं र बचाऔं । भोली पक्कै पनि बिद्यालय बिद्यार्थी अभिभावक शिक्षक कर्मचारी रहनेछौ । पढ्ने पढाउने कमाउने सबै कुराहरु पनि हुनेछन अतः अहिले सबैले त्याग र समर्पण गर्ने समय आएको छ । सबैले मनन् गरौं ।

 

अपडेट : 2020-06-26 19:29:48




your-image

Leave a Comment