आषाढ ३० २०७७   |  2020 Jul 14    


ॐ उच्चारणः ध्वनि एक, फाइदा अनेक


news

आज जुन २१ अर्थात छैठौं अन्तर्राष्ट्रिय योग दिवस । विश्वभर योगसम्बन्धी विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । योग स्वस्थ जीवनकालागि निकै महत्वपूर्ण छ । छैठौं अन्तर्राष्ट्रिय योग दिवसको यो सुअवसरमा यस आलेखमार्फत योगाभ्यासमा प्रयोग गरिने तर यसको महत्वको बारेमा कम चर्चा हुने शब्द ‘ॐ’ उच्चारणका फाइदाको बारेमा जानकारी दिने जमर्को गरेको छु ।

प्रार्थना ः ॐ संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्
देवा भागं यथा पूर्वे सञ्जानाना उपासते ।।
(हामीहरु सबै प्रेमपूर्वक मिलेर अगाडी बढौं, मिलेर बोलौं र सबै ज्ञानी बनांै । हाम्रा पूर्खाहरुले जस्तै सबैले आ–आफ्नो कर्तव्य पालना गरौं ।)

‘ॐ’को परिचय ः
‘ॐ’ अथवा ’ओम्’ संस्कृत शब्द हो । ‘ॐ’लाई यस ब्रम्हाण्डको प्रथम ध्वनि पनि भनिन्छ । यस ब्रह्माण्डमा मानव सभ्यताको विकाससंगै पूर्वीय ऋषिमुनि तथा योगीहरुले उक्त ब्रह्माण्डीय आवाजलाई ‘ॐ’को ध्वनिमा कैद गरे । धर्मग्रन्थकाअनुसार यस धर्तीमा कुनै जीवनको उत्पति हुनुपूर्व ब्रह्माण्डमा एक आवाज उत्पन्न भयो । त्यही आवाजपछि मात्र जीवको उत्पत्ति हुन पुग्यो । हिन्दु धर्ममा जीवनको उत्पत्तिको आधार यही ‘ॐ’लाई मानिँदै आएको छ । ॐ वैदिक सनातन धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ‘ॐ’ शब्द हिन्दु धर्ममा मात्र होइन वौद्ध, जैन, सिखलगायत अन्य धर्ममा पनि उत्तिकै श्रदापूर्वक प्रयोग भएको पाइन्छ । ‘ॐ’ को उच्चारण गर्दा लयबद्ध कम्पनको निर्माण हुन्छ । त्यसैले ‘ॐ’लाई शब्दको रुपमा भन्दा पनि ध्वनिको रुपमा ग्रहण गरिन्छ ।

‘ॐ’को अर्थ ः
‘ॐ’ को विभिन्न तरिकाले अर्थ लगाइएको पाइन्छ । कतिपयले ‘ॐ’को (अ)सुरुवात, (उ)मध्य र (म)अन्त्य को रुपमा पनि अर्थाएको पाइन्छ । ’अ’ को अर्थ हुन्छ उत्पन्न हुनु, ’उ’ को अर्थ हुन्छ उठ्नु वा विकास हुनु र ’म’ को अर्थ हुन्छ मौन हुनु वा ब्रह्मलीन हुनु । ॐको ’अ’, ’उ’ र ’म’ले क्रमशः इलेक्ट्रोन, प्रोटोन र न्युट्रनलाई समेत बुझाउने बताइएको छ । यसैगरी ॐ ले हिन्दू धर्मका त्रिदेव ब्रह्मा, विष्णु र शिव तथा त्रिदेवी सरस्वती, लक्ष्मी र पार्वतीलाई समेत बुझाउँछ । श्रीमद्भागवतगीता लगायत विभिन्न उपनिषद्हरुमा ‘ॐ’लाई ब्रह्माण्डीय ध्वनि, दिव्य ध्वनि, रहस्यमय शब्द तथा दैवीय प्रतिज्ञानको रुपमा व्याख्या गरिएको छ ।

‘ॐ’लाई महामन्त्र पनि भनिन्छ । ‘ॐ’लाई विभिन्न शास्त्रहरुमा यसरी पनि व्याख्या गरिएको छः
अ–तमस (अन्धकार, अज्ञान), उ–रजस (उत्साह, गतिशीलता), म– सत्व (शुद्धता, प्रकाश)
अ–ब्रह्मा (निर्माता), उ–विष्णु (परिरक्षक), म–शिव (विध्वंसक)
अ–वर्तमान, उ–भूत, म–भविष्य
अ–जागृत स्थिति, उ–सपना देखेको स्थिति, म–गहिरो निद्राको स्थिति आदि ।

‘ॐ’ उच्चारणको लाभः पृथ्वीका हरेक सजिव तथा निर्जीव वस्तुहरुले विभिन्न किसिमको आवाज निकालिरहेका हुन्छन् । तर हामी ती आवाजहरुमा त्यति ध्यान दिइरहेका हुँदैनौँ । हावा बहँदा, पानी पर्दा, समुद्रमा छाल आउँदा, बाढी पहिरो जाँदा, भूकम्प जाँदा, शंख भित्र, गुफा भित्र, आकाशमा मेघ गर्जन हुँदा, चन्द्र सूर्य उदाउँदा÷अस्ताउंदा, पृथ्वीले सूर्यको परिक्रमा गर्दालगायत यस ब्रह्माण्ड अर्थात् प्रकृतिमा हुने हरेक गतिविधि वा चालमा ‘ॐ’को ध्वनि उत्पन्न भैरहेको हुन्छ । हामी पनि यस ब्रह्माण्डको एक अंश हौँ । हाम्रा हरेक गतिविधिहरु ब्रह्माण्डको चालसंग सम्बन्धित छ । जब हामीले लामो श्वास लिएर ‘ॐ’को उच्चारण अर्थात जप गर्छौं, हामी पनि ब्रह्माण्डको चालमा जोडिन पुग्छौं । हाम्रो शरीरको हरेक भित्री अंगहरु कम्पन हुन थाल्छन् ।

हरेक कोष तथा मांसपेशीमा अक्सिजनको उचित प्रवाह हुन्छ । जब हाम्रो शरीरमा अक्सिजनको उचित प्रवाह हुन्छ, तब हाम्रा भित्री अंगहरुले समुचित कार्य गर्न थाल्दछन् । रक्तसंचार प्रणाली, स्नायु प्रणाली, पाचन प्रणाली, श्वासप्रश्वास प्रणालीजस्ता शरीरका सबै प्रणालीहरु सक्रिय हुन्छन् । जसबाट हाम्रो मन मस्तिष्क पनि सक्रिय हुन्छ । हामीलाई एक किसिमको उर्जा प्राप्त हुन्छ । जुन उर्जाले हाम्रो समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ । नियमित ‘ॐ’को उच्चारणबाट आरोग्य त प्राप्त हुन्छ नै, यसको उच्चारणबाट मन र आत्मालाई पनि शान्ति प्राप्त हुन्छ । शास्त्रअनुसार ‘ॐ’को अर्थ जे भए पनि यसको नियमित उच्चारणबाट हामीले शारीरिक तथा मानसिक समस्याबाट मुक्ति पाउन सक्छौं । ॐ उच्चारणबाट उत्पन्न हुने तरंगले मष्तिस्कलाई शान्त राख्न सहयोग पुराउँछ । ‘ॐ’को पहिलो खण्ड ’अ’को उच्चारण गर्दा मणिपुर क्षेत्र अर्थात् पेटमा कम्पन हुन्छ । त्यस्तै दोश्रो खण्ड ’उ’को उच्चारण गर्दा अनाहत क्षेत्र अर्थात् फोक्सो तथा हृदय क्षेत्र कम्पन हुन्छ भने तेश्रो खण्ड ’म’को उच्चारण गर्दा सहस्रार क्षेत्र अर्थात् मस्तिष्कमा कम्पन हुने गर्दछ । यी तथ्यहरु विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानबाट पनि प्रमाणित भइसकेको अवस्था छ । थाइराइडको समस्यामा ‘ॐ’को उच्चारण निकै प्रभावकारी हुन्छ । थाइराइड हाम्रो घाँटीमा हुने थाइराइड ग्रन्थिमा आउने समस्या हो । लामो श्वास लिएर ‘ॐ’को उच्चारण गर्दा घाँटीमा कम्पन र घर्षण दुवै हुने भएकोले थाइराइडको समस्यामा लाभदायक हुन्छ । नियमित ॐ उच्चारण गर्दा चिन्ता, डर, मानसिक तनाव,थकानजस्ता समस्या समाधानमा उपयोगी हुन्छ । ‘ॐ’को उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रा वृद्धि भई शरीरमा रक्तसंचार सन्तुलित बनाउँदछ भने फोक्सोको कार्यक्षमतामा वृद्धि गर्दछ । उच्च रक्तचाप कम हुनुकासाथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । ‘ॐ’को उच्चारण गर्दा गालाको छाला कम्पान हुनेहुँदा अनुहार चम्किलो हुनुकासाथै चायाँ पोतो हटाउन सहयोग गर्दछ । शरीरमा विशेष किसिमको कम्पन हुने भएकोले शरीरलाई उर्जाशील बनाउँदछ । श्वासको माध्यमबाट शरीरमा भएका विजातीय, विषालु तथा दुषित तत्व एवं ग्यास बाहिर निस्कन्छ । पाचन प्रक्रियामा सहयोग गर्दै पेट सम्बन्धी समस्यालाई नियन्त्रण गर्न समेत मद्दत गर्दछ । ॐ को उच्चारणबाट स्वरयन्त्र तथा घाँटीको मांसपेशीमा कम्पन हुने भएकोले गायककारहरुलाई स्वरमा निखार ल्याउन ‘ॐ’को उच्चारण निकै उपयोगी हुन्छ । बेलुका सुत्ने बेलामा ‘ॐ’को उच्चारण गर्दा निद्रा नलाग्ने समस्या पनि समाधान हुन्छ । ‘ॐ’को नियमित जप वा उच्चारण गर्दा दिमाग शान्त हुने भएकोले मानिसलाई खुसी र आनन्द प्राप्त हुनुकासाथै सकारात्मक चिन्तनको विकास हुन्छ ।

विधिः ‘ॐ’को उच्चारण गर्नु भनेको जप गर्नु हो । ‘ॐ’को जप गर्दा सुखासन, सिद्धासन, पद्मासन, वज्रासन वा आफुलाई सहज हुने कुनै पनि आसनमा बस्न सकिन्छ । बस्दा ओछ्याउने चकटी कुचालक हुन जरुरी हुन्छ । बस्दा ढाड कम्मर, मेरुदण्ड तथा गर्धन सिधा हुनुपर्छ । ध्यान मुद्रामा बसी आँखालाई बन्द गरी दुवै आँखाको विच भाग अर्थात् आज्ञा चक्र÷भृकुटीमा ‘ॐ’को आकृति बनाएर त्यसैमा ध्यानलाई केन्द्रित गर्नुपर्छ । श्वासलाई सकेजति लामो समयसम्म तान्ने, श्वास भरिएपछि रोकिने र ’अ’..., ’ऊ’... र ’म’... को शैलीमा उच्च आवाज निकालेर उच्चारण गर्नुपर्छ । ’अ’लाई ५० प्रतिशत, ’ऊ’लाई २५ प्रतिशत र ’म’लाई २५ प्रतिशतको अनुपातमा उच्चारण गर्नुपर्छ । ‘ॐ’को जप गर्दा शुरुमा नाभी क्षेत्रमा ’अ’ आवाजबाट हुने कम्पन महशुस गर्दै त्यसलाई क्रमशः माथितर्फ बढेको महशुस गरांै । त्यसपछि ’ऊ’को कम्पन मुटु हुँदै गलाबाट माथि बढेको महशुस गरौँ । जब कम्पन गलाको क्षेत्रमा पुग्छ, तब ‘म’लाई एक गहिरो ध्वनिमा परिवर्तन गराँै । आवश्यकता अनुसार दैनिक ३ देखि ११ पटकसम्म गरे पुग्छ ।

समयः ‘ॐ’को जप गर्न विहान ४ बजे देखि ६ बजेसम्मको समय उपयुक्त हुन्छ । यो बेलालाई शुभ बेला, अमृत बेला वा ब्रह्म मुहुर्त भनिन्छ । यो समयमा वायुमण्डलको तल्लो सतहमा अक्सिजनको मात्रा प्रचूर हुने गर्दछ ।

स्थानः ‘ॐ’को जप गर्ने स्थान खुल्ला चौर, बगैचा, जंगलको छेउँ वा नदी किनार निकै उपयुक्त हुन्छ । शान्त वातावरण हुन पनि उत्तिकै जरुरी हुन्छ । बाहिरी हल्लाखल्ला आउनु हुँदैन । घरको पिँढी वा छतमा पनि ‘ॐ’को जप गर्न सकिन्छ । तुलसीको मोठ नजिक वा पिपलको रुख मुनि बसेर ओमको जप गर्न सकिन्छ । किनभने तुलसी र पिपलको रुखले अन्य वनस्पतिहरुको तुलनामा अत्याधिक अक्सिजन उत्सर्ग गर्दछन् । भगवान् गौतम बुद्धले पनि नदी किनारमा पिपलकै बोटमुनि तपस्या गरेका थिए । खुल्ला चौर, बगैचा, नदी किनार आदि स्थानको उपलब्धता नभए आफु बस्ने वा सुत्ने कोठामा झ्याल ढोका खोलेर पनि ‘ॐ’को जप गर्न सकिन्छ ।

निचोडः ‘ॐ’ को उच्चारण वा जप पाँच वर्षभन्दा माथि सबै उमेर समुहका जो सुकैले गर्न सकिन्छ । ‘ॐ’को जपले तपाईलाई वास्तविक प्रकृतिकोविच भएको आपसी दुरी पनि घटाउन मद्दत पुग्दछ । स्वस्थ हुन तथा जीवनमा खुसी र आनन्द प्राप्त गर्न नियमित ‘ॐ’को जप गर्नु अनिवार्य छ

अपडेट : 2020-06-21 09:37:26




your-image

Leave a Comment