मंसिर २८ २०७६   |  2019 Dec 14    


प्रेस सल्लाहकारको खातामा कार्यक्रमको बजेट

news

पत्रकारिता क्षेत्र विकास कार्यक्रमको रकम व्यक्तिलाई दिएको खुलेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आफ्ना प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईलाई नायव सुब्बा पदको कर्मचारी बनाएर रकम दिएको हो ।

नायव सुब्बा चौलागाईले नेपालगञ्ज उपमहानगरपालिकाबाट मिति २०७५ जेठ २१ गते ३ लाख र २०७५असार ३२ गते ५ लाख ८२ हजार २ सय ६४ गरी जम्मा रु. ९ लाख ३ हजार ४ सय ३९ बुझेका छन् । उक्त मितिको गौश्वारा भौचरमा पारिश्रमिक कर ५६ हजार एक सय उल्लेख छ । उपमहानगरपालिकाले पत्रकारिता क्षेत्र विकास कार्यक्रमको रकम व्यक्तिलाई दिएपछि नेपाल पत्रकार महासंघ बाँकेले यस अघिनै असन्तुष्टि जनाएको थियो । चौलागाईले उक्त कोषबाट व्यक्तिगत रुपमा फिचर ब्ुलेटिन प्रकाशन १ लाख ११ हजार, फोटो पत्रकारिता तालिम ५९ हजार, रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण ६० हजार, टेलीभिजन कार्यक्रम उत्पादन तथा प्रशारण २ लाख २० हजार, सन्देश मुलक सूचना प्रशारण ६० हजार खर्च गरेका छन् । त्यस्तै पत्रकार सम्मानको लागि १ लाख ५ हजार खर्चेका छन् ।

उनले नेपाल पत्रकार महासंघ बाँकेसँग सहकार्य गर्ने भन्दै सरकारी रकम व्यक्तिगत रुपमा ३ लाख ९१ हजार ५ सय विनियोजन गरेका थिए । महासंघले ३ लाख ३५ हजार रुपैया कार्यक्रमको संयोजन गरेको छ । बाँकी ५६ हजार रुपैया चौलागाईले नै खर्चिएको पत्रकार महासंघ बाँकेको दाबी छ । यस बिषयमा महासंघ बाँके र पत्रकार महासंघ प्रदेश ५ का सचिव समेत रहेका चौलागाईबीच किर्ते प्रकरणमा आरोप प्रत्यारोेप चलेको छ ।

महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले महासंघले नेपालगञ्ज उपमहानगरपालिकासँग कार्यक्रमवारे कुनै सम्झौता नगरेको बताए । उनले भने–‘जो व्यक्तिले सम्झौता गरेको हो उसैको फछ्र्यौट गर्ने दायित्व हो ।’पत्रकार महासंघलाई किर्ते प्रकरणमा जोडेर बद्नाम गर्ने नियत बाहेक अरु केही नदेखिएको थारुले बताए । चौलागाईले भने पत्रकारिता क्षेत्रको विकासका लागि नेपालगन्ज उपमहानगरपालिकाले दिएको जिम्मेवारीमा सहजिकरण मात्र गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले भने,–‘उक्त कार्यक्रम गर्नको लागि शिर्षक र वजेट समेत छुट्याईएको थियो । सो कार्यक्रमको आयोजना, सहभागी उपस्थिती, हस्ताक्षर, प्रशिक्षक, विल, भर्पाइ, प्रतिवेदन लगायत आवश्यक सम्पूर्ण जिम्मेवारी नेपाल पत्रकार महासंघ बाँके शाखाको नै थियो ।’

पत्रकारिता क्षेत्र विकासका त्यति ठुलो रकम व्यक्तिगत खातामा दिने उपमहानगरपालिकाले बिबाद बाहिर आइसकेपछि मात्र छानविन समिति गठन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य कौशल कुमार धोवीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्र, कार्यपालिका सदस्य ईन्दिरा शाही, देवेन्द्र पाल सिंह सरदार र उपमहानगरपालिकाको सामाजिक शाखाका अधिकृत कृष्ण जोशी रहेका छन् । उपमहानगरपालिकाको बोर्ड बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । समितिले ७ दिनभित्र अनियमितता प्रकरणको अनुसन्धान गरेर पेश गर्ने प्रतिवेदनका आधारमा कारबाही अघि बढाईने उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

अपडेट : 2019-03-27 08:06:50




your-image

Leave a Comment